गणतन्त्र दिवस– उपराष्ट्रपति शुभकामना

Nanda Kissor Pun_1काठमाडौँ,  जेठ १५ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण शासकीय अधिकार सार्वभौमसत्ता सम्पन्न जनतामा आउने गरी जननिर्वाचित पहिलो संविधानसभाले निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको आजकै दिन ऐतिहासिक दिन हो भन्नुभएको छ ।

गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२÷०६३को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपति पुनले सङ्घर्षका क्रममा घाइते भएका सम्पूर्ण योद्धाको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सन्देशमा उहाँले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता हुनुभएका नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दै उहाँहरुको अवस्था सार्वजनिकीकरणका लागि सबैको ध्यान जाने विश्वास लिनुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था गणतन्त्रसँगै नेपाली जनताले प्राप्त गरेका प्रमुख राजनीतिक उपलब्धि हुन् । यसबीचमा स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्सवको रुपमा सम्पन्न भएसँगै नयाँ संविधानमा संस्थागत राजनीतिक उपलब्धि व्यवहारमा देखिदै गएका छन् ।

गणतान्त्रिक शासन व्यवस्थामा जनताले आफ्नो शासन आफै गर्ने प्रमाणित गर्ने गरी बनेका स्थानीय तहहरु शक्तिशाली छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचन पनि उत्सवको रुपमा सम्पन्न गर्न आमनेपालीमा गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास लिएको छु ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना