मधुपर्कको गौरवपूर्ण ५० वर्षको यात्रा पाठकमा समर्पण

दीपक श्रेष्ठ

काठमाडौँ, जेठ ३१ गते ।  मुलुककै जेठो अखबार गोरखापत्र दैनिकको साहित्यिक सह–प्रकाशन मधुपर्क मासिक ५० औँ वर्षमा प्रवेश गरेको छ ।  त्यस अवसरमा मङ्गलबार राजधानीमा विशेष समारोह आयोजना गरी मधुपर्क प्रकाशनको ५७६ औँ विशेष अङ्क सार्वजनिक गरियो ।  
 नेपाली भाषा, साहित्य र संस्कृतिको निरन्तर सेवामा समर्पित मधुपर्कले अमूर्त संस्कृतिको विशेष अङ्क सार्वजनिकसँगै गौरवपूर्ण ५० वर्षको यात्रा पाठकमा समर्पण गरेको छ ।   नेपालमा मात्र होइन, सम्भवतः दक्षिण एसियामै यति लामो र निरन्तर साहित्यिक यात्रा गर्ने साहित्यिक प्रकाशनमा मधुपर्क पहिलो हुन सक्छ ।
यस अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रकै धरोहर साहित्यसेवीलाई मधुपर्क सम्मान गरियो ।  वरिष्ठ साहित्यकार श्यामदास वैष्णव (पद्य) र प्राडा चूडामणि बन्धु (पद्य) लाई प्रदान गरिएको छ ।  कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले माला, सम्मानपत्र र पुरस्कार थैली प्रदान गरेर स्रष्टाद्वयलाई सम्मान गरिएको थियो ।  सम्मान राशि २५ हजार रुपियाँ छ ।  
त्यस अवसरमा मधुपर्कको ५७६ औँ अङ्क अमूर्त संस्कृति विशेषाङ्कको सार्वजनिक गरियो ।   राष्ट्रकवि घिमिरे र वाङ्मय शताब्दी पुरुष जोशीले मधुपर्कको स्वर्ण अङ्क सार्वजनिक गर्नुभएको हो ।  
यसैगरी, राष्ट्रकवि माधवप्रसाद घिमिरेले मधुपर्कको स्वर्ण अङ्कलाई अमूर्त संस्कृति विशेषाङ्कका रूपमा प्रकाशन गर्न महत्वपूर्ण योगदान पु¥याउने प्राडा प्रेम खत्री, विज्ञापनदाता साल्ट टे«डिङ लि. र मधुपर्कमा कला सिर्जनामार्फत सहयोग पु¥याउने कलाकार भानु भट्टराईलाई कदरपत्र प्रदान गर्नुभयो ।  कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै मधुपर्क र गोरखापत्रसँगको आफ्नो सम्बन्धबारे ठट्यौलो पारामा चर्चा गर्नुभयो ।  
“मेरो पहिलो रचना गोरखापत्रम प्रकाशन भएको हो”, गोरखापत्रसँगको आफ्नो सानिध्य सगर्व चर्चा गर्दै राष्ट्रकवि घिमिरेले भन्नुभयो, “मेरो अप्रकाशित गीति नाटकका धेरै गीत मधुपर्कमा छापिएका छन् ।  गीति नाटकचाहिँ अझै पूरा हुन सकेको छैन । ” madhupark
यस्तै, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अमूर्त संस्कृतिबारे चर्चा गर्दै नेपालमा अमूर्त संस्कृतिको खानी नै रहेको भए पनि त्यसको खोजी, रेखदेख, संरक्षणका लागि तालिम, जनशक्ति र विज्ञहरूको अभाव रहेको बताउनुभयो ।
अमूर्त संस्कृतिबारे चर्चा गर्दै वाङ्मय शताब्दी पुरुष जोशीले भन्नुभयो, “कृष्ण मन्दिर मूर्त सम्पदा हो तर त्यससँग सम्बन्धित जात्रा, पूजा विधि, चलन र गीत÷सङ्गीत अमूर्त संस्कृति हुन् ।  त्यसको संरक्षण आजको दिनमा निकै चूनौतीपूर्ण छ । ”
उहाँले अमूर्त संस्कृतिको विषयमा मधुपर्कले विशेषाङ्क निकालेर निकै महत्वपूर्ण कार्य गरेकोमा खुसी व्यक्त गर्दै अमूर्त संस्कृतिको खोजी र संरक्षणमा निरन्तरता दिन आग्रह गर्नुभयो ।  कार्यक्रममा सम्मानित व्यक्तित्व प्राडा चूडामणि बन्धुले मधुपर्कले स्वर्ण वर्षसम्म प्राप्त गरेका साहित्यिक मूल्य र मान्यता जोगाउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
यस्तै, सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले नेपाली साहित्यमा मधुपर्कको योगदान प्रशंसनीय रहेको चर्चा गर्नुभयो ।  उहाँले गोरखापत्रले पत्रकारिताको क्षेत्रमा मात्र नभई साहित्य र संस्कृतिको क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएकाले यसको विकासमा राज्यले सहयोग पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले मूर्त संस्कृतिको पृष्ठभूमि, उभ्याउने आधार, मियो नै अमूर्त संस्कृति भएको चर्चा गर्दै परम्परा, मान्यतालाई रुढीवाद मात्र भनेर पन्छाउन नमिल्ने बताउनुभयो ।
“पुर्खाहरूको लामो खोजबाट नै अमूर्त संस्कृतिको जन्म भएको हो”, पिपलको बोटमा तामाको भाँडोबाट पानी चढाउनु रुढीवाद मात्र नभएको चर्चा गर्दै महाप्रबन्धक कोइरालाले भन्नुभयो, “पुर्खाको खोज र अनुसन्धानले सुम्पेको ज्ञान रुढीवाद मात्र होइन ।  यी रहस्य विज्ञान हुन् । ”
उहाँले मधुपर्कले अमूर्त विशेषाङ्क निकालेर संस्कृति र साहित्यको साइनो गाँस्न खोजेको बताउँदै गोरखापत्रले आर्थिक समृद्धिको बाटो समाइसकेकाले मधुपर्कको रूपरङ्ग फेरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  कार्यक्रममा मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदनले साहित्यिक मासिक मधुपर्कबारे ऐतिहासिक तथ्यहरू जानकारी गराउँदै उपस्थिति आमन्त्रितहरूलाई स्वागत गर्नुभएको थियो ।  यसैगरी, सम्मान चयन समितिका संयोजक वरिष्ठ साहित्यकार शैलेन्द्र साकारले मधुपर्क सम्मानका लागि व्यक्तित्व छनोट प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।  कार्यक्रममा पूर्वमन्त्री त्रय तथा साहित्यकारहरू प्रदीप नेपाल र दीनानाथ शर्मा, शङ्कर कोइराला (एस्पी) लगायत वरिष्ठ साहित्यकारहरूको उपस्थिति थियो ।  
गोरखापत्र दैनिकको सहप्रकाशन मधुपर्कको पहिलो अङ्क २०२५ जेठमा प्रकाशन भएको थियो ।  मधुपर्कको पहिलो अङ्क गोपालप्रसाद भट्टराईको सम्पादकत्वमा निस्किएको थियो ।  मधुपर्कले २०५९ सालदेखि नेपाली साहित्यका विशिष्ट व्यक्तित्वहरूलाई गद्य र पद्यतर्फ गरी मधुपर्क सम्मान प्रदान गर्दै आएको छ ।  सुरुको वर्ष कमल दीक्षित (गद्यतर्फ) र मोहन कोइरालाले (पद्यतर्फ) मधुपर्क सम्मान प्रदान गरिएको थियो ।  
मधुपर्कका प्रारम्भिक अङ्कमा रचना छापिएका, निरन्तर सिर्जनारत रही आफ्नो विधामा विशिष्टता हासिल गरेका मध्येबाट मधुपर्क सम्मान प्रदान गरिँदै आएको छ ।  विक्रम संवत् १९५८ साल वैशाख २४ गते साप्ताहिक रूपमा प्रकाशन आरम्भ  भएको गोरखापत्र २०१७ साल फागुन ७ गतेबाट दैनिक भएको थियो ।  
त्यसको ८ वर्षपछि २०२५ साल जेठ ३० गतेबाट साहित्यिक मासिकका रूपमा मधुपर्क प्रकाशन आरम्भ भएकोले जेठ ३० लाई मधुपर्कले जन्मदिनका रूपमा मनाउँदै आएको छ ।  देशभित्र निरन्तर यति पाँच सय अङ्कभन्दा बढी प्रकाशन हुने साहित्यिक प्रकाशनहरूमा मधुपर्क पहिलो हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना