ठूला उद्योग खुल्ने क्रम बढ्यो

अविनाश चौधरी

धनगढी, जेठ १४ गते ।  पछिल्ला केही वर्षयता प्रदेश नं. ७ मा ठूला उद्योग खुल्ने क्रम तीव्र भएको छ ।  चामल, खाने तेललगायत परम्परागत साना उद्योगमा निर्भर यो प्रदेशमा पछिल्लो एक दशकमै चामल र तेल लगायत मैदा, चिनी, बिस्कुट, दानाका ठूला उद्योगसमेत खुलेका छन् ।
पछिल्ला केही वर्षमा कञ्चनपुरमा दुईवटा ठूला चिनी उद्योग खुलेका छन् जसको लगानी करिब चार अर्ब रुपियाँ रहेको बताइएको छ ।  त्यस्तै, यहाँ खुलेका तीनवटा ठूला मैदा उद्योगमा करिब दुई अर्ब रुपियाँ लगानी भएको छ ।  पाँच वर्षयता खुलेका चारवटा दाना उद्योगमा ५० करोड रुपियाँभन्दा बढी लगानी भएको छ ।  यसैबीचमा दुईवटा ठूला बिस्कुट उद्योग पनि खुलेका छन् ।
यहाँ हालसम्म मैदा मिल तीन, सुगर मिल दुई, तेल मिल एक, नमकिन उद्योग दुई, दाना उद्योग चार, ह्याचरी उद्योग तीनवटा खुलेका छन् ।  यसैगरी, बिस्कुट उद्योग दुई (हाल एउटा बन्द), डिस्टिलरी दुई, रोजिन दुई, राईस मिल करिब ४०, बेकरी उद्योग एकवटा खुलेका छन् । udhog kailali
नेपाल राष्ट्र बैङ्क धनगढीका निर्देशक विश्रुत थापाका अनुसार प्रदेश नं. ७ मा बैङ्कले पुस मसान्तसम्म ५६ अर्ब रुपियाँ विभिन्न ऋण लगानी गरेका छन् ।
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा भागेश्वर चिनी मिलका प्रबन्ध निर्देशक शङ्कर बोगटीले शान्ति प्रक्रियापछि यो क्षेत्रमा उद्योगधन्दाको विकास आशलाग्दो रहेको बताउनुभयो ।  यद्यपि, कच्चापदार्थको कमी, खुला सीमा र चोरी तस्करी गरी सस्तोमा भित्रिने सामानसँगै प्रतिस्पर्धा गर्नुपर्दा उद्योगी समस्यामा परेको बोगटीको गुनासो छ ।
सात नम्बर प्रदेशको आर्थिक विकासका लागि सरकारले यस क्षेत्रमा उद्योगधन्दा खोल्न विशेष प्याकेज ल्याउन आवश्यक छ ।  औद्योगिक विकास नभएका क्षेत्रमा सरकारले कर छुट क्षेत्र घोषणा गर्नुपर्छ ।  त्यसो भए मात्र उत्पादनमा लागत कम हुन्छ ।  लागत कम भए मात्र अन्य क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न सकिन्छ, उहाँले भन्नुभयो ।  
उद्योगपति ओमप्रकाश अग्रवालले विगत १० वर्र्षयता सात नम्बर प्रदेशमा उद्योगधन्दाको विकास भए पनि निर्यातयोग्य वस्तु उत्पादन गर्ने उद्योगको स्थापना हुन नसकेको बताउनुभयो ।  कुनै पनि क्षेत्रको विकासका लागि त्यस क्षेत्रमा निर्यातयोग्य उद्योग हुनैपर्छ जसले विदेशी मुद्रा भिœयाउँछ ।  विदेशी मुद्रा नभित्रिएसम्म त्यो क्षेत्रको आर्थिक उन्नति हुन सक्दैन, उहाँले भन्नुभयो ।
ठाकुर एग्रो इन्डस्ट्रिजका सञ्चालक हरिशङ्कर ठाकुरले कृषिप्रधान देश भनिए पनि कृषिजन्य उद्योग सञ्चालन हुन नसकेको बताउनुभयो ।  यहाँ उत्पादित धानले यहाँका उद्योगलाई छ महिना पनि धान्न सक्दैन, ठाकुरले भन्नुभयो, अहिले पनि भारतीय धानमै यहाँका चामल उद्योग टिकेका छन् ।  ठूला उद्योगधन्दाको स्थापना र विकासका लागि सात नम्बर प्रदेशमा सुख्खा बन्दरगाह, भारत र चीनसँगको सोझो यातायात सम्पर्क, गौरीफन्टासम्म भारतीय रेल सेवा, महाकाली नदीमा पक्की पुल, शीत भण्डार, औद्योगिक कोरिडरको स्थापना आवश्यक रहेको उद्योगीको भनाइ छ ।
अहिलेसम्म यहाँका उद्योगले वीरगञ्ज भएर तेस्रो मुलुकबाट कच्चापदार्थ भिœयाइरहेका छन् ।  अग्रवालले भन्नुभयो, लामो दूरी भएका कारण ढुवानीमै ठूलो रकम खर्च हुन्छ, कञ्चनपुरको दोधारामा सुख्खा बन्दरगाह स्थापना भए तेस्रो मुलुकको सामान कलकत्ता बन्दरगाहबाट सोझै त्यहाँ आउँथ्यो र त्यहाँबाट उद्योगसम्म कच्चापदार्थ ढुवानी गर्दा व्ययभार कम हुन्थ्यो ।
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष बोगटीले कच्चापदार्थको ढुवानीमै ठूलो रकम खर्च हुने भएकाले यहाँका उद्योगले अन्यत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको बताउनुभयो ।  उद्योगमैत्री वातावरण छैन ।  कच्चापदार्थ सजिलै मिल्दैन ।  अनावश्यक कर, झण्झटिलो सरकारी प्रक्रिया, बन्द हडताल, दक्ष कामदारको अभाव जस्ता कुरा उद्योग सञ्चालनका लागि चुनौती बनेका छन्, उहाँ थप्नुहुन्छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं. ७ का संयोजक नरबहादुर चन्द शान्ति प्रक्रियापछि उद्योगको अवस्था आशलाग्दो भए पनि उत्पादनशील क्षेत्रमा बैङ्कबाट सहजै कर्जा नपाउँदा व्यवसायी केही अप्ठ्यारोमा परेको बताउनुभयो ।  बैङ्क र लगानीको अभावले पहाडी जिल्लामा उद्योग व्यवसायको स्थापना हुन नसकेको उहाँको भनाइ छ ।  चन्दले भन्नुभयो, बैङ्क सबैको पहुँचमा पुग्नुपर्छ ।  कुनै एउटा सहर र क्षेत्रको विकासबाट प्रदेशको विकास सम्भव हँुदैन ।  उद्योगधन्दाको विकास र व्यवसायको प्रबद्र्धनका लागि बैङ्क सहर, सदरमुकाम र सुगम जिल्लामा मात्र केन्द्रित नभएर पहाडी जिल्ला र दुर्गम भेगमा पुग्नुपर्ने नेपाल राष्ट्र बैङ्क धनगढीका निर्देशक थापाको भनाइ छ ।
यो प्रदेशमा बैङ्कका २६९ वटा शाखा छन् तर ती अधिकांश कैलालीमै सीमित छन् र बैङ्कको लगानीको ठूलो हिस्सा पनि यहीँ छ ।  पुस मसान्तसम्म प्रदेश नं. ७ मा बैङ्कले गरेको ५६ अर्ब रुपियाँको लगानीमध्ये ६३ प्रतिशत हिस्सा कैलालीमै लगानी भएको छ भने २५ प्रतिशत कञ्चनपुरमा लगानी भएको छ ।  अहिलेसम्मको अवस्थालाई हेर्दा पहाडी जिल्लामा बैङ्कको लगानी प्रायः शून्य देखिएको छ ।  तर बैङ्कर्स क्लब धनगढीका कार्यबाहक अध्यक्ष तथा एनआईसी एसिया बैङ्कका क्षेत्रीय प्रबन्धक टेकराज भट्टले बैङ्क पछिल्लो केही वर्षयता पहाडी जिल्ला केन्द्रित भइरहेको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, बैङ्कले प्राथमिकताका साथ जलस्रोत, पर्यटन, कृषि र उद्योगमा लगानी गरिरहेका छन् ।
बैङ्कले उत्पादनयोग्य क्षेत्रमा लगानी बढाउँदै लगेमा यो क्षेत्रमा उद्योगधन्दाको विकास अझ बढी हुने उद्योगीले विश्वास गरेका छन् ।  उनीहरूले अर्थतन्त्र बलियो बनाउनका लागि उद्योगधन्दा बढ्नुपर्ने र राज्यले समेत यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना