सीपमूलक शिक्षा अपरिहार्य

devi p acharyaडा. देवीप्रसाद आचार्य

 

व्यक्तिको दिमागलाई उत्पादकत्व बढाउने खालको प्रविधि सम्पन्न शिक्षालाई सीपमूलक शिक्षा भनिन्छ ।  शिक्षाले हरेक शिक्षित व्यक्तिलाई आफ्नो इच्छा र चाहना अनुरूपको व्यावसायिक सीप सिकाउनुपर्छ ।  शिक्षित व्यक्तिले सैद्धान्तिक रूपमा पढेका, देखेका र सिकेका कुरालाई व्यवहारमा उतार्न सक्ने शिक्षा नै जीवनोपयोगी शिक्षा हो ।  सीपमूलक शिक्षा हो ।  शिक्षा व्यावसायिक सीपको साधन हो ।  पढ्नु पहिलो कुरा हो ।  बुझ्नु दोस्रो कुरा हो र मुख्य कुरा पढेको विषयवस्तुमा दक्ष भएर कार्य गर्न सक्नु नै हो ।  कार्यगत क्षमताविना व्यक्तिले व्यावसायिक दक्षता हासिल गर्न सक्दैन ।  हाम्रो शिक्षामा व्यावसायिक ज्ञान, सीप र दक्षताको अभाव भएकोले शिक्षित जनशक्ति व्यावसायिक बन्न नसकेको अवस्था छ ।  
शिक्षालाई मानव विकासको आधार मानिन्छ ।  ढुङ्गेयुगदेखि आजको विज्ञान र प्रविधिको युगसम्मको विकासको उपलब्धिमा शिक्षाको अतुलनीय भूमिका रहेको छ ।  शिक्षाले व्यक्तिलाई जागरुक, चेतनशील र समसामयिक समाजमा सामञ्जस्य हुन मद्दत गर्छ ।  यसले व्यक्तिलाई कुनै पनि काम गर्नका लागि सीप प्रदान गर्छ ।  समाजमा बसोबास गर्ने सबै नागरिक शिक्षित, सक्षम, क्षमतावान र योग्य भएमा समाज गतिशील हुन सक्छ ।  व्यक्ति–व्यक्ति मिलेर परिवार, समाज र देश बन्ने हुनाले देशका सम्पूर्ण नागरिक सक्षम भएमा देश समृद्ध हुन्छ ।  
आज विज्ञान र प्रविधिको प्रभावले समाजको परम्परागत जीवनशैली बदलिएको छ ।  काम गर्ने तरिका बदलिएका छन् ।  यातायात, सञ्चार र प्रविधिको विकासले विश्व एउटा गाउँजस्तै भएको छ ।  द्रुत गतिका यातायातका साधन बनेका छन् ।  पहाड छेडेर सुरुङ बनाउने मेसिन बनेका छन् ।  पानीलाई ऊर्जामा परिणत गर्ने टर्वाइन बनेका छन् ।  कम्प्युटरको आविष्कार भएको छ ।  कम्प्युटरभित्र जोडिएका वैज्ञानिक र सामाजिक सञ्जाल सञ्चालनमा छन् ।  इन्टरनेटको विकास भएको छ ।  गुगललाई गुरु बनाएर हरेक क्षेत्रको जानकारी सिक्न सकिने भएको छ ।  त्यसैले शिक्षामा यी उपलब्धिको ज्ञान र प्रयोग विधिको सीप जोडिनु आवश्यक छ ।  
 शिक्षा प्रणालीले देशमा भएको प्राकृतिक स्रोत र साधन जमिन, जङ्गल, जल, जडीबुटीको पहिचान र यसको व्यावसायिक प्रयोग गर्ने सिकाउन नसकेको नागरिक गुनासो छ ।  नेपालमा कृषि, पशुपालन, जडीबुटी र पर्यटनको विकासमा प्रचुर सम्भावना छ तर यी क्षेत्र ओझेलमा परेका छन् ।  व्यावसायिक कृषि र पशुपालनको क्षेत्रमा आधुनिकीकरण भएको छैन ।  जलस्रोतमा धनी भएर पनि खानेपानीको अभाव, सिँचाइको असुविधा, विद्युत्को अपुग लगायतका पानीबाट लिन सकिने सुविधा प्रयोगमा आउन सकेका छैनन् ।  यसैगरी सीपमूलक शिक्षाको अभावमा सुन, चाँदी, कोइला, पेट्रोलियम पदार्थ भूगर्वमा नै छन् ।  
अहिले मुलुकमा नौ वटा विश्वविद्यालय छन् ।  हजारौँ शिक्षालय छन् ।  राज्यले शिक्षामा ठूलो लगानी गरेको पनि छ ।  तथापि शिक्षा व्यावसायिक र प्राविधिक सीपयुक्त बन्न सकेको छैन ।  समय सापेक्ष शिक्षामा परिवर्तन हुन नसक्दा विश्वबजारमा आविष्कार भएका प्रविधिको प्रयोग गरी देशको प्राकृतिक स्रोत र साधनको उपयोग गर्न सक्ने सक्षम जनशक्ति उत्पादन हुन सकेको छैन ।  फलस्वरूप शिक्षालयबाट उत्पादित जनशक्तिमा व्यावसायिक दक्षता छैन ।  स्वरोजगारमैत्री सीप छैन ।  शैक्षिक बेरोजगारीले बौद्धिक पलायन बढ्दो छ ।
शिक्षाको लक्ष्य पढाएर डिग्री हस्तान्तरण गर्नु मात्र होइन ।  अथवा पास र फेलको घोषणा गर्नु मात्र होइन ।  शिक्षाले शिक्षार्थीलाई व्यवसाय रोज्ने, व्यवसाय खोज्ने र व्यवसाय टिकाइराख्ने सीप र दक्षता प्रदान गर्नुपर्छ ।  राज्यको शिक्षा नीति, शैक्षिक योजना, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण विधि प्रविधि सम्पन्न हुनुपर्छ ।  दक्षतायुक्त हुनुपर्छ ।  हाम्रो देशको शिक्षाको संरचना नै बदल्नुपर्र्नेे शिक्षाविद् बताउँछन् ।  यसको अर्थमा देशमा भएको प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्नका लागि विश्वबजारमा विकास भएका टेक्नोलोजी (प्रविधि) को प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्ने शैक्षिक रूपान्तरण आजको आवश्यकता हो ।  
शिक्षक, प्रध्यापक, इञ्जिनियर, डाक्टर, वैज्ञानिक, प्राविधिक, कलाकार, प्रशासक, कृषकलगायतका शैक्षिक जनशक्ति उत्पादन गर्ने भरपर्दो आधार शिक्षा हो ।  विज्ञान, खोज, अनुसन्धान साथै प्राप्त भएका वस्तुको उपयोग, प्रशोधन र व्यावसायीकरणका बाटा र पाटालाई शिक्षाले सम्बोधन गर्नुपर्छ ।  हाम्रो देश जडीबुटीमा धनी छ ।  प्रकृतिमा रहेका आयुर्वेद उपचार पद्धतिका प्राण जडीबुटीको पहिचान र प्रयोगका क्षेत्रको प्राविधिक ज्ञानलाई शिक्षाले समेट्न सकेको छैन ।  औषधि विज्ञानको पहिलो पाठशाला जडीबुटीलाई पहिचान र सदुपयोग गर्न शिक्षा सफल भएको अवस्था छैन ।  हाम्रो शिक्षा प्राकृतिक स्रोत र सम्पदासँगको ज्ञान र यसको प्रयोगात्मक सीपसँग जोडिनुपर्छ ।  कृषि, पशुपालन, जडीबुटी, पानी, खानी र जवानीलाई व्यावसायीकरण गर्न सक्ने सीपमूलक शिक्षा अनिवार्य शर्त हो ।  शिक्षाबाट सिकेको ज्ञान र सीपले शिक्षित जनशक्तिले हाम्रा गाउँवेशीका खेतबारीलाई अन्नका भण्डार बनाउन सक्नुपर्छ ।  तसर्थ, राज्यको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि लगायतमा संशोधन, परिमार्जन र परिवर्तन गरी सीपमूलक शिक्षामा केन्द्रित हुन अब राज्यले ढिला गर्नुहुँदैन ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना