चैते धानकै भर

अविनाश चौधरी

धनगढी, जेठ ३०  गते ।  भजनी त्रिशक्ति नगरपालिकामा पर्ने दुर्गम गाउँ गोडचोराकी मीना चौधरी यतिखेर चैते धान पाक्ने पर्खाइमा हुनुहुन्छ ।  मनसुन सुरु हुनुअघि नै धान भित्र्याउन पाए ढुक्क बस्न सकिन्छ ।  त्यसैले आकाश र खेतको धान हेर्दै उहाँको दिन गुज्रिरहेको छ ।
‘बर्खे धानको खेती गरे पनि फसल मिल्दैन, तर चैते धानले परिवार धानेको छ ।  बर्खा नजिकिएकाले चाँडै भित्र्याउने पर्खाइमा छु’– उहाँले भन्नुभयो ।  कैलालीको सबैभन्दा बढी डुबान हुने क्षेत्र भएका कारण मीनालाई चैते धान भित्र्याउन हतारो भएको हो ।  chaite dhan
मीना जस्तै तुल्सीराम चौधरी पनि धान भित्र्याउनका लागि हतारिनुभएको छ ।  खेतमा पानी जम्ने भएकाले चैते धान समयमै भित्र्याइसक्नुपर्ने उहाँले बताउनुभयो ।  ‘बर्खा सिजनको कुनै पनि बाली नपाउने हाम्रो गुजाराको स्रोत चैते धान हो’, चौधरीले भन्नुभयो– ‘त्यसैले यही धान खेतीमा लागेका हौँ ।  असार मसान्तभित्रै भित्र्याउनु पर्दछ ।  नत्र बाढीले सखाप पार्छ । ’  
बाढीका कारण बर्खे बालीको खेती गर्न नपाउने कैलालीका डुबान क्षेत्रका किसानलाई चैतेधान खेती गुजाराको एकमात्र विकल्प हो ।  यहाँका २०५ जना किसान यो खेतीमा अग्रसर भएका छन् ।  चैते धानको खेती नगरे खान लाउन समस्या हुने गरेको मीनाले बताउनुभयो ।  यो खेतीले जोहो भएको उहाँको भनाइ छ ।  
डुबान हुने जमिन भएका कारण बर्खे धानबाली नपाउने गरेको तुल्सीराम चौधरीले बताउनुभयो ।  उहाँले भन्नुभयो–‘बर्खे सिजनमा केही नपाउने भएकाले खेत खाली छोड्ने गरेका छाँैं ।  चैते खेती मात्रै गर्दै आएका छौँ । ’
डुबानका कारण भोकमरी समस्या हुनसक्ने भएकाले चैते धान खेतीमा भर पर्नुपरेको किसानले बताएका छन् ।  यो खेतीले खान, लाउन सजिलो भएको कृषक भोजबहादुर चौधरीले बताउनुभयो ।  उहाँले भन्नुभयो– ‘यो क्षेत्रमा गुजाराको स्रोत चैते धान खेती बनेको छ ।  बर्खे सिजनको बाली मिल्दैन । ’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यो वर्ष चैते धान खेतीको ब्लक कार्यक्रम सुरु भएपछि किसानलाई सहज भएको छ ।  परियोजनाअन्तर्गत बृहत् चैते धान उत्पादन कार्यक्रम तथा नमुना ब्लक कार्यक्रम सञ्चालन गरिएको छ ।  
विगतबाटै आफूहरूले चैते धानको खेती गर्दै आएकोमा  यो वर्ष सरकारी अनुदान मिलेपछि अझै सजिलो भएको साविकको गाविस थापापुर–५ कृष्णनगरका तारालाल डङ्गौराले बताउनुभयो ।  आफूले पाँच बिगाहा जमिनमा चैते धान खेती गरेको सुनाउँदै उहाँले एक बिगाहामा ४० क्विन्टल जति चैते धान फल्ने गरेको उल्लेख गर्नुभयो ।  
‘बर्खे बाली लगाउन सम्भव नभएका कारण चैते धान खेती रोजेका हौं’, चौधरीले भन्नुभयो– ‘प्रतिबिघा जमिनमा ४० क्विन्टल जति चैते धान फल्छ । ’ विगतबाटै चैते धान खेती गर्दै आएका किसानलाई यस वर्ष परियोजनाको साथ मिलेको छ ।  विभिन्न समूह गठन गरेर चैते धान खेतीमा संलग्न उनीहरूले अनुदान पाएका छन् ।  यसैगरी, अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (ईरी) ले किसानलाई चैते धानको बीउसमेत सहयोग गरेको थियो ।  
डुबान क्षेत्रका किसानको गुजाराको स्रोत चैते धान खेतीमात्रै रहेकाले सरकारले सहयोगमा विशेष प्राथमिकता दिनुपर्ने कृषक गोपीलाल चौधरीले बताउनुभयो ।  उहाँले सिँचाइ सुविधा नहुँदा समस्या झेल्दै आएको सुनाउनुभयो ।  
‘सिँचाइ सुविधा नभएका कारण धेरै जमिनमा चैते धानको खेती गर्न सकिन्न’, चौधरीले अगाडि थप्नुभयो– ‘हामीजस्ता किसानको लागि सरकारले सिँचाइ तथा मल, बीउबिजनको व्यवस्था गरिदिनु पर्दछ । ’
जिल्ला कृषि विकास कार्यालयको सहयोगमा खेती गरेका किसानको चैतेधान खेती निकै राम्रो भएको छ ।  बर्खे सिजनको रोपाइँ सुरु हुँदै गर्दा अहिले कतिपय किसानलाई चैते धान काट्न चटारो सुरु भइसकेको छ ।  कतिपय ठाउँमा धान पाक्ने क्रममा रहेको छ ।  
डुबान क्षेत्रका किसानको जीवनस्तर उकास्ने उद्देश्यका साथ यो वर्षदेखि बृहत् चैते धानको कार्यक्रम लागू गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले बताउनुभयो ।  उहाँले तीन सय हेक्टर जमिनमा यस वर्ष चैते धान खेती गर्ने लक्ष्य राखिएकोमा २६३ हेक्टरमा खेती भएको जनाउनुभयो ।  गतवर्ष कैलालीमा १४७ हेक्टर जमिनमा चैते धान खेती भएको थियो ।  बर्खे धानको तुलनामा चैते धानको उत्पादकत्व राम्रो रहेको छ ।  चैते धानको उत्पादकत्व प्रतिहेक्टर औसतमा पाँच मेट्रिक टन रहेको छ भने बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ३.५ मेट्रिक टन रहेको छ ।  बर्खेभन्दा चैते धानको उत्पादकत्व राम्रो रहेकाले आगामी दिनमा चैते धान खेतीलाई वृद्धि गर्दै लैजाने लक्ष्य रहेको प्रमुख पाण्डेयले बताउनुभयो ।  ‘निर्वाहमुखी खेतीलाई अब व्यावसायिक बनाउन जरुरी छ’ उहाँले भन्नुभयो ।
यस वर्ष समूहमार्फत भजनी त्रिशक्ति नगरपालिका–५ ढुसीका १७ किसानले ११ हेक्टर, गोडचोराका किसानले ११.६ हेक्टर जमिनमा बृहत् चैते धान खेती गरेका छन् ।  यो खेतीले गुजारा गर्न सजिलो भएको कृष्णपुरका दुर्जन्तीदेवी थारूले बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना