साम्राज्यवादी जालोमा जेलिएको राजनीति


 rajendra kiratiराजेन्द्र किराती

 

शक्तिकेन्द्रहरू बीचको भूमण्डलीकृत होडवाजी वर्तमान विश्वको मूल प्रवृत्ति हो ।  यो विभिन्न प्रकृति, आयाम आयतनमा अभिव्यक्त हुँदै आएको छ ।  यसले विश्वलाई कहिले एकल त कहिले बहुल धु्रवमा विभाजन गरेको देखिन्छ ।  उनीहरूबीचको अन्तरविरोधको पराकाष्ठामा विश्वयुद्धलगायतका विभिन्न युद्ध भएका उदाहरण छँदैछन् ।  यसबाट समग्र विश्व राजनीतिको मूल चरित्र साम्राज्यवादी शक्ति सङ्घर्षकै सेरोफेरोमा भएको स्पष्ट हुन्छ ।  यता प्रविधिको विकासले विश्व सानो गाउँमा बदलिएको छ ।  एक ठाउँको घटनाले तुरुन्तै विश्वभरि सनसनी सिर्जना गर्छ ।  हरेक राष्ट्रिय राजनीतिमा यसले कुनै न कुनै स्तरको प्रभाव पारिरहेको हुन्छ ।  
साम्राज्यवाद भनेको शक्ति र प्रभुत्वको विस्तारित तथा बहुआयमिक रूप हो ।  राजनीतिक, आर्थिक, सामरिक र सांस्कृतिक वर्चश्वको भूमण्डलीकृत अभिव्यक्ति नै साम्राज्यवाद हो ।  आज एक ध्रुवीय साम्राज्यवादको स्थिति छैन ।  बहुध्रुवीय विश्व व्यवस्था छ ।  यस्तो बेला अन्तरसाम्राज्यवादी अन्तरविरोध पराकाष्ठामा पुग्छ ।  क्षेत्रीय द्वन्द्व चर्किरहन्छन् ।  यद्यपि सारतः प्रधान अन्तरविरोध साम्राज्यवाद र उत्पीडित राष्ट्रको बीचमा नै हुने गर्छ ।  हस्तक्षेप र शोषणका रूप बदलिए पनि अन्तरविरोध कायमै छन् ।  भूमण्डलीकृत विश्वमा महाशक्ति बन्ने होड केन्द्रीय सवाल हुने गर्छ ।  यही स्वार्थको गुरुत्वकेन्द्र वरिपरि शक्ति राष्ट्रले आफ्नो शक्ति सञ्चय र विस्तारको रणनीति तय गर्दै आएका छन् ।
 केही दशक अघिसम्म अमेरिका र शोभियत सङ्घबीच शीतयुद्धको स्थिति थियो ।  विश्व दुई ध्रुवमा विभाजित थियो ।  सन् १९९० मा शोभियत सङ्घको विखण्डनपछि विश्वमा अमेरिकी एकाधिकार कायम भयो तर यो अवस्था पनि लामो समय टिक्न सकेन ।  आज परिस्थिति नितान्त फेरिएको छ ।  एक ध्रुवीय विश्व बहुध्रुवमा विभाजित छ ।  कुनै समय युरोप र अमेरिका केन्द्रित राजनीति आज तेस्रो विश्व केन्द्रित भएको छ ।  चीन र रुस अमेरिकाको नयाँ चुनौती बनिरहेको छ ।  तीव्र औद्योगिक विकासपछि विश्व बजार विस्तारको लागि चीनले अपनाएको रणनीतिक कदमबाट अमेरिका आतङ्कित देखिन्छ ।  चीनले युरोप एसिया र अफ्रिकाको पाँच दर्जनभन्दा बढी मुलुकलाई जोड्ने भूराजनीतिक, क्षेत्रीय आर्थिक रणनीति तथा सम्पर्क–सम्बन्ध विस्तार गर्ने सिलसिलाअन्तर्गत ‘एक सडक एक क्षेत्र’ (ओबर) को विशाल परियोजना अघि सारेको छ ।  यसमा पाकिस्तानको वलुचिस्तान हुँदै अरब सागर जोड्ने ऐतिहासिक रेशमीमार्ग र २१ औँ शताब्दीको समुद्री मार्ग, जसमा पानीजहाज र रेलवे लाइन विस्तार गर्ने रणनीति रहेको छ ।  ओबरमार्फत ऊ अरब, अफ्रिका र युरोपसम्म सड्क तथा रेलवे लाइन विस्तारसँगै अन्तरमहादेशीय कूटनीतिक सम्पर्क, सम्बन्ध, प्रभाव र विश्वबजार बढाउने रणनीतिमा देखिन्छ ।
 दश वर्षमा चीनको अर्थतन्त्र सबैभन्दा ठूलो हुनुको साथै महाशक्तिशाली बन्ने अमेरिकी गुप्तचर संस्था सिआइएको आँकलन छ ।  सन् १८८० को दशकदेखि नै अमेरिकी अर्थतन्त्र सबैभन्दा ठूलो देखिन्छ ।  चिनियाँ अर्थतन्त्र औद्योगिक उत्पादनमा आधारित छ ।  यसको लागि औद्योगिक मालको शान्तिपूर्ण विश्वबजार अपरिहार्य पक्ष हो ।  वाणिज्य तथा व्यापार प्रवद्र्धनका लागि रणनीतिक साझेदारी, अन्तरदेशीय तथा अन्तरमहादेशीय सम्झौता जरुरी छ ।  यसलाई कार्यान्वयन गर्न चीन रणनीतिक रूपमा लागिरहेको छ ।  उता अमेरिकी अर्थतन्त्र युद्धमा आधारित छ ।  उसको घरजग्गा र वित्तीय कारोवार सङ्कटग्रस्त अवस्थामा छ ।  युद्धमा आधारित अर्थतन्त्रलाई सबल बनाउन युद्ध अपरिहार्य हुन्छ ।  विश्वका विभिन्न क्षेत्रमा युद्ध भड्किनु यसैको उपज नहोला भन्न सकिन्न ।  शक्तिराष्ट्रबीचको अन्तरविरोध युद्धोन्मुख देखिन्छ ।  अमेरिका विश्वभरिको क्षेत्रीय तथा आन्तरिक युद्धमा लालयित हुनु यसैको उपज हो ।  त्यसैले चीन अमेरिका बीचको आर्थिक टक्कर युद्धमा बदलिने गम्भीर खतरा छ ।  
पछिल्लो समय अमेरिका–चीन सम्बन्ध चिसिँदै गएको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी बीचको भेटवार्ता पनि औपचारिकतामा सीमित भएको छ ।  यसले सामान्य सद्भाव बढाए पनि स्वार्थमा आधारित टक्कर कम गर्ने सम्भावना छैन ।  विभिन्न बहानामा अमेरिका ‘एक्शन’ मै जाने मनस्थितिमा देखिन्छ ।  यता चीन गम्भीरतापूर्वक पर्ख र हेरको अवस्थामा देखिन्छ ।  चाँडै चीनलाई युद्धोन्मुख बनाउने अमेरिकी रणनीतिमा धेरैले आशङ्का गरिरहेको छ ।  यसका लागि अमेरिकाले कोरिया र चीनको तटीय क्षेत्रमा उत्तेजित गतिविधि बढाइरहेको छ, जुन चिनियाँ अर्थतन्त्रको मेरुदण्ड मात्र नभएर प्रभाव क्षेत्र पनि हो ।  कोरिया, जापान, फिलिपिन्स र ताइवानमा अमेरिकी उपस्थिति यही रणनीतिको परिणाम हो ।  यस विरुद्ध चीनले पनि जापान, फिलिपिन्स लगायतका मुलुकलाई तटस्थ राख्ने रणनीति लिएको छ ।  गत वर्ष बेइजिङ भ्रमणको क्रममा फिलिपिन्सका राष्ट्रपति डुतेर्तेले अमेरिकासँगको सम्बन्ध टुटाउने अभिव्यक्ति दिनु यसैको कडी मान्न सकिन्छ ।
अमेरिकाले यस क्षेत्रमा द्वन्द्व र अस्थिरताको बहाना खोजिरहेको छ ।  विगतमा भाजपा, आरएसएस, सद्दामहुसेन, तालीवान, अलकायदा, मुजाहिद्दीन गुरिल्ला र इस्लामिक स्टेटहरू जन्माउने अमेरिकी रणनीति विचारणीय मात्र छैन पुनःस्मरण गर्न अनिवार्य छ ।  सोभियत सङ्घसँग निकटताकै कारण भारतमा इन्दिरा गान्धीको हत्या भएको दाबी गरिन्छ ।  १९९० मा शोभियत सङ्घ भङ्ग गराइएपछि सिआइएले ‘रअ’ एवं कर्मचारीतन्त्रसँग साँठगाँठ बढायो ।  मनमोहन सिंहलाई उपयोग गर्दै उदारीकरण लागू ग¥यो ।  पछिल्लो समय काङ्ग्रेस आईमा उपयुक्त नेतृत्व नपाएपछि नरेन्द्र मोदीलाई अघि सा¥यो ।  तर मोदीबाट पनि अमेरिका सन्तुष्ट नभएको सूत्रको दाबी छ ।  ‘उपयोग गर र फाल’ अमेरिकी सनातनी रणनीति हो ।  आजसम्म धेरै समूह र दलाल उसको उपयोगितावादी फन्दामा फसिसकेको विडम्बनापूर्ण इतिहास कसैमा छिपेको छैन ।
चीनको प्राथमिक चासो पश्चिमाको बढ्दो प्रभाव र चासो नै हो ।  तिब्बत र सिन्ज्याङ्ग मामला सहायक हो ।  यसमा नेपालले भूराजनीतिक महìव राख्छ ।  चीनले अन्तरदेशीय, त्रिदेशीय एवं बहुदेशीय विकासको आर्थिक रणनीतिक योजना ल्याउनु यसैको परिणाम हो ।  उता अमेरिकी रणनीतिक स्वार्थमा गत वर्ष पाकिस्तान र भारतबीच युद्धको स्थिति देखाप¥यो ।  चीनले पाकिस्तानलाई पछाडि हटाएपछि तत्काललाई युद्ध रोकिएको छ तर सनातन साम्राज्यवादी रणनीतिक स्वार्थमा भइरहने युद्धको सम्भावना जिवितै छ ।  टर्की, इराक, सिरिया र अफगानिस्तानमा अमेरिकी सैन्य उपस्थिति हिजो सोभियत सङ्घ लक्षित थियो भने आज चीन घेराउ गर्ने रणनीतिमा आधारित छ ।  यसमा चीन सचेत मात्र छैन गम्भीर भएर घटनाक्रम नियाल्दै आवश्यक रणनीतिक कदम चालिरहेको छ ।  
 अर्थात् अमेरिका अस्थिरता र द्वन्द्वको बहाना सिर्जना गर्दै चीनलाई घेराबन्दी गर्ने रणनीतिमा छ ।  उसले भारतको काँग्रेस आई एवं ‘र’ मार्फत दक्षिण एसियामा छिर्ने निहँु खोजिरहेको छ ।  साम्राज्यवादी हस्तक्षेपको तीनवटा मोडेल छन् ।  पहिलो अस्थिरता र द्वन्द्व सिर्जना गरेर प्रत्यक्ष युद्धमा सहभागी हुने अफगानी मोडेल ।  दोस्रो संसद्मा बहुमत पु¥याएर संवैधानिक राष्ट्रघात गराउने सिक्किमी मोडेल ।  तेस्रो जनसङ्ख्या वृद्धि गराएर चुनावबाटै पकड जमाउने फिजी मोडेल ।  अमेरिकी रोजाई अफगानी मोडेल हो ।  यसकारण सैन्य गतिविधिका लागि अस्थिर धरातल अनिवार्य हुन्छ ।  द्वन्द्वबाट आफ्नो युद्ध अर्थतन्त्र विस्तार गरी चीनलाई ‘साइज’ मा ल्याउनु अमेरिकाको मुख्य रणनीति हो ।  यही रणनीतिक स्वार्थमा भोलि नेपालमा प्रतिगामी हर्कत र हतियारधारी समूह हावी भए अनौठो हुने छैन ।  
यस्तै चलखेलको कारण लामो समयदेखि नेपाली राजनीति अनिर्णयको चक्रव्यूहमा छ ।  अझ पछिल्लो समय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच अन्तरविरोधको स्थिति सिर्जना भएको छ ।  सिङ्गो मुलुक चुनावमा होमिएको बेला अनपेक्षित र अनावश्यक घटनाक्रम बढ्दो छन् ।  द्वन्द्ववादमा अघि, पछि, दायाँ र बायाँ कहीँ न कहीँ समाधानको बाटो हुन्छ तर नेपाली राजनीति निकास विहीन अतिवादी जाममा फसिरहेको छ ।  यो रहस्यमय छ ।  यस्ता सुनियोजित जाम कसैको चाहनाकै भरमा खुल्दैनन् ।  
मूलतः पश्चिमालाई द्वन्द्वको बहाना चाहिएको छ, जुन अस्थिरतामा मात्र सम्भव हुन्छ ।  राष्ट्रिय राजनीतिमा पश्चिमाको प्रभाव हावी हुँदै गएको छनक देखिन्छ ।  यसले दल, समूह, समुदाय र नेताहरू मात्र होइन नेपाललाई नै विभाजित गरिरहेको छ ।  सरकारका अङ्गबीच अनावश्यक दूरी बढाइरहेको छ ।  रूपमा यो काँगे्रस, एमाले, माओवादी र मधेशी दलबीचको द्वन्द्वजस्तो देखिएको छ तर सारमा यो शक्तिराष्ट्रबीचको स्वार्थको टकराव हो ।  यो सच्चाइ नबुझी राजनीतिक विश्लेषण गर्नु सर्वथा
अनुचित हो ।  यसको  समयमै व्यवस्थापन नगरे मुलुक अस्थिरताको आवरणमा प्रतिगमन हुँदै अनन्त युद्धभूमि बन्ने टड्कारो सम्भावनालाई बेवास्ता गर्न सकिन्न ।
तसर्थ, अतिराष्ट्रवाद र अतिसाम्प्रादायिकतावाद केवल भ्रम, ढोंग, निहीत स्वार्थ, प्रतिशोध, भावना र माहौलको राजनीति हो ।  कुनै पनि अतिको गन्तव्य गलत नै हुने गर्छ ।  साम्राज्यवादले कुनै न कुनै अतिको माध्यमबाट आफ्नो प्रभुत्व विस्तार गर्छ ।  नेपाली राजनीतिमा शक्तिकेन्द्रको दोहोरो घुसपैठ उल्लेख्य देखिन्छ ।  यस्तो संवेदनशील धरातलमा चुनावी र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा एकताबद्ध हुनु आजको ऐतिहासिक आवश्यकता हो ।  नत्र उत्तरको हाउगुजीले नेपाल दोस्रो अफगानिस्तान बन्ने खतरा देखिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना