सञ्चालनका लागि अझै केही समय कुर्नुपर्ने

लक्ष्मण दर्नाल

काठमाडौँ, जेठ २५ गते ।  ललितपुरको भट्टेडाडाँमा नयाँ निर्माण भएको राडारको जडानकार्य पूरा भएर पनि अझै केही समय  सञ्चालन हुन नसक्ने भएको छ  ।  झण्डै नौ महिनाअघि निर्माण सम्पन्न भएको राडारको परीक्षण अपरेसन सम्पन्न भए पनि हवाई उडान निरीक्षण (फ्लाइट इन्सपेक्सन) हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो ।  यो सबै प्रक्रिया सम्पन्न भएर पूरै सञ्चालनमा आउन अझै  पाँच महिना लाग्ने बताइएको छ ।  
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई उडान निरीक्षणका लागि अमेरिकी कम्पनी एफएएसँग समझदारी भएको छ ।  उडान निरीक्षणका लागि प्राधिकरणले टेन्डर आव्हान गरे पनि कुनै कम्पनीबाट त्यसका लागि प्रस्ताव नआएपछि सो कम्पनीसँग समझदारी गरिएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  अब यो राडारको हवाई उडान निरीक्षण आगामी अक्टोबरमा गर्ने तयारी भएको उहाँले बताउनुभयो । radar
प्राधिकरणका अनुसार फ्लाइट इन्स्पेक्सन सम्पन्न गरेर एरोनोटिकल इन्फरमेसन पब्लिकेशन (एआईपी) मा सञ्चालनबारे सार्वजनिक सूचना जारी गरेपछि मात्र राडार सञ्चालनमा आउने छ ।  हवाई उडान निरीक्षणका लागि ३० हजार फिटमाथि उडान गरेर त्यसको सूचना र स्क्रिनमा देखिने तस्बिर मिल्दोजुल्दो छ की छैन भनेर यकिन  गरिन्छ ।  जुन तथ्यलाई एआईपीमा प्रकाशन गरिन्छ र सोही अनुसार जहाजले राडारमा सम्पर्क गर्नेछन् ।  
एक अर्ब ४० करोड रुपियाँको लागतमा तीन वर्षमा सो राडार निर्माण भएको हो ।  राडार सञ्चालनमा आएपछि नेपालको पूर्वी भेग सबै र पश्चिम नेपालको नेपालगञ्जसम्मको आकासमा उडान गरिरहेका जहाजलाई राडारले आफ्नो स्क्रिनमा देखाउने प्राधिकरणले जनाएको छ ।  हाल सञ्चालनमा रहेको राडारले सिमरामाथिको आकाशबाट मात्र जहाज स्क्रिनमा देखाउँछ ।  अन्तर्राष्ट्रिय उडान नेपाली आकासमा प्रवेश गर्नासाथ अब राडारमा देखिने छन् ।  जसले गर्दा हवाई सुरक्षामा सहज हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।  
प्रवक्ता श्रेष्ठले भन्नुभयो, कम उचाइमा उडिरहेका जहाज बाहेक ‘लाइन अफ साइज्ड’ भएका जहाजलाई मात्र राडारले देखाउँछ ।  उहाँका अनुसार कम उचाइ रहेका जहाज पहाडी खोँचमा पनि उड्ने भएकाले राडारको स्क्रिनमा आउन सक्दैनन् ।  हिमाली खोँच  राडारको ‘कभर’ भित्र पर्दैन तर हिमालभन्दा माथिको उचाइमा उडान गरिरहेका जहाजलाई सो राडारले देखाउन सक्ने श्रेष्ठको भनाइ छ ।  
भविष्यमा नेपालगञ्जदेखि पश्चिमको नेपाली आकासलाई पनि राडारमा समेटिने भएको छ ।  त्यसका लागि निर्माण हँुदैगरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अर्को नयाँ राडार राखिने छ र त्यसलाई काठमाडौँसँग जोडिने छ ।  सो ‘कनेक्सन’पछि नेपाली आकास  पूरै रडारले कभरेजभित्र पर्ने छ, प्राधिकरणले जनाएको छ ।  
नयाँ राडार सञ्चालनका लागि प्रवक्ता वीरेन्द्र श्रेष्ठ भन्नुहुन्छ, हामी अक्टोबर महिनामा फ्लाइट इन्स्पेक्सन गरिसकेपछि तुरुन्तै सञ्चालनमा ल्याउँछौ, हामीले मात्र चाहेर हुँदैन अन्तर्राष्ट्रिय सवाल पनि हो अब ढिला हुँदैन ।
ललितपुरको भट्टेडाँडामा जडान गरिएको यो नयाँ राडार स्टेसन स्थापनाका लागि जापानी सहयोग नियोग (जाइका)ले रु. एक अर्ब सहयोग गरेको छ भने रु. ४० करोड नेपाल सरकारले लगानी गरेको छ ।  हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको राडारले काठमाडौँ उपत्यका र अन्तर्राष्ट्रिय उडान नेपाल प्रवेश गर्ने रुट सिमरा क्षेत्रलाई मात्र कभरेज गर्ने क्षमता रहेको छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना