नयाँ प्रधानमन्त्रीको जोखिमपूर्ण कार्यकाल

hari adhikariहरि अधिकारी




माओवादी नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पत्याउनै गाह्रो लाग्ने किसिमको इमानदारी प्रदर्शन गर्दै सुम्पिदिएको प्रधानमन्त्रीको पदमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विराजमान भएको दुई हप्ता हुन लागेको छ ।  कुनै समयका दुई जानी दुश्मनका बीच भएको राजनीतिक अङ्कमाल यस्तो स्नेहिल र दिगो होला भन्ने सायदै कसैले सोचेको थियो होला ।  प्रचण्ड र देउवाले राजनीतिमा स्थायी मित्र र शत्रु कोही पनि हुँदैन भन्ने प्रायः दोहोरिने भनाइलाई चरितार्थ गरेर देखाइदिनुभएको छ ।  राजनीतिक शक्ति बन्दुकको मोहोरीबाट मात्र निसृत हुन्छ भन्ने खराब अवधारणाका पक्षधर प्रचण्ड र शान्तिपूर्ण आन्दोलनबाट पनि सत्ता प्राप्त गर्न सकिन्छ भन्ने सद्विचारका संवाहक देउवाका बीच बनेको बलियो गठबन्धनले राजनीतिको संसारमा एउटा नितान्त नौलो र सकारात्मक मार्गचित्र बनाएको छ ।
दशकौँ लामो प्रजातान्त्रिक आन्दोलनबाट खारिएर आउनुभएको नेता देउवा प्रधानमन्त्री हुनु भएपछि नेपाली काँगे्रस पार्टीका क्रियाशील कार्यकर्तामा मात्र होइन लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण नेपाली जनतामा जुन प्रकारको उत्साह र जाँगरको सञ्चार हुनुपर्ने हो, त्यो भने हुन सकेको जस्तो देखिँदैन ।  यसका अनेक कारण हुन सक्छन् ।  एउटा टड्कारो कारण त यही हुन सक्छ, उहाँ जनताको नजरले परख गरिसकेको नेता हुनुहुन्छ ।  उहाँका बारेमा मानिसले आआफ्ना धारणा बनाइसकेका छन् ।  यसभन्दा पहिलेका प्रधानमन्त्रीका रूपमा उहाँका तीन कार्यकालको आलोकमा पनि गरे होलान् मानिसले उहाँको यो कार्यकालले दिन सक्ने अथवा दिन नसक्ने प्रतिफलको अनुमान ।  मान्छेको जात कसैको पनि सकारात्मकभन्दा नकारात्मक पक्ष नै हेर्न पुग्छ सबैभन्दा पहिले ।  प्रम देउवा मानव मनोविज्ञानको त्यो कटु तथ्यको शिकार हुनु भएको पनि हुन सक्छ ।  उहाँ त प्रमुख प्रतिपक्ष नेकपा एमालेको सुदृढ प्रचार संयन्त्रको तारो पनि हुनुहुन्छ ।  त्यस गोएबल्स आविष्कारित प्रोपोगण्डा मेसिनको नेपाली संस्करणले उहाँलाई महाझुर बनाएर प्रस्तुत गर्न थालिसकेको छ ।
यति हुँदाहुँदै पनि उहाँको कार्यकालमा नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक काम टुङ्गिएर नेपाली राजनीति र राज्य व्यवस्थाका सन्दर्भमा वर्षौंदेखि कचल्टिएर रहेका समस्याको समाधान हुनेछ र देश आर्थिक समृद्धिको बाटोमा ढुक्क भएर अघि बढ्न सक्ने छ भन्ने कुराको अपेक्षा भने नेपाली जनताको बृहत्तर अंशले राखेको छ ।  जनताको त्यो अपेक्षा पूरा हुन्छ कि हुँदैन भन्ने विषयको निक्र्यौल हुन आउँदो माघ महिनासम्म कुर्नुपर्ने छ ।  अहिलेको घडीमा त देउवाले भरखरै कार्यभार सम्हाल्नुभएको छ, उहाँले देशमा मौजुद समस्याको कसरी मूल्याङ्कन गर्नु हुनेछ र तिनको निदानका लागि कस्तो कार्ययोजना बनाउनु हुनेछ जनताले हेर्ने भनेको त्यही नै हो ।  त्यसैले मानिस पर्ख र हेरको स्थितिमा छन् ।  उहाँले प्रचलनअनुसार केही दिनको मधुमास अवधि पनि पाउनु हुनेछ ।
प्रथम दृष्टया भन्ने हो भने चाहिँ काँग्रेस सभापतिको पुनः सत्तारोहणले सर्वसाधारण जनताको हृदयमा आशानुरूप उत्साह सञ्चार गराउन सकेको देखिँदैन ।  झण्डै दुईतिहाइ सांसदको समर्थनमा भएको उहाँको सिंहदरबार पुनः प्रवेशलाई लिएर सर्वसाधारण नेपाली जनताले प्रदर्शन गरेको यो उदाशिनता नेपाली काँग्रेस र प्रधानमन्त्री देउवा स्वयम्का लागि समेत गम्भीर चिन्ताको विषय हुनुपर्छ ।  नेताको उन्नति होस् वा अवनति, कुनै पनि स्थितिप्रति जनता निरपेक्ष बस्न थाल्यो भने बुझे हुन्छ त्यस अमुक नेताले बिस्तारै आफ्नो सार्वजनिक महŒव गुमाउँदै जान थालेको छ ।  प्रम देउवाले देशको कार्यकारी प्रमुखको पदमा भएको आफ्नो नियुक्तिप्रति आमजनताले व्यक्त गरेको यस प्रकारको चिसो प्रतिक्रियाको कारण चाँडोभन्दा चाँडो पत्ता लगाएर त्यसको निराकरण गर्नु जरुरी छ ।
आजको दिनमा पार्टी सङ्गठन र सरकार दुवै ठाउँमा बलियो पकड राख्न सफल हुनुभएको छ  शेरबहादुर देउवा ।  यस कोणबाट झट्ट हेर्दा नेपाली राष्ट्रिय राजनीतिको अखडामा उहाँको भूमिका कमजोर बन्दै गएको छ भनिहाल्न पटक्कै मिल्दैन तर किन हो उहाँ र उहाँको पार्टी नेपाली काँगे्रस दुवै, आम र खास सबैथरी नेपाली जनताको भरोसाको आधार हुन छोडेको अनुभूति हुन थालेको छ ।  यस्तो चिन्तनीय अनुभूति देशको एक मात्र लोकतान्त्रिक राजनीतिक सङ्गठन नेपाली काँग्रेसलाई माया गर्ने अधिकांश नेपालीले गर्न थालेका छन् भन्यो भने त्यो अत्युक्ति हुने छैन ।  किन्चित बढी निरासावादी त स्थितिमा सुधार आएन भने नेपाली काँग्रेस पार्टी समग्रले नै देशको राजनीतिक परिदृश्यमा परिणामजनक प्रभावकारिता गुमाउँदै जाने छ सम्म भन्न थालेका छन् ।  यो निरासावादी आँकलन सत्य साबित भयो भने त्यो राष्ट्रका रूपमा नेपालकै लागि ठूलो दुर्भाग्यको विषय हुनेछ ।  मध्यमार्गी र लोकतान्त्रिक सङ्गठन नेपाली काँग्रेसले नै यस राष्ट्रको एकतालाई बचाइराखेको छ ।
नेपाली काँग्रेस समर्थक समूहमै रहेका र जीवनभर रहन चाहने एकथरी मानिस शेरबहादुर देउवाले नेपाली काँग्रेसको भलो चाहने तर नेताहरूको रचनात्मक आलोचना पनि गर्ने आँट भएका सचेत प्रजातन्त्रवादीलाई आफूतिर आकर्षित गर्न छोडेको धेरै समय भइसकेको छ पनि भन्छन् ।  उनीहरूको अर्को गम्भीर आरोप पनि छ– पार्टीमा स्वाधीन र योग्य मानिस किनारामा धकेलिएका छन् र जहिले पनि सत्ताको वरिपरि झुम्मिइरहन चाहने थोरै परजीवी भने सधैँजसो बल्खु र बूढानीलकण्ठतिर मडारिइरहेका देखिन्छन् ।  यी दुई आरोपमा थोरै मात्र पनि सत्यांश छ भने त्यो नराम्रो लक्षण हो ।  कुनै पनि नेता जब आलोचनाप्रति असहिष्णु हुन थाल्छ अथवा त्यसबाट भाग्दै हिँड्छ त्यो उसको असफलतातिरको प्रस्थानबिन्दु हुनेछ ।  अवसरवादीको ओठेभक्तिले नेतालाई रत्तिभर पनि मद्दत गर्न सक्दैन भन्ने  सामान्य व्यवहार गणितको हेक्का राख्न जरुरी छ प्रम देउवा स्वयम् र उहाँका सहयोगीले ।
आफ्नो सत्तारोहणप्रति जनताको हृदयमा सकारात्मक प्रभाव उत्पन्न गर्न नवनियुक्त प्रधानमन्त्रीले केही त्यस्ता तात्कालीक र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सक्नुपथ्र्यो, जसले जनताको मनमा उहाँले यसपटक केही पृथक् र केही उत्कृष्ट काम गर्न खोज्नुभएको छ भन्ने अनुभूति जगाउन सक्थ्यो ।  खेदको कुरो, अहिलेसम्म उहाँले त्यस्तो आशलाग्दो शुरुवात गर्ने जमर्कोसम्म पनि गरेको थाहा हुन सकेको छैन ।  अहिलेसम्म उहाँले परम्परागत सोच र शैलीकै पुनरावृत्ति गर्नुभएको देखिएको छ ।  आज देशका सामुन्ने जे–जस्ता अप्ठ्यारा छन्, तिनको व्यवस्थापन उही चीरस्थापित पुरानो शैलीबाट हुन सक्दैन भन्ने कुरा उहाँले जतिछिटो बुझ्न सक्नुहुन्छ उहाँको राजनीतिक स्वास्थ्यका लागि त्यो त्यत्तिकै श्रेयस्कर हुनेछ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पार्टी र सरकार दुवैको नेतृत्व सम्हालिरहँदा उहाँले पार्टीका सहकर्मी साथी, विशेषगरी वरिष्ठ नेता रामचन्द्र पौडेलबाट सहयोग वा असहयोग के पाउनु भएको छ, त्यसको पनि सँगसँगै चर्चा हुनु स्वाभाविक नै हो ।  यस सन्दर्भमा वरिष्ठ नेता पौडेलको भूमिका प्रष्टत गलत देखिएको छ ।  उहाँले पार्टीको ‘प्रतिक्षारत सभापति’ को रूपमा उभ्याएर वर्तमान सभापतिलाई आफ्नो सोच र शैलीसाथ सङ्गठन र सरकार दुवै मोर्चामा अगाडि बढ्न दिनुको सट्टा पाइला–पाइलामा भागबण्डा गर्नुपर्ने दबाब दिएर अत्यन्तै सङ्कीर्ण मानसिकताको प्रदर्शन गर्नुभएको छ ।  सभापति र संसदीय दलको नेता दुवै पदको चुनावमा देउवासँग पराजित पौडेलले निर्वाचित सभापतिले सबै काम पराजित सभापतिले चाहेअनुसार गर्नुपर्छ भन्ने ठान्नुभन्दा गलत विचार अर्को केही हुन सक्दैन ।  सुनिएको छ पौडेल आफ्नो गुटका चार जनालाई रोजेको मन्त्रालय पाउने गरी देउवा क्याबिनेटमा सामेल गर्नुपर्छ भन्दै दबाब दिइरहनुभएको छ ।  सभापतीय मात्र होइन प्रधानमन्त्रीय पद्धतिकै राजनीति गर्दै आउनुभएका अनुभवी नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसमा कस्तो साङ्गठनिक संस्कृति भिœयाउन खोज्नुभएको हो सहज बुद्धिका भरमा यो कुरो  बुझी नसक्नुभएको छ ।  
धेरै कोणबाट हेर्दा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको प्रमका रूपमा चौथो पटकको यो कार्यकाल अत्यन्तै जोखिमपूर्ण देखिन्छ ।  जोडजाड, परितोषण, छलछाम र सल्लाह साउतीबाट मात्र विद्यमान भीमकाय समस्याबाट न उहाँले पार पाउनु हुनेछ न त देशले नै ।  अहिले त अत्यन्तै ठूलो आँटका साथ बढीभन्दा बढी जनताको विश्वास जित्ने गरी ठोस निर्णय गरेर माघ ७, २०७४ को समयसीमाभित्र चुनाव सम्पन्न गरी संविधानको प्राणप्रतिष्ठा गर्नु छ ।  त्यसको शुरुवात प्रम देउवाले मधेशका केही नेताको नाजायज मागलाई अस्वीकार गर्दै स्थानीय तहको दोस्रो चरणको चुनाव तोकेकै मितिमा सम्पन्न गराएर गर्न सक्नुहुन्छ ।  त्यसो हुनसकेको खण्डमा मात्र अरू दुईवटा चुनावप्रति जनताको भरोसा जागृत हुनेछ ।  सबैथरीका सबै माग त भगवान्ले पनि पूरा गर्न नसक्ने हुनाले उहाँहरूलाई प्रस्ट शब्दमा भनिदिनु जरुरी छ, उनीहरूका कुन माग पूरा गर्न सकिन्छ कुन सकिँदैन ।  निहित स्वार्थी वर्गको भयादोहनबाट यस देशलाई मुक्त गर्नैपर्छ ।  त्यसो गर्ने जिम्मेवारी शेरबहादुर देउवाको काँधमा आएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना