राष्ट्रवादको अपव्याख्या

rajendra kiratiराजेन्द्र किराती

   


 

निश्चित भौगोलिक सीमाभित्रको साझा अर्थतन्त्र, संस्कृति, मनोविज्ञान, जनसङ्ख्या र शासन प्रणालीसहितको सार्वभौम भौतिक रूप नै राष्ट्र हो ।  यही भूगोलभित्र सम्पूर्ण मानव समुदायले स्वभिमान, सम्मान, समानता र न्याय पाउने पद्धति नै आन्तरिक राष्ट्रियता हो ।  एउटा समुदायले अर्काको सम्मान र सहअस्तित्व स्वीकार गर्ने राजनीतिक संस्कृति आन्तरिक वा स्थानीय राष्ट्रियता हो ।  आन्तरिक राष्ट्रियताको सम्बोधनसहितको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्नु समग्र राष्ट्रवाद हो ।  यही सग्लो राष्ट्रवादी उन्नत चेतनाको रणनीतिक साध्य अन्तर्राष्ट्रियतावाद हुन्छ ।  त्यसैले राष्ट्रवाद भनेको आन्तरिक राष्ट्रियता र अन्तर्राष्ट्रियताबीचको सङ्क्रमणकालीन आन्दोलन हो ।  राष्ट्र र राष्ट्रिय स्वार्थ रहेसम्म राष्ट्रवादी आन्दोलन निरन्तर जारी रहने सारभूत प्रक्रिया हो ।    
 शासकले आफ्नो अनुकूलतामा राष्ट्रवादको भ्रष्टीकरण वा अपव्याख्या गर्ने प्रवृत्ति नयाँ होइन ।  यही परम्पराअनुरूप पछिल्लो समय यो अतिराष्ट्रवादमा फस्दै गएको देखिन्छ ।  विश्वको राष्ट्रवादी आयाम नै अतिराष्ट्रवादमा अभिव्यक्त भइरहेको छ ।  अनपेक्षित रूपमा डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, नेपालको  ढोंगी अतिराष्ट्रवाद अनि युरोपमा व्रेक्जीटवादी लहर आउनु सङ्कीर्ण राष्ट्रवादी प्रवृत्तिका पछिल्ला उदाहरण हुन् ।  उपर्युक्त प्रवृत्तिको उदय अचानक र अप्रत्यासित भएको होइन ।  यो उनीहरूको क्षमताको कारण पनि होइन ।  यो त विश्व जगत्मा आएको अतिराष्ट्रवादी मूल प्रवृत्तिकै प्रतिनिधि हुन् ।  अतिराष्ट्रवादी प्रवृत्तिले क्षणिक माहौलसँगै कसैको स्वार्थ पूरा गरे पनि दीर्घकालीन रूपमा यो प्रत्युत्पादक नै हुन्छ ।  किनकि यसको निशेधात्मक र अतिवादी चरित्रले आन्तरिक राष्ट्रियता, राष्ट्रिय एकता र सद्भाव कमजोर बनाउँछ ।
भौगोलिक सीमा, भावना र माहौल सङ्कीर्ण राष्ट्रवादका विशेषता हुन् ।   यसले राज्य रहेसम्म निरन्तर राष्ट्रवादी आन्दोलन रहिरहने सच्चाइलाई इन्कार गर्छ ।  बरु उल्टै आफ्नो दलगत स्वार्थका लागि मौसमी अतिराष्ट्रवादको एकतारे रेट्ने गर्छ ।  बाह्य हस्तक्षेपबाट अक्रान्त जनताको कमलो भावनामाथि ‘ब्ल्याकमेलिङ’ गर्न राष्ट्रवादको ढोंग गर्छ तर सारतत्वमा जाँदा अतिराष्ट्रवादी संवेगमा अतिनिरङ्कुशता, जातीयता, साम्प्रदायिकता, धार्मिकता, प्रतिगमन, एकपक्षीयता र निषेधको राजनीति अन्तरनिहीत हुन्छ ।   अतिराष्ट्रवाद नै विभिन्न सङ्कीर्ण प्रवृत्तिको मुहान हो ।  भावनात्मक तथा प्राविधिक आयामबाट हेर्दा सही भए पनि यसको निषेधवादी चरित्रले विभाजन र विखण्डन निम्त्याउँछ, जसले राष्ट्रियता झनै कम्जोर बनाउँछ ।  यसको संवेगात्मक आवरणले कसैलाई लाभको पदमा पु¥याए पनि अन्ततः राष्ट्रको हित गर्दैन ।   
राष्ट्र रहेसम्म राष्ट्रवादी आन्दोलन जारी रहन्छ ।  यसले राष्ट्रिय एकता, सद्भाव, सहयोगी र सिर्जनशील भावनाको विकास गराउँछ ।  यही केन्द्रिकृत बलमा सबैखाले बाह्य हस्तक्षेप विरुद्ध लड्ने शक्ति पैदा हुन्छ  ।  द्विपक्षीय हितमा समान र सम्मानपूर्ण सम्बन्धको वातावरण बनाउँछ ।  यसले राष्ट्र, राष्ट्रियता, जनता, समुदाय, दल, समूह, नेता र कार्यकर्तालाई एकताको सूत्रमा सङ्गठित गर्छ ।  आन्तरिक राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सग्लो रूप नै वास्तविक राष्ट्रवाद हो ।  असली राष्ट्रियताले हमेशा अन्तर्राष्ट्रियतावादको सेवा गर्छ ।  अर्थात् यसले आन्तरिक राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादबीच गतिशील पुलको काम गर्छ ।  आन्तरिक राष्ट्रियता विनाको राष्ट्रवाद ढोंग र ढाँटछल मात्र हो ।  अर्थात् सुदृढ आन्तरिक राष्ट्रियताले मात्रै राष्ट्रवाद बलियो बनाउँछ ।  यही बलियो राष्ट्रवादले नै अन्तर्राष्ट्रियतावादको वस्तुगत धरातल तयार पार्छ ।  
मूलतः राष्ट्रवादको दुइटा पक्ष हुन्छन् ।  आन्तरिक राष्ट्रियता, जनतन्त्र र जनजीविका यसको राजनीतिक पक्ष हो ।  यो प्रगतिशील राष्ट्रवादभित्र पर्छ ।  यता भूगोल, भावना र फलामे पर्खाल प्राविधिक वा भावनात्मक पक्ष हो ।  यो सङ्कीर्ण राष्ट्रवादभित्र पर्छ ।  यसले भूगोल, भावना, सिमाना र निहीत स्वार्थमा राष्ट्रवादी आन्दोलनलाई कुण्ठित गर्छ ।  सिङ्गो मुलुक, जनता, समुदाय, दल, नेता तथा कार्यकर्तालाई विभाजित गर्छ ।  भावनात्मक आयाममा आधारित राष्ट्रवाद सस्तो लोकप्रियता र चुनावी रणनीतिक घेरा बाहिर जान सक्दैन ।  तर राष्ट्रवाद भनेको चुनाव, लोकप्रियता, दल र घटनामा सीमित हुने सवाल होइन ।  यो निरन्तर साझा महाअभियान हो ।  हरेक नागरिकमा राष्ट्रवादी भावना हुन्छ ।  अतिराष्ट्रवादी ढोंगभित्र उल्टै राष्ट्रघात लुकेको हुन्छ ।  सारतः जनताका कमलो संवेगमा ढोंगी र स्वार्थी पासा फाल्नु नै अतिराष्ट्रवाद हो ।  
राष्ट्रवाद पनि वर्गीय हुन्छ ।  सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको समानता र न्यायको सुनिश्चितासहितको राष्ट्रिय स्वभिमान रक्षा गर्ने निरन्तर आन्दोलन उत्पीडित वर्गीय वा प्रगतिशील राष्ट्रवाद हो ।  न्याय र समानतासहितको सुदृढ राष्ट्रिय एकता प्रगतिशील राष्ट्रवादमा मात्र सम्भव हुन्छ ।  सुदृढ एकता र सुशासनले राष्ट्रवादलाई बलियो वनाउँछ ।  यता महेन्द्रीय राष्ट्रवाद उत्पीडक वर्गीय राष्ट्रवाद थियो, जसले अतिराष्ट्रवादी आवरणमा सामन्ती पञ्चायती शासनलाई सुदृढ ग¥यो ।  पछिल्लो समय नेपालका केही समूहले ढोंगी राष्ट्रवादको आवरणमा भावनाको राजनीतिक व्यापार गर्दैछन् ।  यो महेन्द्रपथीय वा उत्पीडक वर्गीय सङ्कीर्ण राष्ट्रवादकै पछिल्लो संस्करण हो ।
भूगोल, भावना, सिमाना वा तारवार मात्र राष्ट्रवाद होइन ।  कसैको चर्को विरोध र गाली गर्नु नै राष्ट्रवाद होइन ।  दक्षिणको उत्तर र उत्तरको दक्षिण बनिबनाउ विकल्प हुनसक्दैन ।  यो राष्ट्रवादको अतिराष्ट्रवादी र प्राविधिक पक्ष हुन् ।  अतिराष्ट्रवादले सकारात्मक माहौल बनाए पनि परिणाममा यो राष्ट्रघाती हुन पुग्छ ।  आन्तरिक न्याय र समानताको उचित व्यवस्थापन विना राष्ट्रिय एकता, शान्ति, सद्भाव, अमनचयन र समृद्धि सम्भव हुँदैन ।  यस्ता मुलभूत पक्षको सुनिश्चिता विना राष्ट्रवाद बलियो हुँदैन ।  यो प्रगतिशील राष्ट्रवादमा मात्र सम्भव हुन्छ ।  प्रगतिशील राष्ट्रियता विना बाह्य हस्तक्षेपको पनि अन्त्य हुँदैन साथै आन्तरिक ढङ्गले जनताले न्याय पनि पाउन सक्दैन ।  न्यूनतम रूपमा प्रगतिशील राष्ट्रवादमा मुलुकभित्रका सबै राष्ट्रियतालाई समान र सम्मानपूर्ण व्यवहार गरिन्छ ।   यस्तो कसिलो राष्ट्रिय एकता र सद्भावमा वैदेशिक हस्तक्षेप कमजोर हुनजान्छ अनि राष्ट्रवाद स्वतः बलियो हुन्छ ।    
त्यसैले, विश्वमा हावी हुँदै गरेको अतिराष्ट्रवादी प्रवृत्तिलाई सकरात्मक मान्न सकिन्न ।  केवल भूगोल, भावना, माहौल र घटना विशेष ढोंगी राष्ट्रवाद नै अतिराष्ट्रवाद हो ।  राष्ट्रवादजस्तो महान् आन्दोलनलाई मौसमी च्याँखे स्वार्थमा सीमित गरिनु लज्जाको विषय हो ।  यसले राष्ट्रिय एकता, सद्भाव, शान्ति र समृद्धिलाई खल्बल्याउँछ ।  हरेक समुदायलाई निषेध गर्दै विभाजित र विखण्डित पार्छ ।  विभाजित राष्ट्रले राष्ट्रियता रक्षा गर्न सक्दैन ।  प्रगतिशील राष्ट्रवादले मात्र आन्तरिक राष्ट्रियताको ग्यारेण्टी गर्छ ।  तसर्थ, आन्तरिक राष्ट्रियताको सुनिश्चितासहितको प्रगतिशील राष्ट्रवादबाहेक अरू सबै भ्रम र ढोंग हुन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना