एमाले, काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा

काठमाडौँ, जेठ ३ गते ।  वैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धामाधम आउन थालेको छ ।  तीन प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहका लागि भएको निर्वाचनको सोमबारबाट मतगणना कार्यले गति लिएपछि निर्वाचनको परिणाम पनि छिटोछिटो आउन थालेको हो ।  
मङ्गलबार राति १२ बजेसम्म मत गणना सम्पन्न भएका ४९ स्थानमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) २१ मा अग्रता कायम गरेको छ भने सत्तारुढ नेपाली काँग्रेस १४ मा र नेकपा (माओवादी) केन्द्रले १२ मा विजयी भएका छन् ।  त्यसैगरी, अन्यले २ स्थान जितेका छन् ।  1_4
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मङ्गलबारबाट मतगणना कार्यले झनै गति दिने जानकारी दिनुभयो ।  आयोगले राजनीतिक दलहरूलाई मतगणना कार्यलाई सहज बनाइदिन पनि आग्रह गरेको छ ।  सानातिना विषयमा पनि उम्मेदवारहरूले अडान राख्न थालेपछि मतदानमा खटिएका कर्मचारी नै समस्या परेपछि आयोगले यस्तो आग्रह गरेको हो ।  
निर्वाचन आयोगको कान्तिपथमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट मङ्गलबार राति १० बजेसम्म प्राप्त विवरणमा एक नगरपालिकासहित २४ नगरपालिकाको मतगणना कार्य सम्पन्न भएको जनाएको छ ।  २४५ स्थानीय तहको मतगणना कार्य जारी छ भने लमजुङ जिल्लाको एउटा स्थानीय तहमा विवादका कारण रोकिएको मतदान कार्य बुधबार बिहानबाट सुरु हुनेछ ।  पाँच वटा स्थानीय तहमा पुनः निर्वाचनको मिति तोकिएको छ ।  काठमाडौँ उपत्यकाससहित चार महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूको मतगणना कार्य जारी रहेको छ ।  
नेकपा एमालेले डोल्पाको शे फोक्सुन्डो, काइके गाउँपालिका र ठूलीभेरी नगरपालिका, मनाङको चामे नगरपालिका, स्याङजाको फेदिखोला गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, मनाङको नेस्याङ गाउँपालिका, ललितपुरको महाङ्काल गाउँपालिका, जाजरकोटको शिवालय गाउँपालिका, कास्की मादी गाउँपालिका, तनहुँको देवघाट गाउँपालिकालगायत अध्यक्ष पदमा विजयी भएको छ ।
नेपाली काँग्रेसले मनाङ नारफू गाउँपालिका, बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका, मुस्ताङको लोमान्थाङ गाउँपालिका जुम्लाको पातारासी गाउँपालिका, जाजरकोटको कुशे गाउँपालिका, बाग्लुङको तमानखोला गाउँपालिका, मुस्ताङको थासाङ गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, दैलेखको डुंगेश्वर गाउँपालिका, नवलपरासीको बुङ्दीकाली गाउँपालिकालगायतमा विजयी भएको छ ।  
माओवादी केन्द्रले जुम्लाको हिमा गाउँपालिकार गुठीचौर गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, सिन्धुलीको मरिन गाउँपालिका, रुकुमको मुसिकोट नगरपालिकालगायतमा विजयी भएको छ ।  हिमाली जिल्लाका केही मतदान केन्द्रको मतपेटिका स्थल मार्गबाट सङ्कलन गर्न कठिन भएकाले मङ्गलबार बिहान हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको तीन मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइएको छ ।  रसुवा, गोरखा, म्याग्दी, धादिङ, डोल्पा जिल्लाको विकट ठाउँमा रहेका  मतदान केन्द्रका मतपेटिका सोमबार नै हेलिकोप्टरबाट सङ्कलन गरिएको थियो ।  
पुनः मतदान हुने स्थानीय तह
विविध कारणले मतदान स्थगित भएका काभ्रेको धुलिखेल नपाको १२ वडाको शङ्खेश्वरी महालक्ष्मी मावि क र ख केन्द्रमा जेठ ३ गते मतदान हुँदैछ ।  त्यहाँ उम्मेदवारको निधन भएका कारण पुनः मतदान हुन लागेको हो ।  यस्तै, सोही जिल्लाको नमोबुद्ध नपाको वडा नं. ४ जनक उच्च मावि मतदान केन्द्रमा जेठ ३ गते नै मतदान हुँदैछ ।  सो केन्द्रमा गोली लागी नवराज पाठकको निधन भएपछि पुनः मतदान हुन लागेको हो ।  भक्तपुरको चाँगुनारायण नपाको साबिक नगरकोट गाविस भवन ख केन्द्रमा पनि जेठ ३ गते नै मतदान हुने भएको छ ।  
कालिकोट गापाको कालिकोटको नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि शेरापाटामा मतपेटिएका लुटिएको, दोलखाको मेलुङ गापाको वडा नं. १ सत्येश्वर मावि पवटी मतदान केन्द्रको मतपटिका भेटिएकाले पुनः मतदान हुँदैछ भने सिन्धुपाल्चोकको इन्द्रावती गापाको चण्डेश्वरी मावि मतदान केन्द्रमा विवाद भई स्थगित छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना