प्रधानमन्त्री चयन बहुमतबाट

BICC Baneshwor_1काठमाडौँ, जेठ १९ गते ।  मुलुकको ४० औँ प्रधानमन्त्री चयनका लागि आइतबार व्यवस्थापिका संसद्मा निर्वाचनको तयारी भएको छ ।  औपचारिक रूपमा कार्यतालिका भने प्रकाशित भएको छैन ।  शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कार्यतालिका र प्रधानमन्त्री चयनको प्रक्रियाबारे निर्णय लिने तयारी सभामुखले गर्नुभएको छ ।  
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले शुक्रबार कार्यव्यवस्था समितिको निर्णयपछि मात्र थप प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो ।  गौतमले भन्नुभयो, ‘कम्तीमा तीन दिनको समय दिएर निर्वाचन सम्पन्न गर्ने गरी सचिवालयले कार्यतालिका तयार पारेको छ ।  तर, यसअघि सदनलाई जानकारी दिएर कार्यतालिका प्रकाशन गर्ने परम्परा थियो ।  अवरोधका कारण यो पटक सम्भव भएको छैन ।  अब कार्यव्यवस्थाले गर्ने निर्णयअनुसार नै कार्यतालिकाको काम अगाडि बढ्छ । ’
सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएको समयसीमा बुधबार मध्यरातदेखि सकिएको थियो ।  समय सकिएसँगै राष्ट्रपति भण्डारीले बिहीबार बहुमतीय प्रक्रिया अगाडि बढाउन संसद्लाई पत्राचार गर्नुभएको थियो ।  सोही पत्राचारअनुसार सचिवालयले कार्यतालिका तयारी गरेको थियो ।  तर, पत्राचार औपचारिक रूपमा सदनमा जानकारी नगराएको अवस्थामा कसरी अगाडि बढ्ने भनेर सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।  सचिवालयको तयारीअनुसार शुक्रबार कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि कार्यतालिका प्रकाशन हुनेछ ।  तयारी अनुसार शनिबार उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताका लागि एकै दिनको समय तोकिने भएको छ ।  
संसद्को कार्यसञ्चालन नियमावलीको नियम ४९ अनुसार प्रधानमन्त्रीका निर्वाचनमा सम्बन्धित उम्मेदवारले प्रस्तावक समर्थकसहित तोकिएको समयभित्र उम्मेदवारीको सूचना दिनुपर्नेछ ।  उम्मेदवारीको सूचना निर्वाचन अधिकृतका रूपमा तोकिने संसद्मा महासचिव समक्ष दिनुपर्नेछ ।  सचिवालयले प्राप्त नामावली प्रकाशन गरी संसद्को बैठकसमक्ष पेस गर्नेछ ।  एकभन्दा बढी मनोनयन भएको अवस्थामा रोलक्रमअनुसार उम्मेदवारीको संसद्मा निर्णयार्थ पेस हुनेछ ।  यसरी निर्णयार्थ पेस हुँदा संसद्को बहुमत नपुगे दोस्रो प्रस्तावलाई निर्णयका लागि पेस गर्नुपर्नेछ ।  पहिलो प्रस्तावले नै सदनको बहुमत हासिल गरे प्रस्तावित उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् ।

गठबन्धनलाई सहज बहुमत
दलहरूको हालसम्मको तयारीअनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित छ ।  विपक्षी दलले उम्मेदवारी सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेको छैन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भद्र सहमति पालना भन्दै राजीनामा दिनुभएको थियो ।  सोही सहमतिअनुसार गठबन्धनले देउवालाई समर्थन गर्ने निश्चित छ ।
संविधानको धारा २९८(३) को व्यवस्थाअनुसार संसद्मा बहुमतप्राप्त उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुनेछ ।  संसद्मा अहिले ५९३ सांसद छन् ।  जसअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुनलाई कम्तीमा २९७ सांसद आवश्यक पर्छ ।
काँग्रेस माओवादीसँग झन्डै बहुमत सांसद छन् ।  दुई दलसँग गरी २८९ सांसद छन् ।  कम्तीमा ८ सदस्य भएको अर्को दलको समर्थनमा गठबन्धनका तर्फबाट प्रस्तावित उम्मेदवार सहजै प्रधानमन्त्री हुनसक्ने अवस्था छ ।  अहिले सरकारमा भइरहेका फोरम लोकतान्त्रिकको नै १६ सांसद छन् ।  अन्य केही साना दल पनि संसद्मा छन् ।  गठबन्धनलाई बहुमतीय सरकार गठनका लागि सहज अवस्था छ ।
संसद्को अवरोध कायमै
यसैबीच प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर महानगरको मतगणना सुचारु गर्न माग गर्दै दोस्रो दिन पनि संसद्को अवरोध कायमै राखेको छ ।  बिहीबार संसद् बैठक सुरु हुनसाथ एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए ।  माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले अवरोध संसद्को नियमावलीविपरीत भएको भन्दै नियमापत्ति गरे पनि सभामुख ओनसरी घर्तीले अवरोधको अवस्थामा नियमापत्ति नलाग्ने भन्दै बैठक आइतबारसम्मका लागि स्थगित गर्नुभएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना