मेलम्चीको पानी असोजभित्र काठमाडौँ नआउने

लक्ष्मण दर्नाल

काठमाडौँ, वैशाख २६ गते ।  आगामी असोजसम्म काठमाडौँ उपत्यकामा खानेपानी ल्याउने घोषणा गरिएको राष्ट्रिय गौरवको आयोजनामध्येको मेलम्ची खानेपानी आयोजना तोकिएकै समयमा सम्पन्न हुन र आगामी असोजसम्म काठमाडाँैमा पानी नआउने भएको छ ।  निर्माण कम्पनीसँग सोही अनुसारको संशोधित पुनः सम्झौता गरिएको  सो आयोजनाको असोजसम्म  सुरुङ खन्ने कामसमेत सम्पन्न हुन नसक्ने अवस्था देखिएको छ ।  
असोज महिनामै पानी ल्याउनका लागि हामी प्रयासरत त छौँ तर कामको परिमाण अझै धेरै बाँकी नै छन्, मेलम्ची खानेपानी विकास समितिका उपनिर्देशक रमाकान्त दुवाडीले भन्नुभयो ।  कुल २७.५ किलोमिटर लम्बाइको सुरुङ खन्ने काम अब ३.५ किमी मात्र बाँकी छ ।  तोकिएको समय पाँच महिना बाँकी छ ।  समितिका अनुसार हाल दैनिक १६÷१७ मिटरका दरले यो खन्ने गरिएको छ ।  दैनिक १७ मिटरका दरले खनिए पनि एक महिनामा ५१० मिटर मात्र खनिन्छ ।  अबको पाँच महिनामा २५ सय ५० मिटर (२.५ कि.मी) मात्र सम्पन्न गर्न सकिन्छ ।  हालकै अवस्थामा सुरुङ खन्ने काम भयो भने पनि तोकिएको मिति असोज अन्तिमसम्म एक किमी सुरुङ खन्न अझै बाँकी रहने देखिन्छ तर समितिले भने तोकिएको समयमा सम्पन्न गर्ने गरी काम भइरहेको दाबी गरेको छ ।  
समितिका उपनिर्देशक दुवाडीले भन्नुहुन्छ, सबै शक्ति लगाएर काम गरिरहेका छौँ, चार ठाउँबाट सुरुङ खन्ने काम पनि भएको छ ।  आशा गर्ने ठाउँ छ तर भर परिहाल्ने अवस्था भने अझै देखिएको छैन ।  सुरुङ खन्ने काम सम्पन्न गरिसकेपछि पनि धेरै कामहरू गर्न बाँकी नै छन् ।  तिमध्ये सुरुङको भुइँमा आरसीसी ढलानका साथै फिनिसिङको काम  मुख्य हुन् ।   
सुरुङको मु्हानको डाइभर्सनको काम पनि  अझै सुरु नै भएको  छैन ।  समितिका अनुसार खोलाको पानी मुख्य सुरुङमा प्रवेश गराउन ड्याम बनाउने र पानी प्रवेशका लागि छ मिटर लम्बाइ तथा  १.६ मिटर व्यासको फलामे पाइप जडान गर्नुपर्ने  हुन्छ ।  मेलम्चीबाट सुरुङमार्ग हँुदै सुन्दरीजलमा आएको पानीलाई सुरुङको अन्तिम बिन्दुबाट पानी प्रशोधन प्रणालीसम्म पु¥याउन पनि १.६ मिटर व्यास र  २५० मिटर लामो फलामे पाइप जोड्न बाँकी नै रहन्छ ।  melamchi_1
मेलम्चीदेखि सुन्दरीजलसम्मको २७.५ किमी दूरीको सुरुङमा भेन्टिलेसन प्रणाली जडान गर्ने काम अर्को पनि बाँकी नै छ ।  दुवाडीका अनुसार २६ किमीको बीचमा तीनवटा भेन्टिलेसन राखिनेछ ।  जमिनबाट प्वाल पारेर सुरुङसम्म पाइप जडान गर्नुपर्छ ।  भौगोलिक अवस्था अनुसार ७० मिटरदेखि एक सय २० मिटरसम्मको भर्टिकल ड्रिल गर्नुपर्छ ।  
खोलाको पानीलाई पर्याप्त रूपमा सुरुङमा प्रवेश गराउन फोकरड्याम निर्माणको काम पनि बाँकी नै छ ।  यो काम बल्ल सुरु भएको समितिले जनाएको छ ।  यी कामहरू सम्पन्न गरिसकेपछि मात्र मेलम्चीको पानी काठमाडौँमा ल्याउन सकिन्छ ।  यी सबै काम आगामी पाँच महिनाभित्र सम्पन्न गर्न सकिने अवस्था नै देखिँदैन, समितिका उपनिर्देशक दुवाडी बताउनुहुन्छ ।  
२०७३ सालको असोजमै पानी आउने घोषणा गरिएको थियो तर काम सम्पन्न नभएपछि एक वर्ष थप गरिएको हो ।  अन्तिम पटक थपिएको मितिमा पनि यो सकिने सम्भावना नदेखिएपछि समितिले ढिलाइ हुनुमा विविध कारणहरू रहेको जनाएको छ ।  
समितिका अनुसार सिन्धुग्याल्थुम खण्ड सिन्धु टनेलको माथि र ग्याल्थुम टनेलको माथि कमजोर चट्टान परेकाले ढिलाइ भइरहेको छ ।  सुरुङको प्रवेशद्वारबाट खन्ने ठाउँसम्मको दूरी पनि वृिद्ध भइरहेको छ ।  दुवाडी भन्नुहुन्छ, प्रवेशद्वारबाट खन्ने स्थानसम्म पुग्दा पनि समय बढी लागेको छ, ढुवानीमा समय लागेको छ, हामीले ड्रिल एन्ड ब्लास्ट गर्ने हो, उपकरणहरू पुराना भएका छन्, टनेलको काम ८७ प्रतिशत सम्पन्न भएको छ, अब १३ प्रतिशत कामका लागि निर्माण कम्पनीले करोडाँैका नयाँ उपकरण पनि ल्याउँदैन बरु मर्मत गरेर काम चलाउँछ जसले सुरुङ खन्ने गति झन् कम भएको  छ ।   
समितिका अनुसार ठेकेदार कम्पनीको व्यवस्थापन पनि चुस्त देखिँदैन ।  पैसा ठीक समयमा भुक्तानी भएन भने काम रोक्छ, अर्थात् आन्तरिक व्यवस्थापन कमजोर देखिन्छ तर आउँदो वर्षाद्मा पनि काममा असर नपरोस् भने समितिले निर्माण सामग्रीहरू स्टक राख्न निर्देशन दिएको दुवाडीले बताउनुभयो ।  
योबाहेक वितरणतर्फ पनि वितरणका लागि ट्याङ्की निर्माण र उपत्यकामा पाइप बिच्छाउने काम पनि  अझै धेरै बाँकी रहेको बताइएको छ ।
सन् २०१० को अप्रिलदेखि चिनियाँ कम्पनी चाइना–१५ रेलवे ब्यूरोले सुरुङ खन्ने काम सुरु गरेको थियो तर २०१२ सेप्टेम्बरबाट ब्यूरोले काम छाड्यो, त्यतिबेला जम्मा छ किमी मात्र खनिएको थियो ।  त्यसपछि सीएमसीडी राभेना इटालियन निर्माण कम्पनीले सन् २०१४ जनवरीदेखि सुरुङ खन्ने काम गर्दै आएको छ ।  
सन् २०१३ मा इटालियन कम्पनीसँग सात अर्ब ७२ करोड रुपियाँमा सुरुङ निर्माणको पुनः सम्झौता भएको हो ।  अहिलेसम्म तीन अर्ब ६२ करोड रुपियाँ भुक्तानी भइसकेको समितिले जनाएको छ ।  सन् २०१० मा चिनियाँ कम्पनीसँग चार अर्ब २४ करोडमा सम्झौता भएको थियो ।  सम्झौतामा उल्लेख गरिएको रकममा मूल्यवृद्धि हरेक वर्ष समायोजना गरिँदै आएको छ ।  निर्माण सामग्रीको मूल्य बढेपछि मेलम्चीले भुक्तानी गर्ने रकम पनि सोही अनुपातमा वृद्धि गर्दछ  ।  
समय थप हुँदै जाँदा  लागत पनि बढ्दै जान्छ ।  सम्झौता गरिएको रकमभन्दा थप लगानी गर्नुपर्ने निश्चित छ ।  
थप खर्चको जोहोको तयारी पनि भइरहेकोे छ तर यो रकम कतिले बढ्छ भन्ने अझै यकिन भई नसकेको समितिले जनाएको छ ।  समितिले सन् २००१ मा एसियाली विकास बैङ्क (एडीबी)बाट ८० प्रतिशत र सरकारबाट २० प्रतिशत ऋण लिएको थियो ।  यो थपिएर  सन् २०१५ मा एडीबीबाट ८७ र सरकारको १३ प्रतिशत ऋण लिएर समितिले काम गरिरहेको छ ।  हाल समितिले कम्पनीलाई पाँचदेखि १० करोडसम्म मासिक भुक्तानी गर्दै आएको छ ।  समितिले गत वर्ष सम्झौता थप गर्नुको प्रमुख कारण नाकाबन्दी र भूकम्प रहेको जनाएको छ ।      

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना