गोठ सार्दै, दूध बेच्दै

दिवाकर पोख्रेल

देउखुरी, जेठ २१ गते ।  दाङ राजपुर गाउँपालिका गैराका बुधराम यादव अहिले लमही नगरपालिका–६ देउपुरमा बस्दै आउनुभएको छ ।  उहाँ न बसाइँ सरी आउनुभएको हो, न त जागिरकै सिलसिलामा ।  उहाँ ४० वटा भैँसी पनि सँगै लिएर आउनुभएको छ ।  
दाङ देउखुरीको राजपुर, गढवा गाउँपालिकामा यादव समुदायको बाक्लो बस्ती छ ।  यादव समुदायको मुख्य पेसा कृषि नै भए पनि उनीहरू भैँसीपालनमा रुचि देखाउँछन् ।  यो समुदायमा प्रत्येक परिवारसँग आठ÷दसवटा भँैसी छन् ।  
राप्ती नदीको दक्षिण क्षेत्रमा पर्ने राजपुर र गढवा गाउँपालिकाबाट दूध बेच्न राप्ती नदी पार गरी लमही, घोराही, तुलसीपुर जानुपर्ने बाध्यता छ ।  त्यसैले भैँसीको गोठ नै लिएर राप्तीपारिका किसान राप्ती नदी तरेर बजारको नजिक आइपुगेका हुन् ।  हिउँदे बाली भित्र्याएपछि खेतवारी खाली रहने हँुदा खाली जग्गामा भैँसी चराउने र नजिक बजार भएकाले दूध बिक्री गर्न पनि सहज हुने हँुदा आफूहरू वर्षा नलाग्नुञ्जेल बजारकै आसपासमा बस्ने गरेको बुधराम बताउनहुन्छ ।  
उहाँसँग ४० वटा भैँसी छन्, तीमध्ये ३० वटाले दूध दिन्छन् ।  बुधरामले दैनिक झन्डै ५० लिटर दूध बेचेर दैनिक दुई÷तीन हजार रुपियाँ आम्दानी गर्नुहुन्छ ।  मासिक ९० देखि एक लाख रुपियाँसम्म कमाइ हुन्छ, खर्च कटाउँदा ५० हजार जति बचत हुन्छ, बुधरामले बताउनुभयो ।  बुधराम जस्तै राजपुर गाउँपालिका फोहराका रामदीन यादव पनि ३० वटा  भैँसीसहित लमही नगरपालिका–२ सोनपुरमा आइपुग्नुभएको छ ।  उहाँले पनि मासिक खर्च कटाएर ३० हजार रुपियाँ जति आम्दानी गर्ने गरेको बताउनुभयो ।  अरू पेसा गर्न जानिँदैन, यही पेसा जान्या छु, आफू पालिने केटाकेटी पाल्ने मेसो भएको छ, रामदीनले भन्नुभयो ।  baffalo
दुग्ध सङ्कलन केन्द्र र बजारको अभावमा आफूहरू गोठै लिएर वारिपारि गर्नुपर्ने बाध्यता रहेको बताउने गढवा राजपुर गाउँपालिका–३ का पाटेश्वर यादवले बजार टाढा भए पनि दूध बिक्री गर्न समस्या नरहेका बताउनुभयो ।  घरघरमा दूध डुलाएर बेच्दा समय धेरै लाग्ने भएकाले दूध सङ्कलन केन्द्र, डेरीमा दूध बेच्ने गरेको जानकारी गराउँदै पाटेश्वरले भन्नुभयो, भँैसी हेर्न समयमै गोठमा फर्कन भ्याइँदैन, डेरीमै खन्याएर फर्किहाल्छु ।  
फागुनदेखि जेठ भरसम्म यसरी नै अरूको जग्गामा बस्ने र दूध बिक्री गर्ने गरेको उहाँहरूको भनाइ छ ।  
जग्गा मालिकको सहमतिमै पराल प्रयोग गर्ने र मल जग्गा मालिकलाई दिने शर्तमा १० वर्ष अघिदेखि नै देउखुरीमा यसरी यादव समुदायले गोठसहित बजार नजिक बस्ने गरेका हुन् ।  
भैँसीपालन व्यवसायबाट सन्तुष्ट रहेको भैँसीपालक कृषकले राप्ती पारि राजपुर गाउँपालिका गढवा गाउँपालिकामै दुग्ध प्रशोधन तथा सङ्कलन केन्द्र भइदिए राम्रो मूल्य पर्न सक्ने बताउँछन् ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना