झापामा बढ्दै छ सूर्यमुखी खेती

लीलाराज झापाली

विर्तामोड, वैशाख २४ गते ।  सरकारले झापामा धानखेतीमा जोड दिइरहेको भए पनि किसान सूर्यमुखी खेतीतर्फ पनि आकर्षित भएका छन् ।  तेलका लागि तोरीभन्दा बढी फाइदा हुने भएपछि दक्षिणी झापाको शरणामतीका अगुवा किसानले व्यावसायिक सूर्यमुखी खेती सुरु गरेका छन् ।  यस क्षेत्रका सातजना किसानले यसै वर्षदेखि बीउका लागि करिब तीन बिघामा यसको व्यावसायिक खेती सुरु गरेका हुन् ।  
सूर्यमुखीको तेल स्वास्थ्यका लागि समेत फाइदाजनक हुने र तोरीको तुलनामा बढी तेल आउने कुरा जानकारी थाहा पाएपछि यहाँ किसानले सल्लाह गरेरै सूर्यमुखीको खेतीतर्फ आकर्षित भएको यसमा लागेका किसान बताउँछन् ।  स्थानीय कृषक सुमन प्याकुरेल, मदनकुमार भण्डारी, उमानाथ तिम्सिना, बलबहादुर भण्डारीलगायातका कृषकले यसै वर्षदेखि सूर्यमुखीको खेती सुरु गर्नुभएको हो ।  यस वर्ष परीक्षणका रूपमा सूर्यमुखीको खेती गर्दा कसैले विषादीरहित त कसैले विषादी र रासायिनक मलको प्रयोग गर्नुभएको छ ।  suryamukhi
फागुनमा छरेको सूर्यमुखी जेठमा काट्न योग्य हुने भण्डारीले बताउनुभयो ।  अहिले खेतमा सूर्यमुखी फूल हेर्न अहिले दैनिक कृषक खेतमा पुग्ने गरेका छन् ।  ४० किलो सूर्यमुखीको दानाबाट २२ लिटरसम्म तेल निस्कने र यसको तेल प्रतिलिटर एक हजार  रुपियाँमा बिक्ने हँुदा प्रतिबिघा कृषकले खर्च कटाएर तीन लाख रुपियाँसम्म आम्दानी गर्न सकिने कृषक सुमन प्याकुरेलले बताउनुभयो ।  यस खेतीका लागि उन्नत बीउबिजन र प्राविधिक सहयोग प्राप्त हुने हो भने सयौँ बिघामा यसको खेती गर्न सकिने र हजाराँै युवालाई विदेसिनबाट रोक्न सकिने कृषक मदनकुमार भण्डारीले बताउनुभयो ।  जिल्ला कृषि विकास कार्यालय, झापाका सूचना अधिकारी शीतल भट्टराईका अनुसार प्याकुरेलले सञ्चालन गरेको सूर्यमुखी खेती झापाकै पहिलो व्यावसायिक सूर्यमुखी खेती हो ।  पछिल्लो समय झापामा फस्टाउँदै गएको मौरीपालनमा समेत थप सहयोग मिल्ने भन्दै सूर्यमुखीको व्यावसायिक खेतीका लागि सरकारले समेत मद्दत गर्ने भट्टराईले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना