प्रतिस्पर्धी बन्दै सरकारी सिमेन्ट उद्योग

विश्वास रेग्मी/राममणि दाहाल

हेटौंडा, जेठ ११ गते ।  केहि वर्षअघि फाइल बोकेर मन्त्रालय जाँदा उदयपुर सिमेन्ट भनेपछि खास चासो हुँदैन्थ्यो, नियमित उत्पादन हुन थालेपछि उत्साहित महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले सुधारिएको वर्तमानतर्फ सङ्केत गर्दै भन्नुभयो, अहिले नजर फेरिएको छ, हामीलाई सबैले पत्याउन पनि थालेका छन् ।  नियमित घाटाका कारण सञ्चालनमै आउन नसक्ने गरी थला परेको उदयपुर सिमेन्ट परिसरमा अहिले बेग्लै चमक छ ।  चौबीसै घण्टा ‘प्लान्ट’ सञ्चालनमै हुन्छ ।  रातदिन गरेर  तीन ‘सिफ्ट’मा काम गर्ने कर्मचारीको आवतजावतले सिमेन्ट कारखाना रहेको जलजले क्षेत्रको चहलपहल पनि बढाएको छ ।  मजदुर पनि महाप्रबन्धक पौडेल जस्तै उत्साहित छन् ।  सबै मजदुर सङ्गठनको एउटै प्रतिबद्धता छ ‘हाम्रो कारणले कारखाना बन्द भयो भन्ने परिस्थिति आउन दिन्नौँ ।    
कुनै समय खण्डहरजस्तै बनेको उदयपुर सिमेन्ट कारखाना स्वार्थ समूहका कारण ‘कवाडी’को मूल्यमा बिक्री हुनबाट जोगिएको पूर्ण सरकारी स्वामित्वको उद्योग हो ।  करिब सात बिघा क्षेत्रफलमा फैलिएको यो कारखाना रुग्ण उद्योगको दर्जाबाट अहिले माथि उक्सिएको छ ।  दैनिक १४ देखि १५ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि दुई÷तीन वर्षअघिसम्म यसको आधा पनि उत्पादन गर्ने अवस्था उद्योगको थिएन ।  निरन्तर खस्कँदो अवस्थाले कुनै समयको सबैभन्दा लोकप्रिय ‘गैँडा’ ब्रान्डको सिमेन्ट चर्चाबाट हराएन मात्र यसको बदनाम गर्ने प्रयास पनि भइरहे ।  तथापि गुणस्तरलाई कायम राखेर लक्ष्यअनुसार उत्पादनको काम भइरहेको महाप्रबन्धक पौडेल बताउनुहुन्छ ।  उहाँका अनुसार अहिले दैनिक करिब १२ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ ।  विगत दश वर्षमा यो उत्पादन सबैभन्दा बढी हो ।  उत्पादित सिमेन्ट ‘स्टक’ मा नरहने उहाँको दाबी छ ।  कतिसम्म भने हामीलाई डिलरको माग पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न छ, उहाँ भन्नुहुन्छ, बिनाविज्ञापन पुरानै लोकप्रियताका कारण उदयपुर सिमेन्ट उत्पादन भएपछि बिक्री नहोला भन्ने चिन्ता पटक्कै छैन ।  उदयपुर सिमेन्टको उपस्थितिलाई कायम राख्न प्रत्येक गाउँपालिकामा एउटा डिलर राख्ने कि भन्नेचाहिँ योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।  चालू आर्थिक वर्षमा १७ करोड रुपियाँ नाफा कम्पनीको वासलातमा देखिएको छ ।  यद्यपि कर्मचारीको तलब, उपदान, मर्मतसम्भारका लागि आवश्यक रकमको दायित्व बाँकी नै रहेकाले नाफामै रहेको स्थिति भने नभएको पौडेलको भनाइ छ ।  cement udhog_1
उदयपुर सिमेन्टभन्दा अलि फरक अवस्था छ हैटौंडा सिमेन्टको ।  ‘शक्ति’ ब्रान्डको सिमेन्ट उत्पादन गरिरहेको हेटौंडाको लामसुरेमा रहेको प्लान्टबाट अहिले दैनिक छसय टन बराबर सिमेन्ट उत्पादन भइरहेको छ ।  स्थापनाको ३३ वर्षमा कारखानाले पहिलोपटक आफ्नो क्षमताको शतप्रतिशत उपयोग गरेर इतिहास रचिसकेको छ ।  चालू आर्थिक वर्षमा एक लाख २० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेकोमा वैशाखमै यो लक्ष्य पूरा भएर एक लाख २३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन भइसकेको छ ।  यही अवस्था कायम रहे चालू आर्थिक वर्षभित्रै एक लाख ५० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सकिने कारखाना सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेको भनाइ छ ।  क्षमताको अधिकतम उपयोग गरेर बजार विस्तार गर्ने रणनीतिमा केन्द्रित भइरहेको पनि उहाँले बताउनुभयो ।  
नाफाघाटाको उतारचढावमा सञ्चालन भइरहेको हेटौंडा सिमेन्टले यो आर्थिक वर्षमा मात्रै करिब २३ करोड खुद मुनाफा गर्ने महाप्रबन्धक पे्रमशङ्कर सिंहको दाबी छ ।  यसलाई बढाएर अर्को आर्थिक वर्षमा ६० करोड पु¥याउने लक्ष्य छ, उहाँले भन्नुभयो ।  हालको जडित क्षमताको अधिक उपयोग र क्षमता विस्तार गर्ने जस्ता रणनीति कार्यान्वयन गरेर पनि आर्थिक रूपमा बलियो बन्ने योजना उहाँले बताउनुभयो ।  उहाँका अनुसार कारखानाको नाममा अहिले १९ करोड रुपियाँ मुद्दती खातामा बचत छ ।  चालू आवमा प्रशासनिक खर्च १२ करोड र कम्पनीको घाटा २४ करोड रुपियाँले घटेको उहाँले जानकारी दिनुभयो ।  

क्षमता बढाउने योजना
हेटौंडा सिमेन्टको स्पष्ट योजना छ, ७५० मे.टनको क्षमतालाई आगामी वर्ष दैनिक कम्तीमा ९५० पु¥याउने ।  दोस्रो चरणमा एक हजार पाँचसय र तेस्रो चरणमा तीन हजार मे. टन पु¥याएर सिमेन्टको माग पूरा गर्ने योजना राखिएको महाप्रबन्धक सिंहले जानकारी दिनुभयो ।  उदयपुर सिमेन्टले भने हालको नौ सय टनको क्षमताको अधिक उपयोगलाई नै अहिलेको मुख्य लक्ष्य बनाएको छ तर आवश्यकताअनुसार क्षमता विस्तार गर्दै जाने योजना पनि छँदैछ, महाप्रबन्धक पौडेलले जानकारी दिनुभयो ।

क्लिङ्कर बिक्रीकोे सम्भावना
भारतबाट क्लिङ्कर आयात गरेर सामान्य ‘ग्रान्डिङ प्लान्ट’ मात्र जडान गरेर सिमेन्ट उत्पादन गर्ने प्रवृत्ति नेपालमा छ तर हेटौंडा र उदयपुर सिमेन्ट कारखानाले भने अहिलेसम्म आफ्नै क्लिङ्कर प्रयोग गरेर नै सिमेन्ट उत्पादन गरिरहेका छन् ।  गुणस्तरीय क्लिङ्कर उत्पादन गरेकै कारण सिमेन्टमा पनि गुणस्तर कायम गर्न सकिएको दुवै कारखानाको दाबी छ ।  उदयपुरको क्षमता विस्तार हुँदै जाँदा अन्य सिमेन्ट कम्पनीलाई क्लिङ्कर बिक्री गर्न सक्ने योजनालाई खुला राखेको छ ।  हेटौंडा सिमेन्टले भने तत्काल यस्तो योजना नराखे पनि समयअनुसार यसमा सोच्न सकिने जनाएको छ ।  

बिजुली मुख्य समस्या
हेटौंडा सिमेन्टका लागि बिजुली मुख्य समस्या नभए पनि उदयपुर सिमेन्टका लागि भने यो टाउको दुखाइको विषय बनेको छ ।  उद्योगमा ‘डेडिकेटेड फिडर’ जडान भएको छ तर  केही समयको अन्तरमा बिजुली गइराख्ने यहाँ सामान्य बनिरहेको छ ।  मङ्गलबार राति मात्रै करिब पाँचपटक बिजुली गएको समस्या उद्योगले भोगेको उत्पादनमा संलग्न कर्मचारीको भनाइ थियो ।  पन्ध्र मिनेट मात्र बिजुली जाँदा प्लान्ट सामान्य अवस्थामा आउन एक घण्टा लाग्ने र त्यसले उत्पादनमा ठूलो असर पु¥याएको कारखानाले जनाएको छ ।  त्यसो त उदयपुर सिमेन्टका लागि छुट्टाइएको बिजुलीकै लाइन स्थानीय करिब पाँच सय घरपरिवारले प्रयोग गरिरहेका छन् र त्यहाँको चुहावट पनि कारखाना आफैले बेहोरिरहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना