विस्थापित भयो भारतीय खरबुजा


वसन्त गिरी

कपिलवस्तु, वैशाख २७ गते ।  वाणगङ्गा नदी किनारमा उत्पादन भएको खरबुजाले भारतबाट आयातित खरबुजालाई विस्थापित गरेको छ ।  बुद्धभूमि नगरपालिका मोतिनगरका कृषकले वाणगङ्गा नदी किनारको बगरमा लगाएको खरबुजा खेतीबाट राम्रो उत्पादन भएपछि यसले सदरमुकाम र जिल्लाका मुख्य बजारमा राम्रो दाम पाएका छन् ।  
यहाँको भन्दा भारतीय खरबुजा महँगो पर्छ भने धेरै दिनअघि टिपेको हुनाले स्वाद पनि मीठो नहुने भएकाले उपभोक्ताले स्थानीय उत्पादनलाई नै रुचाउने गरेकोे फलफूल व्यापारी बताउँछन् ।  तौलिहवा, गोरुसिङ्गे, चन्द्रौटा, पकडी, गजेहडा, महाराजगञ्ज लगायतका बजारमा यतिखेर स्थानीय खरबुजाको माग अत्यधिक छ ।  त्यस क्षेत्रका कृषकले हप्तामा एक सय मेट्रिक टनसम्म खरबुजा बिक्री गरेको बताउँछन् ।  
तौलिहवाका व्यापारीले समेत भारतीय खरबुजा अहिले ज्यादै न्यून मात्रामा आएको बताउँछन् ।  पहिला हप्तामा एक सयदेखि डेढ सय मेट्रिक टन आउँथ्यो, अहिले २० मेट्रिक टनसम्म आउँछ, स्थानीय व्यापारी मकसुद खाँले भन्नुभयो ।  kharbuja
नदी कटानबाट बगरमा परिणत भएका खेत अहिले खरबुजा उत्पादनका पकेट क्षेत्र बनेका छन् ।  सयभन्दा बढी कृषकले वाणगङ्गा नदीको बजर (निख्खर जमिन)मा खरबुजा उत्पादन गरी राम्रो आम्दानी गर्ने गरेका छन् ।  
नदीको निख्खर र सुख्खा बालुवामय बनेको जग्गामा समेत नमूनाका रूपमा उनीहरूले ५० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गरेका हुन् ।  मोतिनगरका कृषक रमेश केवटले भन्नुभयो, मैले खरबुजा बेचेर यस वर्ष ८० हजार रुपियाँ आम्दानी गरे ।  तौलिहवा हाट बजारमा मङ्गलबार ट्याक्टरमा लोड गरी खरबुजा बेच्न आएका केवटले आफूले १४ क्विन्टल खरबुजा बेचेको जानकारी दिनुभयो ।  पहिला पहिला भारतबाट आउने खरबुजाको बिक्री बढि थियो अहिले हाम्रो बजार राम्रो छ, उहाँले भन्नुभयो ।  
यहीं खरबुजा खेती गर्नुभएका दिनानाथ केवटले ५० हजार रुपियाँ र बुद्धु केवटले एक लाख रुपियाँ आम्दानी गरेको बताउनुभयो ।  माधुरी ६४ जातको खरबुजा एक कट्ठामा १५ क्विन्टलभन्दा बढी उत्पादन हुने कृषक बताउँछन् ।  यहाँ एक किलोदेखि ११ किलो सम्मका खरबुजा उत्पादन हुन्छन् ।  अहिले बजारमा खरबुजा प्रतिकेजी १५ देखि २० रुपियाँसम्ममा बिक्री भइरहेको छ ।  खरबुजा खरिदका लागि बुटबल, भैरहवा, अर्घाखाँचीसम्मका व्यापारी खेतमै आउने गरेको कृषक बताउँछन् ।  स्थानीय कृषक पर्शुराम केवटले व्यापारी गाडी लिएर खेतमै आउने गरेको चर्चा गर्दै भन्नुभयो, उत्पादन गर्न सक्नुपर्छ बिक्री जति पनि हुन्छ ।  
जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लाभरमा ६५ हेक्टरमा खरबुजा खेती गरिएको छ ।  गत वर्ष ५० हेक्टरमा खरबुजा खेती भएको कार्यालय प्रमुख राकेश ओझाले जानकारी दिनुभयो ।  कृषि विकास कार्यालयका अनुसार यस वर्ष एक हजार तीन सय मेट्रिक टन खरबुजा उत्पादन हुने अनुमान छ ।  कार्यालयले उत्पादन बढाउन कृषकलाई बीउबिजन, औषधि, उपकरण, तालिम र परामर्श सेवा दिँदैआएको छ ।   कार्यालयको सहयोग तथा बढी आम्दानी पाउन थालेपछि कृषक खरबुजा खेतीतर्फ आकर्षित भएका हुन् ।  यहाँ माधुरी ६४ र मधुवाला जातका खरबुजा खेती गरिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना