राजपासहित प्रमुख दलको बैठक पुनः आज

सुरेशकुमार यादव

काठमाडौंँ, असार १ गते ।  प्रमुख दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)का साथै प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय तहको दोस्रो चरणको चुनाव असार १४ गते नै गर्न एकमत देखिएका छन् तर असन्तुष्ट दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अहिलेकै अवस्थामा निर्वाचनमा भाग लिन सहमत भए यो मितिमा केही लचकता भने देखिन सक्छ ।
आन्दोलनरत राजपा नेपाल चुनावबारे स्पष्ट नदेखिएपछि तीन ठूला दल असार १४ गते नै चुनाव सम्पन्न गराउनेमा दृढ देखिएका हुन् ।  सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा बुधबार राजपा नेपालसहित प्रमुख तीन दलको बैठक कुनै सहमति हुन नसकेपछि पुनः बिहीबार बस्ने गरी टुङ्गियो ।  बुधबारको बैठकमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ गते चुनाव गराउन सरकार तयार रहेको स्पष्ट गर्नुभयो । rajapa meeting
चुनावको सबै तयारी पूरा भइसकेकाले सरकार अब चुनावको मिति सार्ने पक्षमा नरहेको हुँदा राजपा नेपाललाई पनि चुनावमा सहभागी हुन उहाँले आग्रह गर्नुभएको थियो ।  
असार १४ गते हुने चुनावका लागि असार २ गते उम्मेदवारी मनोनयन दर्ता गराउने समयसीमा तोकिएको छ ।  राजपा नेपालका लागि तयारी पुगेको छैन, त्यसका लागि केही प्राविधिक कुरा मिलाउन समय अपुग हुन्छ भने मनोनयन दर्ता गराउने समय दुईचार दिनका लागि थप्नु परे थप्नका लागि सरकार तयार रहेको धारणा पनि सत्तापक्षबाट आएको बताइएको छ ।
चुनावअघि संविधान संशोधन र स्थानीय तहको सङ्ख्या थप्ने कुरा हुन सक्दैन, अरू बाँकी विषयमा छलफल गर्दै टङ्ग्याउँदै जाने दलहरूको अडान छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले भन्नुभयो, “प्रधानमन्त्रीले असार १४ गते नै चुनाव गर्ने भन्नुभएको छ, त्यसमा राजपा नेपाललाई पनि सहभागी गराउने प्रयास भइरहेको छ । ”
राजपा नेपाललाई चुनावमा ल्याउने प्रयास अझै जारी छ र बिहीबार बिहान पुनः छलफल हुने बताउँदै उहाँले नमिलेको कुरालाई मिलाएर राजपा नेपाललाई चुनावमा सहभागी गराउने प्रयास भइरहेको
स्पष्ट गर्नुभयो ।
स्रोतका अनुसार राजपाले चुनावमा सहभागी हुने तर समय नपुगेको कुरा बैठकमा राखेको छ ।  चुनावको मिति सार्ने प्रस्ताव आयो भने लिखित प्रतिबद्धता माग्ने छलफल भएको बताइएको छ ।  चुनाव सारेरमात्र हुँदैन, राजपा नेपाल चुनावमा सहभागी पनि हुनुपर्छ, त्यसका लागि उहाँहरूले लिखित प्रतिबद्धता जनाउनुपर्ने सत्तापक्षको धारणा छ ।  
बैठकमा निर्वाचन १४ गते नै हुनुपर्छ भनेर एमालेका नेताहरू गइसकेपछि सत्तारूढ दल र राजपा नेपालबीच छलफल भएको थियो ।  
एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङका अनुसार प्रधानमन्त्री देउवाले असार १४ गते नै चुनाव गराउने भन्नुभएको छ, त्यसमा एमाले सहमत भएको र राजपा नेपाललाई चुनावमा कसरी सहभागी गराउने, त्यस विषयमा टुङ्गो लगाउन बाँकी रहेको बताउनुभयो  ।  
चुनावअघि संविधान संशोधन र स्थानीय तहको सङ्ख्या थप्ने कुरा हुन नसक्ने भएकाले राजपा नेपाललाई पनि चुनावमा सहभागी गराई निर्वाचनपछि छलफल गरेर संविधान संशोधन बाहेकका विषयमा टुङ्गो लगाउने एमालेको अडान बैठकमा राखिएको उहाँले स्पष्ट गर्नुभयो ।  
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राजपा नेपाललाई चुनावमा सहभागी गराउने विषयमा छलफल जारी रहेको बताउनुभयो ।  
राजपा नेपाल अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीले सबैलाई सहभागी गराएर चुनाव गराउन आफूहरूले आग्रह गरेको बताउनुभयो ।  आफूहरू पनि चुनावमा सहभागी हुन चाहेको तर सरकारले त्यसअनुसारको वातावरण नबनाएको दाबी गर्दै उहाँले भन्नुभयो, “कसैलाई बाहिर राखेर स्थानीय तहको चुनाव सफल हुँदैन । ”
बैठक बिहीबार बिहान १० बजे बस्ने भएको छ ।  राजपासहित बस्ने तीन दलको बैठकअघि प्रधानमन्त्री देउवाले आयोगका प्रतिनिधिहरूसँग चुनावको समय तालिकाबारे छलफल गर्नुहुने बताइएको छ ।  
बैठकमा प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेता नारायणकाजी श्रेष्ठ, नेता मातृका यादव र एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्बाङ, राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, शरत्सिंह भण्डारी, महेन्द्रराय यादवलगायतका नेताको उपस्थिति थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना