कोरिया एकीकरण दुवैतिरको चाहना

 pradip nepalप्रदीप नेपाल

 

भर्खरै दक्षिण कोरियामा सम्पन्न राष्ट्रपतिको चुनावमा विजयी हुने मुन जाए इनको परिचयमा नेपाल पनि जोडिएको छ र उहाँले उत्तर कोरियासँगको सम्बन्धलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  
म दुवै कोरिया पुगेको छु ।  पहिले म पुगेँ उत्तर कोरिया ।  ०५२ सालमा ग्रामीण क्षेत्रमा निर्माण गरिने सय किलोवाटसम्मका जलविद्युत् आयोजना हेर्न म गएको थिएँ ।  मैदानी वस्तीहरूमा साना जलविद्युत् आयोजना हे¥यौँ हामीले ।  गाउँमा झुरुप्प बस्ती बसाइएको थियो ।  कतै साठी घर, कतै सत्तरी घर, यस्तै यस्तै ।  तिनलाई चाहिने विद्युत् स्थानीय तहमै उत्पादन गर्ने उनीहरूको योजना हुँदो रहेछ ।  लामो हाइटेन्सन लाइन नहुँदा बस्ती पनि सफा देखिँदो रहेछ ।  बस्ती विकास, सफा बस्ती र शिक्षा स्वास्थ्यका सबै योजनाहरू गाउँमै पु¥याउने यो राम्रो तरिका लागेको थियो ।
त्यतिबेला म, सूचना सञ्चार तथा जलस्रोत मन्त्रीको हैसियतमा उत्तर कोरिया पुगेको थिएँ ।  प्योङयाङको मेट्रो र ग्रामीण यात्रामा जाँदाको रेलयात्रा दुवै सुविधायुक्त थिए ।  दक्षिण कोरियासँग सिमाना भनी कोरिएको अन्तर्राष्ट्रिय समानान्तर लाइनको पानमुन्जोम जाँदा मोटर यात्रा गरियो ।  पहाडमा त सुरुङ हुने भइहाल्यो ।  ढिस्काहरूमा पनि बाटो घुमाउरो थिएन ।  अवरोधलाई सुरुङले छेड्ने राम्रो प्रविधि देखियो ।  उज्याला केटाकेटी, भुँडी नउठेका मानिसहरू, लज्जालुु महिला ।  
हामी लुम्बिनी पार्क पनि पुग्यौँ ।  उत्तर कोरियामा लुम्बिनी पार्क ! सुन्दा पत्यार नलाग्ने ।  गौतम बुद्ध र लुम्बिनीको बारेमा जानकारी दिने एकजना महिला थिइन् ।  श्रमजीवी जनताले अत्यन्तै दुःख पाएको देखेर सिद्धार्थ गौतममा वैराग बढ्यो र मानव जातिको हित होस् भनी उहाँले बौद्ध धर्म आरम्भ गर्नुभयो ।  
रमाइला दोभाषेले प्याच्च भनिहाले – उहाँ बुद्धको जन्मस्थलबाट आउनु भएको कमरेड हो ।  तिम्रो व्याख्या मिल्यो मिलेन भनेर सोध ।  साह्रै लाज मानेकी थिइन् ती युवतीले त्यतिबेला ।  यद्यपि उनले गरेको व्याख्याले केही बिगारेको थिएन, तैपनि मैले उनलाई बुद्ध पलायनका बारेमा हाम्रोतिर चलेको कथा सुनाइदिएँ ।  कोरियाप्रतिको अन्तर्राष्ट्रिय बितण्डाका कारण म पनि थोरथार प्रभावित भएकै थिएँ ।  बुद्ध धर्मप्रति ती युवतीको बुझाइ सुनेपछि म त्यो वितण्डाबाट सम्पूर्णतामै मुक्त भएँ ।
राजधानी प्योङयाङमा कोरियनले घुमाउने एउटा स्थान, जुछे टावर हो ।  त्यो टावरमा चढेर दृश्यावलोकन गर्दा केही विशिष्ट दृश्य देखियो ।  शहरभित्रका कोलोनीहरू भिन्नभिन्न रूपका देखिए ।  कोही साना, कोही ठूला ।  मैले कारण सोधेँ ।  दोभाषेले भने – सबैभन्दा साना साठीको दशकमा बनाइएको हो ।  त्यतिबेला हामी निकै गरिब थियौँ ।  मध्यम स्तरका घरहरू हामीले सत्तरीको दशकमा बनाएका हौँ ।  पल्लो छेउका ठूला भवनहरूमा अहिले हामी काम गरिरहेका छौँ ।  हाम्रोमा दक्षिण एसियाको जस्तो धनी र गरिब हुँदैनन् ।  त्यसैले हाम्रा घरहरू पनि धनी गरिब हुँदैनन् ।  अब हामी साठीको दशकमा बनेको बस्ती भत्काएर त्यहाँ पनि अत्याधुनिक भवनहरू बनाउने तयारीमा छौँ ।  यो काममा हामी सन् २००० देखि लाग्नेछौँ’ आदि ।
अकस्मात मैले अग्लो न अग्लो निर्माणाधीन होटेल देखेँ ।  अन्तर्राष्ट्रिय पर्यटकहरू नाम मात्रका आउने मुलुकमा त्यति ठूलो होटेलको आवश्यकता किन प¥यो ? दोभाषेले मेरो जिज्ञासा शान्त गर्दै भने –अबको पच्चीस वर्षसम्ममा हाम्रो देशको एकीकरण हुनेछ ।  पश्चिमाहरूका लागि हाम्रो देश कौतुहलको विषय हुनेछ ।  लाखौँको संख्यामा तिनीहरू हाम्रो देश हेर्न आउने छन् ।  तिनीहरूसँग धेरै पैसा छ ।  तिनीहरूलाई उनीहरूकै देशको जस्तो सुविधा दिनुपर्छ ।  त्यसैले अहिले हामी सुविधा सम्पन्न होटेल बनाउने अभियानमा छौँ ।
दक्षिण कोरियाका नागरिकसँग प्रायः मैले सोधेँ उत्तरका बारेमा ।  यथार्थमा उनीहरूमा आफ्नै मुलुकको उत्तरी पाटोको बारेमा वितण्डा बाहेकको जानकारी थिएन ।  तिनका लागि समेत ठूलो चासोको विषय थियो उत्तर कोरिया ।
उत्तर र दक्षिण कोरियाको बीच एउटा साझा कुरो भेटेँ मैले ।  उत्तरको सरकार र नागरिक दुवैले अठ्तीसौँ समानान्तर रेखालाई सिमाना मान्दैनन् ।  उनीहरू त्यसलाई सिधै अमेरिकी साम्राज्यवादको अपराध भन्छन् ।  दक्षिणमा त्यसरी बोलेको त सुनिनँ तर उनीहरू पनि अठ्तीसौँ समानान्तरलाई कृत्रिम रेखा मान्दा रहेछन् ।  दुवै भागमा भेटिएका नक्सामा मैले कहीँ पनि अठ्तीसौँ समानान्तरको रातो धर्को देखिन ।
म २०७३ सालमा दक्षिण कोरिया पुगेँ ।  यात्राभरि म डेमोक्रेटिक पार्टीका सदस्य र समर्थकको बीचमा रहेँ ।  दक्षिणपन्थी पार्टीकी पार्क ग्युङ हे राष्ट्रपति हुनुहुन्थ्यो ।  मैले कतै पनि उहाँका बारेमा राम्रो सुनिनँ ।  उहाँ त्यतिबेलै जनताको एउटा ठूलो पङ्क्तिबाट लाञ्छित र तिरस्कृत हुनुहुन्थ्यो ।  हामी पुग्नु केही दिन अघि सयौँ बालबालिका बोकेको पानी जहाज दुर्घटनामा परेको थियो ।  त्यो दुर्घटनालाई राज्यद्वारा प्रायोजित भन्ने आरोप समेत लगाएका थिए तिनका अभिभावकहरूले ।  मृतकहरूप्रति श्रद्धाञ्जलि दिन हामी पनि पुग्यौँ ।  सन्नाटामा बाँचेको थियो त्यो स्थल ।  त्यहाँ जाने मानिसलाई दुर्घटनाको विवरण दिने एक जना महिलाले भनिन्, ‘राष्ट्रपतिको पार्टी अपराधीहरूको जत्था हो ।  विचरा साना बच्चाहरू बचाऊ बचाऊ भनी मोबाइल मेसेज पठाइरहेका थिए ।  अभिभावकहरू सरोकारवालाहरूसँग हारगुहार गरिरहेका थिए ।  तर तिनले पटक्कै सुनेनन् ।  ७०० भन्दा बढी बालबच्चा अनाहकमा मारिए ।
किन यस्तो अपराध ग¥यो राज्यले ? मेरो प्रश्न स्वाभाविक थियो ।
‘किनभने यो सरकार अमेरिका बाहेक अरु कसैको कुरो सुन्दैन ।  जनता यसका लागि भोट खसाल्ने मेशिन मात्र हुन् ।  अमेरिकाका लागि कोरियाली नागरिकको मृत्युको कुनै मूल्य छैन ।  १९८० को ख्वाङ्जू विद्रोहलाई रोलरले पेलेर ख्वाङ्जु शहरलाई रक्ताम्य पार्ने अपराध गरेका सैनिकहरूकै निरन्तरता हो वर्तमान सरकार ।  यी दुवैलाई अमेरिकाको बलियो समर्थन छ । ’
आम नागरिकमा अमेरिकाप्रति कुनै सम्मान भाव भेटिनँ दक्षिण कोरियामा ।
तर सन्त्रास भेटियो दक्षिण कोरियामा ।  उत्तरले दक्षिणमाथि आक्रमण गर्छ कि गर्दैन ? जापान र अमेरिकालाई हान्ने भनेर बनाएको रकेट दक्षिण कोरियाली भूभागमा हान्छ कि हान्दैन ? यही थियो सन्त्रासको मूल कारण ।  दशौँ दिनको साँझ किम नाम गरेका एकजना साथीले भने– उत्तरले दक्षिणमा कुनै हालतमा पनि रकेट प्रहार नगर्ने भयो ।  चीनले यसको ग्यारेण्टी ग¥यो ।
यथार्थमा, उत्तर – दक्षिण दुवैतर्फका कोरियाली जनता मन, वचन र कर्मले कोरियाको एकीकरण चाहन्छन्् ।  हाम्रो देशमा दुवै कोरियाका दूतावास छन् ।  त्यसैले हामी नेपाली पनि कोरियाली एकीकरणको पक्षमा छौँ ।  चीन र रुस जस्ता महाशक्ति पनि कोरियाको एकीकरणकै पक्षमा छन् ।  तर प्रशान्त महासागर पारिको पनि सुदूरपूर्व एटलाण्टिक महासागरको नजिकै अवस्थित वासिङ्टन किन कोरियाली एकीकरणको विरोध गर्छ ? अमेरिका आपूmलाई महान प्रजातन्त्र ठान्छ ।  आफ्नो ठूलोपनको प्रदर्शन गर्न तेस्रो मुलुकका मानिसलाई ऊ आफ्नै खर्चमा अमेरिका घुमाउँछ ।  अर्काको देशमा आँखा गाड्दा उसले प्रशस्त जन र धनको खति बेहोरेको छ ।  भियतनाम युद्धमा उसले दोस्रो विश्वयुद्धमा खसेको तुलनामा दुई गुणा बढी बम खसाल्यो ।  गाउँ गाउँमा अगजनी गरेर मुलुकलाई जनशून्य बनाउने जघण्य अपराध ग¥यो ।  माई लाई हत्याकाण्ड अमेरिकी सेनाको निधारमा कलङ्कको टीको भएर टाँसियो ।  अन्तिममा भियतनामी जनताले युद्ध जिते र ६८ हजार अमेरिकी सैनिकको चिहानको अवशेष बोकेर अमेरिका वाशिङ्टन फर्कियो ।  
कोरिया एकीकरण विरोधी अमेरिकाको वर्तमान नीतिले पनि भियतनामजस्तै परिणाम खोजेको त होइन ? होइन भने उत्तर कोरियाको एकोहोरो विरोध किन ?
मैले नबुझेको कुरो ।  यो विश्वमा परमाणु अस्त्र भएको देश, उत्तर कोरिया मात्र होइन ।  उसले मात्रै परमाणु परीक्षण गरेको पनि होइन ।  भारत वा चीन अथवा स्वयं अमेरिका ।  अर्थात् उत्तर कोरिया बाहेकका कुनै राष्ट्रले पनि परमाणु परीक्षण गर्दा चूँ नबोल्ने अमेरिका उत्तर कोरियाले एउटा ब्यालेस्टिक मिसाइल परीक्षण गर्दा पनि कोकोहोलो मच्चाउँछ र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट अनेक प्रकारका नाकाबन्दी पास गर्न लगाउँछ ।  अर्थात्, यो विश्वमा सबै राष्ट्रलाई घातक हतियारको होडमा सामेल हुने अधिकार छ, तर उत्तर कोरियालाई आत्मरक्षा गर्नेसम्मको पनि अधिकार छैन !?
अबको विश्वमा यस्तो मत्स्य न्याय चल्नु हुँदैन ।  स्वाभिमान र राष्ट्रिय सुरक्षा सबैको साझा अधिकार हो ।  







थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना