ईयूसँग जोडिएको फ्रान्सेली राष्ट्रपति निर्वाचन

Ram prashadरामप्रसाद आचार्य

 

फ्रान्समा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचन हुने भएको छ ।  अप्रिल २३ मा भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि आउँदो आइतवार (मे ७ मा) दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।  पहिलो चरणमा चुनावी मैदानमा रहेका ११ जना उम्मेदवारमध्ये बढी मत ल्याउनुभएका इम्यानुयल म्याक्रोन र मारिन ल पेनबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुँदै छ ।  यो निर्वाचनले दुईमध्ये एकजना राष्ट्रपतिमा चुनिनुहुनेछ ।  फ्रान्स र युरोपेली सङ्घको भविष्यसँग जाडिएको यो निर्वाचनलाई अत्यन्तै महŒवका साथ हेरिएको छ ।  
पहिलो चरणको निर्वाचनको परिणामले फ्रान्सेली मतदाताले नयाँ परिवर्तन खोजेको सङ्केत गरेको छ ।  छ दशकदेखि आलोपालो शासन गर्दै आएका परम्परागत मध्यदक्षिणपन्थी र मध्यवामपन्थी दलहरूलाई यसपटक मतदाताले मन पराएनन्, पराजित गरे ।  दोस्रो चरणका लागि छनोट भएका दुई उम्मेदवार म्याक्रोन र ल पेनमध्ये एकजनाको आगमन अब निश्चित छ ।  पहिलो चरणमा पहिलो नम्बरमा रहनुभएका म्याक्रोनले २३ दशमलव ९ प्रतिशत र दोस्रो नम्बरमा रहनुभएकी ल पेनले २१ दशमलव ४ प्रतिशत मत ल्याउनुभएको छ ।  मतदाताले पहिलो चरणअनुसार नै मतदान गरेर म्याक्रोनलाई राष्ट्रपति बनाउने हुन् वा फरक ढङ्गले ल पेनलाई जिताउने हुन् ? उत्सुकता बढेको छ ।
दोस्रो चरणका दुई उम्मेदवारबीच राजनीतिक विचारमा ठूलो अन्तर छ ।  
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका म्याक्रोन पहिलोपटक चुनावी प्रतिस्पर्धामा आउनुभएको हो ।  उहाँ मध्यपन्थी अर्थात् मध्यमार्गी हुनुहुन्छ ।  अर्कोतर्फ नेसनल फ्रन्टकी नेतृ ल पेन कट्टर दक्षिणपन्थी खेमाकी हुनुहुन्छ ।  दुवैका चुनावी मुद्दामा धेरै अन्तर छन् ।  म्याक्रोन अन्तर्राष्ट्रिय व्यापारको पक्षमा हुनुहुन्छ ।  युरोपेली सङ्घ (ईयू) प्रति अत्यन्तै उत्साही उहाँले यो सङ्घलाई बलियो बनाउनुपर्ने र यसैअन्तर्गत रहेर फ्रान्सले आर्थिक तथा व्यापारिक गतिविधि बढाउनुपर्ने उहाँको मान्यता छ ।  उहाँले युरोपेली एकल मुद्रा युरोलाई नै स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।  साझा मेलमिलापको नीतिबाट फ्रान्सलाई सबल बनाउनुपर्ने उहाँको मत छ ।  
म्याक्रोनले जिते ईयूको भविष्य सुरक्षित हुने भन्दै ईयूका नेताहरूले उहाँको पक्षमा अभिमत जाहेर गरेका छन् ।  जर्मन चान्सलर एन्गेला मर्केल, युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यङ्कर, युरोपेली सङ्घ विदेश नीति प्रमुख फ्रेडेरिका मोगारिनीलगायतले म्याक्रोनको पक्षमा समर्थन जनाउँदै साथ दिनुभएको छ ।  पहिलो चरणमा पराजित भएका धेरै उम्मेदवार पनि म्याक्रोनको पक्षमा देखिएका छन् ।  त्यसले गर्दा उहाँको पक्षमा जनमत बलियो बन्दै गएको दाबी गरिएको छ ।  
उता कट्टर दक्षिणपन्थी उम्मेदवार ल पेनले ईयूबाट फ्रान्सलाई अलग गराई स्वतन्त्र र बलियो बनाउने मुद्दा अगाडि सार्नुभएको छ ।  त्यसका लागि बेलायतमा जस्तै जनमतसङ्ग्रह गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  उहाँ विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय व्यापारको विपक्षमा हुनुहुन्छ ।  ईयूमा रहेर फ्रान्स कमजोर बनेको, आतङ्कवादी र आप्रवासीको निशाना बनेको भन्दै आफू निर्वाचित भए मुलुकको सीमा नियन्त्रण गर्ने, फ्रान्सबाट युरो मुद्रा हटाउने र फ्रान्सलाई ईयूबाट बाहिर निकाल्न जनमतसङ्ग्रह गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  कट्टर दक्षिणपन्थी, उग्र राष्ट्रवादी चिन्तन बोक्नेहरू, फ्रान्सको आफ्नै पहिचान खोज्नेहरू उहाँको यो नाराबाट आकर्षित भएका छन् ।  उहाँको यो उग्र राष्ट्रवादको नाराप्रति समर्थन जनाउने र विरोध गर्नेहरू दुवै सक्रिय भएका छन् ।  
मूलतः वर्तमान राष्ट्रपति फ्राँ स्वाँ होल्यान्डको कार्यकालले अपेक्षित सफलता पाउन नसकेपछि सत्तारूढ दलका उम्मेदवार पहिलो चरणको निर्वाचनमै पराजित भए ।  राष्ट्रपति होल्यान्डले जनमत आफ्नो पक्षमा छैन भन्ने अनुमान गरेर नै उम्मेदवारी दिनुभएन ।  पहिलो चरणमै मतदानको पूर्वसन्ध्यामा मध्यपेरिसमा भएको आतङ्कवादी आक्रमण सत्तारूढ उम्मेदवारलाई ठूलो अन्तरले पराजित गर्ने कारक बन्यो ।  मुलुकमा शान्ति सुरक्षा प्रभावकारी बन्न नसकेको, आतङ्कवादी आक्रमण रोक्न नसकेको, शरणार्थी र आप्रवासी समस्या समाधान गर्न नसकेको जनगुनासो बढिरहेका बेला भएको पहिलो चरणको निर्वाचन परिणामले फ्रान्सेली मतदाताहरूले परिवर्तन खोजेको सङ्केत देखाएको छ ।  अब हुने दोस्रो चरणको निर्वाचनमा मतदाता कता मोडिने हुन् ? विभिन्न अड्कलबाजी गरिँदै छ ।  फ्रान्सेली मतदाताले घोर दक्षिणपन्थी बाटो समाए भने आगामी निर्वाचन ल पेनको पक्षमा जाने निश्चित छ ।  
ल पेन राष्ट्रपति निर्वाचित भएको खण्डमा उहाँले गराउने जनमतसङ्ग्रहबाट फ्रान्स पनि बेलायतजस्तै ईयूबाट अलग हुन सक्छ ।  यदि त्यो अवस्था आयो भने ईयूका लागि यो अर्को पीडादायी घटना बन्नेछ ।  त्यो अवस्था नआओस् भन्दै ईयूका नेताहरूमात्र होइन, अहिलेको सरकार र सत्ताधारी दल र केही विपक्षीसमेत मध्यमार्गी नेता म्याक्रोनको पक्षमा उभिएका छन् ।  बेलायत ईयूबाट अलग भएसँगै यसको भविष्यमाथि नै प्रश्नचिह्न खडा भइरहेका बेला ईयूबारे फ्रान्सेली नागरिकको धारणासमेत यसै निर्वाचनको परिणामबाट मुखरित हुने भएकाले पनि यो निर्वाचन सर्वाधिक चासोको विषय बनेको हो ।  
पछिल्ला दिनमा एसिया, युरोप र अमेरिकाको राजनीतिमा उग्र राष्ट्रवादका नाममा अनुदारवाद हाबी हुँदै गएको र यसले अर्कै द्वन्द्व खडा गर्ने खतरा बढेका बेला उदारवादी र सुधारवादी राजनीतिक शक्तिलाई नेतृत्वमा पु¥याउनु र सबल नेतृत्व प्रदान गर्नु अत्यन्तै चुनौती बन्दै छ ।  दोस्रो चरणको निर्वाचनका लागि पहिलो नम्बरमा रहनुभएका म्याक्रोनका लागि पनि यही नै प्रमुख चुनौती हो ।  उहाँले फ्रान्सेली मतदातालाई आफूले सही नेतृत्व दिन सक्छु भनी विश्वस्त पार्नुभयो र उहाँको विचारमा सहमत भए भने उहाँले चुनाव जिती मुलुकको नेतृत्व गर्ने अवसर पाउनुहुनेछ नत्र परिणाम ल पेनको पक्षमा जाने कुरालाई कसैले रोक्न सक्दैन ।
पहिलो चरणको निर्वाचनमा ११ जना उम्मेदवारले विशेषगरी युरोपेली सङ्घ, आप्रवासन, अर्थतन्त्र तथा फ्रान्सको पहिचानको मुद्दा उठाएका थिए ।  यी मुद्दाकै सेरोफेरोमा अल्झिएका मतदाताले कुनै एक उम्मेदवारलाई राष्ट्रपति छान्न सकेनन् र दोस्रो चरणमा जानुपर्ने अवस्था आयो ।  दोस्रो चरणका दुई प्रतिस्पर्धी म्याक्रोन र ल पेनबीच मतान्तर धेरै नभएको सन्दर्भमा कुन मुद्दामा मतदाता बढी आकर्षित हुने हुन् र कसको पक्षमा बहुमत सिद्ध हुने हो भन्ने सवालमा सञ्चारमाध्यम पनि स्पष्ट मार्गचित्र कोर्न सकेका छैनन् ।  
गत नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा सञ्चारमाध्यमले साथ नदिएका उम्मेदवार डोनाल्ड ट्रम्प अप्रत्यासित रूपले निर्वाचित भएपछि अमेरिकी सञ्चारमाध्यमको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा भएको छ ।  त्यही भएर हुन सक्छ फ्रान्सेली सञ्चारमाध्यम अहिले पूर्वानुमानभन्दा पनि उम्मेदवारका मुद्दालाई प्रचार सामग्री बनाएका छन् ।  फ्रान्सेली नागरिकको वास्तविक चाहना के हो ? उनीहरूले कस्तो नेतृत्व चाहेका छन् ? भन्ने कुरा दोस्रो चरणको चुनावी परिणामले थप स्पष्ट गर्नेछ ।  
सन् १७८९ को फ्रान्सेली क्रान्तिबाट पहिलो गणतन्त्र मुलुक बनी त्यसपछि विभिन्न राजनीतिक आरोह अवरोह सामना गर्दै आजको शक्ति राष्ट्रका रूपमा रहेको यो मुलुकका लागि अहिले आतङ्कवाद र आप्रवासन प्रमुख समस्या बनेको छ ।  संसारमै सबैभन्दा बढी पर्यटक भिœयाउने यो मुलुक पछिल्ला दिनमा आतङ्कवादको चपेटामा पर्दा आर्थिक तथा पर्यटन क्षेत्रमा ठूलो क्षति भोग्नुपरेको छ ।  
छ करोड ३५ लाख जनसङ्ख्या रहेको पाँच लाख ४३ हजार ९६५ वर्गकिलोमिटरमा फैलिएको फ्रान्समा सन् २०१२ मा भएको निर्वाचनमा दक्षिणपन्थी निकोलस सार्कोजीलाई पराजित गरी मध्यवामपन्थी फ्राँ स्वाँ होल्यान्ड राष्ट्रपति बन्नुभयो ।  उहाँको कार्यकालमा जनताले धेरै सुधार र परिवर्तनको आशा गरेका थिए तर अपेक्षित प्रगति भएन झन् अधोगतितर्फ मुलुक गयो ।  सत्तारूढ दल तथा विपक्षी दुवैले राम्रो काम गर्न सकेनन् ।  जसले गर्दा अहिले मतदाता विपक्षमा उभिए ।  सत्ता पक्ष र विपक्षी दुवैका उम्मेदवार पराजित भए र नयाँ उम्मेदवारले दोस्रो चरणमा जाने मौका पाए ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना