धानको नक्कली बीउ बजारमा


राममणि दाहाल

हेटौँडा, जेठ ३१ गते ।  मुरी फलाउन मानो रोप्ने तयारीमा रहेका मकवानपुरका कृषक धानको नक्कली बीउबाट पीडित बनेका छन् । कृषकले सबैभन्दा बढी माग गर्ने युएस ३१२ जातको शंकर धानको उन्नत बीउको नाममा नक्कली भित्रिएपछि यो समस्या देखिएको हो ।  
बर्खे धानको ब्याड राख्ने चटारोमा रहेका मकवानपुरका कृषक उस्तै आकार र रङको प्याकेटमा नक्कली धानको बीउ बजारमा बिक्री हुन थालेपछि किसान अन्योलमा परेका हुन् ।  
मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोला क्षेत्रमा धान व्यापारीले उन्नत जातको धानको नाममा कम मूल्यमा कमसल गुणस्तरको बीउ बिक्री गरेको पाइएको छ ।  युएस ३१२ जातको नक्कली धान बिक्री भएको जानकारीमा आएपछि जिल्ला कृषि विकास कार्यालय मकवानपुरले निरीक्षणको क्रममा मनहरि गाउँपालिका–१ चकरीका रामकुमार उप्रेतीले बिक्री गर्दै आएको अवस्थामा बरामद गरेको छ ।  
अगुवा कृषकसमेत रहेका उप्रेतीले कृषक र स्थानीय पसलमा ९० केजी तौलको तीन बोरा नक्कली धान ल्याएर बिक्री गरेको पाइएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले जानकारी दिनुभयो ।  
उप्रेतीले तीन बोरामध्येबाट १५० केजी धान बिक्री गरेकोमा १४० केजी बिक्री भइसकेको धान ब्याड नराख्दैको अवस्था फिर्ता ल्याइएको छ ।  फिर्ता भएको धान बीउ कृषि कार्यालयमा रहेको र बाँकी १० केजी नक्कली धान बीउ अझै भेटिएको  छैन ।  कम गुणस्तरको बीउ बिक्रीको आरोप लागेका उप्रेती कृषि कार्यालय र प्रहरीको निगरानीमा रहेको कार्यालय प्रमुख गदालले जानकारी दिनुभयो ।  
हेटौँडा बसपार्कबाट सिमरातर्फबाट आउँदै गरेको बसबाट झारेर लगेको जानकारी दिँदै उपे्रतीले नक्कली धान बीउको बारेमा वास्तविकता केही दिनभित्रै जानकारी गराउने प्रतिबद्धता जनाउनुभएको छ ।  
कार्यालय प्रमुख गदालका अनुसार युएस ३१२ जातको धानको उन्नत बीउको नाममा नक्कली बीउ नुवाकोट जिल्लामासमेत बिक्री भएको पाइएको छ ।  नुवाकोटमा कारबाही प्रक्रिया अगाडि बढेको जनाइएको छ ।
नक्कली यूएस ३१२ जातको शङ्कर धानको लट नम्बर २५४१०१६२६ रहेको छ ।  शंकर जातको नक्कली धान प्रतिकेजी दुई सय रुपियाँँमा ल्याएर कृषकलाई तीन सय र व्यापारीलाई ३५० रुपियाँँसम्ममा बिक्री गरेको पाइएको छ ।  आधिकारिक बिक्रेताबाट प्राप्त युएस एग्रिसिड ब्राण्डको शंकर धान प्रतिकेजी चार सयदेखि ४५० रुपियाँँसम्ममा बिक्री गर्दै आएका छन् ।  धान बजारमा बढी भएको समयमा कम मूल्य र कम भएको समयमा बढी नाफा लिएर बीउविजन बिक्रेताले बिक्री गर्ने गरेका छन् ।     dhan us 312
कृषि कार्यालयले मकवानपुर जिल्लामा यूएस ३१२ जातको धानको हाइब्रिड बीउ दुई किसिमको प्याकेटमा बिक्री भएको पाइएकाले आधिकारिक बिक्रेताबाट अनिवार्य बिल लिई सक्कली बीउ खरिद गर्न आग्रह गरेको छ ।
सस्तो मूल्यमा बिक्रीको सम्भावना नभएको, बीउ उत्पादक भारतीय कम्पनीले धानको अहिले बजारमा आएको प्याकेट परिवर्तन गरेको तर नक्कली बीउको प्याकेट गत वर्षको रहेको, कम्पनीले पठाएको र सस्तो मूल्यमा बिक्री भएको धान फरक देखिएको र एउटै स्रोतबाट आएकाले नक्कली हो भन्ने प्रमाणित भएको कार्यालय प्रमुख गदालको दाबी छ ।  
नक्कली बीउको प्याकेट भैरहवामा छापेको र सिमरा वा अन्यत्र प्याकेटमा धान राखेर व्यापारीमार्फत पठाउँदा थाहा हुन्छ भन्ने भएपछि नियोजित रूपमा कृषकमार्फत नै स्थानीय पसल र कृषककोमा पठाइएको अनुमान गर्दै गदालले भन्नुभयो, कृषकले छुट्याउन नसक्ने भएकाले व्यापारीकोमा नगएर सीधै कृषककोमा गएको हो ।
नक्कली धान बजारमा ल्याउने कालोबजारियाले ठूलो लगानी गरेर धन्दा थालेको र करिब एक लाख प्याकेट छपाइ गरेको जानकारीमा आएको स्थानीय एक बीउविजन व्यापारीले जानकारी दिए ।

कस्तो छ त कारबाहीको व्यवस्था ?
नक्कली बीउविजन बिक्री गर्नेमाथि कारबाहीका लागि उपभोक्ता हित संरक्षण ऐन र बीउविजन ऐन आकर्षित हुने गर्छ ।  नक्कली बीउ बिक्रेतालाई कारबाही गर्न स्थानीय प्रशासनसँग छलफल गरेर प्रक्रिया अगाडि बढाउने कृषि कार्यालयले जनाएको छ तर कृषक र कम्पनीको धान बिक्री गर्दै आएका व्यापारीले नक्कली धान बिक्रेताले उन्मुक्ति पाउने आशङ्का गरेका छन् ।  
लाखौँ रुपियाँँको खेल रहेको र कृषक प्रत्यक्ष मारमा पर्ने नक्कली धानको बीउबारे कृषि कार्यालयले प्रभावकारी अनुसन्धान नथालेको व्यापारीको आरोप छ ।  
नक्कली धानको बीउको प्याकेटमा नेपालका लागि भनी उल्लेख गरिएको छ, तर कम्पनीले पठाएको शङ्कर धानको प्याकेटमा उल्लेख छैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना