विद्यालयमा असमान शैक्षिक वातावरण

indra kumar shrestha इन्द्रकुमार श्रेष्ठ
          

 

विद्यालय शिक्षासम्बन्धी एउटै राष्ट्रिय नीति भए पनि विशेषगरी स्थानीयताको प्रभाव, प्रधानाध्यापकको प्रकृति तथा सोचका कारण विद्यालयपिच्छे फरक–फरक भौतिक तथा शैक्षिक वातारण त छँदैछ, यसबाहेक एउटै विद्यालयमा हेरियो भने पनि त्यहाँ कार्यरत सबै शिक्षकका लागि समान र एउटै खालको शैक्षिक वातावरण देख्न पाइँदैन ।  
पहिलो कुरा त राज्यले नै शिक्षकलाई १७ थरिमा बाँडेकै छ ।  यसो भएपछि स्वभावतः हरेक शिक्षकका आआफ्नै समस्या, माग र सुविधा हुने नै भए ।  कोही स्थायी शिक्षक छन् ।  स्थायी शिक्षकलाई कार्यरत तहअनुसारको तलबस्केलसँगै सञ्चयकोष र ग्रेडभत्ता पनि प्राप्त हुन्छ ।  यसबाहेक उनीहरूलाई वार्षिक रूपमा पोशाक भत्ताबापत् नियमअनुसार पाउने रकम पनि उपलब्ध गराइन्छ ।  सबै शिक्षकका लागि पोशाक तोकिएको भए पनि पोशाक भत्ता पाएका कारण स्थायी शिक्षक मात्र पोशाक लगाएर विद्यालय आउँछन् ।  सुविधा पाएर पनि तोकिएको पोशाकबिनै विद्यालय आउने स्थायी शिक्षक पनि देखिन्छन् भने पोशाक भत्ताको सुविधा नपाउने अस्थायी शिक्षकको त कुरै नगरौँ ।  अस्थायी शिक्षकहरूको अस्थायी हुनुको पीडा त छँदैछ, पोशाक भत्ता उपलब्ध नगराइने हुँदा उनीहरू बजारमा सस्तैमा पाइने कपडाको शिक्षक पोशाक लगाउनुको सट्टा आफ्नै रोजाइका अर्कै राम्रा आधुनिक डिजाइनका र महँगा मूल्यका कपडाको पोशाक लगाएर विद्यालय आउनु पनि एक प्रकारले स्वाभाविकै हो ।  विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले समेत कुनै–कुनै जिल्लामा अपवादबाहेक शिक्षकको पोशाकमा एकरूपता ल्याउने सम्बन्धमा खासै पहल गर्न सकेको पाइँदैन ।  कतै–कतै व्यवस्थापन समितिको चुनाव हुनेताका घोषणापत्र जस्तो गरी कुनै प्रत्याशी वा समूहले नै, ‘मलाई÷हामीलाई जिताएमा अस्थायी शिक्षकलाई विद्यालय स्रोतबाट पोशाक भत्ताको व्यवस्था गरिनेछ’ भन्ने खालको आश्वासन दिए पनि सबैतिर त्यस्तो आश्वासन लागू भएको देखिँदैन ।  फेरि तोकिएको पोशाक लगाउने शिक्षक पनि त्यो पोशाक लगाएर विद्यालयमात्रै आउनु जानुपर्नेमा जन्त, मलाम, विवाह, भोजभतेर जताततै गइदिन्छन् ।  
शिक्षकको छुट्टै र विशिष्ट पहिचानका लागि भए पनि शिक्षक पोशाकमा एकरूपता दिने काम चाहिँ कसैगरी पनि गरिनैपर्ने हो ।  तोकिएको पोशाकबिनै विद्यालय आउने कोही अस्थायी शिक्षकलाई कोही छुच्चा स्थायी शिक्षकले, ‘शिक्षक भएको नाताले सस्तैमा पाइने शिक्षक पोशाक नै लगाएर विद्यालय आए पनि हुने नि सर !’ भनेर सुझाव दिए पनि ‘हामी त्यस्तो पोशाक लगाउन किन्न नसक्ने हुँदै होइनौँ तर सरकारले नै हामीलाई स्थायी शिक्षकलाई दिएजस्तो पोशाक भत्ता नदिएर विभेदपूर्ण व्यवहार गरेको हुँदा, विरोधस्वरूप आफूखुसी फरक पोशाक लगाएका हौँ’ भन्ने चित्त बुझ्दो जवाफ सुन्न पाइन्छ ।  फेरि सेना प्रहरीले लगाउने पोशाकजस्तो, सर्वसाधारणले किन्न र लगाउन नपाउने खालको कडाइँपूर्ण अवस्था र सरकारी नियम कानुन पनि शिक्षक पोशाकका सम्बन्धमा नभएकोले किसान, व्यापारी, ढाक्रे, खेताला, गोठाला जोसुकैले पनि निर्वाध र स्वतन्त्रतापूर्वक शिक्षकले लगाएजस्तो रङ र जातको कपडाको पोशाक सिलाएर लगाउन पाइरहेको जताततै देख्न पाइन्छ ।  पोशाकको गुणस्तर र ढाँचामा पनि एकरूपता देखिँदैन ।  यसरी तोकिएको पोशाक लगाउनुपर्ने मान्छेले चाहिँ या त नलगाउने या त दुरूपयोग गर्ने, अनि तोकिएको पोशाक लगाउनै नपर्नेले चाहिँ अर्कालाई तोकिएको पोशाक लगाइदिएकाले हेर्ने देख्नेहरू भ्रममा पर्नुपरेको अवस्था छ ।  यस्तो लापरबाही र खुला अवस्थाका कारण शिक्षकका छुट्टै गौरवपूर्ण पहिचान र स्वतन्त्र अस्तित्व पनि कता–कता हराएजस्तो पनि लाग्छ ।
पठनपाठनसँग सम्बन्धित अर्को कुरा, शिक्षा ऐन (आठौँ संशोधन) ले बालकक्षासहित कक्षा एक देखि आठसम्म आधारभूत तह नाम दिए पनि कक्षा एक देखि कक्षा पाँचसम्म एकखालको र त्यहाँभन्दा माथि कक्षा आठ र नौ–१० सम्म पढाइ हुने विषयको पूर्णाङ्क र विषय सङ्ख्या नै मिल्दैन ।  अझ बालकक्षा त नियमतः १ बजे नै सकिन्छ तर १ बजेसम्म विद्यालयमा रहने बालकक्षा सहयोगी कार्यकर्ता पनि ज्यादै कम पाइन्छन् ।  सामान्यतः सात घण्टी पढाइ हुने विद्यालयमा आठ वटा विषयका पाठ्यपुस्तक भइदिनाले पठनपाठनका लागि घण्टी मिलाउन नै विशेष तरिका अपनाउनुपर्ने त छँदैछ, तहगत रूपमा फरक–फरक पूर्णाङ्कका विषय हुने भएपछि विद्यालयमा कार्यरत शिक्षकका कार्यबोझ पनि फरक–फरक हुने नै भयो ।  कक्षा एक–तीन को विद्यालय समय ३.२० तिर नै सकिन्छ भने त्यहाँभन्दा माथि कक्षा १० सम्म ४ बजे सकिन्छ ।  उता कक्षा ११ र १२ मा जम्मा ५०० पूर्णाङ्कको मात्र विषय हुने भएकाले टिफिनअघि पढाइ हुने चार घण्टीमा एक घण्टी विद्यार्थीलाई त्यत्तिकै हल्ला गर्नै छोडिदिँदा पनि टिफिनपछि दुई घण्टी पढाइ भएपछि उनीहरूको पनि कक्षा सकिन्छ ।  अझ कक्षा ११ र १२ को पढाइ माघ–फागुनतिरै सकिएर विद्यार्थी प्रयोगात्मक परीक्षा वा अन्तिम परीक्षा दिन गएपछि ती कक्षाको अर्को सत्रको पढाइ साउन भदौतिर शुरु हुने भएकोले ती कक्षाका घण्टी हुने सरलाई विना काम त्यत्तिकै अफिस कोठामा बस्नुपर्दा पट्यार लाग्ने नै भयो ।  यसरी, कक्षा एक देखि १० सम्म र त्यहाँभन्दा माथि पढाइ हुने कक्षाहरूको अन्तिम परीक्षा, भर्ना र नयाँ शैक्षिक सत्रमा पनि एकरूपता नपाइने कुरा प्रस्टै छ ।  त्यसो भएपछि एउटै विद्यालयमा पढाउने कतिपय शिक्षकलाई फुर्सद र कतिपयलाई व्यस्तता पनि हुने नै भयो ।  
फेरि कतिपय प्रस्तावित विद्यालयमा शिक्षक दरबन्दी थोरै भएकोले तल्लो योग्यता र तल्लो कक्षामा अध्यापन गर्ने शिक्षकले माथिल्लो कक्षामा पढाउनुपर्ने र कार्यबोझ पनि बढी भएको अवस्था छ भने कतै चाहिँ धेरै दरबन्दी भएकाले शिक्षकलाई कार्यबोझ कम छ ।  पहिले नै स्वीकृत दरबन्दी बढी भएकाले र पछि विद्यालय जताततै थपिएकाले विद्यार्थी सङ्ख्या थोरै भएर कामै नगरी त्यत्तिकै तलब खान पाइरहेका भाग्यमानी शिक्षकको पनि यहाँ कुनै कमी छैन ।  
त्यस्तै कतिपय विद्यालयमा कार्यरत नेताशिक्षक काम–बेकाम यताउति डुलिरहने भएकाले तिनीहरू पठनपाठनमा संलग्न हुन पाउँदैनन् ।  त्यस्तो स्थितिबाट कर्तव्यनिष्ठ शिक्षकलाई निराशा उत्पन्न हुने सम्भावना पनि छँदैछ ।  कुरो प्रधानाध्यापक (प्रअ) को पनि छ ।  शिक्षा नियमावलीमा उल्लेख गरेअनुसार प्रअले विद्यालयमा दैनिक प्रशासनिक कार्यका साथै अन्य शिक्षकसरह अध्यापन कार्यमा पनि संलग्न हुनुपर्छ तर दरबन्दीअनुसारका पर्याप्त शिक्षक भएका विद्यालयमा प्रअले पढाउनै पर्दैन भने दरबन्दी कम भएका विद्यालयमा उनले पनि सातै घण्टी पढाउनुपर्ने हुन सक्छ ।  विद्यालय शिक्षाका सन्दर्भमा आँखैअगाडि देखिएका यी र यस्ता धेरै समस्या कहिले कुन सरकारको पालामा व्यवस्थित भई समाधान हुने हो, त्यो भने हेर्न बाँकी नै छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना