एक युगको एक दिन आज

ram p gautamरामप्रसाद गौतम

आज वैशाख ३१ गते बिहान जब नेपालका ३४ जिल्लाका २८३ स्थानीय तहमा ४९ लाख ५६ हजार ९२५ मतदातामध्येबाट मतदान गर्न शुरु गरिने छ, नेपाल नयाँ युगमा प्रवेश गर्नेछ ।  यो मतदानसँगै नेपालको विकासको अभियानमा तीन तहको संयुक्तता प्रारम्भ हुनेछ ।  यो मतदानले महिला, दलित, जाति जनजाति, अल्पसङ्ख्यक सबैको हातमा जिम्मेवारी प्रदान गरेर देश विकासका लागि एउटा फरक मोडल प्रस्तुत गर्नेछ ।  आजको मतदानमार्फत कुल उम्मेदवार ४९ हजार ३३७ मध्ये १३ हजार ५५६ जनालाई मतदाताले निर्वाचित गरेर देश विकासको गहन जिम्मेवारी प्रदान गर्ने छन् ।  
वर्षौदेखि नेपाली जनताले चाहेको संविधानसभाबाट संविधान बनाउने चाहनालाई विभिन्न आशङ्का बीच २०७२ असोज ३ गते स्वर्गीय सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, विजयकुमार गच्छदार र कमल थापालगायत नेताको अथक र अनवरत प्रयासबाट सफल पारियो ।  संविधान निर्माण कार्यपछि पनि अनेक उतार चढाव संविधान र देशले भोग्नु प¥यो ।  खासगरी छिमेकी राष्ट्र भारतले केही कुरामा असहमति जनायो र नेपालका केही नेताले पनि यो संविधानको विरोध गर्नुभयो ।  एक सयभन्दा बढी जाति जनजाति, अनेक भौगोलिक विकटता, जनताका अनेक आकाङ्क्षाबीच कसैका केही बढी माग र कसैका केही थोरै मागको सम्बोधन गर्दै नेपालमा संविधानसभामार्फत संविधान बन्यो ।
स्थानीय तहको चुनाव हुने र नहुने बीचको लामो शङ्का उपशङ्का बीचमा, अनेक स्पष्टता र अस्पष्टताको अन्तर्विरोधको बीचमा आजको एक ऐतिहासिक क्षण देशले अनुभूत गर्न पाएको छ ।  निर्वाचनको पूर्व सन्ध्यामा सङ्घीय समाजवादी फोरमका नेता उपेन्द्र यादवको ‘म जन्मिएको माटोले निर्वाचन माग्यो म सहभागी भएँ’, भन्ने स्वागतयोग्य भनाइले पनि निर्वाचनको रौनक तथा उत्साहमा थप ऊर्जा प्रवाह गरेको छ ।  
राजतन्त्र, राणातन्त्र र पञ्चायततन्त्रका सम्पूर्ण एकलवादी सोचहरू, परिवार र व्यक्तिवादी हालीमुहालीलाई परास्त गर्दै हाम्रा महान् पूर्वज विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीजस्ता नेताले ज्यानको बाजी लगाएर र धर्मभक्त, शुक्रराज, गङ्गालाल, दशरथचन्दलगायत अनेक ज्ञात अज्ञात शहीदको शहादतपछि देशले प्रजातन्त्रका विभिन्न चरण पार गरेको इतिहास हाम्रो छ ।  
२००७ सालमा प्रजातन्त्रको पहिलो चरण, २०४६ सालमा प्रजातन्त्रको दोस्रो चरण र २०६२ सालमा गणतन्त्रको तेस्रो चरण पार गरिए पनि संविधान निर्माण गर्ने कामले झनै ठूलो संशय पैदा गरिदियो र पहिलो संविधान सभाको असफलाले अझै ठूलो अनिश्चयको जन्म दिएको थियो  ।  यी सबै उकाली ओराली, आरोह र अवरोह पार गर्दै नेपालले संविधान बनायो ।  निःसन्देह संवैधानिक रूपमा नेपाली जनतालाई अनेक शक्ति प्रदान ग¥यो ।  यही संविधान २०७२ को भाग ५ धारा ५६ अनुसार नेपालको पुनसंरचनाको स्पष्ट सङ्केत मिलेको छ ।  नेपालमा सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तह रहने र ती सबैले संविधानको अनुसूची ५, ६, ८ अनुसार विभिन्न अधिकार पाउने कुरा लेखिएको छ ।  
यसरी नेपालको संविधान २०७२ अनुसार नेपालमा आजसम्म भएका कुनै पनि निर्वाचनभन्दा यस पटकको निर्वाचनले नेपाली जनतालाई बढी अधिकार सम्पन्न बनाउँदैछ ।  स्थानीय तहले सङ्घीय कानुनको प्रतिकूल नहुने गरी स्थानीय कानुन नै बनाउन सक्ने अवस्था सिर्जना गरिएको छ ।  स्थानीय तहमा सहकारी सञ्चालन, एफ एम रेडियो सञ्चालन, स्थानीय शिक्षाको व्यवस्थापनजस्ता सशक्त काम गर्न पाउने कुरा संविधानको अनुसूचीमा लेखिएको छ ।  यसरी राज्य शक्तिलाई केन्द्रबाट एकैचोटि गाउँपालिका तथा गाउँसभामा पु¥याउने महान् ऐतिहासिक दिनमा ३, ४ र ६ नम्बर प्रदेशका जनताले मतदान गरिरहेका छन् आज ।  
आज नेपालका सबै चार वटा महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकाका दुई हजार ५९८ वडामा निर्वाचन सहजताका लागि छ हजार ६४२ मतदान केन्द्र राखिएको छ ।  शान्ति सुरक्षामा कुनै प्रकारको कमी कमजोरी नहोस्, जनता निर्भयकासाथ मतदान गर्न पाऊन् भन्ने उद्देश्यले यो निर्वाचनमा २२ हजार ६९९ म्यादी प्रहरी, २२ हजार ६९५ प्रहरी, ३० हजार सशस्त्र प्रहरीका साथै तेस्रो तहको सुरक्षा घेरामा नेपाली सेनालाई तैनाथ गरिएको छ ।  अर्थात् कुनै प्रकार भय र त्रासरहित वातावरणमा मतदान गर्ने अवस्था सरकारले सिर्जना गरेको छ ।  
चुनावी प्रजातन्त्रको शुरुवात १७ औँ शताब्दीमा बेलायतबाट शुरु भयो र पछि १९१७ रुसमा अक्टोबर क्रान्ति सम्पन्न भयो ।  सर्वहारा वर्गहरू राज्य अधिकारको केन्द्रमा प्रवेश गरे ।  त्यतिबेलाका रुसी साम्यवादीहरूले बुर्जुवा लोकतन्त्र र चुनाव दुवै भ्रम हुन् भन्नेजस्ता आलोचना गरेर स्वतन्त्र निर्वाचनको शक्तिलाई ओजहीन बनाउने प्रयास गरे तर नेपालको सन्दर्भमा मदन भण्डारीले २०४७ सालमा कम्युनिष्ट पनि निर्वाचन मार्फतबाट सत्ता प्राप्त गर्न सक्छन् भनी जनताको बहुदलीय जनवादको शङ्खनाद गर्नु भयो ।  सायद विश्वमा पहिलो पटक जनताको हातमा रहेको स्वस्तिक चिह्नको बलले मनमोहन अधिकारीलाई विश्वको पहिलो निर्वाचित साम्यवादी प्रधानमन्त्री बनाउन सफल भयो ।  त्यसपछि आजसम्म माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र केपी ओलीजस्ता प्रखर वामपन्थी नेता चुनावको मतको आधारमा देशका प्रधानमन्त्री बन्नु भयो ।
 आज नेपाली जनताले गाउँगाउँमा जिम्मेवारीपूर्ण तरिकाले काम गर्नका लागि गाउँपालिका सरकार बनाउन गइरहेका छन् ।  यो ऐतिहासिक क्षणमा हामी मतदाता निस्पक्ष र निडरताका साथ देशको माटो सुहाउँदो विकास गर्न सक्ने प्रतिनिधि छनोट गर्न मताधिकारको प्रयोग गरांैँ  ।  आजको जोश जाँगर र हौसलाले अर्को चरणको निर्वाचनलाई पनि सहज मार्ग प्रस्तुत गरोस् भन्ने आम धारणा रहेको छ ।  
मतदान मतदाताको अधिकार हो तर आज पनि लाखांैँ आधिकारिक मतदाता मतदान केन्द्रबाट बाहिर छन् ।  कोही देशबाहिर कोही देशभित्र त छन् तर मतदान केन्द्र बाहिर छन् ।  आज नभए भोलि यसमा पनि सुधार हुनु जरुरी छ ।  पहिलो संविधानसभामा गोरखाको एउटा निर्वाचन क्षेत्रमा सूचीकृत भएका मतदाताभन्दा कैयौं बढी मत खसेको हल्ला व्यापक भएको हो ।  त्यसैगरी सन् १९२७ मा लाइवेरियामा जम्मा १५ हजार  मतदाता थिए तर राष्ट्रपति चाल्र्स डीबीले दुई लाखभन्दा बढी मत ल्याएर चुनाव जिते ।  यी निर्वाचनका लागि  कलङ्कित घटना हुन् ।  निर्वाचन शुद्ध र जनमतको वास्तविक प्रतिनिधित्वबाट नै होस् भन्ने चाहना र आवश्यकता हामी सबैको सदिच्छा हो ।  
चुनाव आफैँमा एउटा अति नै महान् प्रजातान्त्रिक अभ्यास हो ।  जनताले कसलाई मत दिँदै छन् कसैलाई पनि थाहा हुँदैन ।  फ्रान्समा इमानुयल म्याक्रोनको विजय, भारतमा नरेन्द्र मोदीको उदय, यस अघि श्रीलङ्कामा महिन्द्रा राजापाक्षेको हार, अमेरिका ट्रम्पको जितलाई हेर्दा चुनावमा चिना हेर्नुको कुनै अर्थ छैन ।  जनताले जसलाई चाहेको छ त्यो नै बादशाह हुन्छ ।  तसर्थ प्रयास निर्वाचनको शुद्धतामा गरौँ अनुमानमा भर नपरौँ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना