खोइ यता ट्राफिक प्रहरीका आँखा ?

सरोज आचार्य

काठमाडौँ, जेठ १९ गते ।  ट्राफिक प्रहरीलाई अहिले जेब्राक्रसबाट सडक पार नगर्ने पैदल यात्रु नियन्त्रणमा लिई जरिवाना गर्न भ्याई नभ्याई छ ।  तर सडकमा बिनानम्बर प्लेटका सवारी साधन निर्बाध चलिरहेका छन् ।
खासगरी दुईपाङ्ग्रे विद्युतीय सवारी साधन निर्बाध चल्ने गरेका छन्, त्यसमा ट्राफिक प्रहरीका आँखा पर्दैन ।  यातायात ऐनमा साइकलको वर्गमा राखिएको यो मोटर साइकलको भारवहन क्षमता र गति भने मोटर साइकल र स्कुटरजस्तै हुन्छ ।  
राजधानीका सडकमा बिनानम्बर प्लेट, बिनाहेल्मेट र बिना सवारी चालक अनुमतिपत्रका मोटर साइकलकै क्षमता अनुसारको गतिमा हुइँकिने यस्ता विद्युतीय सवारी साधनको सङ्ख्या बाक्लिँदो छ ।  तर, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले यसलाई गम्भीरतापूर्वक नलिएको गुनासो सर्वसाधारणको छ ।  
भीमेश्वर नगरपालिका ५, दोलखा घर भई कोटेश्वर बस्ने दिनेश श्रेष्ठले यान्त्रिक साइकल र गतिका आधारमा जुनसुकै बेला गम्भीर दुर्घटनामा पर्न र पार्न सक्ने भएकाले यसको व्यवस्थापनलाई हल्का रूपमा लिन नहुने बताउनुभयो ।  उहाँले निरीह पैदलयात्रीको सडक पार गर्ने जोखिमभन्दा ठूलो जोखिम यस्ता सवारी साधनमा रहेको तर ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यलयले यसमा चासो नै नदिएको आरोप लगाउनुभयो ।
श्रेष्ठले भनेजस्तो दुर्घटनाको सम्भावना मात्र नभई यस्ता यान्त्रिक साइकलको प्रयोग गरेर आपराधिक घटना गर्न पनि सहज हुने सम्भावना रहन्छ ।  अपराधीले नम्बर प्लेटबिनाका सवारी साधन लिएर भाग्न चाहे प्रहरीले पक्रने कुनै आधार नै रहँदैन ।  e bike
विद्युतीय मोटर साइकल चालक गौरीघाटका रामजी पन्तले यसको प्रयोगमा गल्ली गल्छेडो छिर्न सजिलो, पेट्रोलका लागि लाइन बस्न नपर्ने र सवारी चालक अनुमतिपत्र पनि लिनुपर्ने झन्झट नभएको बताउनुभयो ।  उहाँको यस भनाइबाट आपराधिक गतिविधिमा लागेकाले उक्त सवारी साधन प्रयोग गर्दा आफू छलिन सक्ने कुरालाई उजागर गर्छ ।
सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।  तर, तिनलाई सवारी साधनकै सरहमा राखेर व्यवस्थापन भने गर्ने गरेको छैन ।  
भन्सार कार्यालयले ५० हर्र्स पावरभन्दा कम क्षमताका यस्ता सवारी साधनलाई भन्सारमा दर्ता नगरी सिधै नेपाल भित्र्याउने सुविधा दिएको छ ।  त्यसअनुसार हाल २५ र ५० हर्स पावरका दुईपाङ्ग्रे सवारी साधन निकै चलन चल्तीमा देखिएका छन् ।  दर्ता नै हुनु नपर्ने, नम्बर राख्नु नपर्ने, चलाउँदा हेल्मेट लगाउनु नपर्ने र चालक इजाजतपत्रको पनि बाध्यता नभएको भन्दै अरु सवारी चालकमा पनि यसको आकर्षण बढ्दो छ ।  
महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद घिमिरे भन्नुहुन्छ, ‘५० हर्स पावरभन्दा कम क्षमताका विद्युतीय मोटर साइकललाई दर्ता नगरिने भएकोले बाटोमा देखा परेका यस्ता सवारी साधनलाई पक्राउ गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता गराउने गरिएको छ । ’
दर्ता नभएकै कारण र लाइसेन्स नभएका चालकबाट गम्भीर दुर्घटना भएमा के गर्ने भन्ने जटिलता यस सवारी व्यवस्थापनमा देखिएको छ ।  प्रहरी नायव उपरीक्षक घिमिरेले अरु सवारी चालकले पालना गर्नुपर्ने सबै नियम यो सवारीमा पनि लागू हुन्छ भन्नुभयो ।  
तर, ट्राफिक प्रहरीको सामुन्ने नै त्यस्ता सवारी गुड्दा प्रहरी पैदल यात्रुलाई कारबाही गरिरहेको हुन्छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले पनि यातायात व्यवस्था कार्यालयमा दर्ता नभई र नम्बर जडान नगरी यस्ता सवारी चलाउन नपाइने बताउनुभयो ।  तर, त्यसरी निर्वाध सडकमा गुडेका मोटर साइकलको व्यवस्थापनबारे केही बताउनुभएन ।  
बागमती अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादव यस्ता विद्युतीय मोटर साइकलको अवस्थाबारे कार्यालय जानकार नै नरहेको बताउनुभयो ।  उहाँका अनुसार पेट्रोल वा डिजेलबाट चल्ने दुई, तीन वा चारपाङ्ग्रे सानाठूला सवारी चालक अनुमतिपत्रका विषयमा मात्र आफ्नो कार्यालयले आवेदन तथा लिखित प्रयोगात्मक परीक्षा लिँदै आएको बताउनुभयो ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना