प्रथम चरण निर्वाचनले दिएको सन्देश

gorkarnaगोकर्ण अर्याल

 

स्थानीय तह निर्वाचनअन्तर्गत प्रथम चरणको निर्वाचन सम्पन्न भएको छ ।   वैशाख ३१ गते सम्पन्न यस चरणको मत परिणाम पनि लगभग आइसकेको छ ।  यस निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वर्चस्व रहेको छ ।  निर्वाचन भएका २८१ स्थानीय तहमध्ये भरतपुर महानगरपालिका र चागुनारायण नगरपालिका बाहेक अन्य सबै ठाउँको मत परिणाम आइसकेको छ ।  यस चरणमा निर्वाचन हुनुपर्ने २८३ तहमध्ये २ वटा तहमा निर्विरोध निर्वाचित भएको थियो ।  दोस्रो चरणमा चारवटा प्रदेशका ४६१ स्थानीय तहमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।  प्रथम चरणको निर्वाचनमा एमालेले १२४ तहमा विजय प्राप्त गरेर पहिलो बनेको छ भने  काँग्रेस १०४ तहमा जितेर  दोस्रो र माओवादी केन्द्र  ४६ स्थानीय तहमा विजय हात पारेर तेस्रो भएको छ ।  यसमा राप्रपा र नयाँ शक्ति नेपालले एक– एक तह र स्वतन्त्र उम्मेदवारले पाँचवटा तहमा विजय प्राप्त गरेका छन् ।  काठमाडौँ र ललितपुर महानगरपालिकामा केही नयाँ दलले अप्रत्यासित मत प्राप्त गरेबाहेक अन्य दलको मत नगन्य नै देखिन्छ ।  
  यस चुनावमा विशेष गरेर शहरी क्षेत्रमा नेपाली काँग्रेसको मत घटेको छ भने एमाले शहर केन्द्रित र तटस्थ मतदाताको मत आफूतिर आकर्षित गर्न सफल देखिएको छ ।  चारवटा महानगरपालिकामध्ये ललितपुरमा झिनो मतले विजय प्राप्त गरे पनि काठमाडौँ र पोखरा महानगरपालिकामा काँग्रेस ठूलो मतान्तरले पराजय भएको छ ।  विगतमा राम्रो रहेका नगरपालिकामा पनि यो पटक काँग्रेसको स्थिति राम्रो देखिएन ।  यसका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा ठूलो कारण आफँैभित्र छ भनेर पार्टीले त्यसको खोजी गर्नुपर्छ ।  निर्वाचनका प्रचारताका ललितपुर महानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बनेका चिरीबाबु महर्जनले  राम्रो मत ल्याएर जित्नेवाला थिएँ यहाँका सचेत मतदाताको घर दैलोमा पुग्दा सुशीला कार्कीलाई किन महाभियोग लगाएको भनेर प्रश्न गर्छन् त्यसको मैले जवाफ दिनै सकिनँ, पार्टीको केन्द्रीय नीतिका कारण मेरो अवस्था कमजोर हुने भयो भनेका थिए भने अन्य ठाउँका उम्मेदवारले यस्ता प्रश्नको सामना गर्नु परेन होला भन्ने भएन ।  प्रतिपक्षीले न्यायालयमाथि हस्तक्षेप गरेको, प्रहरी महानिरीक्षक र राजदूत नियुक्तिमा चलखेल गरेको लगायतका आरोप सत्ता पक्षमाथि लगाउँदा त्यसको वास्तविकता बुझाउन नसक्नु काँग्रेसको कमजोरी थियो ।  चुनावका बेला एक दलले अर्को दललाई कमजोर गराउन हरेक किसिमका प्रयत्न गरिरहेका हुन्छन् ।  
यस्ता राजनीतिक प्रपोगाण्डा फैलाउन माहिर नेकपा एमाले यस निर्वाचनमा पनि सफल भएको छ ।  यस्तो अवस्थामा मतदाता लहैलहैमा लागे भल्नुभन्दा हामी कहाँनेर चुक्यौँ वा वास्तविकतालाई चिर्न किन सकनौँ भनेर त्यसको मूल्याङ्कन गर्नुपर्छ ।  तसर्थ यसमा अरूलाई दोष दिएर वा मतदाताप्रति गुनासो गरेर उम्किने कोसिस गर्नुभन्दा आत्म समीक्षा गर्नु पार्टीको हितमा हुनेछ ।  पार्टीले लिएका निर्णय र निर्वाचनमा खडा कतिपय उम्मेदवारले गर्दा पनि काँग्रेस कमजोर भएको एकथरी बुझाइ छ ।  वास्तवमा जनतामा भिजेको र चुनाव जित्नसक्ने व्यक्तिलाई भन्दा नेतृत्वले भागवण्डा गरेर टिकट दिएका कारण कतिपय ठाउँमा काँग्रेसले पराजय भोग्नु परेको छ र कतिपय ठाउँमा राम्रा र अब्बल उम्मेदवार पनि पार्टीभित्रको गुट उपगुटको शिकार बनेका छन् ।  जवरजस्ती पार्टीले उम्मेदवार बनाउँदैमा हुँदैन भन्ने कुरालाई स्वयं पार्टीका मतदाताले समेत प्रकट गरेका छन् ।  दोस्रो चरणको निर्वाचनमा यस्ता कमी कमजोरीलाई सच्याउने अवसर काँग्रेसलाई मात्र होइन सबै दललाई हुनेछ ।   काठमाडौँ र ललितपुरमा विवेकशील र साझा पार्टीले प्राप्त गरेको अधिकांश मत काँग्रेसको रहेको तर्क गरिँदैछ ।  यसलाई काँग्रेस विरोधी मतभन्दा पनि काँग्रेससँग असन्तुष्ट मतका रूपमा लिनुपर्छ ।  यो मत किन बिच्कियो  वा संरक्षण किन हुन सकेन रु  कसका कमजोरीले यो भयो रु समयको गतिलाई आँकलन गरेर अगाडि बढ्न नसक्नु पक्कै पनि नेतृत्वको कमजोरी हो ।  त्यसलाई आत्मसात गरेर अगाडि बढ्दा आगामी दिनमा पार्टीलाई फाइदै पुग्नेछ ।  वास्तवमा काँग्रेसले लिएका कतिपय निर्णय मुलुकको दूरगामी हित र भलाइका लागि छन् र थिए होलान् तर ती निर्णयका बारेमा आम नागरिकलाई बुझाउने मामिलामा काँग्रेस चुकेकै हो ।  बोल्नेको पिठो बिक्ने नबोल्ने चामल नबिक्ने कथनको चरितार्थ बन्न पुगेको छ काँग्रेस ।  काँग्रेसले चामल बिकाउन नसक्दा पिठो बेच्ने हावी भएका हुन ।  
जेठ ३१ गते प्रदेश नं १, २ , ५ र ७  मा दोस्रो चरणको निर्वाचन हुने मिति नजिकिँदैछ ।  राष्ट्रिय जनता पार्टीलाई समेत चुनावमा सहभागी गराउने प्रयत्न स्वरूप साता दश दिन निर्वाचन पर सार्ने कुरामा पनि दलहरू गृहकार्य गरिरहेका छन् ।  वास्तवमा स्थानीय तहको निर्वाचन  राष्ट्रिय जनता पार्टी नेपालका कारण दुई चरणमा गराउने निर्णय भएको हो ।  राजपाले संविधान संशोधन र प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या थप नगरी निर्वाचनमा भाग नलिने भनेपछि त्यसका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रले गरेको प्रयास र प्रयत्न स्वयं राजपाले राम्रोसँग बुझेको हुनुपर्छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण राजपाले उठाउँदै आएको माग सम्बोधन हुन नसकेको कुरा पनि उसले बुझेकै विषय हो तर यतिबेला राजपाको मागप्रति एमाले लचक हुने सङ्केत देखाएका कारण समस्याले निकास पाउँछ कि भन्ने आशा पलाएको छ ।  काँग्रेस हिमाल, पहाड र तराईको सिङ्गो एकताले नै राष्ट्रियता मजबुत हुने अडानका साथ आन्दोलनरत मधेश केन्द्रित दललाई मूल धारको राजनीतिमा ल्याउन पहिलेदेखि नै पहल गर्दै आएको हो तर मधेशी दलप्रति एमालेको गलत नजरका कारण समस्या बल्झिदै गएको हो ।  पछिल्लो पटक दलबीच बन्दै गएको समझदारीले सबै दल निर्वाचनमा भाग लिने वातावरण तय हुँदैछ ।  यस्तो अवस्थामा साता दश दिन चुनाव सार्दा कसैले पनि आपत्तिको विषय बनाउनु हँुदैन ।  राजपाले उठाएका विषय वस्तुप्रति सबै दलको ध्यान गम्भीर रूपमा खिचिनु पर्छ तर निर्वाचनको मुखमा मेरो गोरुको बाह्रै टक्का भन्ने कुरा ठीक होइन ।  योसँगै यतिबेला राजनीतिक दल आआफ्ना उम्मेदवार टुङ्गो लगाउने अन्तिम कसरत गरिरहेका छन् ।  कस्ता व्यक्तिलाई उम्मेदवार बनाउदा आफ्नो दलको पक्षमा मत आकर्षण गर्न सकिन्छ भन्ने विचार विश्लेषणमा दल जुटेका छन् ।  यस विषयमा नेपाली काँग्रेसले पनि गम्भीर विचार विश्लेषणका साथ आफूलाई प्रस्तुत गर्नेछ ।  यसअर्थ दलका लागि प्रथम चरणको निर्वाचन र त्यसको परिणमबाट पाठ सिकेर अगाडि बढ्ने अवसर र मौका पनि हुनेछ दोस्रो चरणको निर्वाचन । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना