शब्दचित्रमा देउवा

राधा चालिसे

काठमाडौँ, जेठ २४ गते ।  नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको जन्म वि.संं. २००३ जेठ ३१ मा डडेल्धुरा जिल्ला, रुवाखोला असिग्राम–५ मा भएको थियो ।  पिता प्रसादसिंह देउवा र माता धनदेवी मल्ल देउवाका उहाँ जेठो सन्तान हुनुहुन्छ ।   उहाँका दुई आमा पट्टिका गरी पाँच भाइ छन् ।  उहाँकी पत्नी आरजु राणा देउवा पनि राजनीतिमा सक्रिय भई नेपाली काँग्रेसको सांसद हुनुहुन्छ ।  देउवा दम्पतीका एक मात्र छोरा जयवीर सिंह देउवा हुनुहुन्छ ।  
हाल काठमाडौँको बूढानीलकण्ठ चपली भद्रकालीमा स्थायी बसोबास गर्दै आउनुभएका देउवाको निर्वाचन क्षेत्र भने डडेल्धुरा क्षेत्र नम्बर १ र कञ्चनपुर क्षेत्र नम्बर ४ रहँदै आएको छ ।  उहाँ २०४८, २०५१ र २०५६ मा प्रतिनिधि सभा सदस्य र २०६४ र २०७० सालमा डडेल्धुराबाट संविधान सभाको सदस्यमा विजयी हुनुभएको थियो ।  २०७० मा भने उहाँ कञ्चनपुरबाट पनि विजयी
हुनुभएको थियो । deuwa
राजनीतिक शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा समेत अध्ययन, अनुसन्धान गर्नुभएको थियो ।  
वि.सं. संवत् २०५२ देखि २०५४ मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएका देउवाले त्यसपछि २०५८ देखि २०५९ र २०६१ देखि २०६२ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।  २०४८ देखि २०५१ सम्म उहाँले गृहमन्त्रीको जिम्मेवारी पूरा गर्नुभएको थियो ।  
२०७२ मा भएको नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट उहाँ पार्टी सभापतिमा चयन हुनुभएको थियो ।  २०५९ भदौमा नेपाली काँग्रेस टुक्रिएर गठन भएको नेपाली काँग्रेस (प्रजातान्त्रिक)को पनि उहाँ अध्यक्ष रहनुभएको थियो ।  २०६३ मा पार्टी पुनः एकीकरण भएपछि निरन्तर पार्टीको जिम्मेवार पदमा रहेर क्रियाशील हुनुहुन्छ ।   
उहाँले २०५६ देखि २०५७ असोजसम्म तत्कालीन माओवादी समस्या समाधानका लागि गठन भएको उच्चस्तरीय आयोगको प्रमुखको जिम्मेवारी पूरा गर्नुभएको थियो ।   
उहाँले अन्तर्राष्ट्रिय सङ्घसंस्थामा पनि उच्च पदमा रहेर कार्य गर्नुभएको छ ।  उहाँले  वि.सं. २०६५ सालमा चार वर्षका लागि सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्ष पदमा रहेर काम गर्नुभएको थियो ।  त्यस्तै २०७० सालदेखि एसिया सोसलिस्ट इन्टरनेसनलको अध्यक्षकोे जिम्मेवारी पूरा गर्नुभएको  थियो ।  
वि.सं. २०२८ देखि २०३७ सम्म नेपाल विद्यार्थी सङ्घको अध्यक्ष रहनुभएका देउवाले २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलीय व्यवस्थाको पक्षमा अभिमत जुटाउन विशेष सक्रिय हुनुहुन्थ्यो ।  त्यस्तै २०४२ सालमा नेपाली काँग्रेसले नै आह्वान गरेको सत्याग्रहमा पनि नेतृत्व प्रदान गर्नुभएको थियो ।   
२०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनः स्थापनाका लागि दबाब सिर्जना गर्न पश्चिमा मुलुकलाई लबिङ गर्ने कार्यमा पनि उहाँ निकै सक्रिय रहनुुभएको थियो ।  राजनीतिक कारण नै पटक–पटक गरी उहाँले १० वर्षभन्दा बढी जेल जीवन बिताउनुभएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना