झन् बढ्यो कृषिजन्य वस्तुको आयात

seed_2काठमाडौँ, जेठ २३ गते ।  सरकार र राजनीतिक नेतृत्वले नेपालमा कृषि क्रान्ति गर्ने भनेर जतिसुकै चर्का कुरा गर्दै आए पनि अधिकांश कृषि उत्पादनमा देश झन्झन् परनिर्भर हुँदै गएको पाइन्छ ।  कतिपय क्षेत्रमा  नीति नबनेका र  बनेका नीति पनि कार्यान्वयन नहुने परिपाटीले  र कृषकलाई निर्वाहमुखी कृषि प्रणालीबाट माथि उठाउन नसकेका कारण उत्पादनको  सम्भावना भएका कतिपय कृषि उपजमा पनि आयात बढेको बढ्यै छ ।  देशभित्रै उत्पादनको प्रचुर सम्मावना भएका स्याउ, प्याज, आलु, सुन्तलालगायतका कृषि उपजको आयात नेपालमा बर्सेनि बढेको प्राप्त तथ्याङ्कले देखाएको छ ।  
वाणिज्य मन्त्रालयअन्तर्गतको निर्यात व्यापार निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको नौ महिनामा मात्रै नेपालमा तीन अर्ब ६८ करोड २१ लाख ५१ हजार रुपियाँ बराबरको स्याउ आयात गरिएको छ भने आर्थिक वर्ष २०७२÷०७३ को सोही अवधिमा यस्तो आयात  दुई अर्ब ४२ करोड ७३ लाख सात हजार बराबरको भएको थियो ।  जुन गएको वर्षको नौ महिनाको भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा एक अर्ब २५ करोड ४८ लाख ४५ हजार रुपियाँ बराबरले  बढेको छ ।  नेपालमा आउने स्याउमध्ये ठूलो परिणाममा चीनबाट र एक तिहाईको हारहारीमा भारतबाट भित्रिने गरेको बताइन्छ ।
यस्तै कृषि विकास मन्त्रालयले नेपाल आलु उत्पादनमा आत्मनिर्भर हुने क्रम बढेको दाबी गरेको छ तर वाणिज्य मन्त्रालयअन्तर्गतको केन्द्रको तथ्याङ्कका अनुसार भने आलुको आयात बर्सेनि बढेको देखाउँछ ।  केन्द्रका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा चार अर्ब तीन करोड ३६ लाख ४४ हजार बराबरको आलु आयात भएको छ भने आर्थिक वर्ष २०७२÷०७३ को सो अवधिमा तीन अर्ब सात करोड ९५ लाख ५० हजार बराबरको आलु आयात भएको थियो ।  जुन गएको वर्षको नौ महिनाभन्दा चालू झण्डै ९७ करोड बराबरको बढी हो ।  
त्यसैगरी प्याज र  सुन्तला उत्पादनमा अत्यधिक सम्भावना भएको नेपालमा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ८६ करोड ५३ लाख बराबरको आयात भएको छ भने आर्थिक वर्ष २०७३÷०७२ को सो अवधिमा ७८ करोड ७७ लाख ८८ हजार बराबरको सुन्तला नेपाल भित्रिएको थियो ।  जुन गएको आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा सोढ नौ करोडले बढी आयात भएको देखिन्छ ।  
त्यसैगरी प्याज उत्पादनका लागि नेपालमा धेरै सम्भावना भए पनि नेपालको मागको झण्डै ८० प्रतिशत माग भारत र चीनले धानेको छ ।  चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा झण्डै तीन अर्ब बराबरको प्याज भित्र्याइएको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ११ करोड सोढे २४ लाख बराबरको प्याज आयात गरिएको थियो ।  जुन गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सो अवधिमा प्याजको आयात झण्डै ९० करोड बराबरले बढेको देखिन्छ ।  
केन्द्रका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा सुन्तलाको आयात रु. एक अर्ब ९६ करोड १७ खाल ४० हजार बराबरको भएको छ जुन गएको आर्थिक वर्षको सोही  अवधिको तलनामा ३० करोडले बढी हो ।  गत आवमा यसको आयात एक अर्ब ५६ करोड ९७ लाख ४४ हजार बराबरको भएको थियो ।  
यसैगरी चालू आर्थिक वर्षको नौ महिनामा एक अर्ब ८० करोड ९० लाख ८२ हजार ८२० बराबरको गहुँ र गहुँको पिठो आयात भएको छ भने अघिल्लो आर्थिक वर्षमा यो आयात एक अर्ब ५७ करोड ६२ लाख १९ हजार बराबर थियो ।  
केन्द्रका अनुसार नेपाल गेडागुडी र दालमा पनि परनिर्भर नै छ ।  नेपालमा खपत हुने अधिकांश दाल र चना, केराउ, राजमा, बोडीलगायतका गेडागुडी भारतबाट भित्रिने गरेको देखिन्छ ।  पछिल्लो वर्षमा मुसुरोका दाल भारतसँगै टर्कीबाट त्यत्तिकै परिणाममा भित्र्याउने गरेको पाइएको छ ।
सो केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईका अनुसार नेपालमा आयात हुने कृषिजन्य उपजमध्ये अधिकांश भारत र चीनबाट आउने गरेको छ भने केही मात्रामा तेस्रो मुलुक बङ्गलादेशबाट पनि झिकाउने गरिन्छ ।   नेपालमा कृषिउपजमध्ये अधिकांश भारतबाट आयात गर्ने गरिएको छ भने केही मात्रामा स्याउ प्याजलगायतका वस्तु मात्रै चीनबाट आयात गर्ने गरेको उहाँको भनाइ छ ।  
निर्यात व्यापार निकासी प्रवद्र्धन केन्द्रका अनुसार कृषि र अन्य गरी आर्थिक वर्ष २०७२÷०७३ को नौ महिनाको अवधिमा एक खर्ब चार अर्ब ८३ करोड ३९ लाख ७० हजार बराबरको सामान आयात भएकोमा चालू आर्थिक वर्षको सो अवधिमा एक खर्ब २८ अर्ब ५६ करोड ८९ लाख बराबरको आयात भएको छ ।  जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब ७३ करोड ४६ लाख २१ हजार रुपियाँले  बढी हो ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना