मुनको उदयसँगै पलाएको शान्ति आशा


Ram prashad Acharyaरामप्रसाद आचार्य



 

आणविक युद्ध हुन सक्ने खतरा बढिरहेका बेला दक्षिण कोरियामा १९औँ राष्ट्रपतिका रूपमा मुन जाए इनको आगमनसँगसँगै कोरिया प्रायद्वीपमा शान्तिको आशा पलाएको छ ।  युद्धविरोधी, शान्तिका पक्षधर उहाँले उत्तर कोरियासित बिग्रेको सम्बन्ध सुधार गर्ने र त्यसका लागि उपयुक्त समयमा उत्तर कोरियाको भ्रमण गर्ने सन्देश दिएर कोरियाली तनाव मत्थर पार्ने प्रयास गर्नुभएको छ ।  तर, उत्तर कोरियाले यसैबीचमा गरेको पछिल्लो शक्तिशाली ब्यालेस्टिक रकेट र मध्यम दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणले फेरि तनाव र सन्त्रास बढाएको छ ।  दक्षिण कोरियाको नयाँ नेतृत्वप्रति अहिलेसम्म उत्तर कोरियाले कुनै प्रतिक्रिया जनाएको छैन ।  उता, अमेरिकाले पनि पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ ।  यसले गर्दा परिस्थिति झन् जटिल बन्दै छ ।  
दोस्रो विश्वयुद्धको समाप्तिसँगसँगै जापानी उपनिवेशबाट मुक्त भएको कोरिया विदेशी शक्तिका कारण टुक्रियो ।  सन् १९४८ मा पुँजीवादी व्यवस्थासहितको दक्षिण कोरिया र समाजवादी व्यवस्थासहितको उत्तर कोरिया अलग–अलग राष्ट्र बने ।  दक्षिण कोरियालाई संयुक्त राष्ट्रसङ्घ र अमेरिकाले सहयोग गरे भने उत्तर कोरियालाई रुस र चीनले ।  दुई वर्षपछि सन् १९५० मा दुई कोरियाबीच भीषण युद्ध सुरु भयो ।  यो युद्ध सन् १९५३ सम्म जारी रह्यो ।  झन्डै २० लाख मानिसको ज्यान लिएको यो युद्ध विनाशान्ति सम्झौता रोकियो ।  प्राविधिक हिसाबले अहिलेसम्म दुवै राष्ट्र युद्धको अवस्थामा छन् ।  तर, यसबीचमा दुवै राष्ट्रले आ–आफ्नो क्षेत्रमा उल्लेख्य प्रगति गरेका छन् ।  दक्षिण कोरियाले नाटकीय ढङ्गले आर्थिक प्रगति गरेको छ भने उत्तर कोरियाले सैन्यशक्तिसहितको आणविक प्रगति ।  दक्षिण कोरिया एसियाकै आर्थिक शक्ति बनेको छ भने उत्तर कोरिया आणविक शक्ति राष्ट्र बन्ने होडमा छ ।  तर दुवै राष्ट्रबीच शत्रुतापूर्ण व्यवहार छ, जसले गर्दा मेलमिलाप र शान्ति कायम हुन सकेन ।  युद्धकै अवस्थामा दुवै मुलुकले गरेको प्रगति उल्लेख्य रहे पनि फेरि युद्ध भयो भने यो प्रगति नष्ट हुने हो कि भन्ने चिन्ता सर्वत्र छ ।  
दुई कोरियाबीच मेलमिलाप गराउन र उत्तर कोरियाको आणविक कार्यक्रम बन्द गराउन थुप्रै अन्तर्राष्ट्रिय प्रयास भए पनि सफलता मिलेन ।  पछिल्ला वर्षहरूमा उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दी लगाएर उसलाई एक्लो बनाइएको छ ।  तैपनि उत्तर कोरिया पछाडि हटेको छैन ।  लगातार आणविक परीक्षण गर्दै आफ्नो शक्ति प्रदर्शन गरेको छ ।  दुई कोरियाबीच बढ्दो दूरी र तनाव घटाउन शान्तिवार्ताको विकल्प छैन ।  युद्धले समस्याको समाधान गर्न सक्दैन ।  तैपनि दुवै मुलुकबीच युद्धको सम्भावना टरेको छैन ।  परिस्थिति जटिल छ ।  
दुई कोरियाबीच अत्यन्तै तनाव बढिरहेका बेला राष्ट्रपति बन्नुभएका मुन कोरियाली समस्या र यसको कारणबारे जानकार हुनुहुन्छ ।  यसको दीर्घकालीन समाधान नखोज्ने हो भने कुनै पनि बेला युद्ध भड्किन सक्छ ।  त्यसैले उहाँले उत्तर कोरियासित सम्बन्ध सुधार गरी शान्ति स्थापनालाई महŒव दिनुभएको हो ।  राष्ट्रपतिको कार्यभार सम्हाल्दै उहाँले शान्ति र प्रगतिलाई जोड दिनुभयो ।  उत्तर कोरियासित सम्बन्ध सुधार गरी शान्ति स्थापना गर्न उहाँले भूमिका खेल्नुभयो र यसमा सफलता पाउनुभयो भने यो नै सबैभन्दा ठूलो सफलता हुनेछ तर यसका लागि निकै मिहिनेत गर्नुपर्ने अवस्था छ ।  
राष्ट्रपति मुनको जन्म उत्तर कोरियाली शरणार्थीका सन्तानका रूपमा सन् १९५३ को जनवरी २४ मा दक्षिण कोरियाको बन्दरगाह सहर बुसानको शरणार्थी शिविरमा भएको थियो ।  कोरियाली युद्धका कारण विस्थापित भएका उत्तर कोरियाको हामहुङ गाउँका शरणार्थी दम्पतीका पुत्र उहाँको बाल्यकाल गरिबी र कष्टकर अवस्थामा बित्यो ।  मुन जन्मनुभन्दा तीन वर्षअघि सन् १९५० को डिसेम्बरमा उहाँका बाबुआमा एक छोरीका साथ उत्तर कोरिया छाडेर दक्षिण कोरिया जानुभएको थियो ।  शरणार्थी शिविरमा अत्यन्तै दुःख, कष्टसाथ हुर्किनुभएका मुनले सन् १९७२ सम्म बुसानमा कानुन विषय अध्ययन गर्नुभयो ।  त्यो बेला अहिलेका अपदस्थ राष्ट्रपति पार्क गुयन हाईका बाबु पार्क चुङ हिको सैन्य शासन थियो ।  सो शासनविरुद्ध मुन आन्दोलनमा उत्रनुभयो ।  आन्दोलनमा लागेको भन्दै उहाँसहित सयौँ युवकलाई जेल हालियो र केही समयपछि रिहा हुनुभयो ।  उहाँ सन् १९७६ मा कोरियाली सेनामा भर्ती हुनुभयो ।  तर, सैन्य सेवामा रुचि नलागेपछि तीनजना साथी मिलेर बुसानमा ल फर्म खोल्नुभयो ।  सो फर्ममा मुनका तीन साथीमध्ये एकजना पूर्वराष्ट्रपति रो मु ह्युन पनि हुनुहुन्थ्यो ।  उहाँको ल फर्मले मानवअधिकार र नागरिक अधिकारबारे वकालत गर्ने गथ्र्यो ।  रो राजनीतिमा प्रवेश गरी सन् २००३ मा राष्ट्रपति बन्नुभयो भने उहाँले कानुन व्यवसायलाई निरन्तरता दिनुभयो ।  त्यो बेला राष्ट्रपति रोको मुख्य कानुनी सल्लाहकार बन्नुभयो ।  रोमाथि भ्रष्टाचारको आरोप लाग्यो ।  संसद्ले महाभियोग लगाई निलम्वन गरेपछि रोले आफ्नो अपमान भएको भन्दै आत्महत्या गर्नुभयो ।  त्यसपछि मुन राजनीतिमा प्रवेश गरी बुसानबाट सांसद निर्वाचित हुनुभयो ।  सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा पार्कसँग थोरै मतान्तरले पराजित हुनुभएका मुन यसपटक निर्वाचत हुनुभयो ।  पार्क भ्रष्टाचार प्रकरणमा मुछिएपछि मुनको लोकप्रियता एकाएक बढ्यो ।  
भ्रष्टाचार नियन्त्रण, आर्थिक वृद्धि, बेरोजगारी अन्त्य, उत्तर कोरियासँग बढ्दो तनाव मत्थर गर्ने प्रतिबद्धता जनाउनुभएका राष्ट्रपति मुन उत्तर कोरियाप्रति उदार मानिनुहुन्छ ।  उहाँले उत्तर कोरियासँग सम्बन्ध बढाउने कुराचाहिँ दक्षिण कोरियाको हालको नीतिविपरीत छ ।  उहाँ दक्षिण कोरियामा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली राख्ने कार्य सुरु गरिएकोप्रति असन्तुष्ट हुनुहुन्छ ।  अब उहाँले यो नीति फेर्नुहुन्छ कि हुन्न ? चासोको विषय बनेको छ ।  मध्यवामपन्थी डेमोक्रेटिक पार्टीका तर्फबाट निर्वाचित भई राष्ट्रपति बन्नुभएका मुनको शासनकालमा दक्षिण कोरियामा सुशासन तथा उत्तर कोरियासितको तनावपूर्ण सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।
दुवै कोरिया एउटै परिवारका सदस्य हुन् ।  मुलुक टुुक्रिएपछि र युद्ध भएपछि आपसमा विस्थापित भएका एउटै परिवारका सदस्यहरू कोही उत्तरमा छन् त कोही दक्षिणमा ।  दुई देशका शासकबीचको कडा टक्कर र शत्रुतापूर्ण सम्बन्धका कारण दुई देशको सीमामा विश्वकै कडा सीमा पर्खाल लगाइएको छ ।  जनतालाई एक–अर्का मुलुकमा आवतजावत गर्न कडा प्रतिबन्ध लगाइएका कारण पारिवारिक विछोडमा हजारौँ परिवार तड्पिरहेका छन् ।  भाषा, धर्म र संस्कृति एउटै भएका दुवै मुलुकका जनताको मिलेर बस्ने चाहना छ ।  उनीहरू दुई कोरियाबीच एकीकरण भई शान्ति कायम होस्, युद्ध र भैmझगडा अन्त्य होस् भन्ने पक्षमा छन् ।  
उत्तर कोरियाका संस्थापक नेता किम जोङ इल र दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम दाय जुङले शान्तिपूर्ण सहअस्तित्वका आधारमा एक राष्ट्र दुई व्यवस्थासहित दुई कोरिया एकीकरण गर्ने प्रयास गर्नुभयो तर अन्तर्राष्ट्रिय कारणले यो सम्भव भएन ।  तर कोरियामा शान्ति स्थापना गर्ने हो, युद्धबाट जोगाउने हो, समृद्धिलाई संस्थागत गरी समृद्धि र शान्तिसहितको कोरिया प्रायद्वीप बनाउने हो भने दुई कोरियाबीचको एकीकरण अपरिहार्य भएको छ ।  शान्तिको बाटो छोडी युद्धको बाटो लिने हो भने यसले कोरिया प्रायद्वीपलाई मात्र होइन, एसिया र सारा विश्व नै सङ्कटमा पार्ने खतरा छ किनभने यदि युद्ध भयो भने सैन्य युद्धमा सीमित नरही आणविक युद्धमा परिणत हुनेछ भन्दै सम्बद्ध विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।  
मानवसभ्यतालाई नै नष्ट गर्न सक्ने आणविक हतियार साना ठूला, धनी गरिब, पुँजीवादी, समाजवादी जुनसुकै देशले बनाए पनि ती सबै विनाशकारी नै हुन् ।  अमेरिकाले बनाएको परमाणु हतियारले विश्व सुरक्षित हुने र उत्तर कोरियाले बनाएको परमाणु हतियारले विश्व असुरक्षित हुने भन्ने तर्क आफैँमा गलत हो ।  विश्वलाई सुरक्षित राख्ने हो भने हालसम्म बनाइएका सबै आणविक हतियार नष्ट गर्नुपर्छ ।  एक्काइसौँ शताब्दीको यो प्रविधियुक्त विश्वलाई सुरक्षित गर्ने हो भने सबै आणविक हतियार नष्ट गरी आणविक हतियारमुक्त विश्व बनाउनैपर्छ ।  यसका लागि सारा विश्ववासीको एउटै आवाज उठ्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना