धान छाडेर मेन्थाखेती

 
सिराजुद्दिन खान

नेपालगञ्ज, वैशाख ३१ गते ।  बाँकेका विभिन्न स्थानमा मेन्थाखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।  मेन्थाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका महादेवपुरी, कचनापुर, फत्तेपुर र गङ्गापुरलगायतका क्षेत्रमा मेन्थाखेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ ।  सो कार्यालयका अनुसार खेती राम्रो हुँदै गएपछि धेरै किसानले धानखेती छोडेर मेन्थाखेती गर्न थालेका छन् ।  यहाँ तीन सयभन्दा बढी किसानले मेन्थाखेती गरिरहेको सो कार्यालयका प्रसार अधिकृत धनबहादुर पुनले बताउनुभयो ।  
उत्पादन राम्रो हुन थालेपछि साविकको महादेवपुरी गाविस र राप्तीपारिको फत्तेपुर गाविसलाई मेन्थाखेतीको पकेट क्षेत्र बनाइएको छ ।  हाल महादेवपुरीमा एक सय बिघा र फत्तेपुरमा १२५ बिघाभन्दा बढी जमिनमा मेन्थाखेती गरिएको छ ।  केही किसानले बाँझो जमिन सदुपयोग गरी मेन्थाको व्यावसायिक खेती गर्न थालेका छन् भने केहीले त धानखेती नै छोडेका छन् ।  
किसानले खेती बढाउन जडीबुटी उत्पादन समूहसमेत गठन गरिसकेको भगवती जडीबुटी उत्पादन समूहका सचिव दयाराम चौधरीले बताउनुभयो ।  उहाँले २६ जनाको समूहले ३० बिघा जमिनमा मेन्थाखेती गरिरहेको बताउनुभयो ।  बाँझो जमिनमा मेन्थाखेती थालेका छौँ, उहाँले भन्नुभयो, एकातिर जमिन सदुपयोग भएको छ भने अर्काेतिर आम्दानीको राम्रो स्रोत बनेको छ ।  मेन्थाखेतीबाट गत वर्ष एक लाख रुपियाँ खुद नाफा भएको जानकारी चौधरीले दिनुभयो ।  mentha
मेन्थाका लागि पानी आवश्यक परे पनि स्याहारसुसार त्यति धेरै गर्नु नपर्ने हुँदा खेती गर्न सहज हुने शमशेरगञ्जका किसान गोपाल धामीले बताउनुभयो ।  पशुले मेन्था नखाने भएकाले पनि यसको खेती उपयुक्त भएको उहाँको भनाइ छ ।  मकैबालीलाई धेरै स्याहार गर्नुपर्छ, पशु चौपायाबाट जोगाउनसमेत कठिन हुन्छ, धामीले भन्नुभयो ।  मकै रोपेपछि बिक्री गर्न समस्या हुने भए पनि मेन्था नगदेबाली भएको किसान धामीको भनाइ छ ।  धामीले यस वर्ष २५ कट्ठामा मेन्थाखेती लगाउनुभएको छ ।  मेन्थाखेती गर्ने किसानले भारत र नेपालगञ्जमा मेन्थातेल बिक्री गर्दै आएका छन् ।  अहिलेसम्म मेन्थाबाट उत्पादित तेल बिक्रीका लागि कुनै समस्या नभएको किसानको भनाइ छ ।  मेन्थाको तेलको माग भारतमा अत्यधिक भएकाले खेतीमा अझै विस्तार गर्नुपर्ने नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।  सङ्घमा आबद्ध विभिन्न व्यवसायीले तेल निर्यातको काम गर्दै आएकोले माग अनुसार तेल अझै पनि पाउन नसकेको सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना