स्थानीय तह ऐनमा संशोधन राजपालाई चुनावमा जान बाटो खुला

नारायण काफ्ले

काठमाडौँ, जेठ २६ गते ।  व्यवस्थापिका संसद्ले स्थानीय तह ऐन पहिलो संशोधन विधेयक पारित गरेको छ ।  ऐन संशोधनसँगै राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिन उम्मेदवारी मनोनयनका लागि आधिकारिक हस्ताक्षर बुझाउने समयसीमाको समस्या सम्बोधन भएको छ ।  
उम्मेदवार मनोनयनभन्दा १५ दिनअघि हस्ताक्षरको नमुना बुझाउनुपर्ने कानुनी व्यवस्था संशोधनसँगै हटेको छ ।  
बिहीबारको संसद्ले शीघ्र रूपमा ऐन संशोधन आवश्यक भएको भन्दै फास्ट ट्र्याकबाट विधेयक पारित गरेको हो ।  संसद्ले संसद् कार्यसञ्चालन नियमावलीको नियम १२७ (१) निलम्बन गरी फास्ट ट्र्याकबाट विधेयक पारित गरिएको हो ।  
नियमावलीको उक्त व्यवस्थामा विधेयकमा सैद्धान्तिक छलफल गरी संशोधन दर्ताका लागि ७२ घन्टाको समय दिने व्यवस्था थियो ।  उक्त व्यवस्था निलम्बन गरी विधेयक पारित
गरिएको हो ।  
संसद्मा काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले नियम निलम्बनको प्रस्ताव गर्नुभएको थियो ।  उक्त प्रस्तावलाई माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले समर्थन गर्नुभएको थियो ।  नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले नियम निलम्बनको विरोध गरेको थियो ।  एमाले निलम्बन प्रस्तावमा मौन बसेको थियो ।  
सरकारले जेठ १६ गते राजपासँग भएको सहमतिअनुसार उम्मेदवार मनोनयनको हस्ताक्षर नमुना बुझाउनेसम्बन्धी समयसीमा हटाउन संशोधन प्रस्ताव गरेको थियो ।  
सरकारको प्रस्तावअनुसारको विधेयक संशोधनपछि अब उम्मेदवार मनोनयनभन्दा १५ दिनपहिले मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर आयोगले तोकेको अवधिमा दिए पुग्नेछ ।
पारित विधेयकमा भनिएको छ, “स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १८ को उपदफा १ मा रहेको ‘मनोनयनपत्र दाखिला गर्ने अन्तिम मितिभन्दा कम्तीमा १५ दिनअगावै’ भन्ने शब्दको सट्टा ‘मनोनयनपत्र दाखिला गर्ने अन्तिम मितिअगावै आयोगले तोकेको अवधिभित्र’ भन्ने शब्द राख्ने । ”
राजपालाई चुनावमा सहभागी गराउन दलहरूबीच निर्वाचनको मिति सार्ने काम पनि पूरा भइसकेको छ ।  यस्तै ऐन संशोधन प्रक्रिया पनि सकिएको छ ।  अब राजपत्रमा प्रकाशितसँगै कार्यान्वयनमा आउनेछ तर राजपा भने चुनावबारे अझै स्पष्ट छैन ।  
राजपाले चुनाव चिह्न छाताको माग गर्दै आएको छ तर मतपत्र छापिएको र कानुनी प्रावधानका कारणसमेत चिह्न दिन नसक्ने निर्वाचन आयोगले
जनाएको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना