मधेशी दलबीच भावनात्मक एकता

Purushottam marhattha डा. पुरुषोत्तम मरहठ्ठा

 

जति ठूलो रोटी बेल्यो उति सबैलाई भाग पु¥याउन सकिन्छ, अन्यथा रोटीकै लागि झगडा र किचकिच भइरहन्छ ।  अहिले तराई र पहाडबीचको झगडा अरू केही होइन एउटाले गरेको सम्पन्नतामा अर्कोको असन्तुष्टि र छटपटी ।  मधेश केन्द्रित दललाई चित्त बुझाएपछि अहिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।  मधेशले आफ्नो क्षमता बल्ल पहिचान गर्न पुग्यो ।  संशोधन फास्ट ट्याकमा जाने भएको छ ।  यतिबेला दिल्ली भ्रमणमा कोही गएका छैनन् तर दिल्लीको फोन लागिरहेको छ ।  सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोगले पूर्वनिर्धारित निर्वाचन तालिका नै हेरफेर गरिसकेको छ ।  वैशाख ३१ को निर्वाचन तालिका प्रदेश नं ३, ४ र ६ मा हुनेछ ।  अर्कोतिर, प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते हुने भएको छ ।  जे होस् मधेशी दलबीच एकताको सन्देशले आन्दोलन र नेपाल बन्द भएन भने त्यो नै ठूलो कुरा हुन पुग्छ ।  
सरकारले पेश गरेको संशोधनको ११ धारा र उपधारामा प्रतिपक्षी दल एमाले समेतको सैद्धान्तिक सहमतिले निर्वाचन शान्तिपूर्ण हुनेमा संसदीय अभ्यास सकरात्मक हुन पुगेको छ तर सत्ता घटक र प्रतिपक्षी एमालेबीच स्थानीय तहको सङ्ख्या नथप्ने सहमतिले राजपाका नेताहरू आन्दोलनको चेतावनीमा पुगेका छन् ।  शायद वार्तामा बस्दै जाँदा यसले निकास नपाउला भन्न सकिन्न ।  त्यसैले मधेशी दलले यही विषयलाई लिएरे भद्र सहमति भङ्ग गरेको आरोप कसैमा लगाई हाल्नु निकै हतार हुनेछ ।  अन्यथा नेपाली काँग्रेसले निर्वाचन घोषणापत्रमा मधेश केन्द्रित दललाई सधैँ निर्मम आन्दोलन र क्षतिमा जनतालाई होमेर राजनीतिक संवाद र सहमतिमा वार्तालाई निष्कर्षमा नलगी जनतालाई सधैँको आन्दोलन र दुःख दिने भनेर लगाएको आरोप यथार्थमा परिणत नहोस् ।  अझै पनि राजपाका नेताहरू आन्दोलनको चेतावनी दिँदैछन् ।  निर्वाचन निर्धारित समयमा भइहाल्ने सम्भावना बढ्दै गएको छ ।  मुलुकमा चुनाव भइहाल्ने विश्वास भने बादशाहले इम्परर न्यू क्लोथमा लाएको लुगाजस्तै बन्दैछ ।  सबैले कस्तो राम्रो लुगा भन्दै नाँगो बादशाहलाई शहर घुमाएजस्तै चुनाव हुन्छ, हुन्छ भन्दै पहिलो चरणको निर्वाचनपछि दोस्रो चरणमा पुग्दा बादशाह त नाँगै नहोलान भनेर भन्न सकिन्न ।  
निर्वाचन तोकिएकै मितिमा हुन्छ हुन्छ भनिरहेको अवस्थामा यसपटक गोदावरी, हात्तीगौंडा र गोकर्णको रिसोर्टमा वार्ता गर्न भने हच्किए तर ढाँटेको कुरा काटे पनि मिल्दैन भन्ने यथार्थ दोहोरिन खोज्दैछ ।  आँ गर्दा अलङ्कार बुझ्ने नेपाली समाजमाथि मधेशी दल र सरकार मिलेर ठूलै उक्साहटमा चुनाव लम्ब्याउने शूत्रधारहरू बलियो बन्दै गएका छन् ।  मधेशीले आफूलाई क्षेत्रीय पार्टीबाटमाथि उठेर राष्ट्रिय पार्टी बन्न पुगेको उद्घोष हालै बनेको राष्ट्रिय जनता पार्टीको नामाकरणले देखाएका छन् ।  पाण्डवहरूले परि आउँदा पाँचबाट सय बन्न सक्ने शक्ति प्रदर्शनको क्षमता बोकेका थिए ।  मधेश शब्द झिकेपछि राष्ट्रियस्तरको शक्तिशाली पार्टी बन्ने अभ्यासमा लागेको दलहरू सङ्गठित रूपमा लाग्ने हो भने समृद्धिको सन्देश मुलुकले पाउने विश्वास गर्न सकिन्छ ।  हालका दिनमा जे जसरी पार्टीहरू सङ्गठित बन्दै गएका छन् त्यसले मतदातालाई कुनै न कुनै सङ्केत देखाएर गएको छ ।  (१) तराई मधेश लोकतान्त्रिक पार्टी (२) सद्भावना पार्टी (३) तराई मधेश सद्भावना पार्टी (४) राष्ट्रिय मधेश समाजवादी पार्टी (५) मधेशी जनअधिकार फोरम गणतान्त्रिक (६) नेपाल सद्भावना पार्टी एकीकरण भएर राष्ट्रिय जनता पार्टी नामकरण गरिएको छ ।  यसैगरी, विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले पनि राष्ट्रिय जनमुक्ति पार्टी, दलित जनजाति पार्टी, थरूहट तराई पार्टीसँग एकीकरण गर्दै नेपाल लोकतान्त्रिक पार्टी बनाउन पुगेका छन् ।  नयाँ शक्ति र फोरम एउटै निर्वाचन चिह्न लिएर निर्वाचन लडेँ भने त्यसको रसायनमा कुनै फेरबदल हुन सक्दैन भन्ने कुरा सबैले बुझेकै कुरा हो ।  
सरकार सत्तारुढ गठबन्धन र मधेशी दलको सहमतिमा संविधान संशोधनलाई अगाडि बढाउने पक्षमा पुगेको छ ।  उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अनि विजयकुमार गच्छदार र गोपाल दहितको रसायन मिलेको छैन भनेर कसले भन्ने ? पहिलो संविधानसभामा प्रत्यक्षतर्फ मात्र ४२ सिट जित्ने मधेश केन्द्रित दल छिन्न भिन्न भएर दोस्रो संविधानसभामा पुग्दा प्रत्यक्षतर्फ १२ सिटमा चित्त बुझाएर बसेको अवस्थामा विद्यमान कानुनले प्रत्यक्षतर्फ एक सिट ल्याउने राष्ट्रिय दल बन्न सक्ने र समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत थ्रेसहोल्ड आवश्यक पर्ने भएपछि एकीकरण अहिले तराई केन्द्रित दलका लागि बाध्यता नै बनेको छ ।  तराई अधिकांश हिन्दु धर्मले बसोवास गरेको क्षेत्र हो ।  
धर्म र संस्कृतिले जोडेको यो क्षेत्र दक्षिणतर्फ र काठमाडौँ केन्द्र तर्फ बढी आकर्षित बन्न पुगेको छ ।  ठूलो धार्मिक सनातन हिन्दु धर्मका अनुयायीहरू रहेकोले तराईका जनता लामो समयसम्म पानी बाराबारको स्थितिमा काठमाडौँसँग सम्पर्क विच्छेदमा रहन सक्दैन ।  तराई काठमाडौँको लागि अनईजी पार्टनर बन्न खोजे पनि सक्दैन ।  तराईले काठमाडौँलाई जति नै निषेध गर्न खोजे पनि आखिरमा बजारको प्रभाव काठमाडौँसँग मात्र छ ।  शालिन सभ्यता बोकेको यो प्राचीन शहरले कहिल्यै कसैप्रति आग्रह र पूर्वाग्रह राखेन ।  विभिन्न सभ्यताबाट गुज्रिँदै आएको तराईखण्ड महाभारत, पुराण, गीता, रामायणजस्ता धर्म र संस्कृतिबाट अति नै प्रभावित बन्न पुगेको छ ।  वैदिक सभ्यतामा विश्वास गर्ने तराई धर्मको विभिन्न अवतार  राम जानकी दशरथ जनकजस्ता आदर्श पुरुषदेखि मत्स्य, कछुवा, वामन, कल्की, परशुराम, राम, कृष्ण, बराह, नरसिंह, कल्कीजस्ता अवतारमा तराईको आस्था, विश्वास अझैसम्म गएको छैन ।  भूतप्रेत र डायनमा विश्वास कायमै रहेको तराईले हरेक वर्ष बोक्सीको नाममा अझै पनि धेरैलाई खेदेर तन्त्र विद्याको एकाधिकार प्रयोगशालामा चरु छर्ने काम गर्छ ।  
चारवेद चार धाम चार आश्रममा  पनि तराई निरन्तर जागा बनेको छ ।  प्रजातान्त्रिक सरकारले रोमाञ्चक मधेशमा सेनाको परिचालन आवश्यकता नदेखेपछि दलहरूको लागि यो सह्य हुन सकेन ।  विदेशी हस्तक्षेप भित्र्याउन सक्ने डरलाग्दो सम्भावनालाई मधेशले विगतमा रोकेकै हो ।  ग्वाटेमाला, एलसाल्भाडोर, होन्डुरस
निकारागुआजस्ता देशमा भएको हस्तक्षेपको शिकार मधेश कहिल्यै भएन ।  ब्यालेटमा विश्वस्त मधेश बन्द, हड्तालमा रम्न नसकेपछि दुई चरणको निर्वाचनलाई स्वीकार्नु त्यो उसको बाध्यता थियो ।  रेड कोरिडोरको बाछिट्टाबाट जोगिएको मधेशलाई प्रजातान्त्रिक अभ्यास गर्न खोज्दा नदिनु घोर आश्चर्य हो ।  स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को (२) ले नेपाल सरकारलाई स्थानीय तहको निर्वाचन तोकिएको मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गराउन सम्भव नभएमा तोकिएको मितिबाट निर्वाचन शुरु हुने गरी दुई वा दुईभन्दा बढी चरणमा निर्वाचन सम्पन्न गर्न अलगअलग मितिसमेत तोक्न सकिनेछ भन्ने उल्लेख भएअनुसार नै  शायद दुई चरणको निर्वाचन मिति तोकिएको हुनुपर्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना