‘राजनीतिक दल आचारसंहिताप्रति प्रतिबद्ध हुनुपर्छ’

तीन प्रदेशअन्तर्गत ३४ जिल्लास्थित २८३ स्थानीय तहका लागि आउँदो वैशाख ३१ गते पहिलो चरणको निर्वाचन हुँदैछ, यसका लागि वैशाख १९ गते उम्मेदवारको मनोनयनपत्र दर्ता भइसकेको छ ।  व्याप्त आशङ्काका बीच स्थानीय तहको निर्वाचनमा मुलुक प्रवेश गरिसकेको अवस्थामा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव अहिले अत्यन्त प्रफुल्ल देखिनुहुन्छ ।  १० वर्षसम्म पत्रकारिता र २४ वर्षसम्म प्राध्यापन गर्नुभएका यादव गत १० वर्षदेखि निर्वाचन आयोगमा हुनुहुन्छ ।  निर्वाचन आयुक्तका रूपमा २०६४ सालको पहिलो र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनको अनुभव सँगाल्नुभएका उहाँ २०७२ भदौमा प्रमुख निर्वाचन आयुक्त बन्नुभएको हो ।  डा. यादवसँग स्थानीय तह निर्वाचनका विषयमा गोरखापत्रका सहसम्पादक कुमारविवेकानन्द मिश्रले गर्नुभएको कुराकानी :ayodhi yadav_mohan bhattarai (1)


० पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ, कस्तो अनुभव गरिरहनुभएको छ ?
म ज्यादै खुसी छु ।  निर्वाचन आयोग गौरवान्वित छ ।  हिजो बिहानसम्म पनि कतिपयलाई निर्वाचन हुन्छ, हुँदैन भन्ने शङ्का थियो तर व्याप्त आशङ्काका बीच हामी अगाडि बढिरहेका थियौँ ।  म विश्वस्त थिएँ– उम्मेदवारी दर्ता हुन्छ, निर्वाचन हुन्छ ।  मतदाता, उम्मेदवार र राजनीतिक दल निर्वाचनका लागि निकै उत्साही छन् ।  लोकतन्त्रका लागि यो राम्रो पक्ष हो ।  मनोनयन दर्ता अत्यन्त शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो ।

० तर अझै पनि अनिश्चितता देखिँदैछ नि ?
अब त निश्चित रूपमा निर्वाचन हुने नै भयो ।  शङ्का गर्ने ठाउँ नै छैन ।  उम्मेदवार घर–घरमा पुग्न थालेका छन् ।  यस्तो अवस्थामा निर्वाचन नहुने कल्पना पनि नगर्नुस् ।  अब त निर्वाचनमा मुलुक गइसक्यो ।  निर्वाचनका चार चरणमध्ये मनोनयन दर्ता भइसक्यो, प्रचारप्रसार शुरु भएको छ ।  अब मतदान र त्यसपछि मतपरिणाम आउन मात्रै बाँकी छ ।  

० मनोनयन हुनुले मात्र आशङ्का हट्ने हो र ?
त्यस्तो सोच्नै हुँदैन ।  मनोनयन भएपछि निर्वाचन किन हुँदैन ? कुन शक्तिले रोक्न सक्छ ? अहिले निर्वाचन नहुने कसैले भन्नै सक्तैन ।  शङ्काको कुरा नगर्नुस् ।  निर्वाचनमा हामी गइसक्यौँ ।  

० निर्वाचनको तयारी कस्तो छ ? विशेषगरी सुरक्षा व्यवस्था ?
निर्वाचनको सुरक्षा व्यवस्था अत्यन्त सुदृढ छ ।  हिजो मनोनयनका क्रममा देखिएकै हो ।  केन्द्रीय सुरक्षा समितिले राम्रो व्यवस्था गरेको छ ।  आयोग पूर्ण रूपमा सन्तुष्ट छ ।  हामीले हिजो विभिन्न केन्द्रमा गएर हे¥यौँ, अत्यन्त राम्रो सुरक्षा व्यवस्था गरिएको छ ।  यसपालि वडास्तरका उम्मेदवार पनि छन्, त्यसैले सुरक्षा व्यवस्था विशेष रूपमा सुदृढ हुनैपर्छ ।  यसप्रति आयोग विशेष सतर्क छ ।

० निर्वाचनको विरोध गर्ने दलबाट पनि उम्मेदवारी परेको छ नि ?
निर्वाचनबाट कोही टाढा हुनुहुँदैन ।  हिजो जे जस्तो अवस्थामा हुनुहुन्थ्यो, त्यो हिजोको कुरा  थियो ।  आज निर्वाचनमा सहभागी हुनुभयो ।  यो लोकतन्त्रका लागि सकारात्मक कुरा हो, सङ्घीयता, गणतन्त्र र नयाँ संविधानका लागि राम्रो पक्ष हो ।  

० तर असन्तुष्ट दलरुको माग सम्बोधन भएको छैन भनिएको छ, दोस्रो चरणको निर्वाचन सम्भव छ त ?
पहिलो चरणको निर्वाचन भएपछि दोस्रो चरणको निर्वाचन पनि हुन्छ ।  सम्भव छ, हुन्छ ।  रह्यो असन्तुष्ट दलहरूको कुरा, त्यो राजनीतिक, कानुनी र संवैधानिक विषय हो ।  हामीले सम्बोधन गर्ने विषय होइन ।  सरकार, राजनीतिक दलहरूले गर्ने विषय हो ।  दलबीच समझदारी र विश्वास हुनुपर्छ ।  दलीय पद्धतिका आधारमा निर्वाचन हुने हो ।  दोस्रो चरणका लागि पनि दलबीच सहमति तथा समन्वय आवश्यक छ तर त्यसको समय बाँकी छ ।  दलबीच एउटा समझदारी हुन्छ होला ।  

० दोस्रो चरणको निर्वाचन अलि चुनौतीपूर्ण देखिएको हो ?
होइन, मैले भने नि पहिलो चरण सम्पन्न भएपछि दोस्रो झन् सहज रूपमा सम्पन्न हुन्छ ।  हामीलाई प्राकृतिक रूपमा चुनौती छ ।  वर्षा याममा कसरी मतदाता मत खसाल्न आउँछन्, त्यसको मात्रै चिन्ता छ ।  यसबाहेक केही दलले बहिष्कार गर्ने वा भूमिगत समूह छन्, केही अप्ठ्यारा होलान् ।  प्रचारप्रसारमा दल र उम्मेदवारलाई चुनौतीको सामना गर्नुपर्ला तर आयोग निर्वाचनका लागि चुनौती सामना गरी अघि बढ्छ ।  

० निर्वाचनको स्वतन्त्रता एवम् निष्पक्षताका लागि आयोगले के गरेको छ ?
निर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न हुन्छ, त्यसका लागि म विश्वास दिलाउन चाहन्छु ।  निर्वाचनको निष्पक्षताका लागि आयोगले कानुनी बाटो अख्तियार गर्ने हो ।  निर्वाचनसम्बन्धी कानुन, नियमावली, निर्देशिकाका आधारमा हामी अघि बढ्ने हो ।  यी कुरा पारदर्शी छन्, कडाइका साथ पालना गरिन्छ ।  राजनीतिक दल आचारसंहिताप्रति प्रतिबद्ध हुनुपर्छ ।  निर्वाचन अधिकृत, मतदान अधिकृतलाई पनि त्यसैगरी परिचालन गरेका छौँ ।  सहसचिवको नेतृत्वमा अनुगमन गरिँदैछ ।  

० उम्मेदवारीसँगै आचारसंहिता उल्लङ्घनका घटना बढ्न सक्छन् ।  संहिताको कार्यान्वयन, पालना र अनुगमन कसरी गर्नुहुन्छ ?
आचारसंहिता उल्लङ्घनका घटना बढ्दैनन्, अब त झन् घट्छन् ।  ३४ जिल्लामा मुख्य निर्वाचन अधिकृत र २८३ निर्वाचन केन्द्रमा अनुगमन गर्नका लागि सहसचिव जिल्लामा गएका छन् ।  माइक्रो मोनिटर
(सुक्ष्म अनुगमन) पनि गर्छाैं ।  अनुगमनमा कडाइ गर्छाैं ।  सरकार, राजनीतिक दल, उम्मेदवार, सङ्गठित सङ्घ संस्थालगायतलाई पालना गर्न निर्देशन जारी भएको छ ।  वैध हातहतियार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेका छौँ, अवैध मदिरा नियन्त्रण गर्न भनिएको छ ।  आपराधिक गतिविधिमा लागेका शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिन निर्देश गरिएको छ ।  यसका बाबजुद केही अदृश्य कार्य भएको पाइएमा हामी नियन्त्रण गर्छाैं, आचारसंहिताको पूर्ण पालना र कार्यान्वयनमा जोड दिन्छौँ ।

० निर्वाचन पर्यवेक्षणको व्यवस्थापन कसरी गर्नुभएको छ ?
विभिन्न ४९ संस्थाका करिब ५० हजार जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ ।  पर्यवेक्षणमा अन्तर्राष्ट्रिय संस्था छैन ।  पर्यवेक्षण निर्देशिकाको मातहतमा रहेर उहाँहरूले पर्यवेक्षण गर्नुहुनेछ ।  सबै वर्ग समुदाय, गैरसरकारी संस्था र सञ्चार क्षेत्रमाथि पनि आचारसंहिता लागू भएको छ ।  यी सबैको पर्यवेक्षण हुनेछ ।

० स्थानीय निर्वाचन २० वर्षपछि हुन लागेको छ, मतदाता शिक्षा सोचेजस्तो प्रभावकारी भएन भन्ने गुनासो छ नि ?
मतदाता शिक्षाका लागि आयोगलाई जति समय उपलब्ध भएको छ, हामीले गरेका छौँ ।  आयोगको यो पहिलो काम हो तर यसमा दल, सरकार विभिन्न निकाय सङ्घ संस्था पनि सक्रिय हुनुपर्छ ।  दल वा उम्मेदवार मतदातालाई आफूलाई मत दिने विषयमा मतपत्र लिएर सिकाउँछन् ।  यद्यपि, मतदान केन्द्रका लागि २१ हजार जनालाई मतदाता शिक्षा तालिम दिइएको छ ।  विभिन्न १६ वटा भाषामा प्रचारप्रसार गरिएको छ ।  विभिन्न सञ्चारमाध्यमबाट सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ ।  

० निर्वाचनप्रति सञ्चार क्षेत्रको भूमिका कस्तो पाउनुभएको छ ?
सञ्चार क्षेत्रको भूमिकाले नै निर्वाचन सम्भव भइरहेको छ ।  निर्वाचनको वातावरण बनाउने अत्यन्त उत्कृष्ट कार्य सञ्चार क्षेत्रले गरेको छ ।  सञ्चार क्षेत्रको सहयोगकै कारण आयोग निर्वाचन गर्ने अवस्थामा पुगेको छ ।  निर्वाचन कार्यक्रमको समाचार सङ्कलन, सम्पादन र प्रचारप्रसारमा सञ्चार क्षेत्रले उल्लेखनीय सहयोग गरेको छ ।  त्यसका लागि म धन्यवाद दिन चाहन्छु ।  

० निर्वाचनका क्रममा नेत्रहीन, बहिरा, यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका मतदाताका लागि आयोगले केही कार्य ग¥यो कि ?
यी समुदायका लागि हामीले शिक्षाप्रद कार्य गरेका छौँ ।  नेत्रहीन, बहिरा, अशक्तलाई तालिम दिएका छौँ ।  विद्युतीय माध्यमबाट प्रशिक्षित बनाएका छौँ ।  अब त निर्वाचन मिति आउन १० दिनमात्रै बाँकी छ ।  तैपनि आयोगले यी वर्ग समुदायका मतदातालाई मत दिने वातावरण बनाएको छ ।

० गर्भवती वा सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताका लागि मतदानमा प्राथमिकता निर्धारण गरिएको छ कि ?
निश्चय नै, यी वर्ग समुदायका मतदातालाई आयोगले प्राथमिकतामा राखेको छ ।  मतदान केन्द्रमा पुग्ने यी वर्गका मतदातालाई विशेष व्यवस्था गरिएको छ ।  निर्देशिकामा पनि यो व्यवस्था छ ।  सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतले यस्ता वर्गका मतदातालाई सक्दो चाँडो मतदानको व्यवस्था मिलाउने छन् ।  नेत्रहीन वा अपाङ्गता भएका मतदाताले विश्वास गरेका व्यक्तिमार्फत वा सम्बन्धित मतदान अधिकृतले मतदानमा सहयोग गर्छन् ।  
० पहिलो चरणको मतदान सकिएपछि मतगणना कसरी कहिले हुन्छ ?
मतदान सकिएपछि सम्पूर्ण मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आइसकेपछि मात्रै मतगणना कार्यको मिति समय निर्धारण हुन्छ ।  त्यसको अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई छ ।  उहाँहरूले नै मतगणनाको मिति, समय निर्धारण गर्ने र मतगणनाको कार्य गर्ने हो  ।  

० आउँदो २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्याता छ, के यो सम्भव छ ?
सकिँदैन भन्दाभन्दै आज मुलुक स्थानीय तहको निर्वाचनमा गइसक्यो ।  नेपाल सरकारले निर्वाचन क्षेत्र निर्धारण गरेर दियो भने आउँदो २०७४ कात्तिकमा प्रदेश र मङ्सिरमा प्रतिनिधिसभाको निर्वाचन गर्न सकिन्छ तर अहिलेसम्म निर्वाचन क्षेत्र निर्धारण आयोग नै बनेको छैन ।  पहिले आयोग बन्नुप¥यो, १६५ वटा निर्वाचन क्षेत्र निर्धारण हुनुप¥यो, प्रदेशको सीमाङ्कन हुनुप¥यो ।  यी सबै गर्नुको साथै सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति निर्धारण गर्नुप¥यो, निर्वाचन आयोग तयार छ ।  अब हुने निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको समय चाहिन्छ ।  मतदाता नामावली सङ्कलन ज्यादै अप्ठ्यारो काम हो, समय चाहिन्छ ।  समय कम भयो भने गर्न गाह्रो हुन्छ ।  समयमा सबै काम भयो भने आउँदो २०७४ माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सकिन्छ ।  प्रादेशिक र केन्द्रीय संरचना निर्माण हुन्छ ।

० निर्वाचनप्रति राजनीतिक प्रतिबद्धता कस्तो पाउनुभएको छ ?
राजनीतिक दलको प्रतिबद्धताकै परिणाम स्वरूप स्थानीय तहको निर्वाचन सम्भव भएको हो ।  राजनीतिक दल र सरकारको सहयोग र उच्च स्तरीय प्रतिबद्धताले गर्दा निर्वाचन हुन लागेको हो ।  निर्वाचन आयोग पनि पूर्ण प्रतिबद्ध छ ।  

० अन्त्यमा केही भन्नुहुन्छ कि ?
निर्वाचन प्रचारप्रसारमा दल र उम्मेदवारलाई आचारसंहिता पालना गरिदिन आग्रह गर्छु ।  निर्धक्क भएर निर्वाचनमा सहभागी हुनुस्, वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई सफल बनाउन सबैले सहयोग गरौँ ।  कसैको प्रभाव वा दबाबमा नपरी आफ्नो स्वविवेकले मतको सदुपयोग गरौँ ।  मतदान गरौँ आफ्नो प्रतिनिधि चुनौँ ।  यसका लागि म सम्पूर्ण मतदातालाई आग्रह गर्छु ।  लामो समयपछि आएको यो अवसरलाई सुदपयोग गरौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना