प्रधानमन्त्रीमा देउवा मात्रै उम्मेदवार

नारायण काफ्ले

काठमाडौँ, जेठ २१ गते ।  बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री पदका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भएको छ ।  संसद्् सचिवालयले मनोनयन दर्ताका लागि प्रकाशन गरेको कार्यतालिकाको समयसीमाभित्र काँग्रेस र नेकपा माओवादी केन्द्रको पूर्व समझदारीअनुसार देउवाको मात्र उम्मेदवारी दर्ता गर्नुभएको हो ।  प्रमुख विपक्षी दल नेकपा एमालेबाट वामदेव गौतमले उम्मेदवारी दिने चर्चा भए पनि उम्मेदवारी भने परेन ।  
देउवाको उम्मेदवारको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ ।  मनोनयनको समर्थकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका कुमार खड्का र नेकपा संयुक्तका जयदेव जोशी हुनुहुन्छ ।  
संसद्् सचिवालयले प्रकाशन गरेको कार्यतालिकाअनुसार आइतबार बिहान ११ बजे संसद््मा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढाउने उल्लेख छ ।  तर, विपक्षी दल एमालेको अवरोध कार्यक्रम घोषणाअनुसार यथावत रह्यो भने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा अवरोध आउन सक्ने सम्भावना छ । sher-bahadur-deuba
एकमात्र उम्मेदवार परे पनि संसद््मा निर्वाचन भने मत विभाजनबाट नै हुनेछ ।  संसद्को कार्यसञ्चालन नियमावलीको नियम ४९ अनुसार सम्बन्धित उम्मेदवारलाई संंसद्मा उम्मेदवारीको सूचना पेस गर्न समय दिइनेछ ।  उम्मेदवारले सूचना पेस गरेपछि प्रस्तावक समर्थकले उम्मेदवारीको समर्थनमा धारणा राख्नेछन् ।  
एकभन्दा बढी मनोनयन भएको अवस्थामा रोलक्रमअनुसार उम्मेदवारीको संसद््मा निर्णयार्थ पेस हुनेछ ।  एकमात्र उम्मेदवार रहेका कारण सोही सूचनालाई निणयार्थ पेस गरिनेछ ।  प्रस्तावले सदनको बहुमत हासिल गरेमा प्रस्तावित उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुने व्यवस्था छ ।  संविधानको धारा
२९८(३) को व्यवस्था अनुसार संसद्मा बहुमत प्राप्त उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचन हुनेछ ।  संसद््मा अहिले ५९३ सांसद छन् ।  जसअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन कम्तीमा २९७ सांसद आवश्यक पर्छ ।
काँग्रेस र माओवादीसँग झन्डै बहुमत सांसद छन् ।  यस्तै, देउवाको समर्थकमा रहेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपालसँग १६ सांसद छन् ।  यस्तै, संयुक्तका तीन, र अन्य दुई साना पार्टीका दुई सांसद छन् ।  हालको समर्थनको अङ्कगणितअनुसार देउवाको पक्षमा ३१० सांसद पुग्छन् ।  गठबन्धनलाई बहुमतीय सरकार गठनका लागि यो सहज सङ्ख्या हो ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना