चुनावका अपेक्षा, प्रतीक्षा र उपेक्षा

Narayan p paudelनारायणप्रसाद पौडेल

 

तीनवटा प्रदेशमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि एकतिहाई जति विजित नेता र कार्यकर्ताका घरमा खुशी छाएको छ ।  जेठमै दशैँ आएको छ ।  राँगा, बङ्गुर, खसी र कुखुराको ज्यान र मदिरा भलसरी बगेको छ ।  तिनैले त आसपासका छिमेकी र पराजितलाई उत्तेजित पारेका छन् ।  पख्लास् भनाउँछन्, पाखुरा सुर्काउँछन् ।
अर्कोतिर दुईतिहाई जति पराजितका घरमा रुवावासी चलेको छ ।  तिनीहरूका घरबाट खुशी मनाउनेतिर फर्केर धारेहात लगाएर भट्टेश्रापको वर्षा भइरहेको छ यतिबेला ।  दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि पनि हुने कुरा त्यही हो ।  जित्ने डुक्रनु र हार्ने लत्रनु स्वाभाविकै हो ।  जित्नेको शान र अभिमानले हार्नेको मान–सम्मानमा आँच नआओस्, क्षति नपु¥याओस्, अपमान नगरोस् भन्नेतिर समुचित ध्यान दिन सकिएन भने लोकतन्त्र आफैँ लज्जित हुनेछ ।  चुनावले मनमुटाव बढाउनेछ ।  लोकतान्त्रिक प्रक्रियालाई नजानिँदो तरिकाले भित्रभित्रै डढाउने छ, सडाउने छ ।
चुनावका बेला जसले जति सक्यो, उति बक्यो, खोक्यो ।  पत्याउनेले साथ दियो, नपत्याउनेले दिएन ।  नदिनेसँग बदलाको भावना लिन भएन ।  नहुने र नसक्ने कुरा पनि पूरा गर्ने वाचा गरिन्छ चुनावमा ।  नर्कलाई स्वर्ग बनाउने सपना देखाइन्छ ।  राक्षसलाई देवता बनाइदिने कसम खाइन्छ, खुवाइन्छ ।  यो भूतलका सबै सुविधा उपलब्ध गराउने कुरामा कुनै द्विविधा नराखी प्रतिबद्धता जारी गरिन्छ ।  त्यसैले भनिन्छ समाजमा – ‘चुनावका बेलामा गरेका कुरा पनि कसले पूरा गर्छ र ? गर्दैन ।  जुवाका खालमा दिएको कर्जा पनि कसले तिर्छ र ? तिर्दैन ।  मदिराको नसाले गलेका र ढलेका बेला गरेका काममा बापत् लाग्दैन । ’ आश गर्नेले पनि उतिसाह्रो भर चाहिँ पर्दैन ।  अपेक्षा ठूला देखाएर प्रतीक्षा गराएर उपेक्षा गर्ने परिपाटीको अन्त्य होस् भन्ने कामना गरौँ अब ।
सबैको चुनावी प्रतिबद्धता पत्र भनेको सकेसम्मका राम्रा योजना र शब्द छानेर, कलात्मक तरिकाले उनेर, मन छुने जाल बुनेर माछा मार्नु वा त्यही जालमा मान्छे पार्नु हो ।  जो परे, परे ।  पाँच वर्षका लागि हो यो ।  अर्कोपल्ट के हुन्छ, हुन्न, कसैलाई थाहा छैन ।  २० वर्षपछि पालो आएको हो बल्ल ।  यस्तो अनियमिताका बीचमा नियमिताको कुनै टुङ्गो छैन ।  संविधान र व्यवस्थाको प्रयोगशाला बनेको नेपालमा यसपल्टदेखि स्थानीय तहदेखि प्रदेश र केन्द्रका लागि किसिम किसिमका अधिकार, व्यवस्थापन र नवसंरचनाको प्रयोग गरिँदैछ ।  कुनै आकस्मिक र अकल्पनीय दुर्घटना नभए ७६६ वटा स्थानीय तह र सातै प्रदेशको स्वाद चाखिने छ ।  तर हुने चाहिँ के होला, अन्योल नै छ ।  नाम बदल्ने, काम यथावत राख्ने चलन दोहोरिने छ फेरि पनि ।  पञ्चायतसहित त्यसपछि लगातार बदलिएका सबै व्यवस्था र अवस्थाले भोगाएको भोगाई आफैँ सम्झे हुन्छ ।  अरूलाई सोध्न जानै पर्दैन ।  धेरै अपेक्षा राखेर, व्यग्र प्रतीक्षा गरेर, आशातीत सफलता पाउन नसकेर, उपेक्षा भोगेको अनुभव गर्नुपर्दा गहिरो चोट लाग्छ र पहिरो लैजानका लागि खोट खोज्न थालिन्छ ।  भोलि खोट खोज्दै हिँड्नुभन्दा आजै नखोज्ने बाटो लिइयो भने सहज हुन्छ ।  पीरको पोको बोकेर वल्लो घाट र पल्लो तीर चहार्न पर्दैन ।
सोलारसिटी, स्मार्टसिटी, बिजुली, रेल र कसैले तेलको भेल बगाउने कुरा गरेका छन् ।  कृषि र औद्योगिक क्रान्ति त छुटेकै छैनन् ।  विदेश पलायन भएको श्रमशक्ति यतै सदुपयोग गर्ने योजना पनि सुनाएकै छन् ।  सिंहदरबारको सत्ता गाउँसम्म पु¥याइएको पनि भन्छन् ।  तिनको आफ्नै शक्ति र क्षमता कति छ भन्ने थाहा छ सबैलाई ।  आजसम्म पु¥याउन र गर्न केले रोकेको थियो रे, र अब के गरेर ल्याउने हुन् ? छेक्ने को थिए र ती कता लागे वा भागे ? कोही कहीँ गएको र भएको केही छैन, हैन ।  हिजोका धामी र आजका झाँक्री दुवै उनै हुन् ! प्रणालीको नाम फेरिए पनि काम फेरिएको छैन ।  महिला, दलित र जनजातिको पहुँच अलिकति बढाइएको छ, फरक त्यत्ति हो ।  
अब झन् चर्को कर र दस्तुर तिर्न पर्नेछ बरु ।  अप्रिय नलागोस् हनुमानहरूलाई, तिनका राम र सीताहरूलाई पाल्न झन् धेरै सकस पर्नेछ ।  गाविसबाट पालिकामा परिवर्तन हुँदा, नगरपालिका, उप–महानगरपालिका र महा–नगरपालिका बन्दा र भन्दा कति फरक परेछ भनेर बुझ्न मन भए हिजोको मालपोत, कर वा तिरो बुझाएका रसिद लिएर जानुस् ।  आज कति लिन्छन्, माग्छन् र के भन्छन् आफैँ सुन्न, हेर्न र व्यहोर्न सकिन्छ ।  जनतालाई झन् बढी कर तिराउन र रहर भिराउन जानेकाले गरेका गफ जति हाम्रा लागि अग्रगामी विचार र सिद्धान्त रे !
मेरो पार्टीले जित्यो, तेरोले हा¥यो, तेरोले जित्यो, मेरोले हा¥यो भन्दै उत्तेजित भएर उर्लनु र कुर्लनु बेकार छ ।  दलका नेताहरू माथि कुम जोरेर जलपान गर्छन्, तलका कार्यकर्ता कुम ठोकेर दुश्मनी साँध्छन् ।  माथिका नेताले तलका जनतालाई आपसमा जुधाउन खेलेको खेल नबुझेर उफ्रनु त आफैँ कुप्रनु हो ।  ठेस लागेकै ठाउँमा बारम्बार ठक्कर लाग्छ ।  त्यसैले सतर्क भएर हिँड्नुपर्छ ।  धेरै मात्तिन, तात्तिन र आत्तिन पर्दैन ।  पद र पहुँचको भोक, नपाएको शोक र पाएपछिको झोकलाई ठेगान लगाउने सरल उपाय अपनाए हुन्छ ।
जसले जे भने पनि आफ्नो गाउँ ठाउँ आफैँ बनाउने हो ।  कस्तो बनाउने र भनाउने भनेर सहमति जुटाउने र टुटाउने पनि आफैँले हो ।  वरपरका छर–छिमेकीसित आपसमा मिलेर काम गरे बन्छ, नत्र बिग्रन्छ, भत्कन्छ ।  भत्काउन सिकाउने नेताले बनाउन जानेका हुँदैनन् ।  बनाउन जानेका श्रमजीवी किसान र मजदुरले बिगार्न जान्दैनन् ।  खुराफातको राजनीति पसेपछि घर, गाउँ र शहर बाँडिएको र भाँडिएकोमा चिन्तित छ सभ्य, सम्पन्न र सुसंस्कृत समाज ।  असभ्य हिंस्रक हुन्छन् ।  मांस, मदिरा, अप्सरा र धनमै मन लगाउँछन् ।  तमो गुणको लक्षण हो त्यो ।  जसले विध्वंश बाहेक अरू केही गर्दैन ।  निर्माणका लागि त निपूर्ण शक्ति चाहिन्छ ।  चुनावमा जितेकाले मात्र गर्ने, हार्नेले बिगार्ने वा बिगार्नुपर्ने खेल र झेल बेमेलका बान्की हुन् ।  बेमेलकै लागि उकास्नेहरू सहकार्यका विरोधी हुन् ।  प्रतिस्पर्धाका नाममा मुठभेड गराउनेभन्दा मेलमिलाप गराउन खोज्ने असली मित्र हुन् भन्ने बिर्सनु हुँदैन ।  लडाउन, भिडाउन र गिडाउनभन्दा मिलाउन र सँगै हिँडाउन धेरै गाह्रो हुन्छ ।  त्यस्तो गाह्रो काम गर्ने पनि छन् यही दुनियामा ।  चिनेर समुचित कदर गर्न सक्नुपर्छ ।
पहिलो चरणको चुनावमा चार जनाको ज्यान गयो ।  अर्बौ रकम खर्च भयो ।  दोस्रो चरणमा पनि हुन्छ ।  नवनिर्माण वा पुनःनिर्माणको बेला हो यो ।  त्यस्तै बलिदान र बजेटको खर्च नवनिर्माणमा गरिँदा के बन्थ्यो होला, गमौं ।  हामीकहाँ बनाउनभन्दा बझाउनमै समय, शक्ति र स्रोत खर्च गर्ने चलन बढेको छ ।  त्यसैले सोचेको र खोजेको हुन्न र नसोचेको र नखोजेको चाहिँ हुने गरेको छ ।  धेरै अपेक्षा नगरौँ ।  प्रतीक्षा पनि नगरौँ ।  खुरुखुरु आफ्नो रुचिअनुसारको उत्पादनमूलक काममा लागौँ ।  उपेक्षा गरेको अनुभवै हुन्न ।  आश गर्दागर्दै र भर पर्दापर्दै सास पनि जान्न ।  सर्वनाश पनि हुन्न ।  अनि कसैसँग रिसाउन, खुसाउन र ठुसाउन पनि पर्दैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना