पत्रकारिता दिवसको सार्थकता

puskar mathemaपुष्कर माथेमा

 

आर्थिक दृष्टिकोणबाट नेपालले सन्तोषजनक प्रगति हासिल गर्न नसके पनि सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उल्लेख्य नै मान्नुपर्दछ ।  पहिलो जन–आन्दोलनपछि सञ्चार बजारमा देखिएका एक दर्जनभन्दा बढी ठूला आकारका अखबार, चार सयभन्दा बढी रेडियो स्टेशन तथा करिब तीन दर्जन टेलिभिजन च्यानललाई यसको साक्षीका रूपमा लिन सकिन्छ ।  यसका अतिरिक्त सूचना प्रविधिको सहजताका कारण अनलाइन समाचार सेवामा आएको उभार र सोसियल मिडियाको लहरले सञ्चार र सर्वसाधारणबीचको सम्बन्धलाई थप नजिक्याएको छ ।  प्रेस स्वतन्त्रताका लागि संविधानद्वारा प्रदत्त पूर्ण प्रत्याभूतिका कारण पनि लगानीकर्ता तथा पेशाकर्मीका लागि यो क्षेत्र आकर्षक बन्न पुगेको छ ।  नेपाली समाजमा देखिएको सञ्चार माध्यमको यो सशक्त उपलब्धिका लागि नेपाली पत्रकारिता अभ्यासको एक शताब्दीभन्दा लामो अवधिको पृष्ठभूमिको योगदानलाई बिर्सन मिल्दैन ।  
समाजका विविध आयाममा भएका आरोह अवरोह वा यथास्थितिमा आएको परिवर्तनबारे समाजलाई आवधिक रूपमा सुसूचित गर्नु नै पत्रकारिताको धर्म हो ।  यसै धर्मलाई आत्मसात् गरेर ११७ वर्ष अगाडि अर्थात् १९५८ साल वैशाख २४ गते ‘गोर्खापत्र’ को नामबाट नेपालमा अखबारी पत्रकारिताको शङ्खघोष भएको स्मरण गर्दै गएको आइतबार नेपालमा दोस्रो राष्ट्रिय पत्रकारिता दिवस मनाइयो ।  २०७२ साल फागुन १७ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो र सोही अनुरूप गतवर्ष पहिलो राष्ट्रिय पत्रकारिता दिवस मनाइएको थियो ।  एक शताब्दीभन्दा लामो पत्रकारिताको इतिहास भएको नेपालमा आफ्नै पत्रकारिता दिवस नभएको र विश्व प्रेस स्वतन्त्रता दिवसलाई नै नेपाली पत्रकारिता क्षेत्रले आफ्नो दिवसका रूपमा आत्मसात् गरिरहनुपरेको सन्दर्भमा यो एउटा नयाँ उपलब्धि हो ।  यो सुखद यथार्थबीच यस दिवसले पाउनुपर्ने भव्यता पाएको नदेखिनु अर्काे कटु यथार्थ हो ।  
नेपाली पत्रकारिता क्षेत्रकै प्रतिनिधि दिवसका रूपमा अगाडि आएको यस दिवसप्रति सिङ्गो नेपाली पत्रकारिता अभ्यासकर्मीले अपनत्व जनाएको अवस्थामा मात्रै यसको सार्थकता सिद्ध हुने कुरामा शङ्का छैन ।  पहिलो र दोस्रो पत्रकारिता दिवस मनाइएको माहोललाई दृष्टिगत गर्दा यस्तो अवस्था सिर्जना भइसकेको अनुभूति हुँदैन ।  ‘सरकारी’ अखबारका रूपमा लिइने पहिलो राष्ट्रिय अखबारको जन्मसँग यो दिनको प्रत्यक्ष सम्बन्ध रहेको र यो अखबारको जीवन्त उपस्थिति प्रतिस्पर्धात्मक सञ्चार बजारमा अझै निरन्तर रहेको कारणले ठूला सञ्चार गृहमा यो दिवसलाई आफ्नो मान्न हिच्किचाहट भएको हुनसक्छ ।  यहाँनिर स्पष्ट हुनुपर्ने तथ्य के छ भने ‘गोरखापत्र’ मात्र एउटा अखबार नभएर नेपाली पत्रकारिताकै एउटा ऐतिहासिक कोसेढुङ्गा हो र यसको विशेषता भनेको यो कुनै समूहको प्रकाशन नभई सिङ्गो राष्ट्रकै प्रकाशन हो ।  यात्रा जतिसुकै लामो तय गरिए पनि पहिलो पाइलाको महìव र गहनता भिन्नै किसिमको हुन्छ र यो महìव र गहनतालाई वैशाख २४ ले बोकेको छ ।  त्यसैले उक्त दिनलाई एउटा अखबारसँग जोडेर हेर्नुभन्दा पनि नेपाली पत्रकारितालाई कर्म मान्ने सबैले आफ्नो यात्राको थालनी बिन्दुका रूपमा आत्मसात् गर्नुपर्दछ ।  
‘गोर्खा भारत जीवन’ तथा ‘सुधासागर’लाई अगाडि सारेर पहिलो नेपाली पत्रिका ‘गोर्खापत्र’ नभएको र यसलाई पहिलो भनेर इतिहास बङ्ग्याउन खोजिएको तथा सरकारले आफ्नो पत्रिकाप्रति पक्षधरता देखाउँदै राष्ट्रिय पत्रकारिता दिवस थोपरेको विचार पनि बजारमा सुनिएको छ ।  यी दुवै अभिव्यक्तिलाई पत्रकारिताकै धर्म अनुरूप विश्लेषणात्मक तथा निष्पक्ष समीक्षा गर्दा स्पष्ट हुन सकिने देखिन्छ ।  ‘गोर्खा भारत जीवन’ नेपाली भाषाको अखबार भए पनि त्यो नेपाली भूमिबाट प्रकाशित भएको थिएन भने ‘सुधासागर’ अखबार नभएर साहित्यिक पत्रिका थियो ।  त्यसैले ‘गोर्खापत्र’ लाई नेपालको पहिलो अखबार मान्नलाई कुनै इतिहास बङ्ग्याइरहनुपर्ने आवश्यकता छैन र त्यो इतिहास अब कुनै पत्रिकाले सिर्जना गर्नसक्ने सम्भावना छैन ।  सरकारले गरेको निर्णय भएकै कारण पत्रकारिताका इतिहासप्रति सम्मान गर्दै प्रतिनिधि दिवसको थालनी गर्नुलाई बदनियतपूर्ण भनिनुलाई सुनियतपूर्ण मान्न सकिँदैन ।  ‘गोर्खापत्र’ साप्ताहिकदेखि ‘गोरखापत्र’ दैनिकसम्मको यात्राका क्रममा यसले कुनै अखबारप्रति प्रतिस्पर्धात्मक व्यवहार गरेको छैन, छ त नेपाली पत्रकारिताको क्रमिक विकासका लागि विविध प्रविधिगत तथा शैलीगत प्रयोगका माध्यमबाट योगदान मात्रै ।  त्यसैले यो दिनलाई ‘ब्राण्ड’को आँखाबाटभन्दा सहयात्राप्रतिको सम्मानका रूपमा हेरिनुमा सदाशय झल्किन्छ ।  
एक शताब्दीको सँघार नाघिसक्दा पनि नेपाली पत्रकारिता क्षेत्रको आफ्नै औपचारिक दिवस नहुनु आफैमा एउटा खड्किँदो अभाव थियो र सो अभाव पूर्तिका लागि अखबारी पत्रकारिताको शुभारम्भ भएको दिनलाई सम्झनुभन्दा उपयुक्त कार्य अर्काे हुन सक्दैनथ्यो ।  नेपालकै पहिलो अखबार ‘गोर्खापत्र’ हुनु समयचक्रको एउटा संयोग मात्र हो, त्यसको स्थानमा अरु कुनै अखबार पनि हुनसक्थ्यो ।  तात्कालिक परिस्थितिका कारण पत्रकारितासँग टाढाको नाता जोडिन नसकेको नेपाली समाजमा ‘गोर्खापत्र’को पदार्पण भयो, यही इतिहास हो र यही सत्य ।  राष्ट्रिय पत्रकारिता दिवसले नेपाली पत्रकारिताको विकासका लागि बीजका रूपमा अस्तित्वमा आएको सोही क्षणलाई स्मरण मात्र गर्न खोजेको हो र त्यसैलाई थप सिर्जनशील र साहसिक यात्राका लागि ऊर्जाका रूपमा स्थापित गर्न मात्र खोजेको हो ।  त्यसैले यस दिवसलाई साझा दिवसका रूपमा अङ्गीकार गर्दा कसैलाई घाटा पर्ने देखिँदैन ।  बरु नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घ, नेपाली पत्रकारिताको गुणस्तर सुनिश्चित गर्नमा समर्पित प्रेस काउन्सिल नेपाललगायतले मान्यता प्रदान गरिसकेको यस दिवसलाई नदेखे जस्तै गर्दा पत्रकारिता जगत् स्वयं अवसरबाट वञ्चित हुनसक्दछ ।  
राष्ट्रिय पत्रकारिता दिवसलाई सार्थक बनाउनका लागि पहिलो आवश्यकता भनेको यसलाई ‘गोरखापत्र’को स्वार्थसँग जोडिएको भ्रमलाई चिर्नु हो ।  यो त आफैमा ‘सम्पदा’ भइसकेको सञ्चार माध्यम हो ।  यसको स्वार्थ भनेको सूचनाप्रति जनताको मोह जगाउनु र सक्दो रूपमा जनतालाई सुसूचित गराउनु हो ।  जसरी गोरखापत्र राष्ट्रकै प्रतिष्ठा र साझा सम्पत्ति बनेको छ, राष्ट्रिय पत्रकारिता दिवसलाई पनि नेपालको समग्र पत्रकारिताले आफ्नो साझा महोत्सव र अवसरका रूपमा अनुभूत गर्दा लाभान्वित हुने समग्र पत्रकारिता क्षेत्र नै हो ।  ‘गोरखापत्र’प्रतिको ‘वक्रदृष्टि’को शिकार पत्रकारिता दिवस हुनु हुँदैन ।  ‘गोर्खापत्र’ प्रकाशन भएको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउनु महìवपूर्ण कुरा होइन, यो दिवसलाई नेपाली पत्रकारिताको सिर्जनात्मक विकासका लागि उपयोग गर्नु महìवपूर्ण कुरा हो ।  राष्ट्रलाई एक सूत्रमा बाँध्नमा प्रत्यक्ष योगदान दिने सञ्चार माध्यम पत्रकारिता दिवस मनाउने सन्दर्भमा एकै स्थानमा उभिँदा मात्रै यसको सार्थकता सिद्ध हुन्छ ।
नहुँदाको कुरा अर्कै हो, अस्तित्वमा आइसकेपछि राष्ट्रिय पत्रकारिता दिवसलाई औपचारिकतामा सीमित पार्नु पनि बुद्धिमानी हुँदैन ।  यस दिवसका अवसरमा पत्रकारितामा लामो समयदेखि योगदान दिनेहरूलाई सरकारी स्तरबाटै सम्मान गर्ने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ ।  यसका अतिरिक्त यस अवसरलाई थप गहन र सिर्जनशील क्रियाकलापबाट उपलब्धिमूलक बनाउनका लागि सरकार, सार्वजनिक तथा निजी क्षेत्रको सहकार्य आवश्यक छ ।  नेपाली पत्रकारिताको सबलीकरणका लागि भएका नीतिगत घोषणा कार्यान्वयन सन्दर्भमा अनुगमन एवं मूल्याङ्कनका साथै थप अग्रगमनकारी पहललाई अगाडि बढाउनका लागि यो राम्रो अवसर हुनसक्छ ।  नेपाली पत्रकारिताका व्यावसायिकता, सुरक्षा, आचारसंहिता पालनालगायतका विविध आयामसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न, पत्रकारितासम्बन्धी मुद्दाहरूबारे बहसको वातावरण सिर्जना गर्नका लागि पनि यसलाई राम्रो साइतका रूपमा उपयोग गर्न सकिन्छ ।  
समाजलाई बाटो देखाउने सञ्चार माध्यम आफै सही बाटोमा हिँड्नु आजको आवश्यकता हो ।  समाजको पहरेदारका रूपमा उभिएको पत्रकारिताकै पहरेदारी गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन ।  सेवामुखीभन्दा नाफामुखी पत्रकारिताका कारण सञ्चार जगत्मा अस्वस्थ प्रतिस्पर्धाले जरा गाड्न थालेको कटु यथार्थ हो ।  सक्षम सेवा प्रदायकबाट सेवाग्राहीका लागि विशुद्ध सेवा उपलब्ध गराउने आदर्श वातावरणको प्रत्याभूति पत्रकारिता क्षेत्रमा सिर्जना गर्नका लागि आगामी राष्ट्रिय पत्रकारिता दिवसलाई सार्थक बनाउनु नै सबैको उद्देश्य हुनुपर्दछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना