अरब क्षेत्रमा चर्केको कूटनीतिक सङ्कट

Ram prashadरामप्रसाद आचार्य

 

मुसलमानहरूप्रति अनुदार देखिनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गर्नुभयो ।  साउदी सरकारलाई ११५ अर्ब डलरको हतियार सम्झौता गर्नुभयो अनि इटली पुगेर जी–७ को बैठकमा जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति विमति जनाउनुुभयो ।  स्वदेश फर्केलगत्तै सो सम्झौताबाट अमेरिका अलग भएको घोषणा गर्नुभयो ।  १९६ मुलुकले स्वीकारेको सो सम्झौता ट्रम्पलाई स्वीकार्य भएन ।  यो समाचारले विश्वमै नयाँ हलचल ल्यायो ।  यो समाचार सेलाउन नपाउँदै छवटा अरबी मुलुक र एउटा दक्षिण एसियाली मुलुकले कतारलाई एक्ल्याउने निर्णय गर्दै कूटनीतिक सम्बन्धविच्छेद गरे ।  आतङ्कवादलाई प्रश्रय दिएको आरोप कतार सरकारमाथि लगाइएको छ ।  तर, कतारले भने आरोप ठाडै अस्वीकार गरेको छ ।  
अरबको खाडीमा आर्थिक समृद्धि चुम्दै सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता गर्न तीव्र गतिमा भौतिक पूर्वाधार विकासमा लागेको सानो मुलुक कतारमाथि आइलागेको यो कूटनीतिक सङ्कटले गम्भीर मोड लिँदै छ ।  अघिल्लो सोमवार (जुन ५ मा) एकाएक साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र माल्दिभ्सले कतारसित कूटनीतिक सम्बन्धविच्छेदको घोषणा गरे ।  ती मुलुकले कतार सरकारमाथि आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाएका छन् ।  कतारसँग जल, स्थल र हवाई सेवासमेत बन्द गरेपछि पेट्रोलियम पदार्थका लागि धनी मुलुक कतारलाई ठूलो समस्या आइलागेको छ ।  कतारका लागि अधिकांश सामान यिनै मुलुकका भित्रिने र बाहिरिने गर्छन् ।  
कतारले आतङ्कवादी समूह आईएस स्टेट र अलकायदा साथै पृथक्तावादी कट्टरपन्थी मुसलमानलाई सघाउँदा समग्र अरब क्षेत्रको शान्ति र सुरक्षामा समस्या ल्याएको आरोप छ ।  कतारले भने सो आरोपको खण्डन गर्दै आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षड्यन्त्रबाट अरब राष्ट्रको पछिल्लो निर्णय गरेको दाबी गरेको छ ।  कतारसँग सम्बन्धविच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्था सिर्जना गर्नु रहेको देखिएको छ ।  तर, कतार सरकारले आफूविरुद्धको कूटनीतिक नाकाबन्दीविरुद्ध उपयुक्त विकल्प खोज्ने तर कुनै हालतमा आत्मसमर्पण नगर्ने अडान लिएको छ ।  
उता रुस, कुवेत, इरान र टर्कीले वार्ता र शान्तिपूर्ण माध्यमबाट अरब क्षेत्रको यो समस्या समधान गर्न आग्रह गरेका छन् ।  यसको सैन्य समाधान खोजेको खण्डमा ठूलो दुर्घटना हुने चेतावनीसमेत दिएका छन् ।  आईएसका सशस्त्र लडाकु समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमी मुलुकहरूद्वारा कडा प्रतिबन्ध लगाएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच मतभेदकारी नीति अवलम्बन गरेको आरोप लगाई कतारलाई एक्ल्याउने जुन काम गरिएको छ, यसलाई कुनै पनि हिसाबले उपयुक्त मानिएको छैन ।  किनभने कतारले आतङ्कवादलाई प्रश्रय होइन आतङ्वादको अन्त्य गर्नै सामाजिक र आर्थिक समृद्धि साथै शान्ति खोजेको त्यहाँको विदेश मन्त्रालयले स्पष्ट गरेको छ ।  
वास्तवमा भन्ने हो भने सन् १९९१ मा अमेरिका तथा बहुराष्ट्रिय सेना र इराकबीच भएको खाडी युद्धपश्चत् पहिलोपटक खाडीका अरबी राष्ट्रहरूबीच कल्पना नै नगरिएको यसप्रकारको चरम कूटनीतिक सङ्कट उत्पन्न भएको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबसहित खाडी मुलुकहरूले कतारसित कूटनीतिक सम्बन्धविच्छेद गरेको घटनालाई आफ्नो मध्यपूर्व भ्रमणको सफलता ठान्नुभएको छ ।  उहाँले आफूले साउदी अरबको भ्रमण गरेपछि कतारलाई एक्ल्याउन सफल भएको बताउनुभयो ।  ‘मेरो मध्यपूर्वको भ्रमणमा अतिवादलाई अब सहायता नदिइने बताएको थिएँ, अरब मुलुकका नेताहरूले कतारलाई यसमा सावधान गराएका छन्,’ ट्रम्पले भन्नुभयो ।  ट्रम्पको भ्रमणका अवसरमा साउदी राजाले आतङ्कवादलाई इरानले प्रायोजन गरेको आरोप लगाउनुभएको थियो ।  अहिले साउदीसहितका मुलुकहरूले कतारलाई पनि सोही अभियोग लगाउँदै कूटनीतिक सम्बन्धविच्छेद गरेका हुन् ।  यहाँ विचित्रको कुरा के छ भने कतारमा नै अमेरिकी सेनाको मध्यपूर्वमै सबैभन्दा ठूलो सैन्य अखडा रहेको छ ।  कतारलाई एक्ल्याउने सन्दर्भमा अमेरिकासमेत खुलेरै लागेपछि अब अमेरिका र कतारको सम्बन्ध कस्तो रहने हो ? चासो बढेको छ ।  
कतारमा चार वर्षअघि मात्र शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण भएको हो ।  अमिर शेख हमद विन खलिफा अल थानीले राजकुमार शेख तमिम विन हमद अल थानीलाई (जुन २५,२०१३ मा) राजकीय सत्ता हस्तान्तरण गरेर खाडी क्षेत्रमा नयाँ इतिहास बनाउनुभयो ।  पूर्वअमिर हमदको १८ वर्ष शासनकालमा खाडी क्षेत्रकै गरिब मुलुक कतारलाई विश्वकै धनी मुलुकको सूचीमा समावेश गराउन सफल हुनुभयो ।  उहाँले परम्परागत राजतन्त्रलाई आधुनिकीकरण गर्नेदेखि जनतालाई क्रमशः प्रजातान्त्रिक अधिकार दिएर प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त गराउने कामको समेत थालनी गरेर सबै पक्षलाई चित्त बुझाउन सफल हुनुभयो ।
विगत डेढ सय वर्षदेखि थानी परिवारले शासन गर्दै आएको कतारले यो डेढ दशकयतामात्रै चामत्कारिक रूपले आर्थिक प्रगति गरेको हो ।  सन् १९९५ मा तत्कालीन अमिर अर्थात् आफ्नै पिता शेख खलिफालाई सत्ताच्युत गरी हमदले सत्ता हातमा लिँदा धेरैलाई के लागेको थियो भने सत्ताका लागि पितालाई सत्ताच्युत गर्ने छोराले मुलुकको हितमा पनि काम गर्दैन र आजीवन सत्ता पनि छाड्दैन ।  तर, हमद निजी स्वार्थ र सत्ताका लागि लिप्त हुनुभएन ।  उहाँ कुशल शासक र कुशल व्यवस्थापक बनेर देखाइदिनुभयो ।  अत्यन्तै छोटो अवधिमा मुलुकको कायपलट गरिदिनुभयो ।  उहाँले सत्ता सम्हाल्दा आठ अर्ब डलरको कतारी अर्थतन्त्र १८ वर्ष शासन गरी सत्ता छाड्दा १७४ अर्ब डलर पुग्यो ।  उहाँले सुरु गर्नुभएको उदार अर्थनीति र सुधारको राजनीतिक सफलताले कतार धनी र समृद्ध मुलुक बनेको हो ।  उहाँको यो कार्यक्रमलाई वर्तमान अमिरले निरन्तरता दिनुभएको छ ।
आर्थिक र राजनीतिक सुधार गरी मुलुकलाई गरिबीको दुष्चक्रबाट मुक्त गर्दै धनी र समृद्ध राष्ट्र बनाउने सपना बोकेका हमदले अलि अनुदारवादी कट्टर स्वभावका पितालाई ‘कू’ गरी सत्ता हातमा लिएपछि आर्थिक र राजनीतिक सुधारलाई सँगसँगै अगाडि बढाउनुभयो ।  सत्ता सम्हालेको एक वर्षपछि आफ्नै लगानीमा अल जजिरा नामक निजी टेलिभिजन च्यानल स्थापना गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ढोका खुला गरिदिनुभयो ।  आज अल जजिरा टेलिभिजन च्यानल खाडी क्षेत्रकै सर्वाधिक लोकप्रिय बनेको छ ।  उहाँले जनतालाई राजनीतिक अधिकार दिन सन् १९९९ मा नगर परिषद्को चुनाव गराउनुभयो ।  सन् २००१ मा छिमेकी साउदी अरब र बहराइनसँगको सीमा विवाद समाधान गर्दै सम्बन्ध सुधारमा जोड दिनुभएका उहाँले सक्षम व्यक्तिले मात्र सत्ता चलाउनुपर्छ भन्ने मान्यता राखी सन् २००३ मा राजकुमार जेसिमको सट्टा चौथो सन्तान तमिमलाई युवराज घोषणा गर्नुभयो ।  सोही वर्ष जनताको सहयोग लिएर ४५ सदस्यीय संसद्सहितको नयाँ संविधान बनाउनुभयो ।  सो संविधान सन् २००५ मा लिखित संविधानका रूपमा कार्यान्वयनमा आयो ।  सोही वर्ष अमेरिकासँग १४ अर्ब डलरको संयुक्त लगानीमा ग्यास प्लान्ट बनाई ग्यास निर्यात व्यापारलाई नयाँ गति दिने काम भयो ।  सन् २००६ मा एसियाली खेलकुदको सफल आयोजक कतारले सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  त्यसका लागि नमुना पूर्वाधार विकास निर्माणमा जुटेको छ ।  छोटो अवधिमा खाडी क्षेत्रकै नमुना बनेको सानो मुलुक कतारले पूर्वाधार विकासमा खर्बौं लगानी गरेकाले लाखौँ विदेशी कामदारले त्यहाँ काम गर्न पाएका छन् ।  ग्यास र तेल बेचेर धनी बनेको कतारले विश्वको कुल ग्यास व्यापारको १५ प्रतिशत भाग ओगटेको छ ।
११ हजार ४३७ वर्गकिलोमिटर क्षेत्रफल रहेको कतार सानो इस्लामिक मुलुक हो ।  अरबी भाषा बोल्ने कतारीको प्रतिव्यक्ति औसत आय अहिले ८५ हजार डलर पुगेको छ भने औसत आयु ७८ वर्ष छ ।  २७ लाखमात्र जनसङ्ख्या रहेको कतार सोही सङ्ख्याभन्दा बढी विदेशी कामदार त्यहाँ कार्यरत छन् ।  कामका लागि कतार जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।  मुलुकका मौलिक कला र संस्कृति तथा सम्पदाको संरक्षणमा विशेष ध्यान दिएको कतारले पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ ।  अहिले चार लाखभन्दा बढी नेपालीले त्यहाँ काम गरिरहेका छन् ।  
कतारप्रतिको यो आकर्षण अरू बढाउन राजनीतिक तथा आर्थिक क्षेत्रलाई अरू सबल बनाउन नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुभएका हमदले युवापुस्ताकै काँधमा मुलुकको भविष्य देख्नुभएको छ ।  उहाँको विचारप्रति सहमत नयाँ अमिरले अब नयाँ पुस्तालाई नै महत्त्वपूर्ण जिम्मेवारी दिनुभएको छ ।  
सत्रौँ शताब्दीमा अस्तित्वमा आएको कतारले सन् १८६७ मा छिमेकी बहराइनसँग सीमाको विषयमा युद्ध गर्दा नराम्रो क्षति भोगेको थियो ।  युद्धमा दोहा ध्वस्त भएको थियो ।  बेलायतको मध्यस्थतामा युद्ध रोकिएपछि बेलायतको संरक्षणमा रहेको कतार सन् १७७० मा स्वतन्त्र बनेको हो ।  सन् १९३९ देखि सीमितमात्रमा तेल उत्खनन् गरी गर्जो टार्दै आएको खाडी क्षेत्रकै गरिब मुलुक कतारको नेतृत्व सन् १९९५ मा हमदले लिएलगत्तै नाटकीय ढङ्गले प्रगतिपथमा लम्केको हो ।  एक समय दुई छाक पेटभरी खान नपाउने अवस्थाका कतारीहरू अहिले विश्वकै अब्बल दर्जाको सुखसुविधा भोग गरिरहेका छन् ।  शान्तिपूर्ण ढङ्गले आर्थिक प्रगति र समृद्धिमा लागेको कतारलाई कुनै निहुँ बनाएर छिमेकीले एक्ल्याउने र कमजोर बनाउने कामले अरब क्षेत्रमै अस्थिरता ल्याउन सक्छ ।  त्यसैले अहिलेको यो समस्या विनापूर्वाग्रह शान्तिपूर्ण ढङ्गले विश्वासको वातावरण बनाई समाधान गरी खाडी क्षेत्रमा मेलमिलाप र शान्ति कायम गर्दै आतङ्वादी गतिविधिलाई निरुत्साहित गर्नु नै उत्तम विकल्प हो ।  युद्ध समस्याको समाधान होइन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना