एक सय सत्र वर्षे जवान गोरखापत्र

kamal rijalकमल रिजाल

 

आजदेखि नेपाली पत्रकारिताको जीवन्त इतिहास गोरखापत्र ११७ औं वर्षमा प्रवेश गरेको छ ।  वि. सं. १९५८ वैशाख २४ गतेदेखि निरन्तर प्रकाशित हुँदै आएको गोरखापत्र शताब्दी पार गर्ने दक्षिण एसियाकै सीमित पत्रिकामा पर्छ ।  गोरखापत्रले हाल झण्डै तीन दर्जन हाराहारीका राष्ट्रिय भाषामा समाचार प्रकाशित गर्दै आएको छ ।  यसको आधारमा भन्नुपर्दा यसलाई विश्वकै अनुपम नमुना मान्न सकिन्छ ।  हाम्रो पूर्वीय दर्शन सभ्यतामा शतायुलाई विशेष अवधि मानिएको छ ।  वेदले पनि ‘पश्येम शरदः शतम् जीवेम शरदः शतम्’ अर्थात् सय वर्षसम्म बाँच्न र हेर्न सकौँ भन्दै यस अवधिलाई विशेष सम्मान गर्न खोजेको छ तर गोरखापत्रले भने वेद वचनलाई समेत नमन गर्दै अघि बढिसकेको देखिन्छ ।   अर्थात् उसले शतायुलाई सहजताका साथ पार गरेको मात्र छैन दीर्घायुको पथमा पाइलो सारिसकेको छ ।   
देवशम्शेरकालीन राणाशासनदेखि प्रजातन्त्र, पञ्चायत, पुनःस्थापित प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा मुलुकमा अकल्पनीय राजनीतिक परिवर्तन भइसकेको छ ।  यस अवधिमा मुलुकले के कस्ता गाह्रा, अप्ठ्यारा मोड र घुम्ती पार गर्नुप¥यो त्यो हामी माझ छिपेको छैन तर गोरखापत्रले ती तमाम घुम्ती र मोडलाई सहज रूपमा झेल्दै आएको मात्र छैन आफूलाई अझ बढी खार्दैै र निखार्दै अनि झन् तन्नेरी र जवान बनाउँदै अघि बढाउने काम गर्दै आएको छ ।  ‘सर्वे भवन्तु सुखिनः’ र ‘सर्वे सन्तु निरामयाः’ लाई मूलमन्त्र बनाउँदै ल्याएको गोरखापत्रलाई सस्तो लोकप्रिय हुनु छैन, त्यस्तो लोकप्रियता कमाउनु छैन र अस्वस्थ प्रतिस्पर्धामा उत्रनु पनि छैन ।  ‘विस्तारै गए पुगिन्छ हतार गरे कुन्नि’ भन्ने लोकोक्तिसित सम्यक परिचित गोरखापत्रलाई आफ्नै गति प्रिय छ ।  ऊ आफ्नै गतिमा हिँड्दै आएको छ, हिँडिरहेको छ ।  
मुलुकमा उसका प्रतिस्पर्धी थुप्रै आइसकेका छन् र सबै आ–आफ्नै ढङ्गले कुदिरहेका छन् तर सत्य र निष्ठाको पथमा गोरखापत्र नै एक्लो बृहस्पति हुन पुगेको छ ।  यसले न भ्रामक समाचार प्रवाह गरेर बहालवाला राष्ट्रपतिलाई विवादमा तानेको छ न बहालवाला प्रधानन्यायाधीशकै विरुद्ध त्यस्तै समाचार दिएर अदालतमा मुद्दा खेप्नु परेको छ ।  मुलुकमा आफूलाई एक नम्बरको दावी गर्ने पत्रिका अरू नै छन् तर ....लाई भन्दा देख्नेलाई लाज भनेजस्तो हरेक वर्ष सरकारलाई सर्वाधिक कर तिर्ने पत्रिकामा गोरखापत्र नै पर्छ ।  
करिब दुई वर्ष अघिको कुरा हो, जतिबेला पङ्क्तिकार गोरखापत्रको सम्पादकीय नेतृत्वमा थियो, एक दिन आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक राममणि दुवाडी (जो यसको चिरपरिचित मित्र  हुनुहुन्छ) ले सरकारलाई बढी कर तिर्ने सञ्चार उद्योगमा गोरखापत्र अगाडि देखिएकाले पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी दिँदै बधाई दिनु भएको थियो ।  त्यतिबेला खुशी लागेको मात्र थिएन अब चाडै नै एक नम्बरको छिनोफानो हुनेछ भन्ने आशा पलाएको थियो तर यसपछि यसतर्फ कसैले खासै चासो दिएनन् ।  दवाडीजीले केही समयपछि नै अनिवार्य अवकाश लिनुभएकाले उहाँबाट आशा गर्ने स्थान थिएन, रहेन ।  सम्बद्ध निकायले ध्यान दिनुपर्ने हो तर उसले जाँगर चलाउन चाहेन ।  उल्टै खोई कुन्नि किन हो अर्को वर्षदेखि पुरस्कार प्रक्रियालाई नै निरन्तरता दिएन ।  
अहिले पनि कतिपयमा गोरखापत्रले सरकारको गुणगान मात्र गर्छ भन्ने भ्रम रहेको पाइन्छ ।  सरकारी संस्थानबाट प्रकाशित हुने भएकाले उनीहरूलार्ई त्यस्तो लागेको हुन सक्छ ।  यदि यसै हो भने यो भन्दा महान् भूल अर्को हुनै सक्दैन ।  गोरखापत्रले सरकारको गुणगान मात्र गर्दैन बरु गुणगान नगरे वापत यदाकदा सरकारी हाकिम तथा सरकारका प्रतिनिधिका नराम्ररी कोपभाजन हुनुपरेको छ ।  पञ्चायतीकालमा त यसले सरकारी पदाधिकारीद्वारा असन्तुष्टिको मार कति खेप्नुप¥यो कति लेखा जोखा छैन ।  उसले सिंहदरबारको मार झेल्नुपथ्र्यो राजदरबारको प्रहार पनि खेप्नुपथ्र्यो ।  प्रजातन्त्र पुनस्थापाना भएपछि र गणतन्त्र आएपछि पनि यदाकदा यसैको भूतले तर्साउन छाडेको छैन ।  उदाहरणका लागि एकाध घटना प्रस्तुत गर्ने अनुमति चाहन्छु ।   
प्रजातन्त्र पुनःस्थापनाको केही वर्षपछिको कुरा हो, त्यतिबेला गोरखापत्रलाई निजीकरण गर्ने कि सहकारीकरण गर्ने भन्नेबारे निकै चर्चा चलिरहेको थियो ।  कोही तत्कालै निजीकरण गर्नुपर्छ भनिरहेका थिए, कोही हुँदैन भनिरहेका थिए ।  त्यति नै बेला एक अमूक विदेशी दातृ निकायले गोरखापत्रलाई निजीकरणमा नगर्ने हो भने यसको विकासमा आफूले सहयोग गर्न चाहेको आशय व्यक्त गर्दैै नगण्य ब्याज (झण्डै निब्र्याजी जस्तै) मा मोटै रकमको प्रस्ताव पेश गरेको थियो तर तत्कालीन विभागीय मन्त्रीले तत्कालै विज्ञप्ति जारी गरी सरकार यथाशीघ्र गोरखापत्रलाई निजीकरण गर्ने पक्षमा रहेको घोषणा गरेर प्रस्तावको गर्भमै हत्या गरिदिए ।   फलतः सहयोगको प्याकेज अर्कैै सञ्चार गृहतिर स¥यो भने गोरखापत्रको विकास पछाडि प¥यो ।  त्यस्तै केही वर्ष अघिको कुरा हो एक जना विभागीय मन्त्रीले त कतिसम्म भनेका थिए भने ‘गोरखापत्रले प्रतिस्पर्धा गर्नुपर्दैन, अन्यथा पत्रिका नै बन्द गराउने अवस्था आउन सक्छ । ’ यसको कारण अरू केही थिएन ।  यही आफूले भनेबमोजिमको समाचार भनेको स्थानमा छापेन भन्ने निहुँले काम गरेको थियो ।  तथापि गोरखापत्रले स्वच्छ र स्वतन्त्र पत्रकारिताको धर्मलाई कहिल्यै छाडेको छैन ।  तमाम प्रहारलाई झेलेर पनि अघि बढिरहेको छ ।   
लिखित दस्तावेज हो पत्रिकाका पानाहरू आफैँ साक्षी छन् गोरखापत्रले एकै साथ दोहोरो दायित्व निर्वाह गर्दैै आएको छ ।  उसले सरकारको नीति, निर्देशन र निर्णयलाई जस्ताको तस्तै जनसमक्ष पु¥याउँदै आएको छ र सम्पादकीय, लेखरचना, समाचार टिप्पणी र चिठीमार्फत जनताको गुनासो सरकारसमक्ष पु¥याउने काम गर्दै आएको छ ।  
तैपनि कोही कसैलाई गोरखापत्रले सरकारको गुणगान मात्र गर्छ भन्ने गर्छ भन्ने लागेको छ भने ठाने हुन्छ हातले आँखा छोपी अँध्यारो भयो भनिरहिएको छ ।  
निःसन्देह नेपाली पत्रकारिताको विश्वविद्यालयकै रूपमा रहेको गोरखापत्र मुलुकको अमूल्य सम्पदा मात्र होइन ऐतिहासिक धरोहर हो ।  अहिले पनि मुलुकका अति दुर्गम भेकतिर कहीं कतै पत्रिका भनेको गोरखापत्र मात्र हो भन्ने मान्यता रहँदै आएको छ ।  यसरी जनजिब्रोमा बसेर समग्र पत्रिकाको प्रतिनिधित्व गर्ने पत्रिका सम्भवतः विश्वमा अन्यत्र पाउन मुस्किल पर्छ ।  त्यसैले यसको विकास र समुन्नतिमा सरकार, सरकारी निकायका साथै राजनीतिक दल र तिनका कार्यकर्ताले समेत उत्तिकै चासो दिनुपर्ने देखिन्छ ।  यसबाहेक यसमा आबद्ध पत्रकार, प्रशासन र कर्र्र्मचारीको निष्ठा र लगनशीलता आआफ्नो स्थानमा उत्तिकै आवश्यक छदैछ ।  
केही वर्ष यता गोरखापत्रलाई फराकिलो स्थानमा सारी प्रकाशन तथा बिक्री वितरणको व्यवस्था मिलाउन जोडतोडले प्रयास हुँदै आएको पाइएको छ ।  यसमा संस्थानका अध्यक्ष एवं महाप्रबन्धक तथा पत्रकार र कर्मचारी वर्गको पनि उत्तिकै सहयोग र सद्भाव रहँदै आएको बुझिएको छ ।  अझ सुखद पक्ष त के भने उहाँहरूको प्रयासमा विभागीय मन्त्री र मन्त्रालयका सचिवबाट समेत उत्तिकै मात्रामा होस्टेहैंसै हुँदै आएको छ ।  तैपनि यसले मूर्तरूप पाउन भने अझै सकेजस्तो लाग्दैन ।  त्यसैले यस अभियानले यथाशीघ्र मूर्त रूप पाओस् र गोरखापत्र अरू केही सय वर्षमात्र होइन हजार वर्षै यात्रामा लम्कन सफल होस् ।  ११७ औं वर्ष प्रवेशको अवसरमा यही नै शुभकामना ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना