४९ हजारभन्दा बढीको उम्मेदवारी, कतै निर्विरोध

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौंँ,  वैशाख २२ गते ।  पहिलो चरणको स्थानीय निकायका निर्वाचनका लागि देशभरबाट ४९ हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।  निर्वाचन आयोगले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार तीन प्रदेशका २८३ स्थानमा ४९ हजार २०७ जनाको उम्मेदवारी दर्ता भएको छ ।  
तीन प्रदेशको ३४ वटा जिल्लामा सञ्चालन हुन लागेको निर्वाचनमा अध्यक्ष तथा प्रमुखका लागि सबैभन्दा बढी १६३ जनाले काठमाडौँ जिल्ला र सबैभन्दा कम मनाङ जिल्लामा १० जनाको उम्मेदवारी परेको छ ।  काठमाडौँ जिल्लामा ११ वटा सबै नगरपालिका रहेका छन् भने मनाङमा चारवटा सबै गाउँपालिका रहेका छन् ।  
उम्मेदवारी दर्ता गर्ने नगरपालिका प्रमुख तथा गाउँपालिकाको अध्यक्षमा एक हजार ९२५ जना र उपप्रमुख तथा उपाध्यक्षमा एक हजार ४२९ जनाले मनोनयन दर्ता गर्नुभएको छ ।  त्यसैगरी वडा अध्यक्षमा कुल १० हजार ८४१ र सदस्यमा १८ हजार ३७१ व्यक्तिले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।  
त्यसैगरी, महिला सदस्यमा कुल नौ हजार ३३ र दलित महिला सदस्यमा कुल सात हजार ४७२ जनाको उम्मेदवारी दर्ता भएको छ ।  निर्वाचन आयोगका अनुसार काठमाडौँ जिल्लाका १२ वटा नगरपालिकाका १२ वटा प्रमुख पदका लागि १६३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुखमा ८८ जनाको मनोनयन दर्ता भएको छ ।  
त्यसैगरी, १३ वटा गाउँपालिका र नगरपालिका अध्यक्ष तथा प्रमुख पदमा ९९ जनाले र नुवाकोटको १२ वटा गाउँपालिका र नगरपालिकाका अध्यक्ष तथा प्रमुख पदका लागि ९९ जनाले उम्मेदवारी दिनुभएको  छ ।  मनाङका चार वटा गाउँपालिकाको अध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ भने चारवटा उपाध्यक्षमा ११ जनाले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।  
निर्वाचन आयोगका अनुसार तीनवटा गाउँपालिका र तीनवटा नगरपालिका रहेको ललितपुर जिल्लामा प्रमुख तथा अध्यक्ष पदमा ६९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुख तथा उपाध्यक्ष पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।  
मनाङको नारफू गाउँपालिकामा महिला वडा सदस्यमा उम्मेदवारी परे पनि दलित महिला सदस्यको भने उम्मेदवारी परेको छैन ।  त्यसैगरी, कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको दलित महिला सदस्यमा सबैभन्दा बढी १४५ जना दलित महिलाले उम्मेदवारी दिनुभएको छ ।  
चितवनको भरतपुर महानगरपालिकाको दलित महिला सदस्यमा ११७ जना दलित महिलाको उम्मेदवारी परेको छ ।  ती स्थानमा पोखरा लेखनाथ महानगरपालिकाको महिला सदस्यमा १५७ जना र भरतपुर महानगरपालिकामा १३१ जना महिलाले वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ ।  
दुई जनाको उम्मेदवारी परेको गाउँपालिकाहरूमा डोल्पाको डोल्पो बुद्ध गाउँपालिका, दोलखाको गौरीशङ्कर, बागलुङको बरेङ गाउँपालिका, मनाङको चामे गाउँपालिका, मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, दोलामे गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका रहेका छन् ।  
निर्विरोध निर्वाचित
यसैबीच उम्मेदवारी दर्ता एक जनाको मात्र भएर केही स्थानमा निर्विरोध चयन भइसकेका आयोगले जनाएको छ ।  निर्विरोध हुनेमा मनाङको नारफू गाउँपालिकाका अध्यक्ष, मनाङको नेस्याङ गाउँपालिकाको वडा अध्यक्ष, ललितपुरको महालक्ष्मी नगरपालिकाको दलित महिला सदस्य, वाग्मती गाउँपालिकाको दलित महिला सदस्य, महाकाल गाउँपालिकाको दलित वडा सदस्य, डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्ष रहेका छन् ।  
त्यसैगरी म्याग्दीमा वडाअध्यक्ष, महिला सदस्यसहित चार जना, दोलखामा दलित महिला सदस्य तीन जना, सिन्धुपाल्चोकमा महिला तथा दलित महिला सदस्यसहित तीन जना, बागलुङमा महिला तथा दलित महिलासहित दुई जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना