फूलमा सुन फलाउँदै पन्त

शालिग्राम नेपाल

गुञ्जनगर (चितवन), वैशाख २४ गते ।  पैसा कमाउन के काम गर्ने ? युरोपेली देश जाने वा खाडी मुलुक ।  या कुनै ठूलो पदमा जागिर खाने ।  यी सबै विकल्पभन्दा उत्तम क्षेत्र बनेको छ, फूल खेती ।  काम गर्न सजिलो छैन तर कडा मिहिनेत गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ पश्चिम चितवनको गुञ्जनगरका  प्रकाश पन्त ।  नेपालमा फूलको माग हरेक वर्ष बढ्दो क्रममा छ तर उत्पादन चाहिए जति छैन ।  
करिब १८ वर्ष अघिदेखि फूल खेती गर्दै आउनुभएका पन्तले अहिले खेतीलाई विस्तार गरेर तीन प्रजातिका फूल फुलाउँदै आउनुभएको छ ।  ग्लाडियस् जातको फूल खेती गरेर आम्दानी गर्दै आउनुभएका उहाँले अहिले थप दुई गुलाब र जर्बेरा जातका फूलको उत्पादन गर्न सफल हुनुभएको छ ।  लाखाँै रुपियाँमा ग्रिन हाउस बनाएर खेती गरिरहनुभएका पन्तले वार्षिक लाखौं रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ ।   १२ कठ्ठा जमिनमा ग्रिन हाउस बनाएर गुलाब फूल खेती सुरु गर्नुभएका उहाँले यसैबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो ।   खुला ठाउँमा लगाइको भन्दा ग्रीन हाउसभित्र लगाएको गुलाब गुणस्तरीय हुने अनुभव सुनाउँदै किसान पन्तले भन्नुभयो– “४५ लाख खर्च गरेर गुलाब खेती गरेको छु यहाँ बाह्रै महिना फूल उत्पादन गर्न सकिन्छ । ” flower_1
खुला ठाउँमा फुलेको गुलाब चम्किलो नहुने, सबै फूल एकै साइजका नहुने र थोरै फुल्ने भएकाले ग्रिन हाउसभित्र खेती गरेको हो उहाँले बताउनुुभयो ।  छवटा रङमा गुलाब फुलाउँदै आउनुभएका पन्तले एकै साइजका चम्किला र गुणस्तरीय फूल उत्पादन गर्नुभएको हो ।  “ग्रिन हाउस बाहिर र भित्र दुवै ठाउँमा गुलाब लगाएको छु” उहाँले भन्नुभयो “बाहिरभन्दा ग्रिन हाउसमा फूल्ने फूलको गुणस्तर राम्रो छ । ”
गुलाब फूल फूल्ने मुख्य मौसम मङ्सिरदेखि जेठ हो तर मङ्सिरदेखि चैत्र १५ गतेसम्मको फूल अझ राम्रो मानिन्छ ।  यस समयमा फूलेको फूलले धेरै आम्दानी दिने पन्तले बताउनुभयो ।  दैनिक चार सय छडी बजारमा गइरहेको फूल पुस महिना लागेपछि दैनिक पाँच हजारको सङ्ख्यामा उत्पादन भएको जानकारी दिनुभयो ।  खर्च कटाएर वार्षिक सातदेखि आठ लाख रुपियाँ गुलाबबाट मात्रै आम्दानी गर्दै आउनुभएका उहाँको फूलको मुख्य बजार काठमाडाँै हो ।  
असोजदेखि असार महिनासम्मको समय फूलको लागि मुख्य मौसम मानिन्छ ।  यसै समयमा चाडपर्व र विवाह, व्रतबन्ध, सभा सम्मेलन, पार्टी, भोज भतेरका कार्यक्रम पर्ने भएकाले फूलको माग बढी हुने गरेको पन्तको अनुभव छ ।  “यस समयमा माग धेरै हुने गर्दछ नेपालको मात्र उत्पादनले पुग्दैन” उहाँले भन्नुभयो “सबैभन्दा बढी माग भ्यालेन्टाइन डेमा हुने गर्दछ । ” गुलाबजस्तै उहाँले हल्याण्डबाट आयातित जर्बेरा जातको फूल र ग्लाडीलियस फूल पनि लगाउनुभएको छ ।  दुवै जातका फूलको माग धेरै रहेको र यसबाट पनि वार्षिक १० लाख रुपियाँ आम्दानी गर्दै आएको उहाँले जानकारी दिनुभयो ।  
नेपालमा उत्पादन हुने फूलले ६० प्रतिशत मात्र माग पूरा गर्न सकेको पुष्प व्यवसायी संघ चितवनका अध्यक्षसमेत रहनुभएका पन्तले चितवनमा पनि माग बढ्दै गएको जानकारी दिनुभयो ।   पछिल्लो समय फूलको माग धेरै रहेकाले मिहिनेत गरेर उत्पादन गरे आम्दानी राम्रो हुने जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।  पन्त जिल्लाका उत्कृष्ट फूल खेती किसानका रूपमा रहनुभएको छ ।  अहिले चितवनमा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या थोरै रहेको कार्यालयले जानकारी दिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना