अमूल्य मतको सदुपयोग

gyanendra bibasज्ञानेन्द्र विवश

 

सङ्घीय राज्यको अवधारणानुसार दुई दशकपछि पहिलो चरणको आमनिर्वाचन सम्पन्न हुँदैछ ।  सङ्घीयता कार्यान्वयनको महìवपूर्ण कडीका रूपमा लिइने स्थानीय निकायको पहिलो चरणको निर्वाचनले जनतामा प्रत्याभूत गरेको अधिकारलाई कार्यरूपमा देखाउने छ ।  दुई दशकसम्म जनप्रतिनिधि विहीन अवस्थामा रहेका स्थानीय निकायमा अब बल्ल चहलपहल शुरु हुने समय आएको छ ।  हुन त अद्यापि कर्मचारीकै नेतृत्वमा सेवाग्राहीलाई प्रदान गरिने सेवा र सुविधा थेगिएको छ तर जननिर्वाचित पदाधिकारीको उपस्थिति र सक्रियताले विशेषतः विकास–निर्माणलगायत अन्य काममा द्रूत गति लिन सक्नेछ ।  अत्यन्त बहुप्रतीक्षित यो चुनाव वास्तवमा अस्तिसम्म स्वयं राजनीतिक दललाई नै हुन्छ कि हुँदैन भन्ने यकिन थिएन तर अब अहिले सबै अन्योलका बीच आमनिर्वाचनको तयारीसमेत पूरा भइसकेको छ ।  आज त तीन प्रदेशमा मतदान कार्य नै शुरु भइसकेको छ ।  प्रतीक्षित पहिलो चरण निर्वाचनको चरणसँगै मत परिणामको प्रतीक्षामात्रै बाँकी रहेको छ ।
पहिलो चरणको निर्वाचन आज प्रदेश नं. ३, ४ र ६ का ३४ वटा जिल्लाका २९३ वटा स्थानीय तहमा हुँदैछ ।  आगामी जेठ ३१ गते बुधबार दोस्रो चरणको निर्वाचन हुने भएको छ ।  यसरी बल्ल आएको मतदानको अधिकारलाई सही किसिमले सदुपयोग गर्नु पनि अति आवश्यक छ ।  एउटा अमूल्य मतले हार–जितको अवस्था आउने हुँदा मतदान गर्दा योग्य, क्षमतावान र काम गर्न सक्ने व्यक्तिको चयन गरी मतदान गर्नु पनि उत्तिकै जरुरी हुन्छ ।  हाम्रो एउटा–एउटा मतको सही सदुपयोगले नै हाम्रो गाउँपालिका वा नगरपालिकाको भविष्य गाँसिएको हुन्छ भन्ने कुरालाई गम्भीर भई मनन गर्नु पनि वाञ्छनीय छ ।
गत २०७२ सालमा लामो छलफल, सङ्घर्ष र आन्दोलनमा विविध चरण र मागपश्चात् लागू भएको नोपलको संविधानले नेपाललाई सङ्घीय राज्यमा रूपान्तरित गराएको छ ।  सो संविधानको धारा २९५ (३) का आधारमा सङ्घीय शासन प्रणाली गठन भएको हो ।  यही आधारमा गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले प्रतिवेदन सरकारलाई बुझायो र त्यही आधारमा निर्धारित स्थानीय तहको निर्वाचन हुँदैछ ।  यी तहमा निर्वाचिन हुने प्रतिनिधिले संविधानबमोजिम यी तहमा निर्धारित जिम्मेवारी पूरा गर्नेछन् ।  
निर्वाचित जनप्रतिनिधिको आगमनसँगै गाउँपालिका र नगरपालिकामा थपिएको जिम्मेवारीले जनतामा उत्साह वृद्धि भएको छ तर त्यसको सही कार्यान्वयन पक्षमा भने निकै जटिलता र चुनौती विद्यमान रहेको देखिन्छ ।  दक्ष जनप्रतिनिधि र जनशक्तिको अभाव पहिलो समस्या देखिन्छ ।  किनभने गाउँ विकास समितिबाट गाउँपािलकामा परिणत भएका गाउँसँगै नवघोषित नगरपालिकामा अद्यापि जनशक्तिको अभाव छँदैछ ।  कामको अफ्ठ्यारो र अन्योलका साथै निर्वाचित पदाधिकारीको काम, कर्तव्य र अधिकारको निक्र्योलका लागि अझै ऐन बन्न सकेको छैन ।  
अहिलेको प्रादेशिक संरचनाले गाउँपालिका र नगरपालिकालाई अधिकार सम्पन्न स्थानीय सरकारका रूपमा अधिकार विकेन्द्रीकरण गरेको छ ।  यसले सुविधा सम्पन्न शहरदेखि सुदूर गाउँसम्म विकासको लहरले प्रगतिको फड्को मार्ने आधार देखिन्छ ।  तथापि त्यसका लागि कर्मचारी व्यवस्थापन र कार्यालय सञ्चालनको व्यवस्थापन पनि पहिलो प्राथमिकतामा पर्छ ।  अहिलेको अवस्थातिर दृष्टिगत गर्दा राजधानीकै कतिपय वडा कार्यालयको अवस्था दयनीय नै रहेको पाइन्छ ।  जहाँ उचित कर्मचारी र कार्यालयको अव्यवस्थाले सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न कठिनाइ भइरहेको देखिन्छ भने नवगठित ग्रामीण गाउँपालिका तथा नगरपालिकाको अवस्था त शून्यबाट शुरु गर्नुपर्नेछ ।
यसैबीच बल्लतल्ल परिपूर्ति हुन लागेको जननिर्वाचित अध्यक्ष तथा सदस्यको आगमन र कार्यबोझले सेवाग्राहीको माग सम्बोधन गर्न केही समय पर्खिनै पर्ने हुन्छ ।  निर्वाचनको समयमा आफ्ना मतदातालाई दिएको आश्वासन तथा घोषणापत्रमा जारी गरिएका प्रतिबद्धता पूरा गर्नु निर्वाचित सबै जनप्रतिनिधिको पहिलो कर्तव्य हुन्छ ।  त्यसबाट कोही पनि विमुख हुनु हुँदैन ।  जनतालाई दिएको वाचालाई पूरा गर्ने नै पहिलो काम हुनुपर्छ ।  मतदान गरेका जनतामा पलाएको आशा र उत्साहलाई गति प्रदान गर्नु आवश्यक छ ।  जितिसकेपछि पद र कुर्सीको अहम्मा अल्मलिँदा निश्चय पनि जनताले राम्रो मान्ने छैनन् ।  त्यसका लागि पनि जनताको सेवा र विकास–निर्माणको काममै समर्पित हुनु अति जरुरी हुन्छ ।  भर्खर मतदान गरी जिताएका जनप्रतिनिधिले आफ्ना मतदातासँगको सम्बन्ध सुमधुर हुनु पनि त्यत्तिकै जरुरी हुन्छ ।  
यसका साथै काममा पनि उत्तिकै सहजता अनिवार्य हुन्छ ।  त्यसका लागि नेतृत्व तहले सबै वडाबासीप्रति समान व्यवहार गर्नुपर्छ ।  पदमा बसिसकेपछि राजनीतिक वाद, जाति, क्षेत्र वा सम्प्रदायको साँघुरो र सङ्कीर्ण आँखाले कदापि पनि हेर्नु हुँदैन ।  अन्ततः अनेक चुनौती र समस्याका बीच रहेको संस्थाको संस्थागत व्यवस्थापनसँगै जिम्मेवारीबोध गर्नु र जनताका मागलाई सम्बोधन गरी अवसरको सदुपयोग गर्नु आवश्यक छ ।  यसले नै प्राप्त मतको सदुपयोग हुनुका साथै आफूले विजय हासिल गरेको सार्थकता पनि हुने निश्चित छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना