युगान्तकारी गणतन्त्र दिवस

GOPAL SHOWAKOTIप्रा.डा. गोपाल शिवाकोटी



 

लामो कठिन रक्तपातपूर्ण सङ्घर्ष र बलिदानपछि अढाई सय वर्ष पुरानो सामन्ती केन्द्रीकृत शाहवंशीय राजतन्त्रलाई खारेज गरी विधिवत् रूपमा संविधानसभाले २०६५ जेठ १५ गते गणतन्त्र स्थापना गरेको नवौँ वर्ष पूरा गरिरहँदा राजतन्त्र बारेमा रहेका अनेक किसिमका आशङ्का र भ्रम चिर्दै स्थानीय तह निर्वाचनले गणतन्त्रलाई संस्थागत गरिदिएको छ ।  यो निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेकोले यस वर्षको गणतन्त्र दिवसको विशेष महŒव रहेको छ र यसलाई जनस्तरमा पहिलो चोटी उत्साहपूर्वक मनाइँदैछ ।  
यस वर्षको गणतन्त्र दिवस औपचारिकतामा मात्र सीमित नभएर जनस्तरमा नै भव्य रूपमा मनाई राजतन्त्रप्रतिको धङ्धङीलाई विधिवत् बिदाइ गरिँदैछ ।  यसअगाडि राजावादीले राजतन्त्रलाई जालझेल रूपमा हटाइएको र राजतन्त्रबारेमा जनमत सङ्ग्रह गरिनुपर्ने जस्ता माग भइरहेको अवस्थामा स्थानीय तहको निर्वाचनमा राजतन्त्रवादी लगभग शून्यमा पर्नुले जनमत अब राजतन्त्रका प्रति शून्य भएको बुझ्न कठिनाइ पर्दैन ।  
यो निर्वाचनको परिणामले बारम्बार राजतन्त्रलाई फाल्दा पनि पुनःजीवित भई निरन्तर निरङ्कुशताको अभ्यास गरिन सक्ने आशङ्कालाई समाप्त गरिदिएको छ ।  शाहवंशका राजाले मात्रै देशको अस्तित्वलाई जोगाइ राख्न सक्छन् भन्ने भ्रमलाई समेत यसले जवाफ दिएको छ ।  राजतन्त्र बिदाइ भएको नौँ वर्ष पुगिसकेको र नेपालको प्रतिष्ठा र राष्ट्रियता अरू बलियो हुँदै गएकोले राजा नभएको मुलुक चल्न सक्दैन भन्ने भ्रमसमेत समाप्त भएको छ ।  
नेपालमा शाहवंशीय राजतन्त्रलाई उन्मूलन गरी गणतन्त्र स्थापना गर्न २००७ साल अघिदेखि नै सङ्घर्ष हुँदै आएको हो ।  २००७ सालमा राणा शासन समाप्त भएको घोषणा गर्दा राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र स्थापना गर्न दुई वर्षभित्र संविधानसभाको निर्वाचन गर्ने घोषणालाई पनि राजा त्रिभुवनले षड्यन्त्रपूर्वक विदेशीका आडमा समाप्त गरी ५२ दिनमा नै राजतन्त्रलाई पुनःस्थापित गरेका थिए ।  यसैले राजतन्त्रलाई उन्मूलन गरी नेपाली जनताले आफ्नो लागि आफैँले संविधानसभामार्फत संविधान निर्माण गर्ने आकाङ्क्षा लिएकोमा गतवर्ष संविधानसभाबाट संविधान घोषणा भएको थियो ।  यो संविधान स्थानीय तहको निर्वाचनबाट कार्यान्वयन चरणको ऐतिहासिक कालखण्डमा प्रवेश भएकोले अब राजतन्त्रलाई सबै प्रकारले समाप्त गर्ने जनताको इच्छा ६५ वर्षपछि पूरा भएको छ ।  यस अगाडिका गणतन्त्र दिवसमा अनेक किसिमका आशङ्का रहेका थिए ।  पूर्व राजा ज्ञानेन्द्रका अनेक किसिमका छलछामपूर्ण राजनीतिले गर्दा राजतन्त्रले पुनः टाउको उठाउन सक्छ कि भन्ने आशङ्का थियो ।  यस पटकको गणतन्त्र दिवसबाट यो आशङ्का समेत अन्त्य भई कहिले नब्युँझिने गरी राजतन्त्रको विधिवत् अन्त्य भएको छ ।  
नेपालमा सामान्तवादी राजतन्त्र स्थापना भएको लगभग २५ सय वर्ष पूरा भइसकेको छ ।  नेपालमा गणतन्त्रको अभ्यास पनि राजतन्त्रको स्थापनाभन्दा अगाडिदेखि भएका छन् ।  गणतन्त्रभन्दा पनि स्वराठतन्त्रसमेत नेपालमा अभ्यास गरिएको थियो ।  नेपालमा सामन्ती राजतन्त्रको स्थापना गर्नेमा विदेशबाट आएका लिच्छवि थिए ।  उनीहरूको राजतन्त्र समाप्त भएपछि लामो समयपछि पश्चिम भारतबाट आएका वैश्य ठकुरीले नेपालमा राजतन्त्र पुनःस्थापना गरेका थिए ।  मल्ल राजवंशको अन्त्य गरी शाहको केन्द्रीकृत सामन्ती शासन स्थापना गरेको अढाई सय वर्षपछि सो वंशको अन्त्य भई अब राजतन्त्र सङ्ग्रहालयमा परिणत भएको छ ।
शाहवंशीय राजतन्त्र बारेमा कतिपयलाई अहिले पनि के भ्रम रहेको छ भने राजा पृथ्वीनारायण शाहले खुकुरी र वीरताबाट जनगणतन्त्र समाप्त गरी केन्द्रीकृत राजतन्त्रको स्थापना गरेकोले हिन्दु धर्मको पृष्ठपोषणमा राजामा देवत्व रहेको छ भन्ने छ तर उनका वंश निकम्मा, सन्की र मुलुकलाई आफ्नो निजी सम्पत्ति सम्झी मुलुकलाई बर्बाद गरिदिएको र दरबार हत्या, हिंसा र षड्यन्त्रको केन्द्र रहेको भन्ने कुरा चाहिँ बिर्सिएको छ ।  शाहवंशका ११ पुस्तासम्मका राजाको चरित्रलाई हेरेमा यसलाई प्रस्ट बुझिन्छ ।  पछिल्लो चोटी ज्ञानेन्द्रको महŒवाकाङ्क्षा सबैको सामु रहेको छ ।  यी समग्रको एकीकृतले गर्दा राजतन्त्रलाई समाप्त गरी गणतन्त्र स्थापना गर्नका लागि जनता आतुर थिए र जनयुद्धको बल र जनआन्दोलनबाट राजतन्त्रलाई घुँडा टेकाएर गणतन्त्रको स्थापना गरेका हुन् ।  यो राजतन्त्रको बिदाइ सजिलै भएको छैन ।  जनयुद्धमा करिब १७ हजारले ज्यान गुमाए भने हजारौँ व्यक्तिको रगत र पसिना बगेको देखिन्छ ।
२००७ सालमा मुलुक छोडेर भागेका राजालाई भारतले ल्याएर पुनःस्थापित गरिदिएपछि नेपाललाई नवउपनिवेश बनाउने काम त्रिभुवनले गरेका थिए ।  नेपालको राष्ट्रवाद कहिले पनि राष्ट्रप्रति रहेन ।  लिच्छवि विदेशबाट आएर शासन गरेका थिए ।  मल्लकालमा पश्चिमबाट आएका वैश्य ठकुरीबाट शुरु भएको थियो भने जयप्रकाश मल्लले अङ्ग्रेज सेना मगाएका थिए ।  यस्तै शाह राजा आफूलाई खस वंशको हुँ भन्नुभन्दा पनि भारतको चित्तौरिया राजपुत भनेर गौरव गर्दा, उनीहरूको राष्ट्रियताप्रति समेत शङ्का गर्न सकिन्छ ।  यद्यपि अहिले राजालाई राष्ट्रवादी भनी दिएको पगरी ढेँडुलाई लङ्का जितेको रूपमा दिइएको पगरी जस्तै हो ।  
२००७ सालमै भागिसकेको राजाहरूलाई पुनः ल्याएर स्थापित गरेपछि उनीहरूको निरङ्कुशतालाई अन्त्य गर्न २०६२ चैत ६ गते सात दल र माओवादीबीच निरङ्कुश राजतन्त्रलाई अन्त्य गर्न र लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गर्न समझदारी भएअनुसार
२०६२–६३ को संयुक्त जनआन्दोलनमा जनता सडकमा उत्रेर राजतन्त्रको अन्त्य गर्ने आवाज बुलन्द गरेका थिए ।  यही आन्दोलनले राजा ज्ञानेन्द्रलाई घुँडा टेकाउन बाध्य ग¥यो र यसैबाट पुनःस्थापित प्रतिनिधिसभाको २०६३ साल जेठ ४ गतेको बैठकले राजाका सम्पूर्ण अधिकार खोसेर उनलाई राजा नामको मान्छे मात्र बनाइदिएको थियो ।  
यो घटना राजतन्त्रको अन्त्य गर्न र गणतन्त्र स्थापना गर्नका लागि युगान्तकारी छलाङको रूपमा रहेको थियो ।  यसरी राजतन्त्रलाई समाप्त गरेपछि निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ को जेठ १५ गते गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरी राजतन्त्रलाई बिदाइ गरेको थियो ।  यसको १५ दिनभित्र राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेपछि नारायणहिटी दरबार सङ्ग्रहालयमा परिणत हुन पुग्यो भने ज्ञानेन्द्रले पनि दरबार त्याग गरेका थिए ।  यसपछि संविधानसभाले अन्तरिम संविधानमा राष्ट्रपतिको व्यवस्थापन गरी २०६५ साउन ४ गते पहिलो राष्ट्रपतिको निर्वाचन गरेर गणतन्त्र संस्थागत गर्ने काम ग¥यो ।  राजतन्त्रमा सेनाले सहयोग गर्छ भन्ने आशङ्का रहेको अवस्थामा रुक्माङ्गत कटवालमा केही सकस देखिए पनि त्यसपछि सेनाले पनि सहजतापूर्वक गणतन्त्रलाई स्वीकार गरी लोकतान्त्रीकरण हुन र नागरिक सरकारको नेतृत्वमा आएपछि राजा छट्पटाउन थाले ।
यस्तै राजावादी शक्ति र दरबारिया राजतन्त्रलाई षड्यन्त्रबाट हटाइएको भनी राजतन्त्र हटाउन जनमत सङ्ग्रहको माग गरी राजतन्त्र विधिवत् अन्त्य नभएको भन्ने देखाउने चेष्टा गरेका थिए ।  यस्तै पूर्वराजा ज्ञानेन्द्रले आफूसँग दलले गरेको वाचा पूरा नगरेको, आफूले मुख खोल्ने र देखाइदिने धम्की र षड्यन्त्र गर्ने काम गरेका थिए ।  यस्तै राजतन्त्रको अन्त्यपछि पनि सेरेमोनियल किङ, माइनर किङ, कल्चरल किङ जस्ता कुराले गर्दा जनतामा अनेक किसिमका आशङ्का पैदा उत्पन्न भएका थिए ।  यस्तै षड्यन्त्र भएको अवस्थामा अहिलेको स्थानीय निकायको चुनावले राजतन्त्रप्रति जनताको कुनै मोह छैन भन्ने कुरा प्रमाणित गरिदिएको छ ।  
नेपालमा गणतन्त्र स्थापना भए पनि अझै गणतान्त्रिक संस्कृतिको विकास हुन सकेको छैन ।  दलहरूमा देखिएको राजतन्त्रप्रतिको मोह र राजतान्त्रिक संस्कारले समेत गर्दा जनतामा अहिले पनि राजतन्त्रको अवशेष बाँकी रहेको विश्वास गरिएको छ ।  नवौँ गणतन्त्र दिवसकै अवसरमा बाँडिएका विभूषणमा देखिएको प्रवृत्तिले पनि पुरानै राजतन्त्रवादी संस्कार रहेको भन्ने देखिएको छ ।  यसैले अब गणतन्त्र संस्थागत भइसकेकोले जनस्तरमा समेत गणतान्त्रिक संस्कृतिको विकास गरिनुपर्छ ।  गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक बधाई र शहीदप्रति श्रद्धाञ्जलि ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना