अविराम यात्रामा गोरखापत्र

dinanath_sharmaदीनानाथ शर्मा

 

नेपालको जेठो समाचारपत्र गोरखापत्र आजैका दिनदेखि ११७औँ वर्षमा प्रवेश गरेको छ ।  छापा पत्रकारिताको इतिहासमा सतिसाल बनेर उभिएको गोरखापत्रको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना दिन चाहन्छु ।  गोरखापत्र फूलबारीमा गोडमेल, मलजल र सिंचनमा संलग्न सम्पूर्ण मालीहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।
विक्रम संवत् १९५८ वैशाख २४ गते आजैका दिन जेठो समाचारपत्र गोरखापत्र साप्ताहिक रूपमा प्रकाशित भएको थियो ।  प्रत्येक सोमबारका दिन जनताको घरदैलोमा हाजिर हुन थालेको हो ।  विसं २००० आसोज २९ देखि २०००३ फागुन ७ सम्म हप्ताको  दुईपटक सोमबार र शुक्रबार प्रकाशित भयो ।  विसं २००३ पुसबाट २०१७ साल फागुन ४ गतेसम्म सोम, बुध र शुक्रबार सबेरै हाम्रो ढोकामा हाजिर भयो ।  गोरखापत्र बढ्दै गयो, हुर्किंदै गयो, लक्का जवान भयो ।  विसं २०१९ फागुन ७ बाट दैनिक भयो यसको रूप फेरियो ।  २०१९ कै असार ९ बाट शनिबारीय परिशिष्टाङ्कको सुरुवात भयो ।  यसले अरु सन्तानको जन्म दिन थाल्यो ।  २०२२ पुसबाट अङ्ग्रेजी दैनिक प्रकाशित भयो ।  साहित्यिक मासिक मधुपर्कको जन्म वि.सं. २०२५ जेठमा भयो ।  युवा पुस्तालाई अलग्गै स्वाद र शिक्षाका लागि
वि.सं. २०४५ असारबाट युवामञ्च मासिक प्रकाशित भयो ।  साना नानीहरूको समुचित शिक्षा र तालिमका लागि बाल शिक्षा सामग्रीलाई समावेश गर्दै
वि.सं.  २०४७  बाट मुना  मासिक  सार्वजनिक भयो ।  
वि.सं. २०५५ वैशाखबाट यसले रङ्ग फे¥यो ।  आफ्ना सबै सन्तानलाई सप्तरङ्गी इन्द्रेणी पोतेर हराभरा बनायो ।  लोकतन्त्र स्थापनापछि थप समावेश बनायो ।  २०२२ कात्तिकदेखि वि.सं. २०२३ असोजसम्म एक वर्ष सन्ध्याकालीन अंक पनि बजारमा आयो ।  आज जुन, समृद्धि सौम्य र सौन्दर्य बोकेर एकाबिहानै तपाईं हाम्रो घरमा हाजिर हुन्छ यसको अन्तर्यमा त्यति नै घुम्ती र मोड थिए भन्ने कुरा बिर्सनु हुँदैन ।  
नेपालको छापा पत्रकारिताको इतिहासमा थुप्रै पत्रिका उदाए ।  चहकिलो प्रकाश पनि छरे केही दिन तर लामो समय टिक्न सकेनन् ।  कालक्रमसँगै झरेर गए ।  समकालीन युगको जीवन्त इतिहास बोकेर गोरखापत्र आफ्नो जीवनयात्रालाई अविराम अगाडि बढाइरहेको छ ।  निरन्तर अगाडि बढ्दै जानेछ ।  
नेपालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाको जीवन्त प्रतिबिम्ब देख्न सकिन्छ गोरखपत्रभित्र ।  नेपाली भाषा, साहित्य, संस्कृति र समाजिक मूल्य मान्यताको संरक्षण, सम्बर्धन र समृद्धिको क्षेत्रमा गोरखपत्रले पु¥याएको योगदान अतुलनीय छ ।  राष्ट्रिय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन  खेलेको भूमिकाको समीक्षा र सम्मान हुन सकेको छैन ।  भाषा साहित्य, संस्कृतिको सर्वोच्च धरोहरका रूपमा खडा छ ।  नेपालमा पत्रकारिताको क्षेत्रमा मात्रै पु¥याएको योगदानको मात्रै चर्चा गरियो भने यसले बहुआयामिक क्षेत्रमा गरेको योगदानको अवमूल्यन हुनेछ ।  तात्कालिक निरंकुश जहानिया शासनकालमा निरंकुश सत्ता टिकाउने सीमाभित्र सूचना सम्प्रेषण गर्ने जिम्मेवारी पाएको गोखरपत्रले लेखरचना र सूचनाद्वारा राजनीतिक सचेतना फैलाउन पु¥याएको योगदान बिर्सन हुँदैन ।  प्रतीकात्मक र व्यङ्ग्य विधालाई सूक्ष्म किसिमले सम्प्रेषण गर्ने काम भएको कुरा पुराना अंकको अध्ययनबाट प्रस्ट हुन्छ ।  
गोरखापत्रले नेपालको राष्ट्रिय राजनीतिको विभिन्न मोड पार गर्दै अगाडि बढेको छ ।  ००७ सालपूर्वको निरंकुश जहानिया शासनकाल, २००७ देखि २०१७ सम्मको संक्रमणकालीन संसदीयकाल ०१७ देखि ०४६ सम्मको पञ्चायती काल, ०४७ देखि ०६३ सम्मको परम्परागत संसदीय र अहिलेको समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक युग ।  यी सबै युगमा शासन सत्ताको सीमित वैधानिक घेराभित्र स्वतन्त्र पत्रकारिताको मूल्य र मान्यतालाई केही हदसम्म जोगाउँदै क्रान्तिकारी परिवर्तनको प्रवाहसँगै अगाडि बढेको थियो ।  निरंकुश पञ्चायती शासन कालमा स्वतन्त्र पत्रकारिताको धर्म निर्वाह गर्न कठिन परे पनि राजनीतिक परिवर्तनको दिशामा जनमत बनाउन यसको सहयोगी भूमिका रहेको भुल्नु हुँदैन ।  
विक्रम संवत् २०१९ मा गोरखपत्र कर्पोरेशन ऐन २०१९ बन्यो ।  २०२० असार २५ गतेदेखि गोरखपत्र संस्थानको रूपमा प्रकशित हुँदै आएको छ ।  ०४६ को परिवर्तन पछि निजीकरण र खुला अर्थनीतिले यस प्रकारका सबै संस्थानलाई धरासायी बनाउँदै लग्यो ।  त्यसको प्रत्यक्ष असर गोरखापत्र संस्थानमा पनि प¥यो ।  राष्ट्रिय गौरव र इतिहास बोकेको यस प्रकारका संस्थाप्रतिको सरकारको उपेक्षा र धराशयी बनाउने नीतिको पीडा गोखरापत्रले भोग्दै आएको छ ।  इतिहास बोकेका सरकारी धरोहरलाई मासेर निजीलाई पोस्ने नीतिको मार खाएर पनि गोरखापत्र संस्थानले आफ्नो साख जोगाउँदै आएको छ ।  यसप्रकारका धरोहरलाई राज्यले संरक्षण गर्नुपर्छ र संकटको बेला नेपाली पत्रकारिताको इतिहास भुलेर राज्य कृतध्न बन्नु हुँदैन ।  हिजो संसदीय कालमा भएका कमजोरी राज्यले स्वीकार्नुपर्छ ।  गोरखापत्र संस्थान, साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्र जस्ता संस्थाको रक्षाका लागि राज्यले दायित्व बहन गर्नुपर्छ ।  सङ्घीय सरकारले परिवर्तित परिस्थितिमा आमा सञ्चार नीति अन्तर्गत इतिहासको रक्षा गर्नुपर्छ ।  इतिहास भत्काउनु र मास्नु बहादुरी होइन इतिहासको रक्षा गर्नु र नयाँ इतिहास निर्माण गर्नु बुद्धिमानी हो ।   गोरखापत्र संस्थानको जीर्ण शरीरलाई पुनर्जीवन दिन नीतिगत सुधार आवश्यक छ ।  यस वर्षको सरकारको नीति कार्यक्रममा यस प्रकारका संस्थानलाई पुनर्जीवन दिइनेछ भन्ने प्रतिबद्धता आउनुपर्छ र बजेटमा आवश्यक रकमको व्यवस्था गर्नुपर्छ ।  
गोरखापत्रसित मेरो सानै उमेरदेखि प्रेम सम्बन्ध भयो ।  गोरखापत्र दैनिक भएपछि २०१७ सालमा पहिलो पटक गोरखापत्र देखेको मलाई सम्झना छ ।  म कक्षा ७ मा पढ्दै गर्दै २०१८ सालमा म गोरखापत्रको ग्राहक बनेँ ।  त्यतिबेला वार्षिक ग्राहक शुल्क १२ रुपियाँ थियो जस्तो लाग्छ ।  मैले पढ्दै गरेको त्रिभुवन जुनियर हाइस्कुल, पयुँपाटा बागलुङका प्रधानध्यापक डिल्लीप्रसाद शर्मा काठमाडौँ जाँदै गर्दा पैसा पठाएर ग्राहक बनेको थिएँ ।  पहिलोपटक हुलाकीले मेरो नाममा आएको गोखरपत्रको मुठो हातमा थमाउँदा मलाई औधी खुशी लागेको थियो ।  प्रथम, म मात्रै मेरो स्कुल र मेरो गाउँको पहिलो ग्राहक हुन पाउँदा सबैका अगाडि मेरो सान निकैमाथि भएको अनुभूति हुन्थ्यो ।  दोस्रो, गोरखपत्रको प्रत्येक अङ्कमा मेरा नाम र घर ठेगाना छापेको कागजमा टाँसिएको हुन्थ्यो ।  त्यसले मलाई औधी खुशी बनाएको थियो ।  विगतका ती दिन सम्झिँदा मलाई अझै पनि आनन्द आउँछ ।  भावनात्मक प्रेम छ गोरखापत्रसँग ।  गोरखापत्रको टिकाटिप्पणी गर्नेहरूको पनि कमी थिएन ।  मेरो मनले त्यो टिप्पणी ग्रहण गर्न सकेन ।
गोरखापत्र हातमा पर्दा साथ, सर्वेभवन्तु सुखिनः सर्वे सन्तु निरामयः।
सर्वे भद्राणि पश्यन्तु माकश्चिद दुःख भाजनः।।
भन्ने श्लोक पढ्न भुलेको थिइन ।  अहिलेसम्म त्यो आदत यथावत छ ।  मेरो पहिलो नजर त्यसमा पर्छ ।  अनि मुख्य समाचार र सम्पादकीय पेज मेरो चयन बनेको छ ।  उति बेला गोरखापत्र हात परेपछि सबै अंक मसिनो गरी पढ्ने आदत परेको थियो ।  परीक्षामा निबन्ध लेख्नु पथ्र्यो ।  स्कुलमा निबन्ध प्रतियोगिता हुन्थ्यो ।  त्यसका लागि गोरखापत्रका लेख निबन्ध मेरा लागि निकै उपयोगी बने ।  कक्षा ८ को वार्षिक परीक्षामा मलाई मेरो नेपाली विषयको आदरणीय गुरु पूर्णप्रकाश नेपालले ८८ अंक दिनुभएछ ।  ‘बढी भएन
र ?’ भनेर सोधेको थिएँ मैले ।  जवाफमा गुरुले ‘कटाउने ठाउँ पाइन’ भन्नुभएको थियो ।  त्यतिबेला गुरुप्रति सम्मानको शिखर चुलिएको थियो मनमा ।  त्यसका साथै गोरखापत्रप्रति म औधी आभारी बनेको थिएँ ।  मेरो लेखन कलाको विकासमा गोरखापत्रको महìवपूर्ण योगदान रहेको कुरा मैले बिर्सन सकेको छैन ।  
गोरखापत्रसित मेरो सधैँ एकनासको सम्बन्ध हुन सकेन ।  मेरो राजनीतिक जीवनका उर्लेका छालले मेरा दिनहरू बल्लो किनार पल्लो किनार ठोकिँदै र दशहण्डर खाँदै अगाडि बढेँ ।  तर पनि झल्याकझुलुक भेटेसम्म गोरखापत्रमा आँखा पर्ने नै भयो ।  अनियमित, अव्यवस्थित बसोबासले जीवनको सन्तुलित विकास सम्भव थिएन ।  
मानव जातिको विकास पनि घुमन्ते सिकारी युगबाट व्यवस्थित र रैथाने खेतीपातीको चरणमा प्रवेश गरेपछि भएको छ ।  पञ्चायतको भूगित जीवनका पछिल्लो सात वर्ष र युद्धकालको परिस्थितिले संचार संसारबाट टाढा बनायो ।  २०६३ पछि डेरा फेरे पनि रैथाने बनियो ।  त्यसबेलादेखि आजपर्यन्त गोरखापत्र नियमित रूपमा बिहान पाँचै बजे राइजिङ नेपालको साथमा मेरो दैलोमा हाजिर हुन आइपुग्छ ।  सुन्दर बिहानीको घामको झुल्कोसँग गोरखापत्रको दर्शन गर्छु सर्वप्रथम ।  आज गोरखापत्र ११७ वर्षमा प्रवेश गर्दै गर्दा मेरो पहिलो भेट भएको वर्षपछि फर्केर स्मरण गरेँ ।  मेरो गोरखापत्रसितको सम्बन्ध ५६ वर्षदेखि कायम हुँदै आएको छ ।  मलाई शताब्दी भन्दा पहिलेदेखिको सम्बन्ध स्मरण गर्दा गर्वानुभूति हुन्छ ।  
गोरखापत्रको यात्रा अविराम छ ।  अस्वस्थ राजनीतिक सायाले यसको चहकिलो प्रकाशलाई कालो बादलले ढाक्न खोज्छ ।  मानमर्यादा, मूल्यबोध गर्न नसक्नेले गोरखापत्रलाई निहित स्वार्थको संकीर्ण घेराभित्र कैद गर्न प्रयत्न नभएको होइन ।  जीवन यात्रा सधैँ सुगम र सरल हुँदैन ।  उतारचढावको बीचबाटै गुज्रेको छ जीवन ।  गोरखापत्रको छविलाई सधैँ सुकिलो राख्न गोरखापत्रको फूलबारीमा क्रियाशील मालीको महìवपूर्ण भूमिका छ ।  अहिलेसम्म गरेको प्रयत्न र योगदान प्रशंसनीय छ ।  पत्रकारिताको धर्म निर्वाह गर्न सधैँ सचेत हुने विश्वासका साथ शुभकामना छ ।  
अविराम गोरखापत्र सधैँ अविराम रहनेछ ।  यो एउटा खोला हो ।  खोला तर्ने धेरै हुन्छन् ।  खोला एउटै हुन्छ ।  खोलानाला छरछिमेकलाई सुम्पने संस्कार छ हाम्रो देशमा ।  एउटा युग बिताएको यो अविराम खोलामा कसैको आँखा पर्न नदिन आजका दिन हामी सबैले संकल्प गरौँ ।  अविराम गोरखापत्रको छवि झन् पछि झन् प्रखर र प्रज्वलित हुँदै जानेछ ।  ११७ औँ वर्ष प्रवेशको सन्दर्भमा यही शुभकामना ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना