चुनावको सम्भावित परिणाम र नेपाली काँग्रेस

 hari adhikariहरि अधिकारी


 

अस्ति सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनलाई संविधान कार्यान्वयनका दिशामा राष्ट्रले चालेको पहिलो दृढ कदमका रूपमा लिनुपर्छ ।  यसका लागि वर्तमान सत्ता गठबन्धनका नेता द्वय प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा साधुवादका पात्र बन्नुभएको छ ।  अनेक बाधा व्यवधानलाई पन्छाउँदै उहाँहरूले जुन दह्रो अठोटका साथ यो चुनाव सम्पन्न गराउनुभयो र दोस्रो चरणको निर्वाचन पनि यसै गरी सम्पन्न हुने कुराप्रति आमजनताको विश्वास जगाउन सफल हुनुभयो, त्यसले उहाँहरूको नेतृत्व क्षमतालाई स्थापित गरिदिएको छ ।  यस सन्दर्भमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्वाचन आयोगलगायत अन्य सबै निकायलाई पनि धन्यवाद दिनुपर्छ ।  छोटो समयमै सीमित स्रोत र साधनको अधिकतम उपयोग गरेर निर्वाचन आयोगले जुन बढिया किसिमको व्यवस्थापन मिलाएर यो चुनाव सम्पन्न गरायो, त्यो साँच्चिकै प्रशंसालायक छ ।  यस निर्वाचनका सन्दर्भमा निर्वाचन आयोग प्रविधिको युगमा सफलताका साथ प्रवेश गरेको पनि देखियो, जुन निकै राम्रो कुरो हो ।  मतदाता नामावली अद्यावधिक गर्नेदेखि चुनावसम्बन्धी सूचना डिजिटल प्रविधिबाट तुरुन्तै पाउन सक्ने व्यवस्था मिलाएर आयोगले आममतदातालाई धेरै नै सजिलो बनाइदिएको छ ।
यो चुनाव शानदार किसिमले सफल भएको श्रेयको असली हकदार भने सर्वसाधारण नेपाली जनता नै हुन् ।  चुनाव हुँदैन भनेर हल्ला मच्चाउने लफङ्गाहरू र हुन आँटेका खण्डमा भाँड्न खोज्ने उपद्रवीहरू, दुवैथरिलाई यसपटक सामान्य नेपाली जनताले उल्टो लोप्पा लगाइदिएका छन् ।  वास्तवमा प्रजातन्त्रको मुख्य विशेषताका रूपमा रहेको आवधिक निर्वाचनबाट लामो समयसम्म विमुख भएका नेपाली जनता मताधिकारको प्रयोग गरेर आफ्ना सबैभन्दा नजिकको सरकार आफैँले बनाउन आतुर भइसकेका थिए ।  पछिल्लो पटक स्थानीय तहको चुनाव दुई दशक पहिले भएको थियो भने स्थानीय सरकारमा निर्वाचित प्रतिनिधि नभएको १५ वर्ष ।  यो दुई दशकको अवधिमा स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा सर्वसाधारण नेपाली जनता बेवारिस जस्तै बन्न पुगेका थिए ।  सरकारी कर्मचारी र तथाकथित दलीय प्रतिनिधिको अपवित्र र भ्रष्ट साँठगाँठले स्थानीय निकाय भ्रष्टाचारका अखाडामा परिणत भएका थिए ।  आमजनता जतिसक्यो चाँडो त्यस दुष्चक्रबाट मुक्त हुन खोजिरहेका थिए ।  स्थानीय तहको अस्ति सम्पन्न पहिलो चरणको चुनावमा व्यापक जनसहभागिता हुनुको मुख्य कारण यही हो ।

अस्ति सम्पन्न निर्वाचनका परिणाम आउन थालेका छन् ।  कुल ७४४ मध्ये २८३ स्थानका लागि पहिलो चरणमा भएको चुनावका घोषित केही परिणाम र मतगणनाका क्रममा देखिएको पार्टीगत अग्रतालाई हेर्दा यसपटक नेपाली जनताले पहिलो रोजाइको दलका रूपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लिएको देखिन्छ ।  यसो किन भएको होला भन्ने कुराको अनुसन्धान र विश्लेषण गर्ने काम निर्वाचन परिणामबाट धक्का खाएका सत्ताधारी गठबन्धनका दुई मुख्य सदस्य दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको हो ।  समसामयिक राजनीतिक घटनाक्रमको सामान्य अनुगमन गरिरहेको आममानिसका रूपमा यस लेखकको भने एउटा सोझो विश्लेषण छ, जसले यति मात्र भन्छ– नेपाली जनता वर्तमान सत्ताधारी गठबन्धनको कार्यकुशलताको स्तरबाट अलिकति पनि सन्तुष्ट छैन ।  आमजनता गठबन्धनका नेताहरूको सोच र कार्यशैलीबाट वाक्कदिक्क भएको छ ।  अथवा यसो भनूँ जनता प्रधानमन्त्रीका रूपमा दाहाल र नेका सभापतिका रूपमा देउवाले जसरी सोच्नु हुन्छ र जे जस्ता निर्णय लिइरहनुभएको छ ती ठीक छन् भन्ने ठान्दैनन् ।  जनता यी दुवै नेताको चिन्तन र व्यवहारमा सुधार भएको देख्न चाहन्छ्न् ।  
चुनाव शुरु हुन थोरै समय मात्र बाँकी भएको अवस्थामा आएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा मालेसँग चुनावी तालमेल गर्ने जुन निर्णय गर्नुभयो, त्यसलाई पार्टी क्याडर हुन् वा समर्थक मतदाता, कसैले पनि मन पराएको देखिएन ।  पार्टीका सङ्गठित सदस्यले त मन मारेरै भए पनि नेतृत्वको आदेश शिरोपर गरे हुनन् र गोलाकार भित्रको हँसियाहथौडामा भोट हाले हुनन् तर तालमेल गरिएका स्थानभन्दा बाहेकका काँग्रेस समर्थक मतदातालाई बिच्क्याउन त्यो निर्णय पर्याप्त हुन गयो ।  नेपाली काँग्रेसले त्यो चुनावी तालमेल गर्न किन आवश्यक थियो र त्यसले पार्टीलाई यो चुनावका सन्दर्भमा कति र दीर्घकालीन रूपमा कति फाइदा पु¥याउने छ भन्ने कुरा बुझाउने चेष्टा नै गरेन ।  धेरैले विशेषगरी भरतपुर महानगरपालिकाका प्रजातन्त्रवादी मतदाताले त्यस तालमेललाई प्रचण्डको पुत्रीमोहको वेदीमा नेकाको पहिचान र अडानको बलिदान भएको रूपमा बुझे र काँग्रेसका विरुद्ध मतदान गरे ।  यस सन्दर्भमा काँग्रेसभित्रको गुटबन्दीको फोहोरी अनुहार पनि त्यसको कुरूपतम् स्वरूपम उदाङ्गो भयो ।  कतिपय गन्तीमै आउने नेताहरूले नै बुझ पचाएर सभापतिलाई एकोहोरो गाली गरेको पनि सुनियो ।
स्थानीय निकायको पहिलो चरणको चुनाव परिणामले नेपाली काँग्रेस नेतृत्वलाई एक÷दुई वटा गतिलै पाठ सिकाउन खोजेको छ ।  केही समय पहिले सरकारका तर्फबाट भएका केही विवादास्पद निर्णयको दोष पनि लागेको छ सभापति देउवामाथि ।  गठबन्धनको सबैभन्दा ठूलो साझेदारका रूपमा सरकारको नेकीबदीको जिम्मेवारी लिन बाध्य नै हुनुहुन्छ सभापति शेरबहादुर देउवा ।  यी सबै कुरालाई ध्यानमा राखेर उहाँले यस चुनावका सन्दर्भमा भएका कमी, कमजोरीलाई केलाएर आउँदा दिनमा कार्यकर्ता र आमजनताका भावना र अपेक्षाको सम्मान हुने वातावरण बनाउने प्रयत्न गर्नु हुनेछ भन्ने विश्वास गरौँ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना