लौठसल्लाको व्यावसायिक खेती

नारायण तुम्बापो

फिदिम, वैशाख २१ गते ।  लौठसल्ला त जडीबुटी पो रहेछ भन्ने बुझेपछि किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन् ।  जङ्गलमा वर्षौंदेखि खेर गइरहेका लौठसल्ला पाखोबारीमै रोपेर आकर्षक आम्दानी लिन किसान अग्रसर भएका हुन् ।   
लेकाली क्षेत्र फालेलुङ–५ तप्पेका १३ घर किसानले अन्य बाली सँगसँगै लौठसल्लाको व्यावसायिक खेती गर्न थालेका हुन् ।  पर्या–पर्यटन र जडीबुटीको क्षेत्रमा क्रियाशील दीपज्योति युवा क्लबले लौठसल्लाबारे किसानलाई तालिम दिएको थियो ।  
वास्तै नगरेको लौठसल्ला जडीबुटी भन्ने थाहा पाउँदा यसको खेतीमा अहिले आफूहरू ‘लोभिएको’ किसान टीकादेव राईले बताउनुभयो ।  आफूहरूले तीन सय रोपनी बारीमा लौठसल्ला दस हजार बिरुवा रोप्न लागिरहेको पनि उहाँले जानकारी दिनुभयो ।  lauth salla
 आर्थिकसहित प्राविधिक सहयोगसमेत पाइरहेका किसानले यसको बृहद् खेती विस्तारका लागि नर्सरी पनि बढाइरहेका छन् ।  कतिपय किसानले परीक्षणका लागि रोपेका लौठसल्ला फस्टाएर हुर्किरहेका छन् ।  
विश्व बजारमा उच्च माग रहेको लौठसल्लाको खेतीमा अन्य क्षेत्रका किसानको पनि आकर्षण बढाउन लागिरहेको दीपज्योतिका कार्यकारी निर्देशक सुनील वान्तवाले बताउनुभयो ।  
रोपेको आठ÷नौ वर्षपछि पुस, माघ र फागुन, महिनामा लौठसल्लाको पात टिपेर बेच्न सकिन्छ ।  दस फुटसम्मको उचाइको हुने लौठसल्लाले सय वर्षसम्म लगातार आम्दानी दिने बताइएको छ, जङ्गलमा रूखका रूपमा रहेको लौठसल्लाको काण्ड ‘कटिङ’ गरेर ल्याई जमिनमा गाडेर किसानले बिरुवा उत्पादन गर्ने गरेका छन् ।  लौठसल्लाको पात किलोको ६० रुपियाँसम्ममा बिक्ने गरेको यहाँका मचिन्द्र राईले सुनाउनुभयो ।  चियाका रूपमा पनि खान सकिने लौठसल्ला रक्तचाप, मधुमेहको औषधि उत्पादन गर्न प्रयोग हुने बताइएको छ ।  यस्तै, विभिन्न रोगका लागि उपयोग गरिने औषधि पनि लौठसल्लाबाटै बनाइने पनि जनाइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना