कतार : तत्कालका लागि नेपाली कामदारलाई समस्या नहुने

राजेश चाम्लिङ

काठमाडौँ, जेठ २४ गते ।  कतारका   छिमेकीहरूले उसँगको कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहाँ काम गरिरहेका नेपालीहरूबीच अन्योल छाएको छ ।  यद्यपि अधिकारीहरूले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।  
सामाजिक सञ्जालको सहज पहुँच भएको खाडी राष्ट्र कतारमा चार लाख नेपाली कामदारका रूपमा कार्यरत छन् ।  उनीहरूले सामाजिक सञ्जालमार्फत ‘अब के होला ?’ भन्ने जिज्ञासा राखिरहेका छन् ।  कतारका बारेमा जानकार रहेकाहरूले भने यो नितान्त कूटनीतिक विषय भएकोले तत्कालका लागि कामदारहरूमा  कुनै समस्या नपर्ने बताएको छ ।  
कतारसँग उसको निकट छिमेकी साउदी अरेविया, बहराइन र संयुक्त अरब इमिरेट्सले सम्पूर्ण कूटनीतिक सम्बन्धमा रद्द गरेका छन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यस क्रममा इजिप्ट र लिबियाले पनि उसँग कूटनीतिक सम्बन्ध टुटाउने समाचार सम्प्रेषण गरिरहेका छन् । यो घटनालाई हामीले नजिकबाट नियाली रहेका छौँ, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो, केही समस्या परेमा स्थानीय सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न भनेका छौँ ।  अहिले आत्तिइ हाल्नुपर्ने अवस्था  छैन ।
    कतारमा बसिरहेका विदेशी तथा कतारी नागरिक गरी कुल २७ लाख जनसङ्ख्या भएको मरुभूमि राष्ट्र कतारमा ४० प्रतिशत खाद्यान्न साउदीबाट आपूर्ति हुने गर्छ ।  बाँकी ६० प्रतिशत खाद्यान्न भारत, पाकिस्तान र बङ्गलादेशबाट हुने गर्दछ ।  qtar
कतार सानो देश भए पनि आर्थिक र अन्तर्राष्ट्रिय सम्बन्ध निक्कै बलियो भएको राष्ट्र हो, कतारका लागि नेपालका पूर्वराजदूत सूर्यनाथ मिश्रले भन्नुभयो, त्यसैले तत्काल त्यहाँ ठूलो समस्या आउँदैन ।  त्यसैले नेपाली कामदारहरू आत्तिनुपर्ने अवस्था छैन ।  उहाँले परिस्थितिलाई सहज बनाउन कतारले पनि कूटनीतिक पहल सुरु गरिसकेको अनुमान गर्दै केही समयपछि यसमा सुधार आउन पनि सक्ने बताउनुभयो ।  
साउदी, बहराइन र यूएईले दुई वर्षअघि पनि कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्दै आफ्नो राजदूत फिर्ता गरेका थिए तर केही महिनापछि सम्बन्धमा पुनः सुधार आएको थियो ।  
कतारको परराष्ट्र मन्त्रालयले कतारी जनता तथा कतारमा रहेका अन्य देशका नागरिकहरूको दैनिक जीवनमा कुनै असर नपर्ने बताएको छ ।  मित्रराष्ट्रहरूले कूटनीतिक सम्बन्धविच्छेदको घोषणा गरेपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दैनिक जीवनमा समस्या नआउने बताइएको छ ।  यही परिस्थिति लामो समय रहेमा भने नेपाली कामदारहरूलाई समस्या पर्ने देखिन्छ ।  
कूटनीतिक सम्बन्धविच्छेद गरेका राष्ट्रहरूले कतारसँगको स्थल तथा हवाई सेवासमेत बन्द गरेको छ ।  जसको कारण कतारको अर्थतन्त्रमा नकारात्मक असर पर्ने समाचारमा आउन थालेका छन् ।  वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव रोहण गुरुङका अनुसार कतारमा रहेका कुल नेपाली कामदारमध्ये ७० प्रतिशत अदक्ष रहेका छन् ।  उनीहरूले मुख्यतः सडक, होटेल तथा स्टेडियम निर्माणमा काम गरिरहेका छन् ।  
सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अनुमति पाएको कतारले त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि लाखौँ विदेशी कामदार स्वदेश भित्र्याएको छ ।  त्यसमा नेपालीहरू पनि छन् ।  महासचिव गुरुङका अनुसार गत वर्ष मात्र ९० हजार नेपालीले कतारका लागि श्रम स्वीकृति लिएका थिए ।  यस्तो परिस्थिति लामो समयसम्म रहेमा निर्माण कार्य प्रभावित हुनसक्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना