नेतालाई कसरी पत्याउनु ?

 pradip nepalप्रदीप नेपाल


 

पछिल्ला दुई वर्षमा नेपाली सञ्चार माध्यममा सिक्किमीकरणको आतङ्कले अतिशय स्थान पाएको छ ।  भारतले सिक्किम खायो– यो आम भाषा हो ।  अब भारतले नेपाल खाने योजना बनाइरहेको छ, यसको तयारी सन् १९७५ मै भएको थियो – यो आतङ्कको भाषा हो ।  
तर भारतले नेपाल खाँदैन – यो मेरो निष्कर्ष हो ।  भुटान त नखाएको भारतले नेपाल खाने कुरै आउँदैन ।  दक्षिण एशियाको कुनै एउटा मुलुक नखाए पनि भारत सबै छिमेकीको दुष्ट साथी हो ।  दक्षिण एशियाका सात राष्ट्रले भारतको ‘हुकुमत’ लाई जस्ताको तस्तै निलेनन् भने ती कुनै पनि राष्ट्रका नागरिकले सास्ती खेप्न तयार हुनुपर्छ ।  श्रीलङ्का, पाकिस्तान र नेपालका नागरिकले त्यो सास्ती खेपिरहेका छन् भने बाङ्लादेशसँगको सम्बन्ध पनि घामछायाँ भइरहेको छ ।
दक्षिण एशियाका, नेपाल बाहेकका सबै राष्ट्रको एउटा साझा परिचय छ, त्यो हो औपनिवेशिक शासन ।  भारतसहितका सबै दक्षिण एशियाली राष्ट्र बेलायत लगायतका युरोपेली राष्ट्रका उपनिवेश रहे तर नेपाल कहिल्यै कसैको उपनिवेश रहेन ।  त्यसैले भारतको बक्रदृष्टि नेपाल र नेपालीका विरुद्ध सबैभन्दा बढी छ ।  अहिले पनि भारत बेलायती राष्ट्रमण्डलको सदस्य छ र त्यो बेलायती औपनिवेशिक चेतनाको बाहक भएको छ ।  त्यसैले भारतभित्रै भारतीय नेपालीप्रतिको बक्रदृष्टि, भुटानबाट नेपाली खेदिने अभियान भारतीय सत्ताको अग्रसरता, नेपाली मूलमाथि गरिएका भारतीय सत्ताका दुव्र्यवहारका नमुना हुन् ।
पछिल्लो समयमा मैले सिक्किम सागा र आगो अझै निभेको छैन दोहो¥याएर पढेँ ।  विश्लेषण पढ्दा मलाई लाग्यो– भारतले सिक्किम लिएको होइन, तत्कालीन सिक्किमे नेताहरूले भारतलाई सिक्किम बुझाएका हुन् ।  थिचोमिचो थियो होला भारतको तर सिक्किमेली नेताहरू तयार नहुँदा हुन् त भारतले सिक्किम खाने थिएन ।  लेण्डुप दोर्जेको नेतृत्वमा सिक्किमे नेताहरूले किस्तीमा राखेर सिक्किमको नक्सा भारतलाई बुझाएका हुन् ।  
पुष्पकमल दाहाल प्रचण्डको सरकारले ल्याएको संविधानको दोस्रो संशोधनलाई संविधान विपरीत, स्थानीय तहको अधिकारको कटौती मात्र भनेर मैले बुझ्न सकिनँ ।  यो पश्चगामी संशोधन नेपाललाई भारतको संरक्षित राज्य बनाउने षडयन्त्र हो भन्न मलाई रत्ति सङ्कोच लाग्दैन ।  नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका उमेर बितेका शीर्षहरू प्रत्यक्ष रूपमा यो काममा लागेका छन् ।  समग्र भारतमै नबोलिने हिन्दी भाषालाई नेपालमा राष्ट्रिय मान्यता दिने, अङ्गीकृत नागरिकलाई बंशज सरहको अधिकार दिने जस्ता अनुपयुक्त र दूरगामी नकारात्मक असर पार्ने संशोधन अगाडि ल्याएका छन् ।  यो अपराधपूर्ण कामलाई खर्लप्प नखाएका कारण तिनीहरूले नेकपा (एमाले) माथि स्थानीय तहको निर्वाचन विरोधी भन्ने आरोप लगाएका हुन् ।  राष्ट्रलाई बन्धकी राख्ने शर्तमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने बाध्यता खडा गरेर एमालेलाई चेपुवामा पार्ने भद्दा षडयन्त्रमा यतिबेला संशोधन पक्षधरहरू लागेका छन् ।
पार्टी समग्रमा राम्रो या समग्रमै नराम्रो हुँदैन ।  पार्टी राम्रो या नराम्रो हुने कुरो त्यसको नेतृत्वमा भर पर्छ ।  एमालेको जीवनमा काला दिन पनि आए हुन् ।  तर राष्ट्रियता, एमालेको अटुट नीति रही आएको छ ।  शेरबहादुर देउवा प्रधानमन्त्री र पशुपति शमशेर राणा जलश्रोतमन्त्री भएको समयमा गरिएको एकीकृत महाकाली सन्धिको समर्थन र विरोधका विवादमा एमाले पार्टी नै विभाजित भयो ।  त्यो विभाजनले नेपालको प्रगतिको यात्रालाई अँध्यारोतिर झा¥यो ।  महाकालीको कारण एमाले विभाजित भयो तर अहिलेसम्म महाकाली परियोजना बनेको छैन ।  त्यो कहिल्यै नबनोस्, यसैमा नेपाल मुलुक र नेपाली जनताको हित सुनिश्चित छ ।  महाकाली अञ्चलमा भारतीय पीडाका तीन विषयले नेपाललाई चौबीसै घण्टा पोलिरहने छन् ।  एउटा हो यही थाङ्ने सन्धि, अर्को हो कालापानी क्षेत्रमाथि भारतको अवैध कब्जा र महाकालीको दक्षिण–पश्चिमको भूभागमा भारतीय हस्तक्षेप र स्थानीय जनताको प्रतिवाद ।
शेरबहादुर देउवाको सन्दर्भ यहाँ कोटिनुको कारण उहाँको भारतीय हितप्रतिको समर्पण हो ।  उहाँ महाकाली अञ्चलकै नेता हो ।  भारतीय सेना बोलाएर शहीद भीमदत्त पन्तलाई मारिएको स्थान पनि महाकाली अञ्चल हो ।  तर यस्ता गह्रुँगा भावनाले उहाँलाई छुँदैनन् ।  उहाँलाई भारतको स्वार्थले यसरी छुन्छ मानौँ उहाँ भारतको पोष्यपुत्र हो ।  पुष्पकमल दाहाल प्रचण्डकोे बारेमा धेरै लेख्नै पर्दैन ।  उहाँले त उहिल्यै, माओवादी सेनाको सुप्रिम कमाण्डर हुनुभएको समयमा – हाम्रो जनयुद्धमा हामीलाई सघाउने मुुलुकको हित विरुद्ध हामी कुनै काम गर्ने छैनौँ– भनी तमसुक गरेको कुरो एक वर्षभन्दा पहिले नै भारतीय पक्षले सार्वजनिक गरिसकेको छ ।  
ठूला र शक्तिशाली मुलुकका लागि दलालहरू औजार मात्र हुन् भन्ने सत्य पटकपटक सार्वजनिक भइरहेको छ ।  बीन लादेन, अमेरिकाले उचालेको आतङ्ककारी थियो ।  आफ्नो हातबाट फुत्किने सम्भावना देखेपछि अमेरिकाले नै उसलाई मारिदियो ।  सद्दाम हुसैन पनि अमेरिकाकै उत्पादन थियो ।  स्वतन्त्र ढङ्गले चलखेल गर्न थालेपछि आखिरमा अमेरिकाले नै अन्यायपूर्ण ढङ्गले सद्दाम हुसैनलाई मारिदियो ।  यो सत्य बुझेर होला पुष्पकमल दाहाल कतै आफ्नो अन्त पनि सद्दामको जस्तै नहोस् भनेर लुरुलुरु भारतीय सत्ताको पाउ पर्नुभएको होला ।  सबैले यसैकारण उहाँलाई लेण्डुप दोर्जेसँग तुलना गरेका होलान् ।  सिक्किम राष्ट्र भारतलाई सुम्पिएपछि लेण्डुप दोर्जेले सिक्किम छोडेर कालिम्पोङ पलायन हुनु प¥यो ।  त्यहाँ उनको दुःखद् निधन भयो ।  यति जानकारी त प्रधानमन्त्री प्रचण्डलाई पनि थाहा हुनुपर्छ– गोठालालाई कसैले पनि शिरमा बोक्दैन ।
यतिबेला, यो राष्ट्रघाती संशोधनलाई ३९८ कटाउने कसरतमा देउवा र प्रचण्ड लाग्नुभएको छ ।  प्रचण्डसँग ढङ्ग होला नहोला म भन्न सक्दिनँ, तर देउवाले त सांसद खरिद तथा विदेश भ्रमण गराउने काममा महारत हासिल गरिसक्नु भएको छ ।  यसपटक पनि उहाँले आफ्नो यही कौशललाई दोहो¥याउने सम्भावना छ ।  
एमालेका नेताहरू दुईतिहाई पु¥याउन दिन्नौं भनिरहेका छन् ।  यो संशोधनको सामान्य अर्थ दुईतिहाई होइन ।  यो हो नेपाल नाम गरेको, कहिल्यै कसैको अधीनमा नरहेको राष्ट्रलाई भारतको संरक्षित राज्य बनाउने कि नबनाउने भन्ने गम्भीर मुद्दा ! ३९८ जनाको सहीछाप ठेसेर नेपाल आमाको छाती चिरेर दुई टुक्रा बनाउने कि नबनाउने भन्ने मुद्दा ! अजम्बरी कोही छैन ।  हामी सबै मर्छौं ।  हामीले बोकेका पार्टीहरू पनि मर्छन् ।  तर इतिहास कहिल्यै मर्दैन ।  हामीले कस्तो मरण मर्ने भन्ने निर्णय हामीले लिने हो ।  हाम्रो मरण लेण्डुप दोर्जेको जस्तो हुने हो कि शहीद भीमदत्त पन्तको जस्तो हुने हो ? सोच्ने आफैँले हो ।  तपाईं राष्ट्रको झण्डा बोकेर मर्न चाहनु हुन्छ कि
छिःछिः ! दुर् दुर् ! को मृत्यु मर्न चाहनुहुन्छ ? निर्णय तपाईंले नै गर्ने हो ।
यो प्रश्न संसद्का ती ४९५ सांसद्लाई हो, जसका हातमा अहिले नेपाल राष्ट्रको भविष्य अड्किएको छ ।
राजा आऊ देश बचाउ भन्ने नारा अहिले हराएको छ ।  शायद राजा आएपछि राष्ट्र हिन्दू पनि हुन्छ र यो स्वतन्त्र पनि हुन्छ भन्ने लाग्या होला कसैलाई ।  तर एक्लो राजाले देश बचाउन सक्छन् ? सक्दैनन् ।  अब आउने राजाको शासन देखिएकै हो ।  भोगिएकै हो ।  राजाको शासनका शक्तिशाली मन्त्री कमल थापाजी सधैँ मौसम अनुसारको राजनीति गर्न सक्ने नेता हो ।  ‘एनकेन प्रकारेण मन्त्री प्राप्ति’ उहाँको सिद्धान्त हो ।  राष्ट्रवादी–राष्ट्रघाती–राष्ट्रवादीको वर्तमान नाटकले उहाँको असली चरित्र प्रदर्शित गरिरहेको छ ।  राजाको शासनमा फेरि पनि उहाँ नै शक्तिशाली मन्त्री हुनुहोला ।  उहाँकै अगुवाइमा अहिलेको राष्ट्रघाति संशोेधन कार्यान्वयन होला ।  यो कुनै स्वप्निल अनुमान होइन, यो हो कमल थापाजीको वास्तविक चिनारी ।
त्यसैले देश बचाउने हो भने प्रयत्न गर्ने अहिले नै हो ।  राष्ट्रद्रोही संशोधनको पक्षमा ३९८ मत नपुगोस्, सांसदहरूको आत्मा नबिकोस्, आत्मा बेचेका एक दर्जन नेताको तथाकथित उर्दी (ह्वीप) ले सांसदको विवेक नमारोस् ।  कथंकदाचित ३९८ मत पुगिहालेमा राष्ट्रियताका पहरेदारले संशोधनमाथि जनमत संग्रहको माग गरुन् ।
प्रचण्ड त अघिल्लो चुनाव हार्नुभएकै हो ।  बहिष्कारको धम्कीपछि उहाँलाई जिताइएको हो ।  अबको चुनावमा डडेलधुराबासीले पनि त्यस्तै निर्णय गरून् र शहीद भीमदत्त पन्तको सम्मान रक्षा गरून् ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना