२७ जिल्लाको निर्वाचन परिणाम

three-party-newsकाठमाडौँ, जेठ ८ गते ।  वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा २७ जिल्लाको पूर्ण परिणाम आएको छ ।  बाँकी ७ जिल्लामा पनि ठूला महानगर रहेका जिल्लाबाहेक अन्यको ९० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ ।
३४ जिल्लाका २८३ स्थानीय तहमध्ये २७० स्थानीय तहको परिणाम आइसकेको छ ।  परिणामअनुसार ११५ स्थानमा एमाले विजयी भएको छ ।  यस्तै नेपाली काँग्रेस १०२ स्थानमा विजयी भएको छ ।  नेकपा (माओवादी केन्द्र) ४६ स्थानमा विजयी भएको छ ।  यस्तै नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल र राष्ट्रिय जनमोर्चा र राप्रपाले एक÷एक स्थानमा जित हासिल गरेका छन् ।  स्वतन्त्रले तीन स्थानमा जित हात पारेका छन् ।
यो समाचार तयार पार्दासम्म काठमाडौँका तीन स्थानको मत परिणाम आएको छैन ।  महानगरसहितका कागेश्वरी, बूढानीलकण्ठ नगरमा मतगणना जारी छ ।  यस्तै भक्तपुरमा मध्यपुर थिमी र चाँगुनारायणको नतिजा आउन बाँकी छ ।  विवादका कारण चाँगुको गणना शनिबार साँझदेखि रोकिए पनि सुचारु हुन सकेको छैन ।  ललितपुरमा अब महानगरबाहेकका सबै स्थानको नतिजा प्राप्त भइसकेको छ ।  
कास्कीको पोखरा लेखनाथ महानगर, चितवनको भरतपुर महानगर र खैरहनी नगरको मत परिणाम आएको छैन ।  मकवानपुरको हेटौँडा उपमहानगरको मत परिणाम आएको छैन ।  हेटौँडामा मतगणना जारी छ ।  
दोलखाको मेलुङ र कालीकोटको नरहरिनाथ गाउँपालिकाको मत परिणाम आएको छैन ।  दोलखाको मेलुङ र कालीकोटको नरहरिनाथमा आइतबारमात्रै एक÷एक मतदान केन्द्रमा पुनः मतदान भएको हो ।  
यसैबीच आइतबार  राति ११ बजेसम्मको मतगणना अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २६ हजार १५२ मत ल्याई अग्रता कायम राख्नुभएको छ । नेपाली काँग्रेसका राजुराज जोशीले १८ हजार ५३०, विवेकशील नेपाली दलकी रञ्जु न्यौपानेले १० हजार ५२०, साझा पार्टीका किशोर थापाले आठ हजार ११ तथा नेकपा (माओवादी केन्द्र)का सर्वाेत्तम डङ्गोलले दुई हजार ९४९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले २४ हजार १६२, राप्रपाका राजाराम श्रेष्ठले १५ हजार ८८५ र साझा पार्टीकी निरूपमा यादवले पाँच हजार १२१ तथा माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार २३० मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म ८१ हजार १८० मतगणना भइसकेको छ । उता निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अगाडि बढाउन निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा आइतबार राति ११ बजेसम्म मतगणना सुरु हुन सकेको छैन ।
मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको वडा नं. १७ का केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि भएको विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार दिउँसो सर्वदलीय बैठक राखिएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना