नेपालको सन्दर्भमा राष्ट्रवाद


ramnarayan devरामनारायण देव



नेपालको सन्दर्भमा राष्ट्रियता र राष्ट्रवादको कुरा गर्नुपूर्व यसको स्थापना कालदेखिको पृष्ठभूमिलाई केलाउन आवश्यक छ ।  ऐतिहासिक क्रममा नेपालको विस्तार धेरै पटक भएको छ ।  आधुनिक नेपालको नक्साभन्दा अघि यो धेरै राज्य रजौटामा विभाजित थियो ।  खासगरी काठमाडौँ उपत्यकालाई मात्र नेपाल भनिन्थ्यो ।  काठमाडौँ उपत्यकालाई नेपाल मण्डल भनिन्थ्यो ।  काठमाडौँ उपत्यकामाथि विजय प्राप्त गरी पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा गोरखा राज्यमा विलय गराए तर उनले यसको नाम गोरखा नराखी नेपाल नै राखे ।  यो उहाँको महान् राष्ट्रियताको प्रतिफल थियो ।  युद्धताका पृथ्वीनारायण शाहले अनेक कूटनीतिक र रणनीति अपनाए जुन स्वाभाविक हो ।  केही कमी कमजोरीका बीच पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरण कर्ताको रूपमा हामी मान्दै आएका छौँ ।
हुन त उहाँ भन्दा अघिका सेनवंशीय राजाले नेपाल राज्यको विस्तार नगरिएका होइन तर तिनीहरूले ती राज्यलाई पैत्रिक सम्पत्ति ठानी सन्तानमा नबाँडी जनतालाई नै राज्य सुम्पे ।  उहाँले राज्यको भूगोल न एकीकृत गरिदिएको भए आज तराई, पहाडका नेपालीहरू कुन राज्यका वासिन्दा हुन्थ्यो र साथै नेपाल आज स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा न भई ब्रिटिश भारत कै एउटा अङ्गकै रूपमा हुन्थ्यो ।
नेपालको अस्तित्व रहने थिएन ।  आज हामी आन्तरिक रूपमा जतिसुकै लडेका किन न हौ तर नेपाललाई एउटा सबल र सक्षम राष्ट्रको रूपमा विकास गर्न चाहेका छौँ  ।  यसरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहद्वारा अर्जित एउटा भूखण्डले नेपाल राज्यको अस्तित्व खडा गरियो तर यसभित्र राष्ट्रियताको विकास भएन राज्य र राष्ट्र भिन्दा भिन्दै रूप हो ।  राज्य भनेको एउटा भुखण्ड अर्थात् भौगोलिक सीमा मात्र हो ।  यसभित्र बस्ने विभिन्न जात–जाति वर्ग, सम्प्रदाय तथा भाषा संस्कृतिको समष्टिगत रूप नै राष्ट्र हो ।
अर्थात् एउटा राज्यले पूर्ण राष्ट्र बन्नका लागि सबै राष्ट्र (जाति समूह) हरूको समान हैसियत र उपस्थितिलाई जनाउँछ ।  प्रसिद्ध राजनीतिशास्त्री वाइसले भन्दछन्–राष्ट्र यस्तो राष्ट्रियता हो जुन आफ्नो स्वतन्त्र हुने इच्छा राख्ने राजनीतिक संस्थाको रूपमा सङ्गठित भएको हुन्छ ।  त्यस्तै अर्काे राजनीतिशास्त्री गिलक्राइष्टले एउटा राज्यको रूपमा सङ्गठित जनताको एकताबाट राष्ट्र बने हुन्छ भन्ने मान्यता राख्छन् ।  अर्थात् राज्य नभई राष्ट्रको पूर्ण विकास नहुने उहाँको तर्क छ ।  यसरी
राज्यविना राष्ट्रको अस्तित्व हुँदैन ।
राष्ट्रियता निर्माण गर्ने तìवमा भौगोलिक एकता, जातिगत एकता धार्मिक समानता समान संस्कृति, समान राजनीतिक आकाङ्क्षा, समान आर्थिक दृष्टिकोणजस्ता कुरा हुन् ।  यसरी नेपालको सन्दर्भमा राष्ट्रियताको कुरा गर्दा यहाँका विभिन्न भौगोलिक स्थिति, जातीयता, धार्मिक समानता, समान संस्कृति र समाजिकताका विषयहरू विचार गर्नुपर्ने हुन्छ ।
भौगोलिक स्थितिको विचार गर्दा नेपाल, हिमाल, पहाड र तराई मधेशको रूपमा विभाजित छ ।  जुनकि प्राकृतिक देन हो ।  तीन वटै भूगोलमा विभिन्न जात जाति नृवंश र विभिन्न संस्कृतिका मानिसको बसोवास छ ।  हिमाली क्षेत्रमा तिब्बती बौद्धधर्मी संस्कृति मान्नेहरू छन् भने पहाड र तराईमा अधिकांश जनता सनातन हिन्दु धर्मालम्बी छन् ।  हिन्दु धर्म र संस्कृतिको समानता पहाड र तराईमा छ ।  भाषाको कुरा गर्दा पहाड र तराईका जनताको एउटै भारोपेली भाषावंश परिवारका भाषा नेपाली, मैथिली, भोजपुरी अवधि, थारू छन् ।
त्यस्तै समाजशास्त्री दृष्टिकोणले पहाड र तराईका हिन्दु जातीय संरचना एउटै छ ।  ब्राह्मण क्षेत्री, वैश्य र शुद्र भनी चार जात छन् ।  पहाड र तराईका हिन्दुको धार्मिक र सांस्कृतिक र भाषाको स्रोत एउटै हो ।  यसरी पहाड र तराईको एउटै राष्ट्रियता छ ।  यती सामिपत्य र अन्तरसम्बन्ध रहेको पहाड र तराईको अलगअलग दुई राष्ट्रियता हुन सक्दैन ।  यदि कसैले यसलाई अलगअलग राष्ट्रियता भन्छन् भने त्यो राजनीतिक खपतका लागि मात्र हो ।  
अब रह्यो नेपालको राष्ट्रियताको समग्र समान विकासको कुरा यसलाई भावनात्मक एकता सूत्रमा बाँध्ने नेतृत्वको खाँचो छ ।  खासगरी २०६३।०६३ को जनआन्दोलनपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएको यसमा निश्चिय नै असर परेको छ ।  तराई मधेशमा देखिएको अन्तरद्वन्द्वलाई सम्बोधन गर्न नसकेर मात्र राष्ट्रियतामा केही सतही असर परेको भान हुन्छ ।  जुनकि मधेश केन्द्रित दलको संविधान संशोधनका माग पूरा गरेपछि स्वतः सही मार्गमा आउँछन् ।  संविधान संशोधन क्रममा नागरिकता, भाषा र प्रदेश सीमाङ्कन लगायतका मागलाई उचित र सकारात्मक रूपमा इमानदारीपूर्वक सम्बोधन गरिदिएपछि आन्तरिक राष्ट्रियता स्वतः बलियो भएर जान्छ ।  तराई मधेशका जनता कुनै पनि क्षेत्रका जनताभन्दा कम राष्ट्रवादी छैनन् ।  विगतका इतिहासका घटनाले तराई मधेशका जनतामा रहेका राष्ट्रवादका भावनालाई प्रस्फुटित गरी दिएका छन् ।  चाहे त्यो सुगौली सन्धिताका सप्तरी लालापट्टिका जनताले अङ्ग्रेज शासित भारतका सीमावर्ती जनतासँगको सीमाना मिचिएका भीडन्तका घटना होस् चाहे गत वर्षको सप्तरीकै तिलाठी गाउँका जनताले सीमावर्ती भारतीय बजार कुनौलीका जनतासँगको बाँध भत्काउने घटना होस् ।  त्यसका अलावा यस्ता कैयाँै घटनाले दक्षिणी सीमामा बस्ने तराईका जनताले नेपाली राष्ट्रियताको परिचय दिइसकेका छन् ।
यती हुँदाहुँदै पनि तराई मधेशका जनताप्रति यस्ता अविश्वास शङ्का किन ? मधेश केन्द्रित दलले प्रदेशका सीमाङ्कन नागरिकता, भाषाको कुरा उठाउँदा यसलाई भारतसित जोडेर हेर्ने एमालेलगायतका केही वामपन्थी शक्तिको दृष्टिकोणले तराईवासीको राष्ट्रियतामा निश्चिय नै ठोस पु¥याएको छ ।  तराई केन्द्रित दलले नेपाली राष्ट्रियता र सार्वभौमसत्ताभित्रै आफ्ना मागहरू प्रस्तुत गरेका छन् ।  न कि अलग स्वतन्त्र राष्ट्रको मागलाई अगाडि सारेका छन् ।
तराई मधेशप्रति आक्रमक नभई संयमता अपनाई राष्ट्रियताको भावना राखी तिनीलाई विश्वासमा लिई व्यवस्थापन गरेमात्र आन्तरिक राष्ट्रवादले मलजल पाई सबल र सक्षम हुन्छ ।  तराई मधेशलाई अलग्याएर राष्ट्रवाद पूर्ण हँुदैन ।  एकल पहाडी राष्ट्रवादले मात्र बाहिरी राष्ट्रवादलाई थेग्न सक्दैन ।  यसमा कार्यकुशलता बुद्धिमत्ता र सक्षम नेतृत्वको खाँचो छ ।  तराईलाई घोचेर, व्यङ्यवाण प्रहार गरेर तुच्छता देखाएर आंशिक राष्ट्रवादलाई प्रश्रय दिएर बाहिरी राष्ट्रसित लड्न सकिँदैन ।  यसलाई हेक्का राखिए मात्र नेपालमा राष्ट्रियता र राष्ट्रवादको समुचित विकास हुन्छ ।  साथै मुलुकमा शान्ति स्थिरता र लोकतन्त्रको संस्थागत विकास हुनुका साथै नयाँ संविधानको सफल कार्यान्वयन हुन्छ ।
यदि त्यसो गरिएन भने जनआन्दोलन तथा मधेश आन्दोलनबाट प्राप्त उपलब्धि त डुब्ने नै छ ।  साथै तराईमा देखिएका पृथकतावादी तìवहरूले खेल्न ठाउँ पाउँछन् ।  यसलाई विदेशी राष्ट्रहरूले मलजल गर्ने मौका पाउँछन् ।  तसर्थ राष्ट्रियता र राष्ट्रवाद प्रर्वद्धनका लागि तराई–मधेशजस्तो संवेदनशली क्षेत्रप्रति सजग भई निषेधको राजनीतिलाई सर्वथा त्यागेर जोड्ने राजनीतिलाई बढावा दिनुपर्छ ।  फुटाउने, लडाउने र एकल्याउने राजनीति अन्त्य गर्नु पर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना