मनु पनि वैदिक मन्त्रद्रष्टा ऋषि

 kamal rijalकमल रिजाल


वैदिक मन्त्रद्रष्टा ऋषिमा महर्षि मनु पनि विशिष्टतम पङ्क्तिमा पर्छन् ।  ऋग्वेदका विभिन्न प्रकरणमा महर्षि मनुलाई एउटा विशिष्टतम व्यक्तिमा उभ्याउन खोजिएको पाइन्छ ।  वेदमा उनलाई ब्रह्माजीका मानसपुत्र पनि भनिएको छ तर ती स्वायम्भू नामक आदिम मनु हुन् ।  हालका मनु होइनन् ।  हालका मनु त वैवस्वत हुन् ।  ऋग्वेद मण्डल आठ, सूक्त ५२ को मन्त्र एकका अनुसार उनी सूर्यका छोरा मानिन्छन् ।  सूर्यका विभिन्न नाममा विवस्वान पनि पर्छ ।  विवस्वानका छोरा भएकाले उनलाई वैवस्वत भनिएको हो ।  ऋग्वेदकै केही प्रसङ्गमा उनलाई विवस्वान नै भनिएको पनि पाइन्छ ।  यसलाई भने पुत्रलाई पिताकै प्रति रूपको अर्थमा लिइएको वा लिने गरिएको वैदिक परम्पराभित्र राखेर हेरिनु मनासिव हुनेछ ।  सूर्र्यको विश्वकर्मापुत्री संज्ञा र छाया गरी दुई पत्नी थिए ।  तीमध्ये संज्ञाको तर्फबाट उनको जन्म भएको हो ।  छायातर्फबाट भने शनैश्चर र सावर्णि नामक दुई भाइ थिए ।  यसमध्ये शनैश्चर नवग्रहमध्ये एक मानिएका छन् भने सावर्णिलाई भविष्यमा हुनेवाला मनु अर्थात् आठौँ मनु मानिएको छ ।  
पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार एक कल्पमा हाम्रो वर्षमानअनुसार चार अर्ब ३२ करोड वर्ष व्यतित हुने गर्छ ।  यो ब्रह्माजीको एक दिनको समय हो ।  यस अवधिलाई १४ वटा मनुले भोग गरेका हुन्छन् ।  यस्ता मनुहरूमा स्वायम्भू, स्वारोचिष, उत्तम, तामस, रैवत, चाक्षुष, वैवस्वत, सावर्णि, दक्षसावर्णि, ब्रह्सावर्णि, रुद्रसावर्णि, धर्मसावर्णि, देवसावर्णि र इन्द्रसावर्णि आदि छन् ।  हालका मनु सातौँ मनु हुन् ।  उनी ऋग्वेद १ ।  ४५ ।  १ का अनुसार सारा संसारको पूर्वज मानिएका छन् ।  यिनलार्ई वेदले राजर्षिको समेत संज्ञा दिएको छ ।  पौराणिक ग्रन्थका अनुसार पनि उनी राजर्षि नै मानिएका छन् ।  श्रीमद्भागवतमा उल्लेख भएअनुसार उनी पूर्व जन्ममा सत्यव्रत नामका राजा थिए ।  प्रलयको बेला भगवान्ले मत्स्याअवतार लिएर उनको रक्षा गरेका थिए ।  यतिबेला मत्स्यभगवान्ले जगद्धितका लागि जुन सन्देश दिएका थिए त्यसलाई मत्स्यपुराण भनिन्छ, जुन १८ वटा महापुराणमध्ये एक मानिन्छ ।  ब्रह्मीनिशापछि तिनै सत्यव्रतलेक नै सूर्यबाट उत्पन्न भई जगतको प्रशासनिक व्यवस्थाको जिम्मा लिएका थिए ।  
अथर्ववेदका अनुसार पनि राजर्षि मनु पृथ्वीको एकछत्र शासक मानिएका छन् ।  वाल्मीकीय रामायणका अनुसार उनी मानवहरूको आदिम राजा मानिएका छन् भने महाभारतको पनि यही नै आशय भेटिन्छ ।  ऋग्वेद १० ।  ६३ ।  ७ का अनुसार प्रथम याज्ञिकसमेत मानिएका महर्षि मनुलाई ऋग्वेदकै मण्डल आठ, सूक्त ५१ को पहिलो मन्त्रले राजा सम्बरणका पुत्रको रूपमा समेत उल्लेख गरेको छ ।  यसबाट उनी कसका छोरा हुन् भन्नेबारे ठूलै आशङ्का खडा भएको देखिन्छ ।  त्यसैले समाधानका लागि संवरण शब्दकै अर्थ खोज्नुपर्ने पर्ने विद्वान्हरूको अभिमत छ ।  वस्तुतः व्याकरणशास्त्रीका अनुसार संवरणको एउटा अर्थ समेट्नु हो भने अर्को अर्थ हटाउने पनि हो ।  यहाँनेर हटाउनुको अर्थ अँध्यारो हटाउने पनि हुन्छ सक्छ भने अँध्यारो हटाउने काम सूर्यले नै गर्छन् ।  त्यसैले संवरण भनेको सूर्यकै पर्यायवाची नाम हो भन्ने तर्कको नजिक विद्वान्हरू पुगेका देखिन्छन् ।  जब संवरण भनेकै सूर्यको अर्र्को नाम हो भने उनी स्वतः सूर्यपुत्र हुने नै भए ।   
ऋग्वेद मण्डल आठको २७ देखि ३१ तक पाँचवटा सूक्तका द्रष्टा ऋषि यिनै वैवस्वत मनु मानिएका छन् ।  विश्वेदेवा आदि देवताको विशेषता वर्णन भएको यी सूक्तमा कुल ५९ वटा मन्त्र छन् ।  यी मन्त्रमार्फत उनले  देवीदेवतासित संसारलाई आसुरी शक्ति र सत्ताबाट सुरक्षित गर्दै उन्नति, प्रगति र समुन्नतिको दिशामा जस्तो चासो दिएका छन् यसबाट उनी साँच्चै प्रशासक मात्र होइनन् राजर्षि नै हुन् भन्ने प्रष्ट हुन आउँछ ।  प्रशासक हुनु एउटा कुरा हो ।  राजर्षि बन्नु अर्को कुरा हो ।  प्रशासक बन्न जो पनि सक्छन् तर राजर्षि बन्न जो पायो त्यसले सक्दैन ।  त्यसमा पनि राजर्षि नै प्रशासक बन्न सक्ने भने विरलै हुन्छन् ।  उनी त्यस्तै विरलैभित्रका व्यक्तित्वमा पर्छन् ।  इतिहासमा उनीहरू बाहेक जनक र विश्वामित्र आदि एकाध व्यक्ति मात्र राजर्षिको पङ्क्तिमा उभिन सकेका छन् ।  
राजर्षि वैवस्वत मनु मात्र होइनन् उनका छोरा (श्रीमद्भागवतका अनुसार नाति) नाभानेदिष्ट पनि वैदिक मन्त्रद्रष्टा ऋषिमै पर्छन् ।  ऋग्वेद मण्डल १० को ६१ र ६२ औँ सूक्त उनैद्वारा दृष्टमन्त्रको सँगालो मानिन्छ ।  उनै विश्वेदेवाको प्रशंसामा गाइएका यी दुई सूक्तमा कुल ३८ मन्त्र छन् ।  यी मन्त्रमार्फत उनले आफूलाई सूर्यको बन्धुको रूपमा प्रस्तुत गर्दै सूर्य जत्तिकै प्रखर तेजस्वी देखाउन खोजेका मात्र छैनन् उनको रुद्रभक्ति तथा रुद्रोपासनाबाट प्राप्त वैभवबारे जानकारी दिने कामसमेत गरेका छन् ।  यो प्रसङ्ग हिजो जति महìवपूर्ण थियो सर्वत्र स्वार्थ हावी हुँदै गएको जमानामा झनै बढी मननीय हुन पुगेको छ ।  यसबाहेक उनले आफ्ना ऋचाहरूमा शत्रुनाश तथा लोक रक्षाका लागि देखाएको सक्रियता उत्तिकै मननीय छ ।  यी ऋचाहरूमा उनको वैज्ञानिक सोच पनि उत्तिकै प्रौढ भेटिन्छ ।  खासगरी मण्डल १०, सूक्त ६१ को १८ औँ मन्त्र र सूक्त ६२ को तेस्रो मन्त्रामा उनले अङ्गिराहरू मार्फत सूर्यको स्थिति चित्रण गरेका मात्र छैनन् उनको क्षेत्र र विशेषता विवेचन गर्ने प्रयाससमेत गरेका छन् ।   
ऋग्वेद मण्डल तीन, सूक्त ३२ को पाँचांै मन्त्रका अनुसार विशिष्ट याज्ञिकका रूपमा समेत परिचित राजर्षि मनु हजारवटा अश्वमेध यज्ञकर्ता पनि हुन् ।  ऋग्वेदकै मण्डल १०, सूक्त ६१ को २१ औँ मन्त्रमा समेत यसको विवेचन भेटिन्छ ।  सयवटा अश्वमेध यज्ञ गर्नेहरू त स्वर्गको राजगद्धी इन्द्राशनमा बस्ने अधिकारी बन्ने गर्छन् भने उनी त त्यस्ता हजार वटा अश्वमेध यज्ञ सम्पन्न गर्ने व्यक्तित्वमा पर्छन् ।  रामावतार र कृष्णावतारको समेत पूर्वज उनै हुन् ।  
वेदमा मनुलाई कतै महान् ज्ञानी, ध्यानी र पराक्रमीको रूपमा त कतै कुशल चिकित्सकको रूपमा पनि उल्लेख भएको पाइन्छ ।  कतै स्मृतिकारको रूपमा पनि देखा पर्छन् ।  उनका स्मृति ग्रन्थलाई मनुस्मृति भनिन्छ ।  यो ग्रन्थ अहिले पनि उत्तिकै लोकप्रिय छ ।  भलै त्यहाँ भएका केही प्रसङ्ग समय सापेक्ष नहोलान् ।  हजारौँ वर्ष पूर्व बनेको शासनसत्ता सञ्चालनको विधानमा त्यस्तो देखिनु अस्वाभाविक पनि होइन ।  हामीलाई केही वर्ष अघि बनेको विधानले त कार्म गर्न नसकेर फाल्नुपरेको मात्र छैन हालै बनेको विधानलाई समेत पटक पटक संशोधन गरिरहनु परेको छ भने यस्तो अवस्थामा हजारौँ वर्षपूर्वको विधानमा यस्तो देखिनु के नै अनौठो भयो र ! बरु समस्या त के हो भने मनु धेरै भएकाले वैदिक मन्त्रष्टा मनु र स्मृतिकार मनु एउटै हुन् कि अलग अलग हुन् भन्ने हो ।  त्यसैले यसबारे भने सोधखोज र अनुसन्धान आवश्यक देखिन्छ ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना