वेदविज्ञानमा राजर्षि मान्धाताको स्थान

kamal rijalकमल रिजाल


 

वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा चक्रवर्ती सम्राट मान्धाता पनि बिर्सनै नसकिने नाम हो ।  पौराणिक ग्रन्थहरूमा दह्रो उपस्थिति देखाएका यी राजर्षिले वैदिक मन्त्रहरूको व्याख्यानमा पनि उत्तिकै पकड जमाएका छन् ।  यद्यपि उनी क्षत्रीय राजा युवनाश्वका छोरा हुन् ।  वैवस्वत मनुपुत्र इक्ष्वाकुको कुलमा उनको जन्म भएको थियो ।  त्यसैले उनी पनि मूलत ः क्षत्रीय राजा नै हुन् र तत्कालीन भूगोलमा चक्रवर्ती साम्राज्य कायम गरेका पनि हुन् ।  तथापि उनले वैदिक ज्ञान–विज्ञानको क्षेत्रमा समेत आफूलाई ठूल्ठूला ऋषिमुनिहरूकै पंक्तिमा उभ्याउने काम गरेका छन् ।  प्रमाणका लागि ऋग्वेद मण्डल १० सूक्त १५० को पाँचौं मन्त्रलाई नै लिन सकिन्छ ।  यस मन्त्रले उनलाई अत्रि, भारद्वाज र कण्वको हारमा देखाएको मात्र छैन उनको विशेषता वर्णन गर्ने काम समेत गरेको छ ।  परम प्रतापी, महान् आत्मज्ञानी, वैर्दिक मन्त्रद्रष्टा, तेजस्वी, त्रसद्दस्यु आदि अनेक विशेषणले विभूषित यी राजर्षि कर्मकाण्डका समेत उत्तिकै पारखी देखिएका छन् ।  उनले ठूला–ठूला वैदिक यज्ञ अनुष्ठान गरी देवतादेखि पितृहरूसम्म र मानवदेखि पशुपंक्षी तथा कीटपतङसम्म आब्रह्म स्तम्भपर्यन्त सबैलाई सन्तुष्ट पार्ने प्रयास गरेका छन् ।  
चक्रवर्ती सम्राट् मान्धाता ऋग्वेद चतुर्थ मण्डलको ४२ औं सूक्तको द्रष्टा ऋषि मानिएका छन् ।  इन्द्र र वरुणको प्रशंसामा गाइएको यस सूक्तमा कुल १० वटा मन्त्र छन् ।  यी मन्त्रहरूमा सम्राट मान्धाताको शौर्य र पराक्रमको छनक मात्र पाइन्न उनको वैज्ञानिक चेत पनि उत्तिकै प्रौढ अवस्थामा फेला पर्छ ।  सूक्तको चौंथो मन्त्रमा उनले आदित्यलोक र मेघलोक व्यवस्थापनको कुरा गरेका छन् ।  यसबाट उनको पहँुच अन्तरिक्ष विज्ञानसम्म पुगेको स्वतः अनुमान गर्न सकिन्छ ।  त्यस्तै पाँचौं मण्डलको २७ औं सूक्त पनि उनैद्वारा दृष्ट मन्त्रको सँगालो मानिएको छ ।  देवराज इन्द्र र अग्निको प्रशस्तिमा गाइएको यस सूक्तमा छवटा मन्त्र छन् ।  यी मन्त्रहरूमार्फत् उनले जसरी सद्बुद्धि र सद्भावको मार्ग प्रशस्त गर्न खोजेका छन् त्यो पनि आफैंमा उत्तिकै प्रशंसनीय छ ।  
त्यसैगरी ऋग्वेद मण्डल १० सूक्त १३४ को द्रष्टा ऋषि पनि उनै चक्रवर्ती सम्राट मान्धाता मानिएका छन् ।  देवराज इन्द्रको प्रशंसामा गाइएको यस सूक्तमा कुल सातवटा मन्त्र छन् ।  यी मन्त्रहरूमार्फत उनको विद्वता प्रशंसा लायक देखिएको छ ।  यस सूक्तको दोस्रो र पाँचौं मन्त्रमा सूत्रात्मक अवस्थामा शत्रु विजयको प्रशस्ति वर्णन छ भेटिन्छ भने तेस्रो मन्त्रमा त्यस्तै सूत्रात्मक ढङ्गबाट लोकहितका लागि सम्पत्ति र सम्पदा संरक्षणका साथै शान्ति र सुरक्षाको तौरतरिका प्रस्तुत गर्ने प्रयास भएको पाइन्छ ।  त्यस्तै चौथो मन्त्रमा असल सन्तान प्राप्ति र सुशासनको बीजात्मक तत्वमाथि प्रकाश पार्ने प्रयास भएका छन् भने छैटौं मन्त्रमा शक्ति र सामथ्र्यको अभ्यास र सातौं मन्त्रमा सत्य धर्मका लागि अप्नाउनुपर्ने यावत पक्षलाई केलाउने प्रयास भएको पाइन्छ ।  
वैदिक संहिताहरूमा सम्राट मान्धाताको मात्र होइन उनका सन्तानका समेत उत्तिकै महत्वपूर्ण स्थान भेटिन्छ ।  क्षत्रीय राजा शशविन्दु पुत्री बिन्दुमतीसित विवाह गरेका मान्धाताका पुरुकुत्स, अम्बरिस र मुचुकुन्द गरी तीन भाइ छोरा देखिएका छन् ।  उनीहरूको विद्वता र विशेषताको उल्लेख ऋग्वेदकै विभिन्न प्रसङ्गमा भएका छन् भने विद्वताको क्षेत्रमा उनका ५० जना छोरी पनि एकसे एक देखिएका छन् ।  ऋग्वेदाचार्य महर्षि सौभरीले एकै लगनमा विवाह गरेका यी कन्याहरूका प्रशस्ति पौराणिक ग्रन्थहरू प्रशस्तै पाइन्छन् ।  यसको केही सङ्केत ऋग्वेद मण्डल आठ सूक्त १९ को ३६ औं मन्त्रमा स्वयं महर्षि सौभरिले नै गरेका छन् ।  
यद्यपि कतै कतै मान्धाता पुत्र पुरुकुत्सलाई मान्धाताको पिताको रूपमा चित्रण गरेको पनि पाइन्छ ।  यसबाट उनीहरू पिता पुत्रबीच को अगाडि र को पछाडि भन्नेबारे वैदिक वाङ्मयमा एउटा विचित्रको अन्योल देखापर्छ ।  बाबुभित्र छोराको अस्तित्व पनि हुन्छ र छोराभित्र बाबुको अस्तित्व पनि कायमै हुन्छ भन्ने दार्शनिक सिद्धान्तलाई मानेर यस्तो तर्क गरिएको हो भने छुट्टै कुरा होइन भने यसले यस प्रसङ्गले एउटा अन्योल खडा गरेकै छ ।  त्यसैले पुरुकुत्स उनका छोरा हुन् कि उनी पुरुकुत्सका छोरा हुन् भन्नेबारे इदमित्थं धारणा बनाउन त्यति सहज नहुने विद्वानहरूको अभिमत छ ।  यथार्थ जे भए पनि उनीहरू बाबु छोराको विद्वाता र वैदिक ग्रन्थहरूमा उनीहरूको देनबारे भने कत्ति द्विविधा मान्नुपर्ने अवस्था देखिन्न ।  
पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार उनी दया, माया, मैत्री, करुणा, परोपकार र पराक्रमको बेजोड सङ्गम नै मानिएका छन् ।  उनका नाम सुन्नासाथ रावणादि तत्कालीन भूगोलको एकसेएक पराक्रमी राजामहाराजाहरू डरले थर्कमान हुने गर्थे ।  नाम सुन्नासाथ शत्रुहरू तर्सेर भाग्ने भएकाले अर्थात् शत्रु समूहमा भागाभाग चल्ने भएकाले उनको एउटा नाम नै त्रसद्दस्यु रहेको थियो ।  उनलाई स्वयं देवराज इन्द्रले नै आएर यस्तो नाम राखिदिएका थिए ।  उनले एकपटक वीर भोग्या वसुन्धरा भन्ने वैदिक भनाइलाई चरितार्थ गर्दै आफ्ना बाहुबलद्वारा सातै द्वीपमाथि आधिपत्य जमाएका थिए ।  यसलाई महर्षि व्यासजीले श्रीमद्भागवतमा बढो रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।  
परमप्रतापी सम्राट मान्धाताको जन्म कहानी पनि त्यत्तिकै रोमाञ्चक छ ।  श्रीमद्भागवतमा उल्लेख भएअनुसार उनका बाबु युवानाश्वका एक सयवटी रानी थिए ।  लामो समयसम्म पनि सन्तान नभएपछि उनले एकपटक गुरूपुरोहितका सल्लाहमा पुत्रेष्टि (यज्ञ) गरेका थिए तर यज्ञको पूर्णाहुतिको दिन महारानीलाई भनेर राखिएको अभिमन्त्रित कलशको जल राजा युवानाश्वले नै खाइदिएछन् ।  त्यसैले महारानीले गर्ने गर्भधारणको काम पनि उनकै जिम्मामा आइपुग्यो ।  उनले त्यसलाई विधिविधान भन्दै तत्काल त स्वीकार गरेका थिए तर प्रशवको बेला भने ठूलै आपत आइलाग्यो ।  के गर्ने, गर्ने ।  कसैले पनि ठोस निर्णय दिन सकेनन् ।  गुरूपुरोहितहरू समेत मुखामुख मात्र गरिरहे ।  तैपनि उनले भने हिम्मत हारेनन् ।  
यसै पनि गल्ती युवानाश्वकै थियो भने त्यसको प्रायश्चित्त पनि उनैले नै गर्नुपर्ने थियो ।  त्यसैले उनी आफैंले धारिलो ढुङ्गाले हानेर आफ्नो दाहिने कोख विदीर्ण गरी बच्चा जन्माउने काम गरे ।  जन्मनासाथ बच्चाले आमाको स्तनपान गर्न नपाई ‘मां धाता’ अर्र्थात अर्थात मलाई रक्षा गर, मलाई रक्षा गर भन्दै रुन थाल्यो ।  बच्चाको करुण क्रन्दन देवराज इन्द्रले सुन्न सकेनन् र आफैं आई चोरी औला चुसाएर उनकोे रक्षा गर्ने काम गरे ।  बच्चाले पनि जन्मनासाथ ‘मां धाता’ अर्थात मलाई रक्षा गर भन्दै चिच्याएको र देवराज इन्द्रले पनि ‘मां धाता’ अर्थात् म रक्षा गर्छु भन्दै आएर रक्षा गरेकाले उनको नाम मान्धाता रहेको थियो ।  
थाहा छैन पुरुषले गर्भधारण गरेको सम्बन्धमा आधुनिक विज्ञानको के अभिमत छ ।  सम्भव नै भए पनि आधुनिक विज्ञानलाई त्यहाँसम्म पुग्न अरू हजारौं वर्ष लाग्न सक्छ तर सम्राट मान्धाताले भने आफ्नो जन्मकहानी मार्फत् हजारौं वर्ष पूर्व नै दुनियाँलाई यसको जानकारी दिइसकेका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना