बजार मूल्यभन्दा सस्तोमै औषधि दिन्छौँ

औषधि उत्पादनका आधारभूत मापदण्ड पूरा गर्न नसकेपछि सात वर्र्षअघि सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको उत्पादन बन्द भएको थियो ।  वैशाख २४ गतेदेखि लोकप्रिय ‘जीवन जल’को उत्पादन गरेर यो उद्योग पुनः सञ्चालनमा आएको छ ।  बन्द आधा दर्जन सरकारी उद्योगमध्ये औषधि लिमिटेड पुनः सञ्चालनमा आएको पहिलो उद्योग पनि हो ।  अब उद्योगले उत्पादन गर्ने औषधि, बजार प्रवद्र्धनको रणनीति र योजनाका सन्दर्भमा औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसम सुवेदीसँग गोरखापत्रका विश्वास रेग्मीले गरेको कुराकानीको सार ःrobhaskusum subedi_1


० बन्द उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।  बजारमा लोकप्रिय जीवन जल उत्पादन गर्न थाल्नुभएको छ, बजारमा कहिलेदेखि उपलब्ध हुन्छ ?
– बजारमा जानुभन्दा अघि केही निश्चित परिणाम उत्पादन भएको हुनुपर्छ ।  १० हजार पाउच (पुरिया) मात्र बजारमा लगेर कतिलाई दिने भन्ने प्रश्न उठ्छ ।  अहिले पनि केही दिनअघि मात्रै एउटा खरिदकर्ताले पाँच लाख पाउच जीवनजलको माग गरिसक्नु भएको छ तर त्यो तत्काल सम्भव छैन भनेर भनेका छौँ ।  कतिपयले त जीवन जल बन्द भएपछि त्यसको ‘वारेस’ पनि नबचेको पायौँ ।  उहाँहरूलाई छुटाउनु हुँदैन ।  उत्पादन सुरु भएपछि सबैलाई वितरण गर्नुपर्ने हुन्छ ।  त्यसैले अहिले उत्पादन मात्र भइरहेको छ ।  बढीमा एक हप्ताभित्र त्यो प्रक्रिया पूरा गरेर हामी बजारमा जान्छौँ ।  असार साउनसम्म बजारमा सबैलाई जीवनजल उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो सोच हो ।  
० लामो समय बन्द रह्यो ।  अहिले आवश्यक जनशक्ति छ ?
– प्राविधिक कर्मचारी उद्योग बन्द भएपछि यहाँबाट बाहिरिनुभएको थियो ।  उद्योग पुनः सञ्चालनमा आएपछि प्राविधिक कर्मचारी करारमा लिएका छौँ ।  पछि यसलाई थप गर्दै जानुपर्छ ।  सकेसम्म यहीँका कर्मचारीलाई तालिम दिएर काम गराउने सोच छ ।  हरेकलाई नयाँ प्रविधिको जानकारी गराउने, बाहिरबाट विज्ञ ल्याएर तालिम दिने योजना अगाडि बढाइसकेका छौँ ।  
० तीन महिनाभित्र दुई दर्जनभन्दा बढी ननपेन्सिलिन ट्याब्लेट उत्पादन गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।  यो सीमाभित्र उत्पादन गर्न सम्भव छ ?
– सम्भव छ किनभने एउटा भनाइ छ नि ‘राम्रो योजना भनेको ५० प्रतिशत काम पूरा हुनु हो र राम्रो सुरुवात भनेको ७० प्रतिशत पूरा’, हो त्यसरी नै जान्छ ।  हामीले छोटो समयमै जीवन जल उत्पादन गरिसक्यौँ अब बाँकी काम पनि योजनाअनुसार सकेसम्म समयसीमाभित्रै गर्न सकिन्छ ।  उद्योग मन्त्रालय हाम्रो साथमा छ ।  कहिल्यै सञ्चालनमा आउँदैन भन्ने स्थितिबाट अहिले त उत्पादन नै सुरु भएको छ ।  गाडी एक गियरमा लागिसकेपछि दुई तीन गेयरमा जान्छ भन्ने विषयमा शङ्का गरिरहनु पर्दैन ।  
० सरकारले ७० प्रकारका निःशुल्क रूपमा उपलब्ध गराइरहेको छ ।  यी औषधिको उत्पादन गर्नेतर्फ तपाईंहरूले सोच्नुभएको छ कि ?
– हामी ती सबै औषधि उत्पादन गर्न सक्छौँ ।  हाम्रो लक्ष्य पनि त्यतातिर नै हो ।  हाम्रो उद्देश्य सस्तो मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने हो ।  ७० प्रकारका औषधि मात्र होइन, त्यसबाहेकका औषधि पनि हामी उत्पादन गर्न सक्छौँ ।  
० सस्तो औषधि भन्नुभयो, मूल्य निर्धारण कसरी गर्नुहुन्छ ?
– यसको आधार भनेको कच्चापदार्थ र सञ्चालन खर्च नै हो तर हाम्रो औषधिको मूल्य बजार मूल्यभन्दा कम हुनेछ ।  यसमा एउटा मान्यता चाहिँ के हो भने औषधिको मूल्यले हाम्रो खर्च र केही थोरै भए पनि नाफा चाहिँ उठाउनुपर्छ किनभने यो सेवामूलक मात्र नभई केही नाफामूलक पनि हुनुपर्छ ।  
० तपाईंहरूलाई आफ्ना उत्पादन फेरि बजारमा लैजाने र पहिचान दिने चुनौती छ ।  यो अवस्थामा उत्पादनको बजार प्रवद्र्धन र वितरणको योजना कस्तो छ ?
– अहिलेको लागि पहिलेकै प्रणालीलाई परीक्षणका रूपमा हेर्छौं ।  केही ‘स्टकिस्ट’ निकै उत्साहित हुनुहुन्छ ।  उहाँहरूलाई बजारमा कहिले उत्पादन भित्रिन्छ भन्ने मात्र चासो छ ।  त्यसैले बजारमा लैजाने विषयमा समस्या छैन ।  
० निजी क्षेत्रका औषधि उत्पादकसँग प्रतिस्पर्धा गर्न औषधि लिमिटेडको रणनीति अब कस्तो हुन्छ ?
– पहिलो मान्यता भनेको गुणस्तरीय औषधि दिने नै हो ।  अर्काको औषधि नराम्रो अथवा राम्रो भन्नुभन्दा पनि जसले गुणस्तरीय उत्पादन दिन्छ अन्ततः मूल्य निर्धारण पनि त्यसैले गर्दै जान्छ ।  
० विश्व स्वास्थ्य सङ्गठनले तोकेको कुशल उत्पादन प्रक्रिया (जीएमपी) तथा औषधि उत्पादनका आधारभूत मान्यता अवलम्बन गर्न नसकेको भन्दै औषधि लिमिटेड बन्द भएको थियो ।  अब यो सबै मापदण्ड पूरा हुन्छ भन्ने आधार के छ ?
– कुनै पनि उत्पादन नाफामूलक हुनुपर्छ तर औषधि लिमिटेडको मान्यता यही मात्र भने होइन ।  गुणस्तरीय औषधि नै यसको पहिलो प्राथमिकता हो ।  सबै नेपालीले गुणस्तरीय औषधि पाउनुपर्छ भन्ने अवधारणा यसले कायम राखेको छ ।  अहिले हामीले औषधि उत्पादनका सबै मापदण्ड पूरा गरेका छौँ ।  गुणस्तर आफैँमा नियमित प्रक्रिया हो ।  भोलि आउने प्रविधिलाई पनि अङ्गीकार गर्न सक्नुपर्छ ।  
० बजारमा सहजै पाउन नसकिने ‘एन्टी भेनम’ र ‘एन्टिरेबिज’जस्ता औषधि दुई वर्र्षभित्रै उत्पादन गर्ने महìवाकाङ्क्षी लक्ष्य राख्नुभएको छ ।  के यो सकिन्छ ?
– हामी सक्छौँ ।  औषधि लिमिटेडसँग यस्ता मेसिन छन्, जुन हामी गैरसरकारी संस्थासँग हुन्छ भनेर कल्पना पनि गर्न सक्दैनौैँ ।  जर्मनीमा निर्माण भएको ‘ग्ल्याट’ यसकै उदाहरण हो, जुन् औषधि लिमिटेडसँग छ ।  म योभन्दा अगाडि निजी क्षेत्रमा आबद्ध थिएँ त्यतिबेला पनि मैले यो मेसिनको कल्पना गरेको थिएन ।  केही उत्पादन आर्थिक रूपमा सम्भाव्य नभए पनि स्वास्थ्यसँग जोडिएपछि त्यसको उत्पादन आवश्यक हुन्छ ।  आर्थिक रूपमा फाइदा नै नभए पनि पूर्ण घाटा पनि हुँदैन ।  यसको मतलव के हो भने हामी यस्ता खालका औषधि उत्पादन गर्न सक्छौँ र सम्भावना पनि पर्याप्त छ ।  
० औषधि लिमिटेडले उत्पादन गर्ने औषधि निर्यात गर्न सक्ने सम्भावना कति छ ?
– हामीले कच्चापदार्थ ल्याउने देशमै उत्पादन हुने औषधिको उत्पादन लागत तुलनात्मक रूपमा कम हुन्छ ।  मूल्यको हिसाबले यसरी हेर्दा चाहिँ हाम्रो औषधि नै महँगो पनि पर्न सक्छ तर अरू देशले उत्पादन गर्न नसकेका केही विशेष किसिमका औषधि उत्पादन गर्न सक्यौँ भने त्यसको निर्यातको सम्भावना रहन्छ ।  
० अन्त्यमा, औषधि लिमिटेडको भविष्य कस्तो देख्नुभएको छ ?
–    मैले त औषधि लिमिटेडलाई एउटा ‘लिडर’का रूपमा देखिराखेको छु ।  औषधिजन्य उत्पादनका लागि आवश्यक अन्य सहयोगी पक्षसहित यहाँ केही सुविधा छ जुन खासगरी निजी क्षेत्रलाई छैन ।  बजेटदेखि संरचना विस्तारका लागि आवश्यक जग्गा पनि हामीसँग छ ।  धेरै किसिमका औषधि उत्पादन यहाँबाट गर्न सकिन्छ ।  यसबाहेक एउटा विश्वास सिर्जना भएको छ, आशा जगाएको छ ।  यसअघि अन्य सरकारी उद्योग पनि बन्द अवस्थामा छन् ।  ती सबै उद्योग खुल्न सक्छन् भन्ने सकारात्मक सन्देश यसले दिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना